लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट


टंक सम्वाहाम्फे

लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट
यो वाटो
खुलेको आजै हो
हिजोसम्म हामीले निर्वाध हिड्न पाउँने
यो वाटोलाई
मिचिएको थियो क्रुरताले
रोपीएको थियो संगीनले
छोपीएको थियो हिंसाले
त्यसैले चाहेर पनि
हिड्न सकेनौ यो वाटोमा
र पुग्न सकेनौ गन्तब्यहरुमा
यसरी निरिहताका शिकार भएर
सहिरहयौ अन्याय अत्याचार
सदियौं सम्म
किनकी षड्यान्त्र विरुद्घमा
हामी एकजुट हुन सकेका थिएनौ
तर ढिलै भएपनि
सुनामी छाल वनेर उर्लिदिदा
परिवर्तीत भएको छ इतिहास
तोडीएकाछन् पुराना छेकवारहरु
चुडीएकाछन् कुसंस्कारका साङलाहरु
त्यसैले त यो वाटो
निर्वन्ध भएकोछ
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

यदि हामीले ती पर्खालहरु
हिजै भत्काउँन सकेको भए
हिजै नाघ्न सकेको भए
यो यात्रा
निक्कै टाढा पुगी सक्थ्यो
तर यो वाटो युगौ देखि
वाधिएको थियो दासत्वले
जेलिएको थियो आतङ्कले
थिचिएको थियो कुसंस्कारले
त्यसैले यी पर्खालहरु नाघ्न
हामीले के सहेनौ
हत्या वलत्कार अपहरण
यातना प्रताडना जेलनेल
सहनु पर्ने सवै सह्यौ
खप्नु पर्ने सवै खप्यौ
तर हाम्रा वाटाहरु खुलेनन्
त्यसै ज्वालामुखी झै
ताता विचारका लाभाहरु लिएर
विस्फोटित भई दियौ
तव हाम्रा वाटाहरु हाम्रै भए
अहिले हामी हाम्रै वाटामा छौ
अहिले हामी चाहेको वाटामा छौ
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

यो वाटोको लागि
जव हामीले अधिकार खोज्दै गयौं
तव वाटो छेक्ने तगाराहरुले
खित्का छोड्दै हाँसे र भने
अव यति नै हो तिमीहरुको यात्रा
अव यति नै हो तिमीहरुको भाग्य
अव यति नै हो तिमीहरुको जिवन
त्यसवेला हामी
अधिकार माग्नु भन्दा
खोस्न हतारिएका थियौं
अजेय शक्तिको हतियारले
त्यो तिनीहरुलाई थाहा थिएन
अन्तत ती सवै वडारिए
अन्तत ती सवै नासीए
हाम्रो अग्नि जस्तै शक्तिपुञ्जले
त्यसैले यो वाटोमा हिड्न
अव कुनै व्यवधान छैन
तिमी हामी सवै हिड्न सक्छौ
ठुलो सानो सवै हिड्न पाउँछौ
आआफ्नै पाईलाले हिड्न सक्छौ
स्वतन्त्रता पूर्ण उपयोग गर्न सक्छौ
किनकी यो वाटोमा
हाम्रो पूर्खादेखि अहिले सम्मको
रगतको खोला वगेको छ
त्यसैले यो वाटो सवैको हो
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

सदियौ देखि वन्द रहेका
यी ढोकाहरु खुलेकाछन्
भर्खरै खुलेको यो नयाँ वाटो हो
त्यसैले हामी यो वाटोका नयाँ यात्री हौं
यहाँ नयाँ दृश्यहरु देखिरहेकाछौ
यहाँ नयाँ कुराहरु छोईरहेकाछौ
यहाँ नयाँ परिस्थिती भोगीरहेकाछौ
जस्ले नयाँ अनुभव वटुलीरहेछौ
तर पनि यो नयाँ वाटो हो
यहाँ चुनौतिहरु हुनसक्छन्
यहाँ जोखिमहरु आउँन सक्छन्
अनेकौ वाधाका पहाडहरु उभिन सक्छन्
यर्सथ ती सवै अड्चनहरुको सामना गर्दै
यात्राहरु अगाडी वढाउँदै लैजानु
हाम्रो दायित्व हो
हामीले यस्तै चुनौतिहरु चाहेका थियौ
हामीले यस्तै खतराहरु मोल्न खोजेका थियौ
आज यथार्थता भएर
उभिदिएको छ
तर हामी सुरक्षित यात्राको
तयारीमा जुटेकाछौ
त्यसैले यो वाटोमा
निशन्देह,निर्भय भएर
स्वतन्त्र भएर हिडे हुन्छ हरेकले
आआफ्नै अस्तित्व जोह गरे हुन्छ हरेकले
आआफ्नै विचारको घर वनाए हुन्छ हरेकले
आआफ्नै अधिकार सदुपयोग गरे हुन्छ हरेकले
किनकी हामी सवैले वनाएको
साझा वाटो हो
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

गजल



भूपेन्द्र महत


गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि

गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि

सिन्का सिन्का जोडेर लठ्ठी बनाउने होड किन हुन्छ
पन र मन जिउदै राखे,शक्ती हुँदो हो स्वोरको पनि

मच्चिन मन हुनेले पिङको झडका हैन फडका मार्नु
मक्किएको पिङमा थच्चिनु,हुन्न दोष डोरको पनि

मान सम्मान धन बैभब खोसेर पाईन्छ र कहाँ ?
आनन्द त त्यहाँ आँफै कमाई ल्याको थोरको पनि

बुढो बस्ती


स्यानु पाईजा

मेरो गाउँ एक पुरानो बस्ती
बुढो मान्छे खोकेको आवाज
स्याल रातै भरी रोयो ।
ऊल्लु एकहोरो कराई रह्य़ो ।
जुनकेरी मलाई हेपेरै
घर भित्र छिरर्य़ो ।
मेरै नाक वरीपरी धुम्यो ।
मुजा परेको अनुहार हेरेर
धित मरुन्जेल हाँस्यो ।
जुनकिरी पस्दा पनि मलाई
मन खिन्न लागेन ।
गैरी खेत बाँझै छ ।
गोरु पालेका छैन्न
बाँझो खेत डिङगा चह्ररे के भो?
मैले बध्याकरण गरेको थिएन ।
चार छोरा जन्माए कै हो ।
मैले पढ्न सकिन भनि
लैनो भैसी बेचेरै पढाए कै हो ।
तर यो गाँऊ अचेल
नशबन्दी गरेको मान्छेहरुको
गाँउ जस्तै छ ।
बाँझी आईमाईको कोख जस्तै छ ।
खोई कुन छोराको कति?
नाति नातिनी छन ।
नदेखेको, नसुनेको जुगनै भयो ।
दशैमा आशिश दिन पाकै छैन ।
बर्षौ भयो आशाको डोरी सम्हालेको
दश साल पहिले मैनाले एैना हेरेर
अझै एउटा बच्चा जन्माऊ भन्दा
मैले गाली नगरेको भए ।
साहेद मनमा पछुतो नहुदो हो ।
म सँगै रुने अरु कोई हुन्दो हो
मैना बित्दा म एक्लै रोए ।
म मर्दा रुने कोहि त हुन्दो हो ।
म मरे पछि पनि यहाँ
कोहि त हुन्दो हो ।
यो बुढो बस्ती मेरो मृत्यु सँगै
मान्छे बिहिन नहुदो हो ।

पात्लेखेत-७ म्याग्दीबाट

'निरर्थक उदारता


आचार्य प्रभा

उदार भएर कसैलाई सहानुभूती
पोख्छौ भने पाउनुको अर्थमा मात्र
उदारताको अभिनय नगर
त्यो त केवल स्वार्थको रूप मात्र बन्न सक्छ
हो ,तिमी कसैको पनि सहयोगी
बन्न सक्छौ मानवरूपी नाताले
तर सहयोगको बद्लामा
आँफैले आँफैलाई सहयोगिको उपमा दिएर
बिज्ञापन गर्दै हिड्छौ भने
त्यो पनि सस्तो हल्ला र निरर्थक
सहयोग मात्र बन्न सक्छ
बरु त्यसो हो भने,
तिमी मौन बस,
एक्लै बाँच,
सहानुभुती र सहयोगि भावना
मनभित्रै साँच
किन कि कोही त तिम्रो
सहयोग र दयाको भिखारी नबनोस
अनि कोही त तिम्रो
चर्चाको पात्र नबनोस

०९ १८/०८
(अमेरिका )

कविता कुसम


सुनिता गिरी

बिहानीको झुल्केघाम ,मनको संघारमा लुटपुटियो
चिसो चिसो मनको सिरसिरे ,"मनिटर"को भित्तामा घुमिरहृयो
बन्द परेलीका ढोकाहरु उघार्दै गएँ
यो मन एक तमास पखेटा हालेर उडिरहृयो
खै कता पुगे कहाँ पुगेँ यात्रा निरन्तर थियो
बाटो हराएको अबोध बालक झै
दिशाविहिन भएर ढल्पलाएको जहाज जस्तै
किलिक किलीक गर्ने, अन्जान हातका औँलाहरु
बिरालोले लखेटेको मुसा जस्तो, गन्तब्य विहिन यात्रा जस्तो,
झसंङगै भएँ उज्यालोले पोतिएको तिम्रो ढोका उघार्दा
स्वर्गको सप्तरंगी इन्द्रेणी झै पाएँ तिमीलाई,
हराएको बालकले आफनो आमा भेटे झै,
ति म्रो न्यानो स्पर्शमा डुबिरहेँ एकै छिन
कोशीको बाडी भन्दा ठुलो बाडी
मनको खेतमा छताछुल्ल बगीरहृयो,बगीरहृयो
मनले खोजिरहेको कुनै कुरा पाएझै,
ढुङगा खोज्दा देउता मिलेझै,
आहा ! कस्तो रमाइलो भेट यो
जमरा लहलहाउने साइतमा भेटेँ
सयपत्री फक्रीने बगैचामा भेटे
ढकमक्कै "कविता कुसुम"फक्रीएको देखेँ,
त्यसैले कुसुम तिमीलाई
शुभकामना विजया दशमीको
शुभकामना दिपावलीको
शुभकामना तिम्रो प्रगतिको

हङकङ

श्रद्धान्जली अग्नीशिखा......

हस्त गौतम मृदुल

स्तब्ध पारी अबसान भयौ, शोकमा डुबाइ।
संधैका लागी छोडेर गयौ, यो मन रुवाइ।।
असैहय क्षेति भोगेर पनि रित्तता भर्दैन।
बिधिको बिधान यस्तै नै रैछ टारेर टर्दैन।।
भाग र भोग यत्ति नै रैछ, सुन्यमा बिलायौ।
आखिर रैछ दैबकै लिला, उसैमा मिलायौ।
स्तब्ध पारी ...............................

बिर्सने छैनौ राष्ट्रले पनि अमुल्य योगदान।
युगौ युग गाउने छौ तिम्रो कृतिको जयगान।।
आत्मालाइ सदा चीर शान्ति मिलोस यही छ पुकार ।
भावपूर्ण अन्तिम श्रृद्धान्जली यसैलाइ स्वीकार ।
स्तब्ध पारी......................................

आफै भुले


दिलिप योन्जन

आफै भुले आफ्नो खुसी
निस्ठुरीको माया जालमा परी।
ढुखि रहने मुटु पाए
बाचुन्जेली सधै-सधै भरी।।

कसरी बुझ्नु मनको कुरा
सधै हुन्थि हासी-खुसी।
हृदयमा तिनको तस्बिर थियो
लगी छाडी मुटु चिरी।।

कती कठोर मन तिनको
कसम तोडी एकै चोटी।
कस्तो माया लाएको नी
मर्नु न बाच्नु पारी छोडी।।

गजल


भूपेन्द्र महत

शिर बिसाउने काख पाइन जती थाके नि
थिर छैन प्रिया मन सुनै सुनले ढाके नि
-
लखतरान भई जब म तिमी सामु हुन्थे
अमृत छर्थेयौ तिमी खोले फाडो जे पाके नि
-
बिट फाटे टोपिको ,फेरा च्यातिए नी दौराको
हटेन कहिले त्या पुर्णिमा औसिले झाके नि
-
उचाई नाप्न नजाने,जती तन्काए नि धनु
झर्ला र कहिले तारा निशाना जती ताके पनि

सुनको पिजडामा कुजिई पैचो हाँस्नु परे
जानु छैन आफ्नो पन गुमे स्वोर्गैले डाके नि

म धेरै-धेरै रुइ दिउला


लोकेश यक्थुङ्बा

म धेरै-धेरै रुइ दिउला तिमी सधैं हासी रहनु
म मरेर गए पनि तिमी जूनि-जुनी बाची रहनु

खहरेको पानी न हुँ समुन्द्र नपुग्दै सुक्न सक्छु
आधा आकाश चुमेर फेरी पनि झुक्न सक्छु

त्यसैले त बिन्ती छ मेरो सधैं भरी नाची रहनु
म मरेर गए पनि तिमि जूनि-जुनी बाची रहनु

जानु छ तिमी कुन शहर नसोधी गए हुन्छ
झुपडीमै बसौला म तिमी नरोइ गए हुन्छ

म धेरै-धेरै रुइ दिउला तिमी सधैं हासी रहनु
म मरेर गए पनि तिमी जूनि-जुनी बाची रहनु

फाखोङमा,लिम्बुवान

मिठो अचार चार

सानु पैजा

भष्टचार
दुराचार
बिभिचार
लोकचार
समाजका परचलित चारहरु
हाम्रै मौलिक चाँडबाड जस्तै हुन
हाम्रो वरिपरी घुमिरहन्छन
अचार जस्तै मिठा हुन
सबैको मुखै रसाउछन ।
यी चार नभए
यहाँ के हुन्छ ?
यि चार भएन भने देश
देश रहन्न रे ।
यो माटो लाई लुट्न
बिदेशी छिर्नु पर्छ रे
बिदेशीको लुटाईमा
चेलीको सिन्दुर पुछिन्छ रे
अनि आमाहरु बिदेशीको
कोठी कोठीमा पुग्नु पर्छ रे
त्यसैले हामीले पनि
यी चारलाई जोगाकै छौ
आफ्नै बाट
बेचिएर
बलत्कार सहेर
शोषित भएर
दमित भएर
यो देश बचाएकै छौ।
यि चार चार लाई जोगाएर
भष्टचार
दुराचार
बिभिचार
लोकचार

पात्लेखेत - ७ म्याग्दी

गजल


बसन्त मोहन अधिकारी

आज पनि यो साँझमा मैले खान खाइन ।
चामल किन्न गाकी आमा अझै पनि आइन ।

चार्डपर्व दशै तिहार गाउँघरमा आए
हाँसो खुसी उमङ्गको कहिल्यै गित गाइन ।

कालीकोटको जन्म हजुर यैं पाखुरा धस्छु
आङ्ग ढाक्ने पुरा कपडा कैलै पनि लाइन ।

धेरै भयो शान्ति दिदी घरगाउँ छाडीगाकी
किन होला - अफै पनि हामी बिच छाइन ।

भोकमरी र हैजा लागी भाइले खुट्टा तान्दा
बर्षदिनको दशै पनि मैले मान्न पाइन ।

हाँसेर बाँच हाँसेर मर....


दिलिप योन्जन

खुशीमा बाँच
हजारौ हजार शतब्दी
समानता र स्वतन्त्रमा
अन्याय र रुढिबादको बिरोधमा
उन्नति र प्रगतिको किरण छर्दै
बाँच्न त बाँच सधै हाँसेर
स्वार्थमा ढेश डुबाएर नबाँच
माटो र पानी बेचेर नबाँच
उन्नति र प्रेगतिलाई खाएर नबाँच
इज्जत र प्रतिश्ठमा बाँच्न देउ
मुक्ति पाउन लड बिरोधमा
बिजयको टीका लगाई हाँसेर बाँच..............
मर्नु नै परे देशको लागि हाँसेर मर................

नरोक


राकेश कार्की

बन्दुक हैन बालबालिकालाई
कापी कलम बोक्न देऊ
घाउ छन् धेरै बिसेक पार्न
पट्टी मलम बोक्न देऊ

उड्न देऊ परेवालाई
शान्तिको सन्देश छर्न देऊ
फर्कन देऊ कोपिलालाई
आशाको सुवास छर्न देऊ

नरोक बिश्वासका घण्टहरु
सुरिलो धुनमा बज्न देऊ
नरोक मायाका शब्दहरु
गीत भै मनमा बज्नदेऊ

मेरो देश नेपाल


जवेगु दिलिप लिम्बु

हिमाल, पहाड, तर्राई, बेसी
मेरो देश नेपाल,
हरियाली वन, पाखा, खोलानाला
सगरमाथा शिखर,
हजार जात, हजार वर्ण
बसोबास छ यहाँ,
मिलीजुली बसेकै थियौं
कति राम्रो यहाँ ।
साँझ बिहान, शिठोपिठो खाई रमाएकै थियौं
कति राम्रो यहाँ,
दुःख सुख जसो तसो बाँचेकै थियौं
कस्ले आज कस्लाई मारयो,
कस्ले आज कस्लाई रुवायो
यति राम्रो संसार थियो
कस्ले षडयन्त्रगरी फुटायो ।
उजाड सिउँदो खाली कोख
कस्ले कस्लाई बनायो,
बाबु गुमाए आमा गुमाए
छोरा गुमाए छोरी गुमाए
श्रीमान गुमाए श्रीमति गुमाए
मुर्दा तुल्य एक्लो भई
अर्धजीवीत टोलाइ रहे ।
अनाथ बच्चा, निर्दोष अपाङ्ग
रोएको आज सङ्गीत भयो
हजारौं मान्छेका रक्तपात यहाँ
नौ रङ्गी बसन्त हरियाली भयो,
शान्तिको देश भनी चिनिएको नेपाल
लडार्इंको भूमरी भूमि भयो
हिमाली, पहाडी, तर्राई मधेसी भनी
कस्ले कस्लाई नाम लगायो ।
आ-आफै नेता हुँ भनी
निर्दोषी माथि लर्डाईं होम्यो
भाषण गर्ने नेता होइन
काम गर्ने नेता चाहियो,
ब्यबस्थापिका सिमित कागजमा होइन
ब्यबहारमा लागू गर्नु परयो ।
हत्या हिंसा छाडौं है
मिलेर हामी अगाडी बढौं
हामी मिले समाज बन्छ
समाज मिले शहर,
शहर मिले देश बन्छ
देश बने हामो नयाँ नेपाल बनाउने सपना
अवश्य पूरा हन्छ ।।

सुन्दरीको सुन्दरता


चन्द्र गुरुङ्ग

तिम्रो आँखाको गहिराइभन्दा
परेलीको डिल-डिलमा रङ्गरोगन गरिएको
कालो गाजल राम्रो !
लालुपाते ओँठहरूभन्दा
ती ओँठका भित्ता-भित्तामा पोतिएको
चकिलो लिपिस्टिक राम्रो !
नाकभन्दा पनि
नाकमाथि सजेको चिटिक्क फुली राम्रो !
दुइ कानहरूभन्दा त
कानै चुडाउने गरी
पिङ खेलिरहेको चमचम यार्लिङ राम्रो !
लामा-लामा औँलाहरूभन्दा
वासनादार नेलपालिस नै राम्रो !
तिमीभन्दा बढी
तिम्रो भित्री अङ्गहरूलाई छोप्न अर्समर्थ
डिजाइनदार छोटो ड्रेस राम्रो !
र तिम्रो शिरभन्दा पनि
काटछाँट पारिएको हेयर स्टाइल झन् राम्रो !
ए सुन्दरी झ्
तर एउटा कुरो
भन त
कता छ तिम्रो आफ्नो सुन्दरता ?!

गजल


भूपेन्द्र महत 'वाका'

राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे

मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे

राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे

आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे

प्रतिविम्व आमाको


रामप्रसाद पन्त

आमाको प्रतिविम्व हेर्न मलाई
आमाको तस्वीर हरिरहनु पर्दैन
मस्तिष्कको द्वार उघारेपछि
देखिन्छ आमाको स्पष्ट चित्र ।

सुनको टिकी, वुलाकी र नत्थी
कानविटेमुन्द्रा, ढुङग्री र मडवारी
अनि, मेला पर्वहरुमा लगाउने
सिर्फल, रैयाँ, कल्ली र वालाहरु
आभूषण थिए मेरी आमाका ।

मलाई अलि अलि सम्झना छ
छिटको गुन्यू र फाइवरको फरिया
टोपेलको चोलो र सन्फराइटको उत्तरीया
तर, युग वदलियो
रुप वदलियो
कालान्तरमा तिनको ।
मेरी आमाका यी परिधानहरु
रहेनन् पछिल्ला दिनहरुमा ।

अहिले म झलझली देख्दैछु ,
धोती चोलो पहिरेर
वारदैलीमा वसेको
पात गाँसेको र वत्ती कातेको
कहिले आउँछन् छोराछोरी भनेर
पर परसम्म नजर दौडाएको ।

नेती सर्काएर, मधानी घर्काएर
दही मथेर, नौनी निकालेर
मेरो हातमा थपक्क राखिदिने ,
तात्तातो दूध कुँडेबाट उघाएर
सिलटको बटुकोमा खनाइदिने
म रुँदा मि स्री दिएर भुलाइदिने
चोटपटक लाग्दा मलम लगाइदिने
काखमा लिएर सहस्र माया बर्साइदिने
र, एकादेशका कथाहरु कथेर
निद्रादेवी जगाइदिने
ती मेरी आमा
मेरो अन्तर्चक्षुले
अहिले पनि स्पष्टै देखिनुहुन्छ ।

अचम्म लाग्छ मलाई
आमाको स्मरणशक्ति देखेर
साँच्चैनै कम्प्यूटर हुनुहुन्थ्यो मेरी आमा
क्याल्कुलेटर हुनुहुन्थ्यो मेरी आमा
क्यालेण्डर हुनुहुन्थ्यो मेरी आमा
जन्मकुण्डली र पात्रो हुनुहुन्थ्यो मेरी आमा
कुन साल, कुन बार, कति गते र समयमा
जन्मिएका हुन् गाँउलेका छोराछोरीहरु
ठ्याक्ठ्याक्ती भनिदिनुहुन्थ्यो मेरी आमा ।

मलाई हिजो जस्तै लाग्छ
दशैमा टीका लगाएर आशीर्वाद दिएको
तिहारमा सेल पकाएर खुवाएको
वारीको डिलमा अगेनो खनेर
आँपझोत्तेको चामल
र, भोटेकेराउ कोसाको तरकारी पकाएर
अचार र गोरसका विविध परिकारहरु जुटाएर
खाजा (वनभोज) खुवाएको ।

अहिले मेरी आमा हुनुहुन्न
तर
मेरा घरमा अझ पनि सकुशल छन्
मेरी आमालाई सम्झाउने सामग्रीहरु
मेरी आमाले सोमरेका
मेरी आमाले जतन गरिराखेका
हर्पे, चौठे, धुपौरो र थुर्मीहरु
कोर्को, बोक्चो, थुन्से र मधुसहरु
धार्नी, विसौली र माना पाथीहरु
चरेसका थाल र काँसका कचौराहरु ,
मलाई लाग्छ ती सामानहरु
मेरो नातीको पालासम्म
पुरातात्विक वन्ने छन्
र, सम्भवतः सङ्ग्रालयमा मात्र भेटिने छन् ।

अहिले म सहर वजार गर्दा देख्नेगर्छु
मेरी आमाकै अनुहारका
मेरी आमाकै आकारका
धेरै आमाहरु
विनालौरो ठमठमी हिँड्ने
बोलेको अलि कम सुन्ने
पातलो दुव्लो शरीर भएका
ती आमाहरु देख्दा
सोध्न मन लाग्छ
आमा ∕
आमा ∕ मलाई चिन्नुभएन ?

कुकुरहरुको विजयगान


मोहन दुवाल

कुकुरहरु पुच्छर हल्लाउदै
चोक चोकमा देखा परिरहेछन्
हड्डी फालिउको छ यताउता जताततै
र्‍याल चुहाउँदै घम्साघम्सी गर्दैछन्-
आज चोकभरि देखापरेका कुकुरहरु .......

उनिहरु मिलेर पटक्कै खान जान्दैनन्
त्यसैले त उनीहरु टोकाटोक गर्दै जिइरहेछन्
दुर्गती यस्तैगरी भोग्छन्, एक आपसमा कलह रोपेर
हिजोजस्तै आज पनि उनीहरु मारामार गर्दैछन् -
यसरी नै भोग्छन् कष्टहरु कस्ता अभागी कुकुरहरु..........

सुँध्न जानेका, मालिकका तावेदार गर्न सिकेका
कुकुरहरु समय मिलाएर पुच्छर हल्लाउँछन्
अरुभन्दा निकै माहिर छन् उनिहरु
इस्पात भन्दा कडा दाँतहरु बोकेर आज पनि -
हिजोजस्तै हड्डीकै लुछाचुँडी गर्दैछन् कुकुरहरु........

दासहरुजस्तै नियति भोग्छन्-कुकुरहरु
बाँधिएका कैदीहरुझैं चुपचाप छन्-कुकुरहरु
मिलेर कहिल्यै बस्न नजान्ने उनीहरु
आज पनि टोकाटोक गर्दैछन् आफू आफूमा-
हड्डी ठिङ्ग बाँकी छ चोकमा तर भोक सुँध्दैछन् कुकुरहरु.......

समूह समूहमा विभक्त भएर विजयगान गाउँदैछन् उनीहरु
आफ्नै नारा र भाषामा विचार सुनाउँदैछन् उनीहरु
बलियोले नै साम्राज्य चलाउन पाइने संविधान कल्पेर उनीहरु
बिभाजनमा रमाउँदै आज विजयगान गाउँदैछन् चर्को स्वरमा
घाम छक्क पर्दै प्रकाश बाँड्दैछन् र हेर्दैछन् कुकुरहरु..........
बनेपा, काभ्र्रे

गजल


बसन्त मोहन अधिकारी

म आकसमा जाउँ कि पातलमा छाउँ ?
छैन धर्तीमा कतै गरिवलाई ठाउँ ।

छैन जोत्ने माटो यो हो जन्मदैको घाउँ
मुल्यहिन पसिनामा, रुन्छ घर गाउँ ।

साँझ बिहान जताततै खाउँ भन्छ साँउ
तेल भन्दा सस्तो छ यहाँ रक्सिको भाउँ ।

चुरोट भन्दा चामलको चर्को छ भाउँ
न्युन श्रम मुल्यमा म के किनेर खाउँ ?

यहाँ, न जोत्ने ठाउँ, न पसिनाको भाउँ
साँझ बिहान चुल्हो म कसरी जलाउँ ?

देखेनन् कसैले त्यो ठाउँबाट यो गाउँ
प्रचण्ड ! अब लौ गरिवलाई बचाउँ ।

अब लेख्दिनँ कविता


किराँती भोगेन एक्ले

भो एहोई अब लेख्दिनँ कविता
कति लेख्नु ?
बोकेर सम्झना मुहानको
बगेर समुन्द्रमा बिलाएको खोला
डालीको माया सम्झन्दै न्यानो
चुडिएर हुरीसँगै उडेको पात
सपनामा देख्ने आफ्नो आगन
बिपनामा खेप्ने मुङ्लाने कर्म
जति लेखे पनि जे जे लेखे पनि
आफ्नो हराएर आफू बाँचेको बेला
जुठो टपरी सोहोर्नुकै व्यथा लेख्नु पर्छ
हराएको मान्छेकै कथा लेख्नु पर्छ
खाली निन्याउरो अनुहारमा
हाँसोको लेपन दलेर
बिलाएर एका देशमा देश खोज्दै
बिराएर देश पर्देशसँग तीतो पोख्दै
भो एहोई अब लेख्दिनँ कविता

मिसिएर झ्याउरे र हिपहप
दशगजा बनेको छ कान
ढिंडो र बर्गरको स्वादमा अलमलिएर
झन् झन् लाटा न बाठा बन्दै छ जिभ्रो
न बदल्न सक्छ आँखा आफ्नो श्यामश्वेत रङ्ग
न चिम्लन सक्छ देखेर झिलिमिली बत्ती
न छाड्न सक्छ नाक यो बेश्या सहरको गन्घ
न भुल्न सक्छ राम साइँलीको चुल्ठोको वास्ना
यस्तो दोसाँधमा
यस्तो दोधारमा
बिलौना पोखेर अस्थिर मनको
गाउँदै बेसूरा गीत
लगभग बेसूराझैं गिदीले
भो एहोई अब लेख्दिनँ कविता

अस्ति देशको मीठो लेखेँ
हिजो पर्देशको तीतो लेखेँ
आज न त्यो मीठो छ न तीतो छ
यो नहुनुको बेस्वादमा
कुन स्वादको कविता लेखौँ
खाली तिर्खै मार्नमात्र खै के लेखौँ
भो एहोई अब लेख्दिनँ कविता
कविता लेख्नलाई त
थिरमा हुनुपर्छ मन
तालमा हुनुपर्छ चाल
फुममा हुनुपर्छ मस्तिष्क
खरी झरेको मादल
ओसिएको च्याब्रुङ
बजाउनु भन्नुमात्र
ठटाउँदाको दास्ती
बजाउनेलाई भन्दा
बज्नेलाई सास्ती
यस्तो संकटमा
खै के लेखौँ कविता
बिच्चामा, राप्पाको तेसै
भो एहोई अव लेख्दिनँ कविता

तिम्रै यादमा



दिलिप योन्जन


पर्खाईमा थाक्यो याद पनि
सपनीमा बित्यो रात पनि
तिम्रै यादमा माया तिम्रै प्यासमा....

जिन्दगी नै खल्लो भा छ तिमी साथ नहुदा
प्यासी मन जल्न थाल्छ तिम्ले मलाई नछुदा
सम्झनीमा भिज्यो आख पनी
सपनीमा बित्यो रात पनी।

त्यस्तै दुख्ला तिम्लाई पनि जति मलाई दुख्छ
आसै आसको पर्खाईमा झनै यो मन रुन्छ
कल्पनीमा बित्यो दिन पनी
सपनीमा बित्यो रात पनी।

बिझाउने पिंडा

हस्त गौतम मृदुल,

न खोटयाउ मलाइ, त्यो कहाली लाग्दो कहानी।
बरु छिटै सुनाउ, के कस्तो छ आउदो बिहानी।

जे हुनु थियो भयो, गल्ती दोरयाउन न खोज।
झन बिनास होइन, अब सुन्दर भबिस्य रोज।
समय पर्खिदैन, संकल्पलाइ लक्ष्यमा पुरयाउ।
अस्थिर अबस्था छ, अब सही बाटोमा डोरयाउ।

न सुनाउ मलाइ, त्यो दर्दनाक पिंडाको कथा।
बरु छिटै बुझिदेउ, आफनो माटोको ब्याथा।

गौरभसाली यो माटो, यतिहाँसमै हेंला भो।
मनमुटाब मेटाइ एउटै सुत्रमा बाँधिने बेला भो।
बिगतलाइ भुली, सुख सान्ती समृद्धितिर लाग।
नयाँ खाका कोर्दै, सुनौलो भबिस्यसंगै जाग।

न देखाउ मलाइ, त्यो बिनासको अजिव चित्र।
यहाँ सत्रु छैनन, बरु अब सवै बने मित्रैमित्र ।

भर्जिनिय, अमेरिका

मान्छे बिनाको शहर


कृष्ण प्रसाई

माटाले भयानक युद्ध लडिसकेकाछन् ।
माटाले भयंकर युद्ध खेपिसकेकाछन् ।
माटाले भीषण युद्ध देखिसकेकाछन् ।
पराजयको नाममा -
म गीत गाइरहेछु ,
महाभारत
मात्रै, माटोको युद्ध थिएन -
अजेय शक्ति ठानिएको ,
कौरवराजको अवसान पछि ,
मरुभूमि जस्तै बनेको कुरुक्षेत्र -
चाहेर पनि युद्ध लड्न सक्दैन ,
स्वयं युद्ध लडेर थाकेकेा ,
कुरुक्षेत्र झै भएको छ कुरुक्षेत्रको मन पनि ।
कुरुक्षेत्रको युद्धमा ,
कंकाल भएका हाडहरु ,
अझै मक्किसकेका छैनन् -
केहीअघि मात्र ,
गिद्धहरु उड्न छाडेकाछन् आकाशमा ।
चारैतिर चकमन्न छ -
सुन्सान छ हस्तिनापुर ,
बाँचेका जे जतिछन् ,
पाएर पनि गुमाएका जस्ताछन् ।
जितेर पनि हारेका जस्ताछन् ।
लिने मान्छे नपाउँदा,
अंशको मूल्य नै कहां हुन्छ र धर्तीमा -
भरखरै मात्र धृतराष्टले ,
आफ्नै छोराहरुको श्राद्ध सकेकाछन् ।
केही अस्टचिरन्जीवीहरु,
शीतल ताप्न ,
हिमालयतिर छिरेकाछन् ।
पुत्र शोकमा शोकाकुल द्रौपती ,
पुत्रमोहको नशामा ,
भौतारिरहेकी छिन् -

देशको पुण्य शिखरमाथि उभिएर ,
सांकेतिक घोषण गरिरहेछिन् -
" पुनः एक दिन तिम्र्रो माटामा ,
भयानक गड्गडाहट संगै -
फेरि भूइचालो जानेछ ,

हाहाकार हुनेछ -
सहयोगको / याचनाको ,
सहज भोग्न पाउनेछैनौ मृत्युलाई -
मर्ने मान्छे नभेटेर ,
मृत्युसमेत रुनेछ त्यो क्षण ।

सकिनेछ अध्याय -
कफनको / मलामीको ,
असंख्य अघोषित मृत्युवरणपछि ,
तिम्रो शहर हुनेछ -
मान्छे बिनाको शहर ।"

अनामनगर, काठमान्डौ

तराइ रोइ रहेछ


बिमल गिरी

दु:खको क्षण
पिडाको सागर भित्र
आशुको बुद मिसाउदै
जीन्दगीका नाउ खियाइ रहेछन
आज तमाम तराइबासिहरु
कोशीका भयवित र उदास बगरहरुमा,

बिरह र ब्यथा सँगै सोकाकुल महा मुद्रामा
बेदनात्मक बन्धनबाट स्तब्ध
अनगिन्ती सोकाकुल सन्तानहरु बिच
ओठ् का थैली खोलेर
सिटामोल का दरिद्रिक मानसिकता
बोकी जिबित मृतका प्रतिमाहरु
सान्त्वनाका फोस्रा शब्दहरु
बाडन ब्यस्त छन,

हाहाकार र भय संगै
आशुका थोपाहरु लाई शुक्ष्म कण सम्झी
बेदनामा आशु पिउदै बाचिरहेका
उकुस मुकुस आँखाहरुका समिपमा
औपचारिकता का बकम्फुसे चिप्ला अभिलाषाहरु
ओकल्न आतुर छन बर्तमान बुल् फ्रगहरु
(यो क्यानडामा पाइने भ्यागुता हो यस्को आवाज १ कि मि सम्म सुनिन्छ तर केही अर्थ लाग्दैन)

चारपाने झापा हाल बेल्जियम

यात्रा भो अधुरो



दिलिप योन्जन

हिडेर कहिले, छुइएन छितिज, यात्रा भो अधुरो

आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।


भाग्यमा नभै, खोजेर मात्रै, पाइएन केही पनी
आखाको सामु, पराए भयो, चाहेको माया नि
च्यातिन्दै गयो,बिस्वासको पाना,जिबन भो अधुरो
आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।


एक्लो जिबन, एक्लो यात्रा, चल्छर कति दिन
बैसाखे हुरीमा,आसाको दियो, बल्छर कति छिन
मेटाई छाडी, हिडेको पाइला, यात्रा भो अधुरो
आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।