गजल


बसन्त मोहन अधिकारी

मरिसकेको छु ,जलाऊँ आएर अब
के चाहन्छौ, मेरो घर जलाएर अब

विश्वासमा दिए, संसार तिमीलाई
जलिरहेछु तिम्रो आगो पाएर अब

कुन गल्तिको सँजाए दियौ तिमीले
दिन सक्दैनौ जीवन ल्याएर अब

मानव भनौँ कि के भनौँ तिमीलाई
नजलाउ यो मनमा छाएर अब

म खाते !


भानेन्द्रकुमार सम्बाहाम्फे

छाती पिटिरहेछु
पैसा माग्न
सडकपेटिमा
हुलका हुल मान्छेहरु
यताबाट उता
उताबाट यता
कोही रफ्तारमा
कोही मस्तीमा
गइरहेछन् आइरहेछन्
म लगातार पिटिरहेछु छाती
"भोक लाग्यो, पैसा देऊ" भन्दै
रत्नपार्कमा, सडकमा ।

म के हुँ ?
म को हुँ ?
मलाई नै थाह छैन
मान्छे भन्ने गर्छन्
म खाते हुँ रे !
जसको बाउ हुँदैन
आमाको पत्तो हुँदैन
ऊ नै खाते हो रे !

मेरा एक जोर आँखा छन्
छन् एक जोर खुट्टा पनि
त्यति मात्र कहाँ हो र ?
एक जोर कान र हात पनि छन्
सुँघ्ने नाक र खाने मुख पनि छन्
ठ्याम्मै मान्छेको जस्तै
तर
म मान्छे होइन रे !
किनभने
मेरो जात छैन
थर छैन
छैन थातथलो पनि ।

सिंगो धर्ती ओछ्याउछु
विशाल आकाश ओढ्छु
सडकको पाले मलाई
भकुण्ड्याउछ त्यहाँबाट पनि
फेरि पनि
मेरो मुटु
मान्छेको जस्तै छ
मेरो बोली
उसैको जस्तो छ
जसले मलाई खाते भन्छ ।

काटीकुटी म मान्छे
तर मान्छे होइन !
मान्छे
यो देशको नागरिक हुन्छ
म अनागरिक
किनभने
नागरिक हुन
बाउआमाको सनाखत चाहिन्छ ।

उफ् ... !
म के हुँ ?
म को हुँ ?
रनभुल्लमा छु
मान्छे होइन भन्छन् मलाई
रत्ति पनि फरक छुइन मान्छेसंग
नागरिक होइन भन्छन् मलाई
म जंगलबाट आयातित् पनि होइन ।

ल ठीकै छ
मान्छे होइन
खाते नै सही
सर्वोत्कृष्ट प्राणी
ए मान्छे !
तिमी
हिजोआज
साह्रै चिन्तित् छौ
पर्यावरण जोगाउन
गोब्रे किरा मार्दा
जेल हाल्छौ
कुखुरा चोर
स्याल मार्दा
कानून् लगाउछौ
चराचुरुङ्गी मर्छन्, भाग्छन् भनेर
ठूलाठूला आयोजना रोक्छौ
साँच्चै तिमी महान !
किनभने
म जस्ता
जो तिमीसंग
कति पनि फरक छैनौं
नाङ्गै छौं
मान्छेका हुलहरुमा
भोकै छौं
शहरहरुमा, गाउँहरुमा
तर
तिमी देख्दैनौ
भोकाएका पेटहरु
चाउरिएका फोहर
रोगले ग्रस्त अनुहारहरु
किनकि
तिमी मानवअधिकारवादी हौ
तिमीले देख्नु हुँदैन
तिमीले सुन्नु हुँदैन
आफूजस्ताको रोदन
किनकि
तिमी पर्यावरणविद् हौ ।

जमिनबाट उम्रिएको
म वनस्पति होइन
न जरा न काण्ड
न पात छन् मेरा न फूल
म कसरी आएँ यो धर्तीमा ?
अब मैंले खोज्नैपर्छ
पत्ता लगाउनैपर्छ
कारण मेरो आगमनको
किनभने
म मर्न सक्दिन
कस्तै कष्टमा पनि
प्राणपखेरु उडेन
त्यसैले
मैंले बाँच्नैपर्छ
खोज्नैपर्छ मेरो सृष्टिको आधार
बिनाअस्तित्व
हुँन्न अब बाँच्न मैंले यहाँ
कसैको लैनो गाई बनेर ।

बिना बाउ, बिना आमा
सृष्टि भएन पक्कै पनि मेरो
प्रकृतिको नियम विपरित
किनभने
रुपरङ्ग, आनीबानी
मान्छेसंग ठ्याम्मै मिल्छ
हुन्न अब जिउन
बिनाअर्थको जीवन सडकमा
किनकि
म घाँस खान्न
मान्छेको जिब्रो भन्दा
फरक छैन मेरो जिब्रो ।

अब मैंले
डी. एन. ए. जचाउनैपर्छ
ठूलाठूला मान्छेहरुका डी. एन. ए. संग
रगत रातै छ
सास् तातै छ
सम्भावना ज्यूँदै छ
म मान्छे प्रमाणित हुने ।

मैंले बाउ देख्नैपर्छ
आमा पाउनैपर्छ
किनकि
जमाना वैज्ञानिक छ
कस्तै रहस्यले पनि
सुखै छैन नखुली
यो साइवर युगमा ।

बाउ-आमा पाएपछि
गर्नैपर्छ दाहसंस्कार तिनको मैंले
किनकि
तिनै हुन् खातेका भ्रुण
नमासे तिनलाई
फेरि पनि
चलिरहन्छ चक्र
खाते उत्पादनको
अन्तहीन यात्रा झैं
देशलाई नै अस्तव्यस्त पार्ने गरी ।

।।समाप्त।।
काठमाण्डौ ।
२०६६/०१/०५

आमा कहाँ बिलायौ


आचार्य प्रभा

आमा तिम्रो मात्रित्वको परीभाषा
कसरी म दिउ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नै नदिइे
छाडेर गयौ ....
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ ...
म भने आमा ,आमा चिच्याइ रहें
तिमी त कठोर् बनी
शुन्यमा बिलायौ ...

जब मलाई तिम्रो न्यानोपनको
आवश्यकता थियो तब तिमी त
आँफै चिसिएर बगर बन्यौ
जब मलाई तिम्रो उपदेशको चासो थियो
तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ
भन... आमा तिमी कस्तो सजाय दिइे
टाढा टाढा अस्तित्वहिन भै
कुन नभमा बिलायौ ?
मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ?
आमा कुन क्षितिजमा हरायौ ?
मेरो बात्शल्यताको अर्थ किन लुटायौ ?

(समर्पित ''मदर्स डे ''मा )

आऊ म साहारा दिन्छु....

हस्त गौतम मृदुल

आऊ म साहारा दिन्छु गोरेटोमा डोर्याउन
तिमीले देखेको सून्दर सपनासम्म पूर्याउन

हिन्न सक्छौ गोरेटोमा पाइला चाली मन्को
सपनाहरु पूरा गर्ने छौ त्यो तिम्रो जीवनको
त्याग हिनताबोध अनी साहासी यात्रा थालं
मेटाउन आफ्नै अध्यारो कर्मको दियो बाल

आउ म साहास दिन्छ......................

फुल्ने फूल ढंगामा पनि फुल्छ रंङ्ग देखाउछ
पलाउने पालुवा शिशिरमा पनि त पलाउछ
त्याग निरासा आत्मा बिस्वासको ढोका खोल .
समयलाइ बदल्न सके जीवन बन्छ अनमोल

आउ म सहयोग गर्छु, ..............................”

गजल

केशब आचार्य

तिमीसँग जिन्दगीको धेरै कुरा गर्नु थियो
ओभानो त्यो तिम्रो सिउँदो सिदूरले भर्नु थियो ...

उजाड यो जिन्दगी यो सधैंभरी आफ्नोलागी
चन्दा मागी तिमीसँग माया केही छर्नु थियो ...

आँधी चल्छ छात्तिभित्र निराशाको भेलसङै
परिसक्यो जिन्दगी यो भूमरिमा पर्नुथियो ...

आफ्नै बाटो आफ्नै साथ जिन्दगीको यात्राभरी
झरिसक्यो कोपिलामै जिन्दगी यो झर्नु थियो ....


(अमेरिका )

समयका जन्जिर भित्र


गुरु केदार बराल

साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे
भावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,
मन भरि भरि सितलताक उद्वेगहरु भरेर,
मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,
आँखा भरि भरि प्रफुल्लताका अनुबन्धित गरेर
अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर,
दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर
आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै
एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ
छालहरु तर्फ धकेल्न।
म बाँधिएको छु,
समयका जन्जिरहरु भित्र

अमेरिका

बेसुरको नाँच


स्यानु पाईजा

भिजेर खेतका गह्राहरु
चेलीको पछ्यौरी जस्तै
आकाश गुमसुम कुहिरो भित्र
सहनाई रोएको धुन मा
कस्को बिजयजुलुस हो यो?
नाँच्नेहरुलाई नै थाहा छैन
म पनि अरु नाँचेको देखेर नै
ताल मिलि नमिली नाँच्दै छु
ताल मिलाउन खोजेर नाँच्दै छु
साहेद धुम्टो भित्र रुने को ?
मैले जान्नु जरूरी सम्झेन
यो बाटो र माटो को पिडा
सबै जरुरी पर्दा मात्रै बुझ्छन
किसान भोक तार्न खनी खोर्सि
छाती भरि गाभो रोप्छ
र मँसिर पर्खन्छ ।
मैले हरेक पटकको बसाईमा
म मर्ने ठाउँको चिनो खोज्दछु
र मृत्यु पर्खन्छु
म मतलवी बनेका पलहरु
गैरीखेत डिलमा आली छैन
पहाडको काखमा सानो घर
घरको पनि पाली छैन
महल बनाएका हातहरु
आफ्नै घरको पाली बनाउन
किन कन्जुस गरेको होला
गोरेटोका चुच्चे ढुँगा किन नउखलेको ?
हरेक चोटी रगतै हुने गरी ठेस लाग्दा पनि
सानो घरको पाली हालेको भए
आमाले पोटेको दुई रँङको भित्ता
चितिक्क जस्ताको तस्तै रहन्थ्यो होला
मर्नु मन लागेको माटोमा
बाँच्नु किन मन नलागेको ?
बेसुरको नाँच नँचाई जस्तै
यहि प्रश्न मलाई बेसुर लाग्छ ।
यहि प्रश्न आफैलाई गर्नु कसुर जस्तो लाग्छ
साहेद जटिल लागेको प्रश्नको जवाफ
लाट्ररीको नम्मवर खुले पछि
जताततै भेटिए झै भेटियो भने
सास जानुलाई अझै पिडा होला
छानो चुहिने झुपडीमा मृत्यु पर्खेर बस्दा।

पात्लेखेत-७ म्याग्दी

के कोसेली बोकेर आयौ


गुरु केदार बराल

चेरीका डालीहरुमा मग्मगाउदा फूल फूलेछन्
वैंशका रुखहरुमा बैश पलाई लटरम्म झूलेछन्
मौसमले थाहै नदी रङ फेर्न थालेछ
चरीहरु अचानक धुन बदल्न खोजेछन्
एक्कासी झस्किएँ म, हावाको बेगले
लामो केश सुम्सुमाइ कानमा केही गुनगुनाउँदा
केही बेर टोलाइरहें म भित्ता मा टाङिएका पात्रोहरुमा
आँखा लगाउँदा हिंजो भर्खर आए जस्तो लाग्ने
"नयाँ साल” पुरानो भई फेरि नयाँ आएछ
भन के कोसेली बोकेर आयौ
तिम्रो स्वागत गर्न भनी बसन्त पर्खि

गीत


दिलिप योन्जन

कस्तो दैब लाग्यो दाजै,यो दुखिया माथी
हेर्दा हेर्दै डाँडा काटी, दिनै पारी राती
बाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।

माया गरे मुटुमा राखी, आफै भए पराई
हासी खुसी बाचे कैछे,चितामा मलाई जलाई
हेर्दा हेर्दै मलाई छाडी, अर्कै माया रोजी
बाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।।

जिबन दिए बाँचा गरी, आफै बने स्वार्थी
ब्यार्थै किन मुटु साटे, बाच्नु पर्यो तडपी
हेर्दा हेर्दै निस्ठुरीको माया,भयो आकास धर्ती
बाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।।।

अस्टिन, अमेरिका

बिस्थापित हामी


आचार्य प्रभा

प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।

(अमेरिका )

तमोर सधैं बगिरहन्छ तर हिमाल सकिन्दैन


डी.वी. पालुङ्वा

म अविश्वासको पृष्ठपोषक
किमार्थ बन्न सक्दिन
तर मलाई हिमाल हिंडेको थाहा छैन
पहाड सरेको थाहा छैन
त्यसैले
तरार्इ पनि हिड्दैन र र्सर्दैन पनि
अत : म हिमाल पहाड तरार्इका फांटहरुमा
आदीम् सभ्यता संगसंगै
आजको यस घडी र पल्लामा उत्रिएर
यी विश्वासका हस्ताक्षरित हरफहरु मार्फत
यो अन्तिम बोधार्थ संम्प्रेसण गर्न चाहान्छु
किनभने यो धर्तिमा र्इतिहांसलाई पुरै भत्काएर
नयां मन्दिरको मात्रै निर्माण गर्ने कल्पना गर्न सकिन्दैन ।
के यो आफैमा अटल विश्वास होईन र ?
तसर्थ येही बिश्वासको जगमा
अथवा त्यो धरातलमा उभिएर
आंधी संग टक्कर गर्नु आफैमा
एउटा उदेश्य होईन र ?
यस अर्थमा म यो धर्तिमा
बिना उदेश्य आएको थिईन कि
मेरो आमाको बिलौनालाई धुलो चटाउनु
मेरो मौन स्वीकृती पट्टकै होईन
यहां एउटा माटोको कृतघ्नता बिर्षोर
पुन्य तिर्न नसक्ने निम्छरो छोरो
म किन्चीत बन्न सक्दिन
र यो कोलाहल मसान्घाटमा
काङसोरेको प्रेतआत्म जगाएर
यो युगान्तकारी आन्दोलनको नारामा
समावेशी र समानुपातिकको खोंढा उध्याएर
भाग लिन
मैले यलम्बर संग कबुल गरेको थिईन
र फट्के किनारामा श्रीजंगालाई
साक्षी कहिल्यै राखिन
येही सत्यमा राष्ट्रिय अखण्डतामा
सार्वभौंम् र संप्रभुत्ताको खातिर
अब एउटा आत्मआन्दोलनको चरम् उत्कर्षमा
बालक सधैं जन्मी रहन्छ
तर आत्मनिर्णयको अधिकार सिद्धिदैन
यो सत्यबोधमा
हिमाल पग्लेर तमोर बगिरहन्छ
समग्रमा
हिमाल पग्लेर गंगोत्री सधैं बगिरहन्छ
तर हिमाल सकिन्दैन ।

हङकङ

कोरिदैछ मेरो नग्न चित्र


स्यानु पाईजा

समाय र समायको परिधि भित्र
समायले दिएका उपहार चित्र
आधुनिकताको कबच भित्र
कोरिदैछ मेरो नग्न चित्र
मैले आफैलाई नियाल्न भुलेछु
साहेद त्यो दिन लजाउछु होला
जब मेरो नग्नचित्र उडाङ्गो हुन्छ
जालो जता जतै जालो
धरबाहिर केवुल टिभीको जालो
ईन्टरनेटमा सोसियल नेटवर्कको जालो
रिमोटमा च्यानल लाम लागेका छन
टेबुलमा मुवाईलहरु पेट्रोलको लाईन पर्खेकाछन
गुडमर्निङ्ग डार्लिङ मुड बनाउने होईन
अचेल मलाई मुड बनाउदा बनाउदै
खल्लो लाग्न थालेको छ ।
मुबाईलको हरेक रिङटोनमा अव
भोकाएको बिरालोको म्याउ जस्तै लाग्दैछ
एउटै छाना मुनि तिन थरि प्रेम मौलाउदै छ
नानीहरुको अन्जान प्रेम-अपरिपव्क्क प्रेम
बाबाहरुको अनेक आन्टीहरु सँग-नक्कली प्रेम
आमाहरुको गैर पुरूषहरु सँग- अबैध प्रेम
आधुनिक जमनाको आधुनिक प्राइबेसी
समाजमा हामीले पारेका खाडलहरु
एक दिन यो भड्खालो बन्छ आफ्नै
लङ्गडो भएर मान्छे बैशाखीमा उभिनेछ
तै पनि बैसाखीमै बाच्ने लालच रहेनछ
समाय र समायको परिधि भित्र
समायले दिएका उपहार चित्र
आधुनिकताको कबच भित्र
कोरिदैछ मेरो नग्न चित्र

पात्लेखेत-७, म्याग्दी

गजल


भूपेन्द्र महत

आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे

स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे

जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे

साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे

गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे

गजल

इन्द्रकुमार श्रेष्ठ 'सरित्’

आँसु बहेको छ मेरो तिमी पानी नसम्झ
मनको व्यथालाई भो तिमी कहानी नसम्झ ।

मैले पनि जुनजस्तै हाँस्न खोजेकै लिएं
रुवायो नियतिले यसलाई बानी नसम्झ ।

जति धोए पनि सम्झना धुनै सकिएन
भुल्नै नसकिने मायालाई जवानी नसम्झ ।

ढल्दै जाने दिनलाई हेर रोक्नै सकिएन
जुनको उज्यालोलाई तिमी विहानी नसम्झ ।

वसन्तको प्रतीक्षामा शिशिर सकिएन
उमेर ढल्दैमा भो मायालाई खरानी नसम्झ ।

काठमाडौ, नेपाल ।

गजल


राकेश कार्की

झारपातको नाता पर्न मंत्रीज्यूलाई फुर्सद छैन
गरीबको झोलि भर्न मंत्रीज्यूलाई फुर्सद छैन

भोकले मरोस् या बन्दुकले मरोस् देशवासी
जङ्लमा झैँ सँगै चर्न मंत्रीज्यूलाई फुर्सद छैन

पढ्न नपाएर के भो लड्न सिकाएकै छन्
शिक्षाको ज्योति छर्न मंत्रीज्यूलाई फुर्सद छैन

बाढीले बगाओस् या भिरबाट गुल्टिउन
बाटो पूल निर्माण गर्न मंत्रीज्यूलाई फुर्सद छैन

ड्याम्म आसन ग्रहण भा छ अति आन्नद
कार्यकर्ता भेट्न झर्न मंत्रीज्यूलाई फुर्सद छैन

छाति थापे शहिद भए मंत्रीज्यूलाई बचाए
जनताको लागी मर्न मंत्रीज्यूलाई फुर्सद छैन

देश चलेकै छ हातमा, सारा आफ्नै सासमा
मलम बोकी कोशी तर्न मंत्रीज्यूलाई फुर्सद छैन

लस् एन्जेलस्

धरान


भानेन्द्रकुमार सम्बाहाम्फे

साँगुरी भञ्ज्याङ्ग-भेडेटार
ओडेर शीरमा
सर्दु-सेउती
दायाँ बायाँ
पानीका घडा
पञ्चकन्या-विजयपुर
शीरफूल
भानुचोक-छाताचोक
छातीमा सजाइ
चारकोसे टेकेर
मृदु मुस्कानका साथ
हाजिर छ सधैं
लाहुरे पारामा
ठाँटिएर सफासुग्घर
स्वागतमा तम्तयार
सौन्दर्यको अजस्र प्रवाह
पूर्वको धरोहर
मेरो सुन्दर धरान शहर ।

तिमीले भनेजस्तो
बेइमान छैन धरान
तिमीले कल्पना गरेजस्तो
असुरक्षित छैन धरान
अनि छैन रत्ति पनि
कुरुप कुनै पनि अर्थमा
तिमीले आरोप लाएझैं
छैन जँड्याहा धरान
परबाट हेरेझैं
तिमीले सुनेझैं
कदाचित् छैन
डुबेको धरान नशामा
अनि
पराइले भन्ने गरेझैं
बेढंगको छैन धरान ।

'असतोमा सद्गमय
तमसोमा ज्योतिर्गमय'
सरस्वती बन्दना
जप्दछ धरान हरेक दिन
मुक्त कण्ठले
नपत्याए
महेन्द्र क्याम्पसमा गएर सोध
हात्तीसार क्याम्पसमा गएर सुन
पिण्डेश्वरी विद्यापीठमा गएर हेर
इन्जिनियरिङ्ग कलेजमा गएर नियाल
यहाँका पाठशालाहरुमा सोध
भोलिका कर्णधारहरुलाई
ढाँट्दैनन् तिनीहरु
यहाँको परम्परै यस्तो छ ।

सजग छ धरान
स्वस्थ राख्नुपर्छ
आफ्ना परिवारजनलाई भनेर
सुविधा सम्पन्न
बडेमाको अस्पताल
स्थापना गरेको छ धरानले
आफ्नो लागि मात्र नभई
जोकोही आउछन् धरान
सम्झेर आफन्त
सबैलाई
चौडा छाती लिएर
सगौरव
'सेवा नै धर्म' भन्दै
थाकें नभनी अहोरात्र
'स्वस्थ धरान-स्वस्थ नेपाल'को
प्लेकार्ड बोकेर
जननीप्रतिको असीम माया
बोकेर हृदयभरि
घोपा क्याम्पमा
व्यस्त छ सेवामा
मेरो धरान ।

हजारौंमा दुर्इचार
खोट्टा सिक्का हुनु
कुनचाँही अनौठो हो र ?
वैंशमा दुर्इचार
बौलाए केटाकटी
पात्तिएर-मात्तिएर भने
कुनचाहीं आश्चर्य हो र ?
के पोखरामा हुन्न त्यस्तो ?
के काठमाण्डौमा हुन्न त्यस्तो ?
के तिम्रो शहरमा हुन्न र त्यस्तो ?
अनि
किन मुद्धा बनाउछौ
मात्र धरानलाई ?
वलिमा चढाउन यत्तिकैमा ?
के बिगारेको छ र धरानले तिम्रो ?

गौरव छ मलाई
सुन्दैछु
दुर्इचारजना मात्तिएर
बौलाएकाहरु
होसमा आइसके रे
आउनेक्रममा छन् रे अरु पनि
त्यसैले
कान नथुन मित्र
धरानले तिम्रो कान
बनाउने छैन अपवित्र
नखुम्च्याऊ
त्यति सुन्दर नाक तिम्रो
गन्हाउदैन धरान वास्तवमा
यहाँ त
सफाइका पाठशालाहरु छन्
विकासका यज्ञशालाहरु छन्
सहकारिताका विश्वविद्यालयहरु छन्
त्यसैले त
धरान यति हार्दिक छ
पाहुना सत्कारमा
परम्परा बनाउने धुनमा ।

मित्र !
तिमीले सुनेभन्दा
तिमीले सोचेभन्दा
वास्तविकतामा
धेरैधेरै फरक छ धरान ।

ऊँ शान्ति ! ऊँ शान्ति !! ऊँ शान्ति !!!
विजयपुर गुञ्जन्छ हरपल
बुढासुब्बा आशिर्वाद दिन्छन्
दन्तकाली शक्ति दिन्छिन्
पिण्डेश्वर बाबा
मस्त छन् ध्यानमा
सम्पूर्ण प्राणीको भलाई खातिर
पवित्र छ धरान
पञ्चकन्याको दयाले
न गर्मी न जाडो
न समतल न ठाडो
ज्यादै उपयुक्त छ
अनुपम यो बासस्थल
निश्चिन्त अनि निशंकोच
आऊ मित्र
स्वागत गर्छ तिमीलाई
हार्दिक मनोभावले
सौन्दर्यको अजस्र प्रवाह
पूर्वको धरोहर
मेरो सुन्दर धरान शहर ।

मित्र !
तिमीले सुनेभन्दा
तिमीले सोचेभन्दा
वास्तविकतामा
धेरैधेरै फरक छ धरान ।

धरान ।
२०६२/०४/०३

स्वायत्त प्युटार गाउँ


दयाकृष्ण रार्इ

भुगोलको सीमा रेखाबाट
बाहिर धेरै टाढा प्युटार गाउँ
हुन सक्छ प्युटार एउटा
नयाँ नेपालको स्वायत्त ठाउँ
जहाँ पाषण युगका
पाषण मुटु भएकाहरु बस्ने गर्दछन
त्यही गाउँकी,
म कल्लीकुमारी विक ।

अन्ध विश्वाशको आन्तरिक्ष यानमा
प्रक्षेपित बिचारहरु
कुनै अर्कै ग्रहमा अवतरण हुनु पर्ने थियो
तर नौ ग्रह शान्तिको लागि
धामी झाँक्री, कालो भालेले ग्रह कटाएर
चन्द्रमालाई धुप बालेर
नील आम्स्ट्रङ्गको पाईताला मुनी
ढयाङ्गरो ठटाउदै ग्रहण लागेको बेला
चमारलाई गाली गरि रहेछ प्युटार गाउँ ।

पासाङ्ग ल्हामुले आरोहण गरेको
झयोमोलोङमा भन्दा
बिमला लामाले आरोहण गरेको
पुरातन सोंचको पहाड अग्लो रहेछ,
शिक्षाको ज्योति बाल्ने हातहरुले
म एउटी दलित निम्छरो नारीको मुखमा
बिष्टा कोच्याउने बिमला लामाको महानता भन्दा
मुर्म्बईको कोठीमा बेचिएर फर्किएकी
आफु जस्तै पीडित महिलाहरुको उद्धारमा
लागि परेकी निरक्षर र्साईली लामाकै महानता विशाल रहेछ ।

देशमा नयाँ ब्यबस्था परिर्तन भनेको
नयाँ बोतलमा पुरानो रक्सी भरिनु रहेछ
मान्छेले छोएको मान्छेले नखाने
देश नेपालमा
छुवाछुत उन्मुलन, बर्गीय समानता भनेको
सिउपुरी पहाडमा बत्ती बलेको देखेर
गरिबी झुप्रो भित्र न रुर्इ, न फुर्इ
माघे जाडोमा न्यानो लाग्नु रहेछ ।

एउटी महिला बोक्सी र डङकीनी
अर्की महिलाद्वारा आरोपित,
महिलाले महिलालाईनै अन्याय अत्याचार
उहिले हाम्रा बाबु बाजेले भन्थे
न्याय खोज्न गोर्खा जानु !
अन्यायमा परेकी म कल्लीकुमारी बिक
नयाँ नेपालबाट धेरै टाढा
स्वायत्त प्युटार गाँउबाट
कहाँ जाउँ अब न्याय खोज्नलाई ?

बेलायत वेल्स कार्डिफ

गजल


भुपेन्द्र महत

समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस

आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस

रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस

कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस

शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस

कोलोराडो

नेपाली नयाँ बर्ष

छक्कु उदासी

गाउ घर तिरको नयाँ बर्ष
नेपालीको ओठमा नयाँ बर्ष आयो
कसैको गोठमा भैसीले रांगो ब्यायो
पल्ला गाउको भैरेले स्वास्नी ल्यायो
भुन्टीले फेरी लोर्के छोरो पायो
तल्ला घरे कान्छी पोईला गयो
वल्ला गाउको जेठो अरव गयो

बास्तबितामा नयाँ बर्ष
घडीको सेकेन्ड मिनेट र घन्टा सुईले
पलपल मान्छेको उमेर धकेलिरहेको छ
दिन हप्ता र महिना गन्दै भित्ते पात्रोले
प्रत्येक मान्छेको उमेर च्याटिरहेको छ
ऋतु बर्ष र सताब्दी भन्दै जीवन यात्राले
कुनै दिन र समयमा अवस्य मृत्यु कुरिरहेको छ

मेरो नयाँ बर्ष
खै किन, कहां र कसरी आयो नयाँ बर्ष ?
पुरानै मनमा नयाँ बर्षको उमंग भरिएको मात्रै हो
पुरानै मुखमा सुभकानाका लहर बर्षाएको मात्रै हो
पुरानै घरमा नयाँ बर्षको पात्रो छाएको मात्रै हो
पुरानै बिचारमा फेरी नयाँ बर्ष आएको मात्रै हो

उस्को नयाँ बर्ष
धन्नै ! उस्ले यो नयाँ बर्ष मनाउन पायो
गएको बर्ष जनतन सबै गुमाएर बाँच्यो
आउने बर्षको लागि चाहानाहरु साँच्यो
अब त जीवनमा नयाँ वहार आउने आशा गर्यो
अनि यो नयाँ बर्षमा त एक्लै अन्यासै मुस्कुरायो

टोकियो, जापान

नयाँ वर्ष २०६६ को हार्दिक शुभकामना

हस्त गौतम मृदुल

मन्का ती झयालहरु खोल, सपनाका पर्दाहरु उठाऊ
उज्यालो त्यो बिहानी भित्रयाउन संकल्पहरु जुटाऊ

नयाँ पन लिएर नेपाली माझ आएको छ यो साल
भरियोस अन्न पानीले दुर्गम क्षेत्रका रित्ता ती थाल
जनगनतन्त्रको जग बसालोस हरेका नेपाली मनमा
छावस उत्सहको त्यो लहर कर्मठ नेपालीको तनमा

मन्का ती ढोकाहरु खोल, चाहानाका पर्दाहरु उठाऊ
देशको त्यो महार फेर्ने ताकत नेपाली सवमा जुटाऊ
जेलमा थुनेर नेल फुकाउने स्वतन्त्रता चाहिन्न भन
विशुद्ध सुख, सान्ती र समृद्धिको खाका कोरी देउ भन
र्इच्छाको डढेलाले लपेट्दैछ निरंकुशतालार्इ पन्छाइ देऊ

आएको छ यो नया वर्षनया आयाम बनेर तिम्रैछेऊ
मन्का ति सम्भावनाहरु खोल, देश र जीवनलाइ उठाऊ
एक शक्तिशाली देश बनाउनलाइ आत्मीय शक्ती जटाऊ

गजल

इन्द्रकूमार श्रेष्ठ 'सरित्'

उजेलीमै भेट हजूर रात छ बेइमान
अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान ।

भो न भो मेरी हजूर आँखाले अरु नपिलाउ
अनर्थ होला बेहोसीमा मात छ बेइमान ।

रात छ जवान यसको जवान छ कहानी
यही जवानीले गरेको घात छ बेइमान ।

मैले दिएको मायालाई छोपेर राख है
फुलमात्र हैन यहाँ पात छ बेइमान ।

प्रेममात्र मेरो हजूर परिणाम त होइन
मूद्धै परे भनिदिन्छू जात पात छ बेइमान ।

सालनै याद नहुनेको :नयाँ सालको शुभकामना


स्यानु पाईजा

हरेक बर्ष जस्तै
यो बर्ष म साहेद
तिमीलाई शुभकामना
दिन भ्याउदिन होला
साहेद तिम्रो फोन पनि
रिसिभ गर्न भ्याउदिन होला
म कहि ----------------
ब्यस्त हुन्छु होला त्यो दिन
जनजाती को सभा छ
आदिबासीको सभा छ
जातीबादीको सभा छ
अतिबादीको सभा छ
जताततै नगई नहुने छ
भाषण लेखेर तैयार छ
आस्पासन घोकेर कण्ठै छ
कहाँ कस्लाई के भन्ने
सबै तैयार भैसकेको छ
कसैलाई गाली गरे मात्र
जनता ताली बजाउछन
त्यसैले यसपाली
नयाँ बर्षको पहिलो गाली
मान्छेको भिडमा सुनाउछु
तिमीले रेडियोमा सुन्नु
साहेद लोडसेडिङले टिभि नआउला
साहेद म यहि भन्छु
झुट्टै भए पनि
अर्को साल देश भरि
बत्ती बालेरे नयाँ साल मनाउला
यो साल मैन बत्ती मै चित्त बुझाउ
मैन बत्तीको भाउ बढ्ने रे
बरु आजै किन्नु
हरेक बर्ष जस्तै
यो बर्ष म साहेद
तिमीलाई शुभकामना
दिन भ्याउदिन होला
साहेद तिम्रो फोन पनि
रिसिभ गर्न भ्याउदिन होला
म कहि ----------------
ब्यस्त हुन्छु होला त्यो दिन
त्यसैले अग्रिम शुभकामना
नयाँ साल 2 हजार अ कति रे
हो त्यतिको शुभकामना

पात्लेखेत-७, म्याग्दी

जापानमा साकुरा फुल्दा

छक्कु उदासी

सर्वसम्पन्न सुर्योदयको देश जापानमा
हिउड भरिको जाडोसंग पैथेजोडी खेलेर
बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा
सबैमा दुःख पछि पक्कै सुख आउछ भनेर
पतझरमा पनि धकमक्कै फल्ने, धन्य हो साकुरा
न जाडो, न गर्मीको मौसममा
यता उता जताततै साकुरा फुल्यो
सबैको मन त्यहि साकुरामा भुल्यो
चिरविर चरी पनि साकुरामै रम्यो
फुरफुर गर्दै पुटली साकुरामै झुम्यॊ
भुं भुं भमराले पनि साकुरानै चुम्यो
तर म किन हो कुन्नि ? साकुरासंग फुल्न सकिन
यो बिदेशको रमझममा त झन भुल्न सकिन
खै किन हो म बिदेशी माटोमा काख्खीन सकिन
मलाई जस्ले जे भनुन् पराईसंग रत्थीन सकिन
त्यसैले जापानमा साकुरा फुल्दा मेरो मनमा
नेपालको त्यै चेत बैशाखको पलुवा पहलाउछ
कोईली र न्याउलीको बिरही भाकामा बहलाउछ
अनवरत ति हाम्रा नादी नालाहरु सुसाउछ
त्यै साग सिस्नो र ऐसेलु काफल बसाउछ
त्यति मात्रै हैन मेरो मनमा
हिमाली भेगको लाली गुंरास फुल्छ
पहाडी खन्डको टांकी फूल फुल्छ
तराई फांटको तोरी फूल फुल्छ
बन पाखामा फुल्ने प्याउली फुल्छ
हो, मेरो मन संधै नेपाली हुनमै गर्वले फुल्छ

टोकियो, जापान

उठौं ! जागौं !!


भानेन्द्रकुमार सम्बाहाम्फे

उठौं ! जागौं !! नेपाली हो, लिइ जोश जाँगर ।
जुटौं ! सबै नेपाली हो, वैरभाव बिर्सेर ।।

देशको विकास गर्नुछ, चुमेर शिखर ।
स्वर्गतुल्य मातृभूमि, बनाऔं मिलेर ।।

रङ्गीचङ्गी फूलका माला, कैल्यै नवैलाउने ।
सुत्र हामी एकताको, कैल्यै नचुडिने ।।

भाषा हाम्रा अनेक छन्, जात थरिथरि ।
भूगोल् हाम्रो एउटै छ, संस्कार परिपरि ।।

हिमाल पहाड् तरार्इ, साझा देउराली ,।
देश विकास्मा जुट्तछौं, भै एक नेपाली ।।

बाटा अनेक् हुनसक्छन्, गन्तव्यमा पुग्ने ।
तरिका अनेक होलान्, लक्ष्य भेट्टाउने ।।

बाटा अनेक् भए पनि, लक्ष्य हाम्रो यौटै ।
नेपाल् महान् बनाउने, आफ्नोपन बाटै ।।

२०६४/०५/०५
काठमाण्डौ ।

गीत


आचार्य प्रभा

आँखाबाट झर्यो याद आसुँ बनेर
गएथ्यौ मलाई छाडि आउँछु भनेर ....

पल,पल सम्झनाले सताइरैछ मलाई
बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे ....

परेलिमा अलझ्यो याद मोती बनेर
गएथ्यौ टाढा तिमी फर्किन्छु भनेर ......

छात्तिभित्र बल्झ्यो माया गाढा बनेर
छाया पनि अस्ताइ दियो टाढा बनेर ......