मनहरुलाई


उषा गिरी

सुनसान रातमा
गाउको चौतारीको
रहरलाग्दा झ्याङ्गिएर बेरिएको
सितलताले
च्यातिएको मनहरुलाई
सितलता नदिदोरहेछ
बादलका पछ्ह्यौरी भित्र
कोमल हासो
पवित्र स्नेह सम्झन्छु
गाउघर पाखा पखेरा
सबैतिर हेर्छु
भ्रम हो कि भनेर
अनि बेर्न मन लाग्छ
एक अन्जुली यादका पलहरु
टुक्राटुक्री छल्किने यादहरु
समयको आचलभित्र
अङ्कमाल गर्न मन् लाग्छ
हरपल यि आँखाहरु
उराठिला काल्लाहरुमा
कन्दराहरुमा
हावाको झोकाहरुसङ्गै
सुकसुकाउदै
नतमस्तक हुन्छु
भोगाइहरुमा बासना उम्लिन्छ
जिन्दगीलाई मनमनै
रुपान्तरित गर्न खोज्छु
बोझ लाग्छ आँफैलाई
चुपचाप सहिदिन्छु
पिडा भुल्ने बहनामा
रात गहिरिदै जान्छ
फुल्नु र झर्नुको बाध्यतामा ।

बेल्जियम ,ब्रस्सेल्स
u-giri@hotmail.com

छाँयाको तागत


निर्भीक रार्इ

(तस्विरले भूतकाल जन्माउने)

Photo विगतको चिनो भएको ।
Photo ले भूतकाललाई जतन गर्ने ।
Photo इतिहासको दसी भएको ।
Camera मा थुनी कागजमा सारिएको छाँया (Photo) को
भूतकालमा पनि ठूलो महत्व हुने ।
Photo ले सम्झना र मायाको संरक्षण गरिरहेको हुने ।
Photo ले निरक्षरलाई पनि सन्देश दिइरहेको हुने ।
Camera मा थुनी कागजमा सारिएको छाँयालाई
भित्तामा टाँसी वा Frame मा सजाई अर्थात
Purse मा च्यापी सम्झनाको प्यास लाग्दा
आँखालो धीतमर्दो पिउनु सजिलो हुने,
गोजीमा बोकेको चुरोट सल्काई तान्दै सकसक मेटेझैँ ।
Photo सत्यताको नजिक हुने ।
दुर्इ आत्मा जोडिएको प्रमाणस्वरुप
जोर उजयतय को महत्व उच्च हुने ।
प्रेम झाँगिएपछि जोर Photo को रहर उधुम गानिने ।

२०६७ पुस ७, मनमैजु, काठमाण्डू ।
नेपालेडाँडा, भोजपुर
पेसा - स्वतन्त्र अध्ययन र लेखन ।

मरुभुमिछेउ कतैः मेरा दिन


पञ्च विस्मृत

जब घामले अस्ताचल रोज्यो
पूर्व भएर रात उठ्यो
घामका पाइलाहरु पछ्याउदै उठ्यो
एक दुइ ताराहरुले प्रकृतिको
त्यहीं पुनरावृत्ति हेर्न
प्रकृतिकै संविधानको एक अनुसूचिबाट
अनुहार निकाले
सहरले आफ्ना इन्द्रेणी आँखाहरु बालेर
आफ्नै उत्सव मनाउन लाग्यो
र अल्लाहको ध्वनी संगै
जब दिनको अवसान भयो

अनि सुरु भयो मेरो दिन
मेरो समय, उस्तै गरि
मरुभुमिको ह्याङ्ओभर मेट्न
फेरि अलिकति मरुभुमि पिउन
मेरा सपनाका एइरक्राफ्टहरु
उडिरहे फन्को मार्दै
मेरो योजनाको क्लिष्ट आकाशमा
मेरो योजनाको दूर्बोध्य आकाशमा

र म भने हिंड्न थालें फेरि
दिन वार गन्दै आल्हादित मनले
क्यालेण्डरका अङ्कहरुमाथि क्रमशः
दाबेर क्रस
भौतारिन थालें सडकदेखि सडकसम्म
केएफसी, पिज्जाहटदेखि म्याक्डोनाल्डसम्म
घरदेखि सुपरमार्केटसम्म
फुटपाथदेखि पसलसम्म
तर यात्रा थिएन त्यो

विवशताले ठड्याएको भीरको उकालो
विवशता रहर बनेपछि
सपना बनेपछि
रहर र सपनाले बिछ्याएको कांडे गोरेटो

जब अँध्यारोले भाग्दैगयो
र उज्यालोले छोप्दैल्यायो
अनि शुरु भयो मेरो रात
मेरो बास उस्तैगरि
सपनाको ह्याङ्ओभर मेट्न
फेरि अलिकति सपना पिउन

(बुधवार २३ भदौ २०६७ ८ सेप्टेम्वर २०१० जेड्डाह साउदी अरेविया)

तिम्रो मुस्कान


टंक सम्वाहाम्फे

मेरो सारा जीन्दगी
तिम्रो एक न्यानो मुस्कानमा
तिम्रो एक सुमधुर मुस्कानमा
अल्झीएको रहेछ
किनकी तिमीले मुस्कुरार्इ दिएपछि
अनायासै मेरो सारा जीन्दगी
मुस्कुरार्इ दियो
अझ तिमी मुस्कुरायौ
म झन धेरै मुस्कुरार्इ दिए
त्यसैले त मुस्कानमा जीन्दगी अल्झीएको रहेछ ।
मुस्कान बाँच्नुको साहरा
मुस्कान हाँस्नुको लहरा
जस्ले वेरीएर मनहरु हाँस्छन्
जस्ले जेलिएर तनहरु नाच्छन्
त्यसैले त मुस्कानमा प्रेम रहेछ ।
तिमीले अलिकति मुस्कुराएका पलहरुले
जीन्दगी जीउन सजिलो भएको छ
यदि ती तिम्रा मुस्कानहरु
मेरो यादमा नबाँची दिएको भए
मेरो आँखामा ननाची दिएको भए
म यो जीन्दगी कसरी जीउँन सक्थे होला र ?
तिम्रो मुस्कान छ र त
मेरो जीन्दगी पनि छ ।
आज मैले विरानो ठाउँबाट
तिम्रो तस्विरमा त्यहि मुस्कान देखे
जहाँ तिमी उसरी नै मुस्कुरार्इ रहेकी छौ
जसरी मोनालीसा मुस्कुराएकी छे ।
हो तिमीसंगको भेटमा
मुस्कुराएका पलहरु
उस्तै उस्तै लागि रहेको छ
सायद गाढा झझल्कोले हो की ?
वा सम्झनाका छालहरु उर्लिएर आएको हो
केहि थाहा छैन
तर तिमी उसरी नै मुस्कुराई रहेकी छौ
विगतका रोमाञ्चक क्षणहरु
आज आलो भएर मनभरी झ्याङगीएको छ
हुन त कहिले पो यो मनबाट
हुन त कहिले पो यो हृदयबाट
ती स्मृतिहरु ओझेल परेका छन् र ?
वरु झन झन जीवित हुँदै गएका छन्
तिम्रो मुस्कान र मेरो जीन्दगी
अथवा मेरो जीन्दगी र तिम्रो मुस्कान
उस्तै उस्तै भएर बाँची दिएको छ
यदि तिम्रो मुस्कुराहट
मेरो हृदयको पानाहरुमा नमुस्कुराउनु हो भने
मेरो सारा जीवन
अधेरीमा विलाउन सक्थ्यो होला
तर त्यहि एक मुस्कानको उज्यालोले
जीवनका उकाली ओरालीहरु नाघी रहेछु
जीवनका आरोह अवरोहमा बाँची रहेछु
यदि तिमी नमुस्कुराउनु हो भने
मेरो मन मुस्कुराउँदैन
मेरो काम मुस्कुराउँदैन
मेरो यात्रा मुस्कुराउँदैन
मेरो सारा जीन्दगी मुस्कुराउँदैन
मेरो संसार मुस्कुराउँदैन
त्यसकारण तिम्रो मुस्कान
मेरो जीन्दगीको उज्यालो हो
चाहे तिमी जहाँ मुस्कुराउ
तस्विरमा वा साँच्चै मुस्कुराउ
केहि फरक पर्दैन
किनकी ती सवै मुस्कानहरु
मेरा लागि समान छन्
तसर्थ म तिम्रो मुस्कानलाई प्रेम गर्छ
तिम्रो मुस्कान विनाको जीन्दगी
अधुरो नै हुनेछ
मधुरो नै हुनेछ
किनभने तिम्रो मुस्कानमा
जीवन जीउने शक्ती रहेछ
मेरो साहस
मेरो उच्छ्वास
तिम्रो सुमधुर मुस्कानले डोर्याएको रहेछ
अव म कसरी भनौ तिम्रो मुस्कानमा
मेरो जीन्दगी अल्झेको छैन भनेर
सायद तिमीलाई लाग्दो हो
मुस्कानमा जीन्दगी कसरी अल्झीन्छ ?
तर त्यहि अल्झेको हुँदोरहेछ जीन्दगी
किनकी तिम्रो एक न्यानो मुस्कानमा
किनकी तिम्रो एक सुमधुर मुस्कानमा
मैले आफ्नो सारा जीन्दगी पाए
मैले आफ्नो सारा संसार पाए

मायाँको आभाष र उत्प्रेरणा


करिना सुब्बा

शून्य अनि अन्धकार झैं लाग्थ्यो
यो संसार
यो सारा जीवन
किनकी उजाड लाग्थ्यो वनजंगल
काहाली लाग्थ्यो औसीका अधेरी रातहरु
विना रङगको लाग्थ्यो फूलहरु
देवता विनाको लाग्थ्यो मन्दिर
किनभने वाञ्चित थिए म मायाँबाट
साथमा भएर पनि पाएकी थिइन
बाँचेर पनि जीउँदो थिइन
खित्का छाडी छाडी हाँसेर पनि
ओठमा साँचो मुस्कान थिएन
तर यो सुनसान र अन्धकार झै लाग्ने संसार त
धेरै उज्यालो पो रहेछ
कति झीलीमिली पो रहेछ
रङगीन रङगीन दुनिया पो रहेछ
हिमाल,समुद्र,नागवेली खोलानाला
र प्रकृतिले भरीएको सुन्दरता पो रहेछ
जव थाहा पाए
तिम्रो चोखो मायाँ र न्यानो साथ
तव मैले यो संसारको उज्यालोलाई थाहा पाए
उजाड लाग्ने ती वनजंगल
साँच्चै हरीयालीले भर्भराउँदो रहेछ
त्यहाँ त अनेकौ भाका फेरि फेरि
चिर्विराउँने चराचरुङगी रहेछन्
प्रेम जीएका
अनेकौ जीवजन्तुहरु रहेछन्
त्यहाँबाट त स्वच्छ हावापानी पो
पाईदो रहेछ
यो त हाम्रो संसारको
अति मनमोहक गहना पो रहेछ
जव थाहा पाए
तिम्रो चोखो मायाँ र न्यानो साथ
तव यी मेरा विव्हल भएका मनहरुलाई
संगालेर हातेमालो गरायौ
अंगालेर जीउँने उत्प्रेरणा दिलायौ
काहाली लाग्थ्यो औंसीका
अधेरी रातहरु
तर त्यो अधेरी आकासमा त
चम्किदा रहेछन् करौडा ताराहरु
मुस्कुराउँदो रहेछ जुन
रमाउँदा रहेछन् लाखौ जुनकिरी
फूल्दा रहेछन् काँडे फूलहरु
फक्रिदा रहेछन् पारीजातहरु
जव थाहा पाए
तिम्रो चोखो मायाँ र न्यानो प्रेम
तव सम्हाली दियौ
छत्ताछुल्ल भएका यी मेरा भावनाहरुलाई
विना बषन्तको फूलबारी त
झनै मनोरम पो रहेछ
त्यहाँ फूल्दा रहेछन् सप्तरङगी फूलहरु
भुनभुनाउँदा रहेछन् अनेकौं भमराहरु
रमाउँदा रहेछन् अनेकौं पुत्तलीहरु
फुर्फुराउँदा रहेछन्
नाच्दा रहेछन्
मनै मगमगाउँने गरी
ती फूलहरुले वास्ना छरीदिदा रहेछन्
जव थाहा पाए
तिम्रो चोखो मायाँ र न्यानो प्रेम
तव अविरल वगेका
यी नयनका आसुँहरु
तिमीले पुछि दियौ
देवता विनाको शुन्य मन्दिर त
अनेकौं सिंगमरमरले जोडिएको पो रहेछ
र त्यहाँ भित्र कलात्मक
राधाकृष्णको मूर्ति रहेछ
जहाँ लाखौ दियोहरु बल्दा रहेछन्
सयौं घण्टीहरु बज्दारहेछन्
लाखौं फूलका गुच्छाहरु चढार्इदा रहेछन्
अगरवत्तिहरु बालिदा रहेछन्
मन्दिरको मनमोहकता र पवित्रताले
अनेकौं तीर्थयात्रीहरु आउँदारहेछन्
जव थाहा पाए
तिम्रो चोखो मायाँ र न्यानो प्रेम
तव तिमीले जीउँदो लाश जस्तो
मेरो जीवन सम्हालेर
संगसंगै हाँस्ने बाचा गर्‍यौ
संगसंगै बाच्ने नाता गास्यौ
अनि यो रङगीन दुनियामा
असीम असीम मायाँ दिएर
मलाई बाँच्ने शाहस दिलायौ

नशालु छ हेरार्इ


करिना सुब्बा

नशालु छ हेरार्इ तिम्रो बोल्छौ मीठो बोली
सुनाई दिन्छौ काखमा राखी दिलको कुरा खोली

तिमी मेरो मनमन्दिर तिमी मेरो मनको राजा
कहिले लान्छौ डोली चढार्इ साथमा पञ्चे बाजा
कोमल मनमा थापी दियौ पीरतीको झोली
सुनाई दिन्छौ काखमा राखी दिलको कुरा खोली

हेरी दिन्छु चोरी तिम्लाई घुम्टोबाट साँझमा
पछ्यौरी खोली ओठ चुम्दा पार्दो हौ लाजमा
एक अर्काको नाम लेख्यौ हाम्रो हात खोपी
सुनाई दिन्छौ काखमा राखी दिलको कुरा खोली

बाटो


केशर थुलुङ

बाटो
सानो, ठूलो
सबैको लागि
जहाँ निरन्तर हिडिरहन्छन्
कहीँ/कतै पुग्न

होला
कतै नागबेली
कतै साँघुरो/फराकिलो
कतै उकाली/ओराली
कतै सीधा परेको
सबै, आफ्नै गाथा बोकेर
आफ्नै कथा बोकेर
कैयौँ अनुभव, पोखिएका पीडा
सुख-दुःख समेटेर
अविच्छिन्न यात्रा गरिरहन्छन्
सलल बगिरहने खोलाझैँ
सरर सरिरहने समयझैँ
तीनै बाटोहरुमा

नजीक या टाढा
ठेस लागोस् या नलागोस्
ठाउँमा पुराओस् या नपुराओस्
परिचित हुन् या अपरिचित
हामीलाई बाटोले
स्वागत गरिरहेकै हुन्छ
पर्खिरहेकै हुन्छ
यात्रा जुटाइरहन्छ सधैं
जहिले पनि
नियमित एउटा क्रमझैं

ओम शान्ती शान्ती शान्ती नेपाल


टोप बहादुर रार्इ

विद्रोहले भत्किएको आँगन
आतन्कले पोलिरहेको टुहुरो मन
जिउँदै जल्दै वाग्मती झैं
लम्पसार परेर मन्दिरको शरणमा ।

चिहाउँदै चित्कारका घण्टिहरु छिँडीबाट
निभाउँदै आगो दुखेको आशुले
खरानी भएछन् दृश्यहरु
नियाल्दा नियाल्दै श्वयंम्भुका दुर्इ आखाले ।

"आयो गार्खाली चार्ज"
घोपियो ब्यूनेट आफ्नै आमाको छातीमा
पडि्कयो गृनेड आफ्नै बारीको कान्लोमा
रेटियो घाटी आफ्नै सन्तानको
पुछियो सिन्दुर आफ्नै चेलीको ।

यूद्ध बडार्ँइमा मुस्कुराइरहंदा तिमी
रोई रहृयौं म, मेरी आमा र मेरो देश
तोडिरहंदा आफ्नै बचनलाई तिमी
बोकी रहृयौं रामायण, मुन्धुम र बाइबलका ठेलीहरु ।

ठोकिरहंदा तिमीले संघियताको किल्लाहरु
रोपीरहृयौं धरतीमा बुद्धत्वका दीउलहरु
दोहोर्‍यार्इरहंदा तिमीले कथा मैसासुरको
जपी रहृयौ ओम शान्ती शान्ती शान्ती नेपाल ।

रेखा सम्वन्ध


टंक सम्वाहाम्फे

रेखा त्यहाँबाट यहाँ सम्म
कोरीएर आएको रहेछ
किनकी मैले रेखालाई सुम्सुम्याउँदा
त्यहि कुरा थाहा पाए
एउटा विन्दु अनेकौं रेखा
र अनेकौं रेखाका अनेकौं विन्दुहरु
जहाँ उहिलेबाट अहिले सम्म
अहिलेबाट उत्तर भविष्य तिर
विद्यमान हुँदै जाने यी रेखाहरु
जन्मेपछि कहिल्यै मेटिदैन रहेछन्
किनभने जुनवेला परिकल्पना गरिएका
ती रेखाहरु
आज पनि उस्तैरुपले वाँचेकाछन्
सायद भोलिपनि त्यसरी नै वाँच्नेछन्
एवम रीतले नयाँ रेखाहरु कोरीन्छन्
र मेट्न खोजिन्छन्
तर ती रेखाहरु कहिल्यै मेटिदैनन्
मान्छेहरुले पुरानो रेखालाई मेटेर
त्यहि नयाँ रेखाको इतिहास रेखाङकन गर्न खोज्छन्
तर इतिहास कहिल्यै मेटिदैन
रेखा इतिहास हो
भूत,वर्तमान र भविष्य हो
किनकी यहि रेखाले हरेक समयको
निर्धारण गर्दछ
त्यसलाई र यसलाई जोड्ने
मलाई र उस्लाई जोड्ने
अथवा एकले अर्कालाई जोड्ने
त्यो रेखा नै हो
कसैलाई थाहा होला
कसैलाई नहोला
त्यो केवल चेतनाको उचाईले चुम्ने कुरा हो
तर रेखाको वास्तविकतालाई
यसरी नै बुझ्ने प्रयासमा जुटेका हुन्छौ
यहाँ रेखालाईनबुझ्न सकिन्छ
तर नकोर्न सकिदैन
यहाँ रेखालाई नदेख्न सकिन्छ
तर अस्विकार गर्न सकिदैन
किनभने मानिसको जन्मसंगै
त्यो रेखाको जन्म भैदिन्छ
र क्रमश बालक देखि वृद्धसम्म
वृद्धदेखि उसको मृत्यु सम्म
रेखाहरुले अस्तित्व जमाउँछन्
त्यसकारण
रेखा – विचार/प्रतीक/आयाम
रेखा – समय/तरल/मिथक
रेखा – दर्शन/जीवन/चिन्तन
रेखा – अस्तित्व/आवाज/ब्रम्हाण्ड
भएर यहाँ वाँची दिएको छ
यी रेखाहरु एकपछि अर्कोमा
जोडिन पनि सक्छन्
नजोडिन पनि सक्छन्
किनभने जति पनि रेखाहरु कोरीएका छन्
ती सवै वेग्ला वेग्लै हुन्
कुनैमा समानता हुँदैन
तर ती सवै रेखा कै परिभाषाले समेटिएका हुन्छन्
रेखा सम्वन्ध
कसैसंग टुटेको हुँदैन
कसैसंग छुटेको हुँदैन
मात्र नदेखिएका हुन सक्छन्
मात्र नभेटिएका हुन सक्छन्
त्यो भेटिएर,देखिए पछि
आफै जोडिदै जान्छन्
आफै कोरिदै जान्छन्
तसर्थ हामी रेखासंग
कहिल्यै असम्वन्धित हुन सक्दैनौ

रेखा दृष्टि


लोक सिंगक

रेखा दृष्टिहरु
उभिएका छन्
यथार्थ रेखीय भुगोलमा
खोल्न-
क्षितिजहरुको वास्तविक प्रतिवेदनहरु
बादलको रंगिन इतिहासहरु
अहोरात्रिका यथार्थ कथाहरु
बत्तिमुनि अध्याराका झंकारहरु
त्यस्तैं दृष्टि रेखाहरु पुगेका छन
यद्घ बिभिसिका-
हैटिहरुमा, काबुलहरुमा
कस्मिरहरुमा, गाँजा क्षेत्रहरुमा
युगिन शान्तिका प्रवचनहरुसँग
रेखा दृष्टिहरु
निरंकुशतामा चोटिलो बाण हुन
विभिधतामा एकताको विभिसिका हुन
र समानताको असारहरुमा
आलि लगाऊने बाउँसे हुन
जे होस रेखा दृष्टिहरु
जोडिएका छन-
मानव जीवनसँग
मानव विकास र इतिहाससँग
हिटलरहरु/मुसोलिनीहरुसँग
कार्लमाक्सहरुसँग
र धेरैं वाद र विचारहरुसँग
फरक यति छ
कुसैलाई थाहा होला कसैलाई नहोला
कुनै प्रष्ट देखिएला कुनै नदेखिएला
कुनै शसप्त सम्बन्धहरुमा मात्रहोला
भने कुनै आध्यात्मसँग जोडिएको होला
रेखा दृष्टिहरु
कग्निटिभ डोमाइनहरु हृन्
साइकोमोटर डोमाइनहरु हृन्
किनकी
सम्बन्ध छ यसको
तनहरु देखि मनहरु सम्म
मनहरु देखि तनहरु सम्म
अ भनौं
भवसागर मनोविज्ञानहरुसँग
कुनै रेखा दृष्टिहरु
उदाउछन् सूर्यसँगैं
अस्ताउछन् सूर्यसँगैं
कुनैं सेन्ट्रि बस्छन् निस्पट अध्यारोमा
अझ
पानीमा-जल सेन्ट्रि
जमिनमा-थल सेन्ट्रि
वायुमा-वायु सेन्ट्रि
चुमेर निस्सीम क्षितिजहरु
यहाँ रेखा दृष्टिहरु पर्छन्
उस्तैं-उस्तैं गरी
हर्कवीर र माइकल ज्याक्सनहरुमा
कछाड र दोचाहरुमा
बर्का र पछ्यौंरीहरुमा
भेदभाबका आँखाहरु हुन्नन्
समान छन् रेखा दृष्टिहरु
क्रिसमसहरुमा
न्हूदया भिन्तुनाहरुमा
चासोक तङ्नामहरुमा
ल्होसारहरुमा
अनि सोनाम लोसारहरुमा
त्यसैंले
रेखा दृष्टिहरु-
पहिचानका धरोहर हुन्
समानताका जड शुत्र हुन्
सहिष्णताका खानि हुन्
र शान्तिको दृष्टिहरु हुन्

जीवनमा साथ दिने


करिना सुब्बा

जीवनमा साथ दिने वाचा गर्यौ किन
डोर्याएर बिच बाटोमा साथ छोड्यौ किन

जस्तो परिवेशमा पनि साथ दिन्छु भन्थ्यौ
बिर्सीयौ तिमीले भने मरी दिन्छु भन्यौ
यो मनमा चोट दिन मायाँ लायौ किन
डोर्याएर बिच बाटोमा साथ छोड्यौ किन

चोट लागे तिमीलाई दुख्छ मलाई भन्थ्यौ
चाहयौ भने तिमीलाई जुन टिप्छु भन्थ्यौ
हृदयमा नाम लेखि मेटी दियौ किन
डोर्याएर बिच बाटोमा साथ छोड्यौ किन

निरर्थक


विमल गिरी

जिन्दगीका
बिर्सिनसक्नु
अप्रिय प्रसङ्गहरु
नियास्रोले भौतारि रहन्छन
कताकता तुलानात्मकरुपले भन्नुपर्दा
काडालेझै कोत्रिन्छन,रगताम्मे हुन्छन मनहरु
खुशिले भक्कानिदै पिरमा हास्नमन लाग्छ
प्रेरक र निरर्थक भएर
चलिरहेछ जिन्दगी
घुम्ति र मोडहरुमा,
घामको झुल्कासङ्गै ब्युझन्छु
जुर्मुराउछु
पिडा कोट्याउछु जलनका
बेदनामा जबाफ हुँदैन रहेछ
भोग्नुछ सहनुछ
बिघ्न बाँन्किहरु निरन्तर
मनपरी र मनभरि
खितखिताउछु प्रलाप
बेमौसमी जीवनको उमङ्ग
जहिले पनि
भावमा रङ्गभर्दै दुखिरहन्छ,
अब्यबस्थित दुख्ने गराहरु
सुक्खा बगर सरह
निरन्तरता अगालेर
मलाई ध्वस्त गराउछ
चिताग्नी बनेर
गुनासो नै के छ र ??

Brussels, Belgium.

मनोविज्ञानको शक्ति


निर्भीक रार्इ

(भगवानको परिचय)

भगवानहरु सिर्फप्रतीक हुनाले
सबै भगवानको रुप फरकफरक भएको ।
विश्वास लिए गुइँठाले पनि वरदान दिने वा
भगवानको काम गर्ने ।
विश्वास नलिए स्वम्भुभित्रको
सिद्घार्थको मूर्ति वा पशुपतिभित्रको
शिवको मूर्तिले पनि आत्मबल वा वरदान नदिने ।
अर्थात भगवानको काम नगर्ने ।
विश्वास (मनोविज्ञान) भन्ने वस्तु
कत्ति शक्तिशाली र अनौठो भएको !
भगवान विम्व वा प्रतीक मात्र हुँदा
नकहिल्यै जन्मेको वा जन्मने र
नकहिल्यै मरेको वा मर्ने ।
कहिल्यै नजन्मेको भगवानहरु मरेको भन्नु
अपत्यारिलो भएको ।
तर प्रतीक, विम्व वा उपमाको भगवानहरु
पटकपटक जन्मने र मर्ने ।
भगवानले संसार रच्ने काम सिर्फ
विम्व, प्रतीक वा उपमा मात्र सम्भव भएको ।
विकासक्रममा संसार आफसेआफ उत्पत्ति भएको ।
विम्व, प्रतीक वा उपमामा मात्र हुने भगवानहरुले
पाप, पक्षपात, घृणा वा अन्याय जे पनि गर्न सक्ने ।
२०६७ कातिक, २०, मनमैजु, काठमाण्डू ।
स्वतन्त्र अध्ययन र लेखन ।
जन्मथलो - भोजपुर, नेपालेडाँडा ।