सपनाको महासागर

टंक सम्वाहाम्फे

लुङा
जिवनभरी कति पौडिनु ?
सपनाको
यो महासागरमा
नपौडिउँ भन्दा पनि पौडिन मन लाग्छ
दुनियाँले पौडिएको देखेर
पौडिदै जाउ भने
पौडि नसक्नु अथाह छ
सपनाको
यो महासागर
पौडदा पौडदै थाके पनि
थाके भन्नु मिलेन
मात्र पौडिदा पौडिदा
हैरान भएको छु
तै पनि झन झन पो सपनाको
छाल छचल्किन्छ
पुग्न चाहेर पनि
खोई कहाँ पुग्न सकियो र ?
उहि परिवेश
उस्तै परिस्थिती
उस्तै बाध्यता
उस्तै विवशता
मात्र लागिरहन्छ
गन्तव्यमा पुगीएला भन्ने
तर अझै थाहा छैन
यसरी सपनाको
यो महासागरलाई
जिन्दगीको
जुनसुकै कोणवाट जसरी हेरे पनि
जुनसुकै ध्रुववाट जसरी पौडे पनि
उस्तै भेटिन्छ
उस्तै देखिन्छ
र पनि आँखामा
सपनाका तरङगहरु
छालाङ्ग मार्दै आईपुग्छन्
वेहिसावकिताव
तर खोई ?
सपनाको
यो महासागर
अझै पनि तर्न सकिएको छैन
अझै पनि नाघ्न सकिएको छैन

लुङा
सपनाको
यो महासागरमा
मात्र पौडि रहनुको अर्थ के लाग्यो र ?
जव कि सपना
जीवन भएर छाउदैन भने
सपना सपनै भएर आउदैन भने
आशै आशैमा अल्झीएर
कति हाँस्नु ?
त्रासै त्रासमा वल्झीएर
कति वाँच्नु ?
उमेरले केशराशी
सेतो पेन्टिङ गरी सक्यो
उमेरले जिउलाई
वैशबाट धकेली सक्यो
मात्र मृगतृष्णा सपना साँचेर
अव जिउँने वहाना कति रच्नु ?

लुङा
सपनाको
यो महासागरमा
कति डुव्नु कति उत्रनु ?
जिन्दगीको होडवाजीमा
कहिले अघि कहिले पछि
कति पर्नु ?
पौडिनुको नियति कति भोग्नु ?
देख्नु पर्ने संसार
देख्दै देखिएन
मात्रै नदेख्नु पर्ने संसार देखियो
भोग्नु पर्ने जिन्दगी
भोग्दै भोगिएन
मात्रै नभोग्नु पर्ने जिन्दगी भोगियो
तर पनि जिवन देखि जिवन सम्म पुग्नलाई
आफैलाई ओछ्याएर हिड्न मिलेन
जादुमन्तर लाएर हुने कुरो भएन
त्यसैले अनेकौ विकल्पहरुको सामना गर्दै
अनेकौ दुखकष्टहरु व्यहोर्दै
निरन्तर निरन्तर
मात्र पौडिरहेछु
लुङा
सपनाको
यो महासागरमा
खोइ ! कहिले तरीने हो थाहा छैन
खोइ ! कहिले पुगीने हो थाहा छैन

नोट
लुङा - लिम्बु जातिमा मामा वा फुपूको छोरा वा छोरीलाई वोलाउदा लुङा शब्द प्रयोग गरीन्छ भने अपरीचित ब्यक्ति केटा वा केटीलाई वा सार्इना नपर्ने ब्यक्तिलाई वोलाउदा पनि यो शब्द प्रयोग गरीन्छ । दाजुभाई वा दिदी वहिनीको समान्तर वोलाउने सार्इनो हो ।

सौदाबाजी

सुर्य बिक्रम याक्खा

नयाँ नेपालको ,
नयाँ संरचना ,
धरापमा छ ।
सङ्क्रमणकालीन
राजनीतिकले
नागरिकको सार्वाभौम
सुनिस्चित अधिकार
नयाँ संबिधानमा
कोरिएका खाकाहरु
पस्किन सक्दैन ।
६ सय एक सभासदहरुमा ,
सौदाबाजी नीतिले ,
राजनीतिकमा
कुटनीतिकको प्रहार संगै ,
रणनीतिकले अपनाए पछी ।
स्थानीय तहताप्काबाट चुहिन थाल्ये ,
केवल संबिधानको सवाल
नागरिकतामा रैति र रमिते बने पछी ।
सपना र परिकल्पनाको संबिधान
दुई पटक जेष्ठ १४ गते तुहियो ,
लोकतान्त्रिक गणतन्त्रको के काम ।
आन्दोलन निर्दिस्ट प्रतिनिधिको के काम ।
सौदाबाजी ढाँचाले भरिएको ,
प्रश्न नै प्रश्न चिन्हले ठडिएको
चुनौतीमा ,
राज्यको नयाँ संबिधान ,
भदौ १४ मा ।।

मोरङ

दिपावली मेला

कृष्णकला वनेम

दिपावली मेला जादा ,भयो चिना जानी,
धानै नाचु भन्यौ कान्छा ,हात मेरो तानी,,

हाटै भर्नु जाउ है कान्छा ,तमोर सिवा तर्दै,
धानै नाचौ माया गासौ ,दुई दिन जोवान छदै,
फुल जस्तो ओईली जाने ,हाम्रो जिन्दगानी,
लानु के छ मर्दा कान्छा बाचुन्जेल त होनी

दिपावली …………………………………

भेटै गर्नु आउ है कान्छा ,दोभान मङ्सिर पुर्णे,
हित चित मिली सक्यो ,साईत कहिले जुर्ने,,
डाडा काटी जाउ अब् ,फालेलुङ्को पारी,
दुईचार बर्ष बसौ कान्छा ,गाउघर माया मारी,,

दिपावली …………………………………

6/24/2011,,Friday…..

कल्पनामा सधै

कृष्णकला वनेम

कल्पनामा सधै आउने, राजकुमार छ एउटा,
पुजा गर्छु मनमन्दिरमा, तिमी मेरो देउता,,

भीडमा होस एकान्तमा, तिमी मात्रै आउछौ,
सपनी होस बिपनीमा, लुकामारी खेल्छौ,,
अघी पछी सङ्गै हिड्ने, राजकुमार लार्इ भेट्दा,
कल्पनाको मिठो तृष्णा, तिमी सङ्गै मेट्दा,,

कल्पनामा ………………………………………

भमरा भै मनको बागमा, आई भुन्भुनाउछौ,
बैशालु यि दिलको ढोका, तिमी ढकढकाउछौ,,
हजारौमा रोजे तिमीलाई, राजकुमार एउटा,
नजाउ टाढा कहिल्यै, मुटु हुन्छ चोईटा,,

कल्पनामा ………………………………………

6/13/2011,Monday….

मेरो पागलपन

कुमार गिरी

रितिएका सपनाहरु माझ च्यातिएका चाहनाहरु माझ खोज्दै छु,
आफै भित्रको आफुलाई म भित्रको म लाई खै कसरी भनौ
खै कसरी ब्याक्त गरु म भित्रको म चोरी भएछु,
म भित्र म हराएछु सायद यो मेरो पगलपन होला,
सायद यो मेरो बिधाता होला जे होस म आफै भित्र हरा’छु,
सपनाहरु माझ त म आफुलाई राजकुमार नै सोच्थे,
बिपनाहरु माझ त म जोगी भएछु,
सायद सपना र बिपनाहरु बिच्को यो दुरीलाई पागलपन भन्न सक्छन भन्नेहरुले,
त्यसैले त म खोज्दै छु आफुले आफुभित्र,
अब त सोच्दै छु रेपोर्ट पो गरु कि कत्तै,
अब त डर पो लाग्न थाल्यो कतै म भेटिएन भने,
यि पिर पिरहरु बिच म मन्को अदालत म उभीदै छु,
खुद दोषी भएर खुद कैदी भएर ,
कतै मेरो केसको सफार्इ हुन्छ कि भनेर ,
कतै मेरो मनको अदालतले मलाई सफार्इ दिन्छ कि भनेर
सायद यो सपना र बिपनाहरु बिच्को यो दुरीले होला,

सायद मेरो सपनाहरुलाई दोषी मानला अदालत ले,
सायद मेरो बिपनाहरुलाई दोषी मनलाई अदालतले,
तर पनि म छोड्ने छैन मेरा सपनाहरुलाई,
सायद बिपनाहरुले मलाई छोड्ने छैन ,
सायद मेरो मनको अदालतले दोष मेरो पगलपनलाई जेल
सायद यो सब दोष मेरो पागल पनको होला ,
सायद मेरो पागलपन होला ।

गजल

सूर्यविक्रम याक्खा

शिशाका झयाल ढोकाहरु फुटायौ किन !
मायाका चूरा-पोतेलाई टूटायौ किन ? ।१।

तिमीलाई विश्वास गरि छाडेको थिए,
फूलै -फूलका मालाहरु चूटायौ किन ? ।२।

बाँचा बन्धन र कसमलाई तोडेर,
कोरिएका सिंदुर पनि छुटायौ किन ? ।३।

सम्झनामै कल्पिएको कल्पनाहरुले,
गंगनका नौ तारा संगै लुटायौ किन ? ।४।

तालमा तंरगीएका छल्काहरु संगै,
मेरा कलिला भूलहरु कूटायौ किन ? ।५ ।

मोरङ

धरहरा

केशर थुलुङ

सायद,
अग्लो हुनुमा गर्व गर्छ होला
शान्त रहनमा समुद्रजस्तै ठान्छ होला
स्थिरतामा अडिग पहाडजस्तै मान्छ होला
आफूलाई

कैयौँ जीवनहरु माटो बनिसके
कैयौँ सम्झनाहरु मनुवाबाटै हटिसके
कैयौँ पटक ऋतुहरु फेरिसके
कैयौँ खोज-अनुसन्धानहरु इतिहास बनिसके
मुर्छित समयको आगमनले कैयौँ विध्वंसकहरु भए
अझै जारी छ/जारीरहनेछ त्यो समयसम्म
तर १८१८ सालदेखि
त्यसरी नै चुपचाप उभिरहेको छ
यो धरहरा

हुन त इतिहास रचेको छ
नेपाल र नेपाली अखण्डताको
नेपाल र नेपाली सदभावको
नेपाल र नेपाली सभ्यताको
उदाउने निष्ठाका चन्द्र-सूर्यजस्तै
नढल्ने आस्थाका शिखरहरुजस्तै

तथापि मान्यता हो
उत्तरआधुनिकतामा
फड्को मारेका हामी
हाम्रो मार्गमा
असली मार्ग निर्देशक बनेर- डोर्याउनु
हाम्रो निर्माणमा
असली निर्माता बनेर- जुटाउनु
हाम्रो राजनीतिमा
असली राजनीतिज्ञ भएर- देश हाँक्नु
हाम्रो लेखाईमा
असली लेखक बनेर- लेख्न सिकाउनु
हाम्रो शिक्षामा
असली शिक्षाविज्ञ भएर- शिक्षा प्रदान गर्नु
यो सहकार्यले फेरि पनि
अर्को एउटा कीर्तिमान तोडिनेछ- तिम्रो
अर्को एउटा कीर्तिमान बनिनेछ- तिम्रो

नसोध मलाई

लोकेश याक्थुङ्बा

नसोध मलाई मेरो खबर,जसोतसो बाचेकै छु
मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु

टुट्नु थियो टुट्यो नाता,अतित अब नबल्झाउ
पुग्नु छ धेरै टाढा मैले,दोबाटोमा नंअल्झाउ
तिमीले दिएको चिनो त्यो,संगालेर राखेकै छु
मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु

अन्जानैमा भेट भए,नबोलिकन तर्की जानु
नजर हाम्रो जुधेमा,नजिने झै फर्की जानु
सयौ चिरा यो मनलाई,जसोतसो गाँसेकै छु
मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु।

ताप्लेजुङ्

मेरो प्यारो नेपाल

कृष्णकला वनेम

नेपाल आमा नुहाउछौ, आफ्नै नयनको आशुले,
च्यात्न लागे छाती तिम्रो, आफ्नै कुसन्तानले,,

भिरी रहेछौ छातीमा तिम्रो, सागरमाथाको बिल्ला,
बेची सके कुपुत्रले यहा, चारैतिरको किल्ला,,
आलाप बिलाप गीत गाउदै, बग्छन नदिनाला,
लगाई दिन लागे आमा ,कलङ्कको माला,,

नेपाल आमा....................

शान्ती भनि जन्माई दियौ, यो धर्तीमा बुध्द,
मार हान्छन आफ्नै सन्तान, मुटु कती दुख्छ,,?
अङ्श लाउछन तिमीलाई, कोर्दै साध सिमाना,
भत्काउन लागे यहा, पुर्खाले छाएको छाना,,

नेपाल आमा..............