ठुली


इश्वर चाम्लिङ्ग

फक्रिसकेछौ ए ठुली बैशको फूलबारीमा
कस्तो अविरल चाह सबैको
मैले नि सुटुक्क चिहाए
कस्तो निरन्तर चाह यो
आज पो मैले चालपाए
फक्रिसकेछौ ए ठुली तिम्रो त्यो रातो साडीमा
कस्तो बान्कि यो बैशको
मैले नि सुटुक्क चिहाए।

लालीगुराँसको रङ्ग तिमीमा
चन्चलताको चंगा तिमीमा
तिमी मुस्कुराउदा झन चन्द्र तिमीमा
चम्किरहेछौ ए ठुली बैशालु ताराबारीमा
कस्तो सुगन्धित चमक तिम्रो
मैले नि सुगन्ध चालपाए
कस्तो अविरल चाह सबैको
बल्ल पो मैले चालपाए
फक्रिसकेछौ ए ठुली बैशको फूलबारीमा
कस्तो निरन्तर चाह यो
मैले नि सुटुक्क चिहाए

तिम्रो मुहारमा मधुर ज्योती
हेराइ नशालु आँखामा मोती
तिमी मुस्कुराउदै बोल्छौ जब, साङ्गीतिक सुर झै मिठो बोली
गुन्जिरहन्छौ ए ठुली सबैको मनमन्दिरमा
कस्तो सुमधुर झन्कार तिम्रो
मैले नि प्रेमालाप गाईरहे
कस्तो अविरल चाह सबैको
बल्ल पो मैले चालपाए
फक्रिसकेछौ ए ठुली बैशको फूलबारीमा
कस्तो निरन्तर चाह यो
मैले नि सुटुक्क चिहाए
कस्तो लालायित भईसके
मैले नि प्रेमालाप गाईरहे
मैले नि प्रेमालाप गाईरहे

बेलायत, फेब २ २००८

कलम गतिशिल हुनै पर्छ


नन्द घले

खै किन हो
आजकाल कलम सुस्ताए जस्तो छ
पौठेजोरी खेल्दै दिमागि यन्त्रलाई
मूर्त रुप दिन तम्सने कलम
थकाई मारी रहेछ
कलमको जागृतिमा नयाँ जोश ल्याउन
दिमागि यन्त्रलाई
हावाको झोक्काले नफर्फराए पछि
कलम् ,तरुणोभाशमा व्याख्यान कहाँ गर्दो रछ र ?
सम्वेदनशिल खोपडिका रक्त संचारलाई
सिमाना वारपार गर्दै
एउटै आशनबाट हुकुमी शासनको शंख
कहाँ बज्दो रहेछ र ?
त्यसैले
कलमलाई झकझक्याएर नब्यूँताए
ब्यक्ती ,समाज र देशलाई निल्ने
मुसोको रुप धारण गरी
यहाँ स्यालहरुले विगविगी मच्चाउने रहेछन
दूर्बल जनावरको सँगठित भिडलाई
डाइनोसर झैँ इतिहाँस् बनाउने रहेछन यहाँ
अब पनि कलमलाई दिमागले र
दिमागलाई मनले सम्बेदन बनाइएन भने
भोली यहाँ,
निर्धो ब्यक्ति, अशिक्षित समाज र गरीब देशलाई
भूरा माछा, ठूलो माछाको आहारा भए झैं
नाम निशाना नै नरहने गरी मेटाईदिन के बेर ?
कोही आँखा खोल्न प्रयास गर्ने समाजलाई
दिउँसै रात पारीदिन के बेर ?
त्यसै त, देशको सिमा रेखा वरपर सरी रहेछन
बलियाले निर्धालाई पेली रहने छन
निर्धाहरु कर्मको खेल हो भन्दै
भाग्यलाई सरापी रहने छन
त्यसैले ,
राष्ट्र र राष्ट्रीयता भत्काउने भूतात्मालाई परास्त गर्न
कलम अब चनाखो हुनै पर्छ
गोलीलाई माथ गर्ने शब्दका पररा छुट्नै पर्छ
अज्ञानताको पट्टी बाँधी अधेरो तिर धकेल्दिने
दुष्ट फटाहा षड्यन्त्रकारीलाई उजिल्याउनै पर्छ
त्यसैले , अब कलम गतिशिल हुनै पर्छ

बाङ्गाटिङ्गा रुख र बाँदरहरु


परिहास सुब्बा

तीन भागको एक - माटोमा
मान्छे - रुखहरु बाँचीरहेछन्
घना बस्ती - जंगल भीत्र

सुरिला
बटारिएका
बाङ्गाटिङ्गा
हाँगाबिँगा फैलिएका
ठूला साना
आदी इत्यादी रुपका

सम्थरमा
भीरमा
पखेरामा
रुखो माटोमा
म्लिलो माटोमा
आदी इत्यादी ठाउँमा बसेका छन्
भूगोल वांणीको कित्ता भित्र ।

सुरिला रुखहरुलाई
बाङ्गाटिङ्गा रुखहरुले
आदिबासीको पगरी गुथाएका छन्
तिनै बाङ्गा रुखहरुको षढयन्त्रले
सुरिला रुखहरु बेलैमा काटिन्छन्
या त भीत्र भीत्रै ढ्वाङ कपिन्छन्
खोक्रो बनाईन्छन्
बाहिरी हेराइमा यसरि बाचईन्छन पनि ।

काटिएको फेदको ठूटो बाट
मुनाहरु पलाएर हाँगाहरु फैलिन्छन्
हाँगाहरु बढे पछि त्यहाँ
माँयाको सहानुभूती देखाउँदै
बाँदरहरु मनग्ये
नाच्छन्
उफ्रन्छन्
टेक्छन्
कुल्चन्छन्
कलिला मुन्टाहरु तहसनहस पार्छन्
ध्मिलो पानी चाट्ने बाँदरहरु
धम्क्याउँछन पनि
आखिर बाङ्गाटिङ्गा रुखहरु नै ठूला हुन्छन्
त्यो बस्तीमा ।

आदिबासी रुखका अंशहरु
समय संगै बिस्तारै एक एक गरी
टिपिन्छन्
फ्याँकिन्छन्
लुटिन्छन्
खोसिन्टन्
उसका कागज पातहरु
खरानी बनाईन्छन्
बल्ल इतिहास बाजे, भोगाई देखाईहरु
आजभोली बर्तमान नातीलाई
फटाफट सनाउँदै छन्
सायद अब उसलाई मर्छु भन्ने पक्का भो
र नाती चाख लिएर सुन्न थालेका छन्

यद्यपी तर अब परेमा
सुरिला रुखहरुले
बाङ्गा भएर बाँच्नु पर्छ
आदिबासी रुखहरु माथी
बाँदरहरुलाई राज्य छाड्नु हुन्न
खोसिएका कुराहरु
परे जबरजस्ती फिर्ता खोस्नु पर्छ
कथा दन्त्य कथाहरुमा स्यालले नै धेरै जितेका छन् ।

त्यसैले
बाँचीरहनुको बिकल्प
किन नहोस रक्तपातको नै
संघर्षको जरुरी छ
आदिबासी रुखहरुमा
तर त्यो भन्दा अघि
इतिहास बाजेका कथाहरु
सुन्न अझ बढी जरुरी छन्
सरिला रुखहरुले ।।

भेलेन्टाइन र सिपाही


काङमाङ नरेश

प्रेमको पैचो माग्न
कतै नपाउनु
एउटी स्त्री
आखैमा छम छम नचीरहेको
मायाको जीवन्तता
मीलनको आभाष
लुकी छिपी
भोग्नु पर्ने
कतै लेखीएको छ ?
प्रेम र विवाह
यी दुइमा
मायाको भाइरस
क्लाउडीयस् दोस्रो
र रोम राज्य ।

किशोर सिपाहीहरु
किशोरी प्रेमीकाहरु
मायाको चुस्की पिएकोमा
खुशी भए
भेलेन्टाइन पादरी
मायाको चुस्की
बैवाहिक सम्वन्धले
निरन्तरता र जीवन्तता पाए
जन्जीरले घेरीएको
मायाको वस्तीवाट
भेलेन्टाइनको
रगत
शाहास
र बलिदानी जीवनवाट
सिपाहीहरुले उन्मुक्ति पाए
अध्यारो मायाको
जेलखानावाट ।

थुइक्क ! जाली लोग्ने मान्छेहरु !


मिजास तेम्बे

तेरो आमा भएर त,
तैँले जीवन पाइस् ।
आमाको ममता र बात्साल्य कुल्चीएर हुर्कीस् ।
जवान भइस् /प्रियसी छानीस् /पत्नी अपनाइस्
तेरो जीवनले गती पायो ।
अझ भन्छस्-
यस्ता आइमाई /उस्ता आइमाई/नाथे आइमाईहरु,
थुइक्क ! पापी लोग्ने मान्छेहरु ।

पौराणिक काल देखि इतिहास हुदै हिजो सम्म
ठूला ठूला लर्डाई लडिस्
सन्धी गरिस्
आज पनि आकाश धर्ती जोड्छस्
किसिम किसिमको भाषण छाँट्छस्
थरीथरीको गफ हाँक्छस्
लुसुक्क बन्छस् / लुरुक्क हुन्छस्
एउटी सुन्दर तरुनीको मोह जालमा फसीहाल्छस् ।
थुइक्क ! कति कम्जोर लोग्नेमान्छेहरु ।

काम गर्छस् / जागीर खान्छस् / पैसा कमाउछस् / गुलामी गर्छस्
जीवनलाई बन्धक राखेर धन कमाउछस् ।
हुरी हुन्डरी /पानी झरी संग लड्छस् ।
घरमा तेरो सम्पतिको हिसाब त अर्कैले राख्छ ।
तेरो कमाईको हिस्सा अर्कैले लिन्छ ।
कोहि हुन्छ घरमा रिमोट कन्ट्रोल संग,
थुइक्क ! दासी लोग्ने मान्छेहरु ।
आइमाईहरुको खोइरो खन्छस्
मौका पाइस्की झगडा गर्छस्,
गाली गर्छस्/ धम्की दिन्छस् / अपशब्द ओकल्छस् ।
घृणा गर्छस् /हेला गर्छस् /लत्याउछस् ।
तेरो पत्नी बिना /तेरो परिवार बिना
तँ सधै सून्य सून्य हुन्छस् / खाली खाली बन्छस् ।
थुइक्क ! खोक्रो लोग्ने मान्छेहरु ।

घरमा पत्नीब्रता /बाहिर स्त्री लम्पट
जातैले पाएको चकचके /फटाहा/ बदमाश
तरुनी भेट्छस् / कुरा फेर्छस् ।
लोभि, लालची, स्वार्थी
दिउसै रात पार्छस् ।
ढाँट्छस् /छल्न सम्म छल्छस्
थुइक्क ! जाली लोग्ने मान्छेहरु ।

गजल


बसन्त मोहन अधिकारी

धेरै रोए जिन्दगीमा अब रुन्न होला ।
जिन्दगीमा हाम्रो भेट यहाँ हुन्न होला ।

हाँसो छर्छु सबैलाई आँशु आफै संग
त्यो आँशुले यो सासलाई अब छुन्न होला ।

नीलो मेरो आकस पनि कालो हुदै गाँछ
यो आँखामा अध्यारोको पर्दा बुन्न होला ।

मानवको सेवा गर्दा पाए आज मृत्यू
माया अनि पिरतीको हिसाव गुन्न होला ।

दोवाटोमा आज छर्ने बुर्की छैन मलाई
हाँसो खुसी बाँचि हिड्ने जीवन चुन्न होला

मेरो गीत


इश्वर चाम्लीङ्ग

यो जीवन... यो जीवन
खै न तिमीले चाहे जस्तो भो,
न त मैले सोचे जस्तै भो
अधुरै, अपुरै यो त यसै ढल्दै गयो,
यो त यसै जलिरह्यो
सारङ्गीको तार जस्तै तन्किरहृयो
चुटिएन रेट्दा पनि बजिरहृयो ... गुन्जिरहृयो।

यो जीवन... यो जीवन
खै न तिमीले चाहे जस्तो भो,
न त मैले सोचे जस्तै भो
अधुरै, अपुरै यो त यसै ढल्दै गयो,
यो त यसै जलिरह्यो
विधुवाको छाती जस्तै चर्किरहृयो
टुटेन सास मर्दा पनि अल्झिरहृयो...चलिरहृयो।

यो जीवन... यो जीवन
खै न तिमीले चाहे जस्तो भो,
न त मैले सोचे जस्तै भो
अधुरै, अपुरै यो त यसै ढल्दै गयो,
यो त यसै जलिरह्यो