गीत



केदार श्रेष्ठ'गगन'

बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि
सँगै मर्छु ,जिउँछु छाडि्दन म ज्यानै गए पनि

कहिले आउछौ सिन्दुर हाल्न मेरो सिउदो माथि
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

तिमी मेरो म तिम्रो जति दुःख पाए पनि
छुट्ने छैन हाम्रो माया जत्रै हुरी आए पनि

भाकी देउता देउरालीलाई चढाउछु वेलपाती
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.र्एर्.इ.च्याप्टर

तिमी बिना


दिलिप योन्जन

तिमी बिना उराठ-उराठ भो जिन्दगी
तिमी बिना खल्लो-खल्लो भो जिन्दगी
न हेरेर प्यास मेटिन्छ, न कल्पेर याद भेटिन्छ
तिमी बिना एक्लो-एक्लो भो जिन्दगी।

तिमी बिना फुल पनि काँडा भयो
तिमी बिना बाँच्न पनि गारो भयो
एल्लो जिबन के जिबन, एक्लो यात्रा के यात्रा
तिमी बिना बेसाहारा-बेसाहारा भो जिन्दगी।

तिमी बिना पल२ बर्षौ-बर्ष भयो
तिमी बिना जिउनुको नकुनै अर्थ भयो
न दिनले साथ दियो, न रातले बास दियो
तिमी बिना बरबाद-बरबाद भो जिन्दगी।

अस्टिन अमेरिका

निष्ठुरी बाटो


चन्द्र गुरुङ्ग

एउटा बाटो
गाउँको कोमल छातीलाई चिर्दै
मस्त नाचिरहेको वन-जङ्गललाई बेवास्ता गर्दै
मौन पहाडको फेदमुनिबाट
खुसुक्क गा’को छ
र पसेको छ अन्जान सहरमा ।

वनभोजमा सामेल
स-साना स्कुले नानीहरू जस्ता छालहरूलाई
नाचगानमा नै छाडी राखेर
खोलाको किनारै-किनार हुँदै
यो बाटो
कति निष्ठुरी भएर
पसेको छ पराया सहरमा ।

त्यो बाटोले
सहरमा पसेर
आफ्नो एक पोको इमान बेचेपछि
थुप्रै बेइज्जत कमाएको छ
आफ्नो मुटुको निश्चल फूलबारीमा
काँडाहरूको ठूलो झयाङ उमारेको छ
र इज्जतको निर्मल आकाशमा
टाँगेको छ बदनामीको कालो तक्मा ।

आज
उसको प्रदूषित हृदयबाट
हराएको छ गाउँको स्वच्छ मुहार
उसका निर्मम हातहरूले
निमोठेका छन् कलिला यादहरूलाई
र उडिसकेका छन् मस्तिष्कको क्षितिजबाट
सम्झनाका रमाइला बादलहरू ।

फर्की नआएको निष्ठुरी बाटोलाई
किन होला ?
अझै पनि पर्खिरहेको छ त्यो गाउँले ।

भर नपर


आचार्य प्रभा

जे भन्यौ ठिकै भन्यौ
मनकै ब्यथा पोख्यौ ,
अस्पट भावनाहरु ओकलेर
मन शान्त गरायौ ...
हो ---सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा
असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा ।
मन शान्त गराउने बहनामा तिमी
समर्पित भयौ कसैमा
अधरमा मुस्कान ल्याउने प्रयासमा
तिमी कोमल बन्यौ आँफैमा ,
त र ---सावधान !
जस्लाई मनका ब्यथाहरु पोख्छौ
ऊ तिम्रो पीडाको श्रोता मात्र नबनोस
जस्लाई भावनाका लहरहरु बिछ्याउछौ
ऊ तिम्रो कोमलताको क्रयता मात्र नहोस्
किन कि संसार अब स्वार्थमा मात्र डुबेको छ
कसैको साथ क्षणभङुर मात्र हुन सक्छ
तिम्रो भावना केवल ,
दन्त्य कथा मात्र बन्न सक्छ ।
यो भ्रममा ''तिमी '' ''उ ''
हामी सबै फंसि सकेकाछौ,
त्यसैले ---पोख मनका ब्यथा
त र आफु नाङिएर हैन
सुनाउ पीडाका वाक्यहरु
त र ---आफु बिश्वस्त बनेर हैन
जस्ले सुन्ने बहानामा
तिमीलाई मोल्न सक्छ ,
जस्ले आश्वासन दिने भरोशामा
तिमीलाई लुट्न सक्छ
किन कि ---अब ती सत्य र धर्मी
मनहरुमा कलंक र अधर्मले
बास गरिसकेको छ ।

(बोल्डर् )

गीत

केशब आचार्य

कँहा हुनछ कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र मुटुसँग समेटिन्छ माया ---

आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँशो बनी ओँठबाट हांसी दिन्छ माया ---

गीत बनी शुसेलिमा रमाउछ माया
कहिले कही जिन्दगीमा ओइली दिन्छ माया ---

खोजी हिँड्दा पाइेन्न त्यो मनको साँचो माया
जता ततै खोज्दा भेटने सस्तो छैन माया ---

बिछोडको बेदनामा कहालिन्छ माया
मिलन हो ढुक्ढुकिको सत्य चोखो माया ---

(बोल्डर कोलोराडो )

होशियार !


भानेन्द्रकुमार सम्बाहाम्फे

डर राख्ने गर
बाठो हुँ भन्ने
ए मानव !
भित्ताको पनि आँखा हुन्छ
सुन्ने कान पनि ।
बेअर्थको छ
बेतुक्को चलाखी तिम्रो
खुबै सावधान छु भन्ने ।
क्षणिकको सज्जन मानवको नाटकमा
यथार्थ लुकाउन-छुपाउन सकिन्न
सधैंलाई झूठ्को जलपमा ।
लाज राख्ने गर
सज्जन भनाउदो
ए स्वघोषित महोदय !
नाङ्गनिे नगर
निर्लज्ज निर्वस्त्र भएर
तिम्रो अघिपछि, वरपर
थुप्रै थुप्रै आँखाहरु, कानहरु
कहीं भित्ता बनेर
कहीं हावा बहेर
कहीं आवाज भएर
कहीं आत्मा बनेर
सूक्ष्मातिसूक्ष्म रुपमा
तिम्रा सारा करतूत्हरुलाई
नियालीरहेछन्, सुनिरहेछन्
त्यसैले-
रमाउने नगर दिवा स्वप्नमा
भ्रममा नपर
म सधैं सफल छु भनेर
आफ्ना घृणित् अनि पाशविक कार्य
लुकाउन अनि छुपाउनमा
किनकि-
हत्केलाले घाम छेकेको
इतिहास कहीं कतै छैन ।
थाहा छ बाठो हुँ भन्ने ए मानव ?
मान्छे मारे बराबर
महापाप लाग्छ
विश्वासघात गर्दा ।
आमाको हत्या गरे बराबर
अक्षम्य हुन्छ
र्इमान्दार विश्वासको हत्या ।
शायद तिमीलाई
थाहा हुनुपर्छ
कुकर्मको बदलामा
पाइने लात र रापको स्वाद !
त्यसैले-
भ्रमलाई छोड
आँखा खोल
कान खोल
होशमा आऊ
लोकलाज राख्ने गर
भगवानसंग डराउने गर
कम्तिमा-
आफूलाई विश्वास गर्नेलाई
विश्वासघात नगर
नत्र-
ति म्रो अन्त्य निश्चित् छ ।
होशियार !
होशियार !!
होशियार !!!
प्रभुको अदालतमा
त्यस्तो इजलास छैन
जहाँ तिमी
मनमौजी चलखेलका लागि
साट्न सक्छौ बहसलाई भनेर
पैसाको बदलामा
महंगा अनि आत्मारहीत वकिलहरु ।

२०६५/०५/०९
काठमाण्डौ ।

अध्यारोमा चम्कने काठको कला


स्यानु पाईजा

यो शहर मैन बत्तीमा अल्झीएको बेला
मान्छेहरु आधुनिक बन्दै निसासिएको बेला
मेरो गाँउमा एउटा अचम्मको भेला छ
अध्यारो रातको चम्किलो बिम्व हेर्नलाई
“करेशा फ्रेश” पिक्निक् पार्कमा
यो पार्क को नयाँ बिशेषता-
यो पार्क मात्रै पार्क होईन
यो त कसैको सपनाको सन्सार नै हो
यहाँ कला मुस्कुराउछ , सृजना बलेको छ ।
जीवनलाई जिउने प्रेरणा दिन्छ
साहेद नै यस्तो पार्क सन्सारमा कमै होला
या नभएको हुन पनि सक्छ
यो बिशाल छ ,यो पार्कलाई
चारै तिर ताजा तरकारी खेतीले घेरेको छ
मौसमी र बेमौसमी ड्याङका लहर ले
“करेशा फ्रेश” पिक्निक् पार्कमा
रिटायर्ड बुढाहरु नाती-नातीनी सँगै मर्निंङ वाक गर्नेछन
र फर्कदा फ्रेश तरकारी किनेर फर्कनेछन
यहाँ जो कोहि दिन भरि पिकनिक मनाउछन
आफ्नै हातले मनचाहे तरकारी तिप्छन
मन चाहे को तरिकाले परिकार बनाउछन
जब रात हुन्छ अध्यारो मा चम्किएका
हिम श्रृखलाका आकृतिहरु मुस्कुराउछन
साना साना कटेजका कुर्चि र खात बाट
केटा केटी बुढा-बुढी धित मरुन्जेल हेर्छन
सगरमाथा, धबलागेरी, अन्नपूर्ण, मकालु
अरु हिमाल थपिदै छन रे एकै लहरमा।
यो सबै जंगलमा कुहिईए पछि
अध्यारोमा चम्किने काठ/ दाउरा बाट बनाईएका हुन
कला मा नयाँ प्रयोग यसको अरु के उपयोग गर्न सकिन्छ ?
नेपाल मौन होला यो बिदेशिले ल्याब मा प्रयोग गर्लान

सम्भाबनाको खोजी होला कुनै बेला
यो अध्यारो रातको बिम्बलाई-
जुनेली रातमा चम्किने बनाउन लाई
के गरे होला जुनको रोशनीमा चम्कीने
काँचका कबज को प्रयास भै रहेको छ
यो नयाँ कला लाई दिर्धकाल लाई जोगाउने
एक दिन यसको नाम टाढा टाढा फैलिनेछ
ताजमहल को जस्तै नाम नहोला
तै पनि यो शुन्य बस्तीमा फेरी
केटाकेटी चिच्याई चिच्याई खेलेको सुनिने छ
यो बस्ती फेरी बस्नेछ, फेरी हाँस्नेछ
निर्माणधिन गेटको छेउ मै एउटा बोर्ड लेखिदैछ
करेशा फ्रेश- साईनिङ पार्क तपाईको स्वागत गर्दछ
पहिलो पटक चम्कने काठका धुलो को प्रयोग हुदैछ
अक्षरको बिचमा रातमा यो बिजुली बिना नै पढ्न सकिनेछ
म पनि सोच्दैछु यहि अध्यारोमा चम्कने काठको
दकुमेन्ट्री बनाउकी- साईनिङ आर्ट इन डार्क
अर्को ओस्कार - साईनिङ आर्ट इन डार्क लाई
यसपाली हामी गरीबी बेचेर होईन
सम्भाबना बेचेर जितौ .....................।

पात्लेखेत-७, म्याग्दी