डाँडाखोला तर्दा


दिलिप योन्जन

डाँडाखोला तर्दा पनि भेटिन देउराली
बस्यो माया केसारो याद आउछ झल्-झली
बनै फुल्यो फुल
डबलीमा रुमाल साट्नु गरे मैले भूल !

ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले
बन है पाखा न्याउली रुन्छ मनैको पिरले
पिखुवा सेरा बग्यो सल-ल रोकिन् कहिले
ढुख र पिडा पोख्न खोज्छु सुन्दैन कसैले !

ट्कसार माथी सल्लाको घारी के सारो सुसाउछ
कोमल आत्मा सक्दिन रोक्न मोती झैँ छल्किन्छ
परेवा साची सिद्काली भाकी तिमीलाई माग्दैछु
पल-पल हेर्छु तस्बिर तिम्रो त्यसैले बाच्दैछु !

अस्टिन, अमेरिका
(मेरो जन्म थलो भोजपुर देउरालीको सम्झनामा)

दृश्य र म


टंक सम्वाहाम्फे

दृश्यहरु
म देखिरहेछु
र हेरीरहेछु
मन्त्रमुग्ध भएर
एउटा रमितेले झैं
क्षण क्षण बद्लीरहने अनेकौ दृश्यहरु
लागिरहेछ
दृश्यहरु म जुन देख्छु
ती दृश्यहरुले
मलाई पनि हेरीरहेछ
जसरी म दृश्यलाई हेरीरहन्छु
किनकी हरेक दृश्यहरुले
मेरो मनस्थितीमा
एकाएक सत्ता जमाउछ
र दृश्य भयावह हुदा
मलाई भयभीत तुल्याउछ
दृश्य शोकग्रस्त हुदा
मलाई शोकाकुल वनाउछ
दृश्य रमणिय हुदा
मलाई पुलकित वनाउछ
दृश्य यसरी
अनायासै
म भित्र पसेर
आदेश गर्छ
र म आज्ञाकारी भै
दृश्यहरुको निर्देशनलाई पालना गर्छु
अझै पनि म भ्रमीत भैरहेछु
कि दृश्यको म दर्शक हु
वा त्यसको इमान्दार सेवक हु
किनकी म दृश्यवाट
वारम्वार सन्चालित भैरहेको छु
र हरेक दृश्यको परिवर्तन संगै
मरो सम्पूर्ण मनस्थिती
वद्लीरहेको हुन्छ
त्यसैले दृश्य मेरो दृष्टि भएर उभिदिएको छ

कुमारी


केवल गंगा गुरुङ

जहाँ तिमी थियौ
किन हो किन म थिए
हामी दुवै थियौ
तर त्यहाँ
मेरो मन थिएन
मेरो मन त हिमालको शिरमाथि
उडिरहेको थियो
स्वच्छ प्वाँख फिँजाएर
म धेरै बेर टोलाए
त्यो कुमारी हिमालको अलौकिक शुन्दरताभित्र
त्यसको काखमा
सेतो हिउँ पवित्रताको प्रतीक
उसको अस्मिताको पहरेदार
हरीयो डाँडापाखाहरु
उसैको आँसुले वग्ने
खोलानालाहरु
अचानक
मेरो मौनता भङ्ग गरिदियौ
मलाई स्पर्श गर्न खोज्यौ
र भन्यौ
मौन किन ? केही त बोल न
एकान्तमा छौं हामी दिल खोल न
कता कता
एउटा भिषण बज्रपातले
कुमारी हिमाललाई
चकनाचुर बनाएको
मेरो मनले देख्यो

भन्न मन लाग्यो
आफ्नै स्थितीमा रहन देउ
तिमीले आशय बुझेनौ
प्यासी सम्झेर अंगाल्ने प्रयत्न गर्‍यौ
त्यही पारीको
कुमारी हिमालको प्रतिष्ठामा
दख्खल पुगे जस्तै लाग्यो

म अर्थात हामी


दिव्य गिरी


अर्थात
हामी
यतिबेला तमासेको भीडमा
कूबेलाको लाखेनाच हेर्दै
बिर्सिरहेछौं आफैले आफैलाई
भुलिरहेछौं गन्तव्य र लक्ष्य
र, हराइरहेछौं अन्यौलको भूमरिमा
कुहिराको कागझैँ
भौंतारिरहेछौं कताकता दिशाहीन
राजनीतिका खेलाडीहरूले
क्यारमबोर्डको गोटी बनाउँदा
अनावश्यक नौटङ्कीको 'जोकर' बनाउँदा
ढुङ्गा, लाठी र जुलुसमा रुपान्तरण हुँदा

अर्थात
हामी
खेतवारिबीच उभिएको
बुख्याचा भएर
टुलुटुलु हेरिरहेछौं
आफ्नै मातुभूमिलाई पराइले लुछेको
चुपचाप हेरिरहेछौं
भत्किएका सीमा स्तम्भ
र मिचीएको सीमारेखा
सहिरहेछौं सृङ्खलाबद्ध
आक्रमण, अपहरण र अतिक्रमण

अर्थात
हामी
तमासे नेताको मीठो भाषाणमा मख्ख पर्दै
स्वार्थी नेताको झूठो आश्वासनमा दङ्ग पर्दै
उनीहरूकै पछिपछि दौडिरहेछौं
जसरी हिँड्द भोको स्याल
बुढो साँढेको पछिपछि ।
जनताको बिल्ला छातीमा टाँसेर
जनता हुनुको गर्वले छाती फुलाएर

अर्थात
हामी
अशान्ति र असुरक्षाको घेराभित्र खुम्चिएर
हेरिरहेछौं अग्लिँदै गएको दण्डहिनताको पहाड
र होचिदै गएको स्वतन्त्रताको शिखर ।
२०६६ पौष १३
टीकाथली-५ ललितपुर, काठमाडौं

मेरो साधारण जिन्दगी


रामु गैरे

ठुला ठुला महल हैन मलाई
मात्र शरीर ओत्ने बास भये पुग्छ
ठुला ठुला रेस्टुरेन्टको खाना हैन मलाई
मात्र आफ्नै घरको गुन्द्रुकको गास भये पुग्छ !!

हिड् डुल् गर्न मोटर गाडी हैन मलाई
भगवानले दिएको दुई खुट्टा भये पुग्छ
काडा अनी सानो तिनो छेस्कोबाट बचाऊन
मात्रा एक जोर सस्तो र बलियो जुत्ता भये पुग्छ!!

ठुला धनीहरुले पनि त हिरा मोती अनी
सुनचादी अन्य बस्त्र त खादो रहेन्छ
जती भये पनि मरेर जादा आखिर
मात्र एउटा कात्रो सिबाये अरु केही लिएर जादो रहेन्छ!!

ठुला ठुला बोर्डिङ् स्कुल सकिदैन छोरा छोरीलाई पढाउन
मात्र असल, अनुशाशित र लगनशिलको पाठ् भये पुग्छ
खुशी र सुखी जिन्दगी भनेको त मलाई
सम्पन्न नै सधैंभरी परिवार सँग अटुट् साथ भये पुग्छ!!

तेरो मेरो भन्नु नै जिन्दगीमा के रहेछ ? र
मात्र हासखेल् गरी रमाइ बाच्नु रहेछ
यो दुई दिनको मरी जाने चोलामा सम्पूर्ण सँग
हजुर,तपाईं, नमस्कार को माया गास्नु रहेछ!!

अर्घाखाँची चिउरामाटी हाल : दुबइ

गीत


पवित्रा गुरुङ

अध्यारो तिम्रो त्यो झुपडी म
एउटा दियो जलाउँछु

रातको जुन र त्यो तारालाई हेर
धर्ती उज्यालो पारी रहेछ
त्यसैलाई हेरी म पनि
एउटा उदाहरण वन्नु छ ।

भरोसा राख्नु तिमी
म एउटा विश्वासको महल वनाउँछु
अध्यारो तिम्रो त्यो झुपडीमा म
मायाँको सानो संसार वनाउँछु ।

गजल


इप्सुल मगर

वाह ! आधुनिकताको क्या चाल छ
युवाहरुमा खाली कूलत र मायाँ जाल छ

रमिता हेर्ने भन्दा रमिता देखाउँने धेरै
त्यसैले त प्रत्येक विषयमा हड्ताल छ

आकाश छुने पझेरोले पुगेन रे कसैलाई
अझ पनि कुर्चीको लोभले वेहाल छ

अरुको त के कुरा भो यहाँ लोग्ने र स्वास्नी मै
महिनै पिच्छे सम्वन्ध बिच्छेदको गोलमाल छ

भरिएको रोचासँगै सफलताको गर्व गर्दा
र्इर्श्या र लोभ अनि व्दन्दले मर्ने कंकाल छ