पारि गाउँको निष्ठुरी


केवल गंगा गुरुङ

वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्‍यो यो मुटु माझ ।

उनको घरको टल्किएको टिनको छानोदेखि
उनको तिर्सना मेट्ने मेरो चाहना
उनको घर छेउको पाखुरीको बोट हेरी
उसको मायाको शीतलता आभास गर्ने
मेरा वर्षौदेखिका दिनचर्याहरु
पूरा गर्न सकिन आज ।

यो बर्खा सुरु भएपछि कति पीर
मेरो मनमा
उडी आउने वादलदेखि कति कति
डर मेरो मनमा
सम्हालु म कसरी मेरो मायालु मनलाई
सम्झाउँ म कसरी मनको कुरा
त्यो पारी गाउँको निष्ठुरीलाई ।

आजभोलि त आली खन्न पनि आउँदैन
वनमा चरा मार्दै पो हिड्छ कि ?
आँखाको भाका नबुझेर उसले
अन्जानैमा मलाई भुली पो दिन्छ कि ?

गजल


इप्सुल मगर

जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ?
निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ?

भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल
खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ?

आफ्नै रगतमा संगीन रोपे तर पाइन मैले सुख
सामन्तीको भाषा सवै बुझ्न नसकेर हो की ?

राम्रो निद्रा पनि रातमा ला'कै छैन मलाई
प्रगतिशिलहरुको खुट्टा तान्न नपाएर हो की ?

जीवन तेरो बेकार भयो भन्छन् साथी संगीनी
शायद उनीहरु जस्तै मस्तिमा लाइन नपाएर हो की ?

मुक्तक


पवित्रा गुरुङ


बाबा
शब्दसंग परिचित छु म
अर्थ मलाई थाहा छैन
परिभाषा गरुँ म कसरी
यथार्थमा चिनजानी छैन


रिमरिम अध्यारो भई घरतिर लाग्छ
दैलोमा पुग्न नपाई
बुढाबुढी भएका बाबुआमाका थोते बाली
कन्चटमा बज्रन्छ,उफ !


बाचुन्जेल पनि त्यही मेरो संसार
मरेपछि पनि त्यही मेरो संसार भनि
प्रस्थान गर्छन फेरि
त्यही आर्यघाट पशुपति

घाइते सिपाही


अप्जसे कान्छा

अरु जस्तै हिडने तिम्रो खुट्‍टा छैन
बाँकी जीवन भर्ने बुट्‍टा छैन
देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा
खुट्‍टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन

संसार हेर्ने तिम्रो दृष्टि छैन
फेरि पैला जस्तो हुने सृष्टि छैन
देशको आँखा जोगाउन लडेथ्यौ तिमी
आँखा हुनेहरुले तिमीलार्इ हेर्ने हो कि होइन

युद्धमा छुटेको अंग,आशा फर्किएको छैन
बहादुरीको तक्मा चर्कीएको छैन
देशको लागि लड्‍दा घाइते भयौ तिमी
तिम्रो तक्माले बाँकी सास चल्ने हो कि होइन
ब्रेकन,वेल्स

जालो भित्र


स्यानु पाईजा

फेस बुकमा फेस देखाउने र हेर्ने साथीहरु
मलाई उत्ताउलो कमेन्टस लेख्न बाध्य गर्छन
आधुनिकताको जालो भित्र अनौठो रिक्ततामा
त्यहि रिक्तताको पाना मा एउटा रित्तो चित्र
मोनालिसा को नक्कलमा मुस्कुराउछ
म असहज महसुस गर्छु – मेरो पुरुष अनुहार
तर मुस्कान मोनालिसा को नक्कल
म त्यही कहि कतै भेटिन्छु
रँग उडेको एउटा पुरानो माला झै
पुन: रँगाईएका टाउको बोकेर
त्यही कहि उभिरहेको हुन्छु
बोन्साई बनेका रहरहरुको बिचमा
बर्तमान र आबश्याकताको स्यान्डुईच भित्र
उनले कुनै गुनासो गरिनन
मेरो बदलाव अनुहार मा
उनि बुझ्दथिन – पुरानो कुरा
म कहि न कहि उनको यादमा उभिएको छु
असाध्य जालो भित्र पनि समिप्यमा छु
उनि भन्न सक्छिन- हाउ आर यु ?
म भन्न सक्छु – आई लभ यु
अँग्रजी बुझ्ने भएको भए हजुरआमा
उत्ताउलो-उत्ताउली हरु भन्नु हुन्थ्यो पक्कै
तर के थाहा ?
बत्ती बलेको बेला भन्नु हुन्छ रे
नाती आउने स्यानो टिभि हेरौ
यु ट्युव भिडियोमा म- बजै को सानो टिभि कम्प्युटर
नेटको जालो भित्रको झ्यालमा छिरेर
म तिम्रो छेउमा आउन सक्छु
मुस्कुराउन, रिसाउन बोल्न र जिस्कनु सक्छु
तर सक्दिन तिमीलाई सुम्सुमाउन
अँगालो भरी सन्तोषको रात निदाउन
मात्रै दोहरोरिन्छ त्यहि शब्द-आई मिस यु
मात्रै दोहरोरिन्छ त्यहि शब्द-आई लभ यु
यहि पराई देशको भाषा र पैसा ले
तिमी र मलाई मात्र होईन प्रिय
जालो जस्तै सन्सारलाई नै जेलेको छ
स्वनिर्णयको सजाय जस्तै यस्तै जिवन
तिमी र मैले मात्र होईन
यहि जालो भित्र अरुले पनि बाँचेका छन

पात्लेखेत-७, म्याग्दी

प्रेम गीत


दिव्य गिरी

मोडमा आँखा जुधेपछि
मुटुको ढुकढुकी अझ बढेपछि
मनभित्र मायाको भुल्का उठेपछि
छातीभित्र पिरतीको ज्वाला सल्केपछि
तिम्रो तस्बीर
दिन-रात सजाएकै हो आँखामा
र तिम्ले हाँसिदिँदा मात्र पनि
छातीभित्र भुर्इंचालो जाँदा
मनको शान्त तलाउमा
ज्वार-भाटा उर्लेकै हो
अनि डुब्लाडुब्लाझैँ भएकै हो
मायाको जहाज पिरतीको सागरमारमा !
कति नै टाढा थियौ र तिमी
मेरो सम्झनाको आँगनबाट
कति नै बेखवर थियौ र तिमी
मेरो मुटुको ढुकढुकीको स्पन्दनबाट
राखेकै थिएँ नजर वरिपरि
बसाएकै थिएँ मुटुको छेउछाउ
र सुम्सुम्याएकै थिएँ
गुँरासे गाला र सुन्तले ओंठ
जब तिमी मेरी भयौ प्रिय !
अनि बाँकि के नै रहृयो र प्रिय ?
हामीलाई छेक्ने पर्खाल कहाँ उभियो र ?
समागमको निम्ति लठारिएका सर्पका जोडीझैँ
कयौ रात हामी पनि अँगालिएकै थियौं
र मैले खुसुक्क ति म्रो कानमा
पिरतीका कुरा सुनाउँदा
लाजले आँखा चिम्लिएको क्षण
सरमले तिम्रा गालामा गुलाफी रङ्ग चढेको बेला
अँध्यारोभित्र तिमी झन उज्यालिएकी थियौ
मैले यो सब किन भनेको भने नि प्रिय !
बिगत सम्झँदा तिमी वर्तमानमा आयौ
बिगत नियाल्दा तिमी मनभित्रै छायौ ।
२०६६ फागुन ६

नयावर्ष आऊ तिमी


योगेन्द्र जोगी ,संघश;

नयावर्ष आऊ
तिमी हर्स , ऊल्लास र उमंग
बोकेर आऊ नयावर्ष तिमी
जोस जागर र चेतनाको लहर
बोकेर आऊ नयावर्ष तिमी
नैतिकता ,इमान्दारिता र अनुसाशनको
मार्ग निर्देशन गर्दै आऊ नयावर्ष तिमी
ज्ञान , सिप र अज्ञानतालाई हटाएर
आऊ नयावर्ष तिमी
बिकृति र विसंगति हटाएर आऊ
अनि गरिबी र अशिक्षाको दीपलाई हटाएर
शिक्षाको दिप बाल्दै आऊ नयावर्ष तिमी
बैदेसिक नक्कल लिएर होइन नयावर्ष
नेपालकै दौरासुरुवाल पैरना लगाएर
आऊ नयावर्ष तिमी
हत्या र हिम्सा लिएर होइन नयावर्ष
शान्तिको संदेश बोकेर आऊ नयावर्ष तिमी
लाखौ लाख सुभकामना छ नयावर्ष २०६७ तिमीलाई
धुपू-१ लेब्रंग
एकान्त बस्ती
संखुवासभा