पाँच मुक्तक


दिव्य गिरी

एक
फूलले चारैतिर सुवास बहाएजस्तै
बैँसालुको शिरमा गुराँस सुहाएजस्तै
कति सुकिलो र मोहक देखिएकी तिमी
भर्खरै हिमालले बर्षात्मा नुहाएजस्तै ।

दुर्इ
सिम्सिमे बर्षाले तिम्रो देह धोएर गयो
सिर्सिरे बतासले तिम्रो केश छोएर गयो
फूलका थुँगाथुँगामा खोजेकै हो उसले
तिमीलाई नपाउँदा वसन्त रोएर गयो ।

तीन
सौन्दर्यपूर्ण ति म्रो त्यो यौवन लहलह छ
मुस्कानमा जादु छ, अधरमा मह छ
मडारिइरहेछ मायाको आँधी म भित्रभित्रै
सम्हाल, झारिदेला ति म्रो फूलजस्तो देह छ ।

चार
घाइते भएको छु तिम्रो नजरको तीरले
सुक्दै गएको छु तिम्रो पिरतीको पीरले
छट्पटाएको छु पाखामा परेको माछा सरि
घोच्नु पर्दैन अब मलाई तातो झीरले ।

पाँच
हिँड्दा हिँड्दै अनायास नयन हाम्रो ठोकियो
लाग्यो, रातमा उदाउने जून दिनमै देखियो
किन हुन्छ यस्तो उकुस्मुकुस् छाती भित्रभित्रै
कि यतिबेला बहँदा बहँदैको पवन पनि रोकियो ।

वुढीआमा

सूर्यविक्रम याक्खा

युद्घमा शान्त्तिका नासोहरु
खोज्दै छिन् ,
क्षेत्विक्षत् भएका मासूका चोक्टा-चोक्टा, र
हड्डीका कुड्काहरु खिच्रिङ्ग-मिच्रिङ्ग सरी
वटुल्दै छिन् ।
चाउरीका अनुहारले टुलुक हेर्दै ,
आशुको तरेलीमा ,
सुस्केरा हाल्छिन् , ऊ खुर्इ
कपाल सेतै फुलेकी
कुप्रोपरि लौरोको साहाराले
ताते-ताते चालमा लम्किन्छिन ।
मन वहृकाएर
एक्लै फत्फताउदै
निरिह यात्रामा
गन्तव्य विहिन
फड्को मार्दै ,
नदेखिएका पासोहरु संग
खोई:शान्त्तिका नासोहरु
चिच्याईन चित्कार आवाजमा
आँखा राता-राता पारिन्
शरिरका रौहरु ठाडा-ठाडा पारिन् ,
जिङ्गग्रिङ्ग कपाल संगै जूरुक उठिन्
रिसले रन्थनिदै ,
छात्ती ठोकिन् ,
वुढीआमा ,……..!!

मोरङ्ग

यो सहरमा छिरेदेखि


र्इश्वर चाम्लिङ

यो सहरमा छिरेदेखि
कुहिरोले छोप्यो मलाइ तुसारोले थिच्यो
कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो
साइनो सबै बेच्यो

विसाइतमा हिडियो की गाँउको मन दुख्यो
सङ्गालेका सपना-सागर एउटै विना सुक्यो
सहर कस्तो होला भन्थे आज उस्ले किच्यो
कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो
साइनो सबै बेच्यो

गाउँले माया गाँउले सद्भाब कस्ले दिने यहाँ
जस्को शक्ति उसैको भक्ति चल्दो रहेछ यहाँ
सहर छिर्ने सपनाले सहर भित्रै बेच्यो
कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो
साइनो सबै बेच्यो

औलाको बहश


स्यानु पाईजा

कयौ औला चोर औला को नामले मरे
अचेल चोर औलाहरु अदालतमा छन
आफुलाई जबर्जस्ती चोर औला भनेको मा
उस्को वकिल बहश गर्दै थिए-
परापुर्वकालमा हर्पेको ध्यू निकालेको भरमा
कयौ पुस्ता पछिको औलालाई चोर भन्न पाईन्न
कयौ ले टिगर पनि यसैले दवाउछन
के तपाई भोलि शिकारी औला भन्नु हुन्छ ?
बिरताको कदर गरेर तक्मा दिनु हुन्छ ?
या अपराधी,ज्यानमार औला भनेर फाँसी दिनु हुन्छ ?
मैले माउस यसैले चलाउछु माउस औला भन्नु हुन्छ ?
बुढी औला सँग मिलेर नाक भित्रको रौ उखेल्छु
के भोली यो औला लाई चिम्टी औला भन्नु हुन्छ ।
टिगर दवाउने औलाले प्रतिवाद गर्यो
टिगर दबाउने काम मेरो हो अरुको अधिकार नखोस्दा राम्रो
प्रतिपक्षले वकिलले बिचैमा रोकेर प्रतिवाद गरे
जसरी चोर औला भन्दा तपाई को औलालाई पीर पर्छ
बुढी औला भन्दा मेरो क्लाईन्टलाई पनि पिर पर्छ
एक्कै गर्भबाट एकै दिन जन्मेका औला किन बुढी ?
फेरी औलाको लिंग हुदैन महोदय
न यो बुढो हो न बुढी न तरुनी
मेरो औलाको आपत्ती छ मोहदय
सबै भन्दा महत्वपुर्ण काम यसैले गर्छ
त्यो हो नागरिकता लिदा लगाउने ल्याप्चे
फेरी गलत अर्थ नलगाउनुस महोदय
ल्याप्चे अनपढहरु लगाउछन
यो औलालाई अनपढ औला नभन्नुस
यो भगवानले बनाएको युनिक औला हो
सन्सारमा फरक छ भने त्यो फरक यहि औला चक्रमा छ
फेरी अरु औलाको आपत्ती आयो
हाम्रो औला पनि छोडाएको आलु जस्तो छैन महोदय
हामी पनि युनिक रेखा लिएर जन्मिएका छौ
अब ल्याप्चे लाउने बेलामा हामीलाई पनि स्थान दिनु पर्छ
थुप्रै बर्षको बहश पछि पनि कुन औलालाई के भन्ने
अदालतलाई निर्णय गर्नु मुस्किल छ रे
औलाहरु लाई आफुलाई मन पर्ने नाम आदालतलाई बुझाउनु भनियो।
तर कुनै औलाले पनि आफ्नो नाम यो हुनु पर्ने मस्यौदा बुझाएका छैनन्
तिन औला मिलेर चम्मच उठाउछन र चाउमिन खान्छन
पाँच औला मिलेर हुस्कीको ग्लास उचालेर पिऊछन
मुडक्डी कसेर नाक ओडारा-ओडार गर्छन
बर्षौ देखि अदालत मा छन नामको लागी
बहश र आपत्ती गर्दछन
चोर औला को बहश
नेपालको राजनिति जस्तै गन्जागोलमा छ
जान्नेहरु औलालाई जस्तै जनतालाई जातको लागी लड्न उक्साउछन
औलाहरुलाई अदालतमा लडाए जस्तै
जनतालाई हरेक गल्लीमा राजनितकले लडाउदैछ
कहिले अन्त होला यो अन्तहीन बहश

पात्लेखेत-७, म्याग्दी

जबर्जस्ती गर्नेहरु

नास्तिक ईश्वर

माकुरीले फुलभरि जालो लगाए पछि
बाध्य भई चुम्न झर्ने माहुरीहरु ,
मृगलाई खेदाएर शिकार गर्ने बाघहरु
बल्ल थाहा पाउँछौ खोरमा थुनिदा ।

आस्तिकले बाटोभरि मन्दिर पुजे पछि
क्रोधित भई ढोग्न पुग्ने नास्तिकहरु ,
कुखुरोलाई छकाई झम्टने स्यालहरु
बल्ल थाहा पाउँछौ साँचोमा पर्दा ।

सपेराले बिषथैली झारी दिए पछि
बिणको धुनमा नाच्न थाल्ने सर्पहरु ,
गाउँ पसी विपत्ती मच्चाउने हात्तीहरु
बल्ल थाहा पाउँछौ माउतेले छोप्दा ।

मुसहरले पानी हाली दुलो खने पछि
अत्तालिएर बगरमा दौडिने मुसाहरु ,
किसानको मकै खाने भालुहरु
बल्ल थाहा पाउँछौ चटकेले नचाउँदा ।

लोभी नेताले सत्ताको युद्ध लडेपछि
च्याँ-च्याँ गर्दै सडकमा उत्त्रिने जनताहरु
परिवर्तनको सपनामात्रै देखाउने तन्त्रहरु
बल्ल थाहा पाउछौ फेरी भल्ट्याक्क पल्टदा ।।

गजल


आचार्य प्रभा

अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ?
बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ?

आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ
आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

हिमाल नै,शान हाम्रो,भन्ने कुरा,कँहा गयो ?
बैमनष्य ,पालेर पो,शत्रु बनी,ठड्यौँ किन ?

शान्ति हाम्रो, देशलाई,आवश्यक,हुनुपर्छ
अशान्ती र,अन्यायमा,हामी सबै अड्यौँ किन ?

अनमोल,बस्तु बिर्सी, हामी अन्धो,बनिरह्यौं
बनावटी,मोती टिपी,आँखाभरी,जड्यौँ किन ?

(देशकै गुनासोमा समर्पित गजल )
(रचना -अप्रिल २७ /२०१० )

वर्तमान


दिव्य गिरी

पुरानो काम नलाग्ने
चौबाटोमा फ्याँकिंदा
टुक्राटुक्रा र छरपष्ट
फुटेको घ्याम्पो जस्तै विभत्स
यो वर्तमान !

टपरीभरि खरानीको कालो डल्ला
छ्वालीको मुठो र काँचो हाँडी
रातो खुर्सानी र लसुनको पोटी
चिउराको भुस र आधा बलेका धूप-बत्तीहरू
चौबाटोमा मन्छिएको देखेर
भूत लाग्ला भनी
मान्छेहरू थु...थु... थुकेर हिँड्छन्
मान्छेहरू छेउ लागेर हिँड्छन्
हो दुरूस्त त्यस्तै
भूताहा चौबाटो भएको छ
यो वर्तमान !

न कसैको अधीनमा बसेको छ
न त कसैको आदेशमा चलेको छ
गुजुल्टिएको धागोको डल्लोझैँ
न छेउ भेटिन्छ
न त सँगाल्नै सकिन्छ
आफु भित्रभित्रै आफै अल्झिएको
अशान्ति, अन्याय, अभाव
र अन्यौलको भूमरीमा रूमल्लिएको
जर्जर अनि वर्वर
यो वर्तमान !

हत्या हिंसा र आतंकको ओदानमाथि
महत्वाकाँक्षाको हाँडी बसाली
विपनाको आगो बालेर
बन्दुकका कप्टेराहरूले
मान्छेका सपनाहरू भुटिरहेछ
मानवताको खिल्लि उडाउँदै
आतंक ! आतंक !! आतंक !!!
मात्र आतंकको उपहार दिइरहेछ
यो वर्तमान !

टीकाथली-५, ललितपुर, काठमाडौं, नेपाल