गजल


दिव्य गिरी

रातभर जून रोयो तिमीलाई सम्झी
दिन पनि उदास रहृयो तिमीलाई सम्झी ।

फुलेका थे मखमली, बेली-चमेली
गुलाफको फूल छोयो तिमीलाई सम्झी ।

मनभरि तिमी नै, आँखाभरि तिमी नै
सपनामा बर्बराउने को हो तिमीलाई सम्झी ।

साउनको वर्षासरि आँसु खसालेर
मनको सारा पीडा फोयो तिमीलाई सम्झी ।

मुटु दुख्दा, छाती पोल्दा, मन चस्किँदा
आँसुले नै घाउ धोयो तिमीलाई सम्झी ।

ओ ! मेरी हिमाली रानी


र्इश्वर चाम्लिङ

ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ यो मनमा
ति म्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा
माया बसे जस्तो छ हामीमा
ओ ! हिमाली रानी
माया बसे जस्तो छ हामीमा ।
सायद तिम्ले माया लायौ होला मलाई
तिम्ले माया लायौ भा'
किन माया लायौ म सुयोगवीर जस्तै मान्छेलाई
अब रुने भयो ति म्रो मन पारीजात भएर
चालै नपाई माया बसेको वा मैले माया लाको'भा
सायद यो ठूलो भुल भयो
म त चाँडै फर्कन्दैछु हिमाली रानी
फर्कनु पर्छ मैले त्यहि परदेशमा
अब रुने भयो यो मन पनि ति म्रो सम्झनामा
अब बग्ने भयो बलिन्द्र धारा आँशु तिम्रो तिर्सनामा
मेरी हिमाली रानी
तिम्ले इशारा गर्‍यौ की ?
मैले प्रेमपत्र लेखे ?
माया बसिसके छ हामीमा
माया कसरि बस्यो
माया किन बस्यो
त्यो त मैले चाल पाईन तर माया पक्का बसेछ हामीमा
नत्र, किन चिसो बतासले मलाई पछ्याइ रहन्छ
र म अनुभूत गर्छु हिमाली चुम्वनको
नत्र, किन म घरि न घरि उत्तर तिर तिमीलाई चिहाँउछु
र प्रेमिला मुस्कान साट्छु तिमीसँग
अझ भनौ,
भुतुक्क हुन्छु र मुस्कुराउँदै हेरिरहन्छु , मस्किरहन्छु
म हरेक चोटी मुस्कुराउँदा
तिमी पनि त मुस्कुराएकी हुन्छ्यौ
म हरेक चोटी मस्किन्दा
तिमी पनि त झन धेरै मस्किराखेकी हुन्छ्यौ
म त तिम्रो मायामा पागल भएको छु
विहानी किरणको बुर्इ चढिआएर चुमिदिउँ तिमीलाई
कि भुँइकुहिरोसँग काँत लाग्दै आएर गम्लङ्ग अङ्गालो हालि दिउँ तिमीलाई
ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ मनमा
तिम्रो झलकहरू नाचिरहन्छ यी आँखाका नानीहरूमा
अब रोएरै बित्ने भए ति पर्देशि दिनहरू
अब झन दुखि हुने भयो यो पर्देशि मन
ओ ! मेरी हिमाली रानी ।

२८ मार्च २०१०

म अर्थात हामी


दिव्य गिरी

म
अर्थात
हामी
दौडिरहेछौं सदिऔंदेखि
सपनाको पछिपछि
सपनाकै भारि बोकेर पिठयूँमा
अफसोच !
सपनाले नै लखेटिरहेछ निरन्तर
सपनाले नै डसिरहेछ युगयुगान्तर
धेरैधेरै सपनाहरू राखेर आँखामा
धेरैधेरै चाहनाहरू समेटेर मनभित्र
सपनाकै महल निर्माणमा जुटेका
म
अर्थात
हामी
सपना पूरा गरिदिन्छु भन्ने
तिनै ठेकेदारहरूबाट ठगिएका छौं
तिनै ठेकेदारहरूबाट लुटिएका छौं
यति बेला तिनीहरू
आफ्नै सपना पूरा गर्न उद्यत छन्
आफ्नै चाहना पूरा गर्न तल्लिन छन्
आफ्नै स्वार्थ पूरा गर्न मरिमेट्दै छ
हामी केवल हामी छौं
हामीसँग
भोको पेट छ
नाङ्गो आङ् छ
चुहिने छानो छ
र कहिले पूरा नहुने सपनाहरू !
म
अर्थात
हामी
कुँदिरहेछौं सदिऔंदेखि
नीरिह, अशिक्षित र सोझो मानव भएर
सधैंभरि भाग्यविधाताहरूको भरमा बाँचिरहेछौं
दुर्भाग्य !
भाग्यविधाता आफै अघाएको छैन
ऊ भोको साँढेझैं चरिरहेछ
हाम्रो सपनाको फाँटमा
ऊ भोको स्यालझैं झम्टिरहेछ
हाम्रो चाहनाको छातीमा ।
म
अर्थात
हामी
फगत दौडिरहेछौं सदिऔंदेखि
सपनाको पछिपछि
सपनाकै भारि बोकेर पिठयूँमा ।

टीकाथली-५, ललितपुर ।

जिबनको यात्रा


योगेन्द्र"बगर"जोगी

जीबन एउटा यात्रा हो
यो यात्रा हामीले पूरा गर्ने पर्छ
मूत्यु एक केंद्र बिन्दु हो
त्यहासम्म हामी पुग्नै पर्छ
साथीभाई इस्त्रमित्र यात्रा कटाउने
साधन हुन
यिनिहरुको उपयोग गर्ने पर्छ
श्रीमती चाही एक सहयात्री हुन
जिबनको उतर चढापमा
यिनको साथ पाउनै पर्छ
मूत्यु चाही एक असल मित्र हो
अत्यमा त्यसलाई पाउनै पर्छ

संखुवासभा

गजल


बिष्णु नन्द चाम्लिंग

नेताहरु साह्रै भुक्छन्
एकलेअर्कोलाई थुक्छन्

संविधानको स नजान्ने
सभासद भई पुग्छन्

राजनीतिको बारे सोधे
प्रतिगामी भन्दै फुक्छन्

ढुकुटीमा आँखा गाडि
मौका छोपि सारा लुट्छन्

जनताले गुहार माग्दा
कानमा तेल हाली सुत्छन्

चुनाउ शुरु भए नेता
जनता सामू फेरि झुक्छन्

http://bishnunandacham.blogspot.com
१७ एप्रील ०१०
इन्द्रेणिपोखरि ३ खोटांग
हाल - हंग कंग
८५२-६३४०७०१४

नयाँ विहानी यो


र्इन्द्रकूमार श्रेष्ठ सरित्

नयाँ यूगको नयाँ विहानीमा
विचारको आड लिएर
सपनाहरु चल्ला कोरल्न ओथारो बसेका छन्
सबै आशालू छन्
परिणाम सकारात्मक हूने नै छ
एउटा यूगपछि आएको विहानी
आशा र प्रतीक्षाका कहालीलाग्दा
अंध्यारा रातहरु काटेर
यो प्राप्ति , यो उज्यालो
यो मिथ्या हूनै हूदैन
यसैमा छ सबैको भरोशा
छ सबैको अटूट विश्वास ।
पलपल प्रतीक्षामा
कयौं अप्ठ्याराहरु
यूगको कठेार छातीलाई बलिदानले चिर्दै
बल्ल बल्ल आएको यो विहानी
यो सार्थक विहानी
भो, यसलाई बिरोधको नाममा विरोधले
व्यक्तिश्वार्थलाई समुहको नाममा बोकेर झण्डाले
यसलाई नबिटूल्याउ
यसको महत्वलाई तीखा नंग्राले
यसको महत्वलाई नधरफर्‍याउ
परिवर्तनको संघारमा उभिएर
नयाँ मूलूक बनाउने प्रतिवद्धता
अग्रगमनको चढ्दै प्रत्येक सोपान
देश तिम्रो हो, मेरो हो, हाम्रो हो
हसाएर यसको मूहार आफै हाँस्नू छ
बाँच्नू भन्दा पनि यहाँ बचाउनू छ
यूगको छातीमा लेख्नू छ
आँखाको नानीभन्दा प्यारो नेपाल
मूटूको ढूकढूकीभन्दा प्यारो नेपाल
आजको दिन
बीर बीरांगनाहरुको योगदानले ल्याएको दिन
नबिर्र्सौं कहिल्यै मातृभुमिको महत्तालाई
शहीदहरुको अवर्णनीय अवदानलाई ।
किनभने.. यूगको छातीमा लेख्नू छ
आँखाको नानीभन्दा प्यारो नेपाल
मूटूको ढूकढूकीभन्दा प्यारो नेपाल

तरहरा(सून्सरी) हालः पो.ब.न.- ५२७, काठमाडौं

हजुरआमालाई चिजबल


स्यानु पाईजा

कालो हुने गरी पारी भिरमा आगो लाग्यो
चुल्ठे खोला पलाएन भन्छन बुढापाकाहरु
मानो पाथी फल्ने बारीमा मोटर बाटो पस्दैछन
घर भित्र केवुल टिभी पसेको पहिल्यै हो
झ्यालको किल्लामा मुवाईल सुसाईड गरेको पहिल्यै हो
मुवाईल गाउँ पस्न हतार गर्छ-(टावर) सिग्नल नपस्दै
एफ एम रेडियो बनेका मुवाईल सेटहरु
कहिले क्यामरा बनेर चित्त बुझाउछन
कहिले मिडिया प्लेयर बनेर चित्त बुझाउछन
अश्सील भिडियोहरु उमेर नपुग्दै हात हातमा पुग्छ
त्यो मन जहाँ गाउँ बसेको हुन्थ्यो
अचेल शहर र नक्कल सोझै पसेको छ
एफएम रेडियोहरु नेपालीमा अंग्रेजी मिसाएका छन
नेपाली अंग्रजीमा मिसिएको छ
साँचो भनौ त न अंग्रजी मात्र बोल्नेले बुझ्छन
न नेपाली मात्र बोल्नेले बुझ्छन
अचेलको भाषा हजुरआमालाई चिजबल जस्तै लाग्छरे
त्यसै खाँदा गिजा दुख्ने चियामा भिजाउदा खानै मन नलाग्ने
यस्तो पनि जिवन ? के जिवन
लोकल भाले शहर पस्छ
बिकासे दानापानीले बाँस्न नसक्ने बोईलर बन्छ
जो समाय मै मोटाउछ र आयु छोट्याउछ
अचेल शहरियाहरु लोकल कुखुराको सुप खोज्न गाँउ पस्छन
तर बोईलर नै भेटिए पछि दिक्क हुन्छन
सुनाउनेहरु सुनाउछन-
गाँउलेले शहर गाउँ जस्तै बनाए
दोहरीलाई शहर भित्राए तर बियरमा मिसाए
शहरियाहरु ले गाउँलेलाई उत्ताउलो बनाए
मलाई कहिले त यस्तो लाग्छ
हजुरआमाले भनेको चिजबल जस्तो लाग्छ
गाउँ र शहरको आलोचनाहरु
बिचरा मान्छे अचानो बनेको छ
दुबै को प्रहार सहेको छ
मलाई दाँत झरेको गिजामा चिजबले घोचे जस्तै लागेको छ

पात्लेखेत-७, म्याग्दी