आँखा चिम्ली मनन् गरौं


भानेन्द्रकुमार सम्बाहाङ्फे

आँखा चिम्ली मनन गरौं, हामी किन पछि पर्यौं ?
स्रोत साधन हुँदाहुँदै, हामी किन गरिब भयौं ?

प्रकृतिले हामीलाई, मुठ्ठी खोली दिएकी छिन्
सगरमाथा हाम्रै हो, नदीनाला हजारौं छन्
हिमाल पहाड तरार्इ, अनुपम उदाहरण
शान्तिदूत हाम्रै बुद्ध, सन्सारमै प्रख्यात छन् ।

तरार्इ हिमाल पहाड, गाँसबाँस सबै दिन्छन्
नदीनाला शक्तिशाली, उर्जा दिने मुहानै हुन्
हावापानी नेपालको, दुनियाँमै उदाहरन्
तर पनि हामीलाई, सन्सारकै गरिब भन्छन् ।

सत्य कुरा बुझौँ साथी, हामी गरिब हुँदैहैनौँ
मिली सब जागौँ अब, स्वर्ग जस्तो देश चिनौँ
हत्या हिंसा त्यागौँ आजै, विकासमा एक बनौँ
स्वतन्त्र हामी नेपाली, शान्तिप्रेमी जनता बनौँ ।

काठमाण्डौ ।
२०६६/०४/११

No comments: