गजल


भुपेन्द्र महत

नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ
बैशको माद पिएर एकचोटि झुम्न देउ

स्वोर्गै भएनी चाहिएन अबलाई भइगो
तेही नै नयनको परिधि भित्र घुम्न देउ

नजरको बाण चले देखी घाइते भाको'छु
धपक्क बल्या तिम्रो रुपमा होश गुम्न देउ

कामदेवको ताती लग्लान तिमीलाई खिच्न
सुरक्षाको लागि लौ पहरे भई रुग्न देउ

दुश्मनले तिम्रा खुशीमा एम्बुश थापे भने
पट्रोल पठाउने छु दिल सम्म पुग्न देउ

कोलोराडो ,अमेरिका

गजल


समृद्धि "सायद"

हृदयको बास मीठो कि मनको अत्यास
नभेटिएकालाई मिलन मीठो कि प्यास

धड्कन्छ होला मुटु पनि रफ्तारमा आज
सुनेपछि शब्दशब्द मीठो कि उच्छवास

नभेटिएको राम्रो भन्थे नपाउने कुरालाई
मेरो थियो भन्नु भ्रम मीठो कि विश्वास

कस्तो अभरमा परेछ जीन्दगी भन्ठान्छु
मनको एकोहोरो ढिपी मीठो कि खग्रास

"शायद" हृदय नटुक्रिदो हो त मपनि
रोज्थे हुँली विछोड मीठो कि सहवास
कोटेश्वर काठमाडौं

नौलो बिहानी

हस्त गौतम "मृदूल"

उदायो अब बिहानी नयाँ, निर्दयी रात फाली।
स्वागत गरयौ ह्रदय देखि, मन्को दियो बालि।।

देश लूटने जतिलाइ अब, किनारा लाउदै छरे।
मेटाउदै यावत संकटहरु, शान्ति आउदै छरे।
आशाको राँको बाली मनमा, उज्यालो र्छर्दै छरे।
नयाँ खाका कोरी सूख, समृद्धिको कोख भर्दै छरे।

उदायो आज बिहानी नयाँ, निरंकुस रात फाली।
स्वागत गरयौ ह्रदय देखि नै, मन्को दियो बालि।।

अमर सपनाहरुको बिउ, माटोमा रोपदै छरे।
इतिहाँसको जिवित पाना, धर्तीमा खोप्दै छरे।।
आमाको आँशु पुछेर अब, मलम लाउदै छरे।
स्वतन्त्रताको गित गाउने, समय आउदै छरे।।

उदायो आज बिहानि नयाँ, अराजकत्ता फाली।
स्वागत गरयौ ह्रदय देखि नै, मन्को दियो बालि।

हाईड पार्कमा एक दिन


गोपीकृष्ण प्रर्साई

आज हाईड पार्कमानिसहरु
पुण्यित भएकाछन्
पल्लवित भएकाछन्र्
अर्धनग्न आफ्नो शरीर देखाउँदै
मायाँका कितावमा आफ्नो नाम लेखाउँदै
यो मौसमको चञ्चलपन
बालक वनि गयो तन्नेरी मन
कोही तातोश्वास साट्न व्यस्त
कोही एकअर्काको जीउ मुसार्न अभ्यस्त
काउकुती लगाई रहेका जोडाजोडी
एकले अर्कालाई समात्ने यो शिलशिला
मौसम हाँसीरहेछ
जीव,चराचर अनि धर्तीको यो सम्वन्ध
बिशाल घाँसे मैदान अनि पोखरीका तरङ्गहरु
आज हाईड पार्क नाचीरहेछ
कोही काला,कोही पहेँला र धेरै गोराहरु
तनसँगै खेलिरहेछन्
मनले पनि तनकै भाषा वोलिरहेछन्
खुल्ला हुनुको अर्कै मज्जा
स्वतन्त्रताले दिएकोएउटा सारसज्जा
चराहरु फुर्रफुर्र उडिरहेका
सुन्दर पोखरीमा हाँसहरु पौडिरहेका
बसन्तले म्वाँइ खाएर होला
रुखका पातहरु लहलह झुलिरहेका
भुन भुन गर्दै भमराहरु परागमा डुलिरहेका
रङ्गी विरङ्गी फूलहरु
अग्ला अग्ला शालीक
अनि कुलकुलाईरहेछन्आधुनिक बलेशीमा
पानीको मुलहरु
हाईड पार्क मध्यलण्डनमा हाँसेको छ
मान्छेहरुसँग उसले अमूल्य नाता गाँसेकोछ
वेलाबखत आउँने पाहुना जस्तो
यो रमाईलो मौसम
अनि समयको हेराफेरी
बुढा,तन्नेरी वालकहरु सवै हाईड पार्कमा सुत्याछन्
पातलो आकासे बर्की भित्र
भोरले दिएको अतृप्तिसँगै
प्रकृतिको अपार आनन्द लुट्याछन्।
५ मई २००८
हाल - लण्डन यू.के.

आफन्तहरु - गजल


केदार "संङ्केत"

आफन्तका अनूहार धेरै चोटी पढे मैलै
दिनू पर्ने उपहार धेरै चोटी दिए मैले ।

आपत पर्‍यो आज मलाइ कस्लेपो हेरी दिने
सहयोगको बदलामा प्रतिकार पाँए मैले ।

राम्रै सँग सबै बोल्थे छरी दिदा सबै कूरा
सत्य कूरा खोज्दै जादा ढाँट्ने मात्र पाँए मैले ।

बिशाल छाती स्वच्छ मन बोकेर हिड्न खोज्दा
हण्डरमात्र किन होला आज भोली खाए मैले ।

हतार


टंक सम्वाहाम्फे ,हङकङ

हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार
कुन्नी के लाई हो हतार
थाहा छैन
तर पनि हतार छ
एकदमै साह्रै हतार छ
एकैछिन थकाई मार्ने मौका छैन
कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि
केहि गरी हाल्नु छ केहि गर्नु छैन र पनि
विना वित्थामा हतार छ
जव घडीको काटा हतार हतार कुदेको देख्छु
जव डुव्दै गरेको घामलाई देख्छु
र मेरो अगाडी हाम्फाल्दै गरेको मान्छेलाई देख्छु
तव झन झन हतार लागेर आउछ
समयको काटा कुदनुले
घाम डुव्दै जानुले
र मेरै अगाडी मान्छे हाम्फाल्दै जानुले
अर्को हतार जन्माउछ
सायद त्यसैले होला
हतारले हाल्फाल्दै कुदाउछ
यहा सवैलाई हतार छ
मलाई मात्र हाईन
किनकी म देखिरहेछु
सवै कुदिरहेछन् हतारहतारमा
हाम्फाल्दै हाम्फाल्दै काहा पुग्नलाई हो थाहा छैन
सोध्दा हतार छ मात्र भन्छन्
कसैलाई फुर्सद छैन एकैछिन भलाकुसारी गर्ने
मात्र हतार छ भन्छन् हतार हतारमा
हतारै हतार छ सवैलाई
हतार भन्दा अरु केहि छैन जस्तो छ यहा
किनकी हतार हुनुले यहि कुरा दर्शाउछ
आखिर यो हतार किन सवैलाई ?
हिजो पनि त थियो होला हतार
आजको जस्तै
त्यसैले भोलि नहुने कुरै भएन
ए बाबा यो हतार केलाई हो
जहिले तहिले
आखीर हतार संग के सम्झौता गरेका छौ र ?
हतारले हतार लगाउछ
हामीलाई थाहा छ
समय आउछ राकिदैन
निरन्तर आईरहन्छ र गईरहन्छ
कस्ले रोक्न सक्छ र ?
कस्ले भेट्न सक्छ र ?
मात्र हामी अनुभूति गर्र्छौ ती सवै समयको
सायद त्यसैले हामीमा हतार जागेको हुनुपर्छ
ओ हो यो कस्तो हतार ?
के लाई हतार ?
किन हतार ?
हिजो भन्दा आज हतार
आज भन्दा भोलि हतार
रफ्तार बढीरहेछ झन झन हतारको
हाम्फाल्दै जति कुदे पनि
हतार लागि रहन्छ
लौ हजुर केहि गर्दा भएन
हतार कहिल्यै रोकिएन
हतार कहिल्यै सकिएन
हतार पछि हतार आईरहेछ र गईरहेछ
के हो यो हतार ?
चाहे जे सुकै होस्
दुनियालाई हतार छ ले हतार लगाएको छ
समयको काटा भन्दा पनि हतार
हाम्फाल्दै कुदने वनाएको छ
हतार भन्दा हतार

यौटा योद्धाको सम्बोधन छोरीलाई


श्रवण मुकारुङ

यौटा भयानक युद्धपछि तिमी जन्मियौ
तिम्री आमाको प्रसव-चीत्कारको अन्तिम पङ्क्ति
तिम्रो अन्तिम भोजन थियो- यस पृथ्वीको ।

जब तिमी आयौ यहाँ...
अब तिमीसित छैन त्यो
छैन धरती
छैन देश
छैन घर
छैन त्यो- गर्भको स्वतन्त्रता ।

तिम्रो बाबुको थाकेको बन्दुकको मोहोरीछेउ
युएनओको आलो छाप लागेको छ
जसको वरिपरि
भोका कमिला र हरिया झिँगाहरू घुमिरहेका छन् ।

भोकले
जब तिमी रोयौ पहिलोपल्ट
तिम्री आमाले पिलाइन् आफ्नो सपना
तिमी लामबद्ध भयौ संर्घषमा ।

छोरी !
जब तिमी टुकुटुकु हिँड्न थाल्नेछौ- यो बाटोमा
पुतली, फूल, पानी र धुलोसित खेल्न थाल्नेछौ तिमी
बारुदले चिथोरेको आमाको स्तन चुस्न छोड्नेछौ जब
तिमीलाई तिम्रो नाम सोधिनेछ- पहिलोपल्ट ।

जब तिमी यी खेत र जङ्गलहरूमा
गाउन थाल्नेछौ गीत/बगाउन थाल्नेछौ पसिना
तिमीलाई सोधिनेछ- तिम्रो देश
आखिर तिमी एक योद्धाकी छोरी हौ
तर उनीहरूलाई कुनै मतलब हुने छैन- त्यो
पटक-पटक सोध्नेछन् उनीहरूले तिमीलाई तिम्रो नाम
तिमी उत्तर दिनेछैनौ ।
किनकि-
यस धरतीमा त्यस्ता धरतीहरू छन्
जसको कुनै नाम छैन
त्यहाँ तिमी जन्मियौ
किनकि-
यस धरतीमा त्यस्ता मानिसहरू छन्
जसको कुनै धरती छैन
त्यहाँ तिमी जन्मियौ ।

त्यसैले तिमी-
अमेरिकी, चिनिया, रुसी, जर्मनी,
अफ्रिकी, इराकी, भारतीय वा नेपाली...कुनै
आरोपित हुनेछौ
तर त्यो प्रमाणित हुनेछैन
र, तिमी आफू उभिएको
भुइँको माटो मुठ्याएर हेर्नेछौ- यो कुन देश हो...-
अफशोच !
तिम्रो योद्धाबाबुको मृत्यु भइसकेको हुनेछ !

तिम्री आमा बन्दी भएको यो शिविरको एकान्तमा उभिएर
तिमी आफ्नो बाबुको रातो डायरीको अन्तिम पाना पल्टाउनेछौ
र, ध्वाँसो लागेको बन्दुक सफा गर्न थाल्नेछौ ।
०००

गजल


भुपेन्द्र महत

खसखस लाग्छ आजभोलि कुरा काट्यौ कि
अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि

श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी
भ्रममा पारी चिनी भनी नून चट्यौ कि

विश्वास जोडछु भन्यौ शन्का लाग्छ अचेल
मनभरी कतै घातको दाम्लो बाट्यौ कि

कुरा छल्न सिपालु छौ डर लाग्छ अझै
जुठो माया चोखो भनी भाषाण छाट्यौ कि

अङालोमा बेरिदा नि हराएझै लाग्छ किन
अन्तै खाता खोली कतै माया साट्यौ कि

कोलोराडो ,अमेरिका

अन्धो छ इश्वर आज पनि


शिव प्रकाश

बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापञ्जा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधन-दुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लाक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु
नाङ्गो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरिह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।
दुन्दुभि कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पनि
नदेखेको इश्वर,
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।
इश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ इश्वर !
कि इश्वरभित्र भ्रम छ
कि भ्रमभित्र इश्वर !
कि बाँचेर पनि
अन्धो छ इश्वर आज पनि ।
बोस्टन, अमेरिका

गजल


भुपेन्द्र महत

खप्परै अभागी रछ भयो पिरै पिर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर

आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर

मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर

मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर

फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर

कोलोरडो अमेरिका

अन्तिम युद्धको उज्यालो बिहान


टंक वनेम

लर्के बैँस
बारुदको गन्धमा मुछ्दै
छोएर युनियन ज्याक झण्डा
कबोलेर तेतिसकोटी देउदेउता
भाकेर पातालको सिमे भुमे
कसम खाएर सत्यबाचा
अब
दाग्नु पर्छ सत्रुको छाती
थाप्नु पर्छ गोलीको निशाना
कि जित्नु पर्छ युद्ध संग्राम
कि हार्नु पर्छ मृत्यु वरण गरेर
टुग्याँउदै जीवनको
अन्तिम अध्याय ।
उर्फ-
कति सस्तो छ हगि -
लाहुरे जीवन
हाट बजारमा किन्ने
सौदा जस्तो
मानौं
काँचको चुरा फुटे झैं
विश्वासै नलाग्दो
युद्ध मैदानको बहादुरी
लाहुरे मृत्यु ।
त्यही समपर्ण मृत्युलाई
निल्न नसकेर
युद्धको भोको भोकले
इराकको मरुभूमि र
फकल्याण्डको टापुले
शकुशल फर्कायो

थमथम हिँडी रहेछ
अर्को युद्ध लड्नलाई ।
बन्दुकको कैदबाट
उम्के पछि पो
काँध गह्रौ हुन थालेको छ
छ्या ! कति बोक्नु हँ ?
दुइ शताब्दीको दासता
बिसाउँछु अब दासताको भारी

पुछ्छु खलखलती
बगेको पसिना
र माग्छु
पसिनाको मुल्य
रगतको इतिहास
इमान्दारीको कदर
बफादारीको इन्साफ
बीरता र
आहुतिको फैसला ।
हिज जसरी
सत्रुको किल्ला तोडियो
उसरी नैं
अन्याय बिरुद्ध
बिगबेलको ढोका ढक्ढकाउँदै
रेगिस्थानले उबारेको पसिना
युद्ध कलमको मसी बनाउँदै
उद्घोष गरौं
रगतको मुल्य माग्न
बलिदान भएका
बीर पूर्खाका नली हाड फुकेर
अघारी होइनौं हामी
अन्याय बिरुद्धको
दुन्दुभी हो यो ।
खुकुरीको धार अर्जापे झैं
शक्तिको धार अर्जापेर
असमनता बिरुद्धको
कुरुक्षेत्र लडाइमा
पड्काउँ बुद्धिको बन्दुक
थापौं समानताको एम्बुस
राखेर कानुनको धरापहरु

गरौं अन्याय बिरुद्धको लडाइ ।
नुमाफुङ -
त्यही युद्ध लड्दै छु यतिखेर
बाजेले तरेको युफ्रेटस नदी
बाबुले लडेको काचीन बस्ति
र पसिना बगेको नेमलेस हिल
ति सप्पै सप्पैको हिसाब माग्दै
इतिहासको तमसुक च्यातेर
हो शब्द शब्दमा
गोली पड्काई रहेछु
बारुदका धूवाँहरु पुत्पुताई रहेछ
संगिनको साउती
खनखनाई रहेछ
संम्झ-
यो भौतिक लडाइ भन्दा
फरक लडाइ हो
आजको लागि बीर पुर्खाहरुले
उनीहरुको हिज चढाए झैं
यो मसीको युद्धमा
यो अन्याय बिरुद्ध
कलम बन्दुक बनाएर
ढयाङ् ....ढयाङ् .... पड्काई रहेछु
जुगाँमुठे गुरुजीहरुले सिकाएको
माक्समेनसिप् प्रिन्सिपल अपलाउँदै
अन्यायको टाउको गेड्न
अन्यायको छाती फोरेर
समानताको टाँचा लगाउन ।
हो नुमाफुङ-
त्यही युद्ध संग्राममा ब्यास्त छु
मृत्यु वरणको खबर सुन्यौ भने
यिनै कविताका कागजहरुले
ढाक्नु-
मेरो स्मृतिमा बनाएको चौतारो
फेदाङ्मा र नाक्चोङहरुले
फलाकुन मुन्धुम्को श्रद्धाञ्जली
त्यही चौतारो माथि
रोप्नु एउटा बर
रोप्नु एउटा पिपल
त्यही बर पिपल माथि
र्चिरबिराउने छन् चराहरु
रातो सूर्य उदाउने छ
प्रत्येक बिहान
संम्झ -
त्यो रातो सूर्य उही लाहुरे हो
अन्यायका ति
अध्यारो रातहरुलाई भगाउने
उज्यालो बिहान ।

"केहि हाईकू"


केदार "संङ्केत"
१.
हिजोको स्याल
आजको घोर्ले बाघ
भोलिको दुम्सी ।
२.
सुस्त बोलाइ
कामको बा­डफाँड
आफुचै झयाप ।
३.
नारद मुनि
गाउका राजदुत
हातमा "प्रुप्से" ।
४.
चिप्ले हाकिम
डौड धुपको कुरा
कम्पनि कार ।
५.
मातिन भन्छे
बियरको फिंजले
भिजेछ जुंगा ।
६.
गोली भनेर
तर्सेर भागेकोत
सालिपो रैछे ।

७.
सुतेको घडी
रातमा सुनसान
पहरे दाइ ।

"प्रुप्से" सुनुवारी भाषामा काइयो कभलम

सुखको पर्याय


शिव प्रकाश

मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।
आधुनिकताभित्र
जीवनको अर्थ - रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।
सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय - सुख !
सुखको पर्याय - सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान,
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिन-पात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय - सम्भोग !
बोस्टन, अमेरिका

कस्ता कस्ता छन्


राकेश कार्की

मन्दिर भित्र बाहिर प्रभु नाम जप्नेहरु छन्
आईलागेको दु:ख आँशु झारी खप्नेहरु छन्

कोही मुसा बनि पसेर सिँह बनि गर्जेर
आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन्

फसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै कालाकरतुत छोप्नेहरु छन्

पवित्र नदि नालामा ढल खनाईदिएर
डिष्टील वाटरमा आफूलाई चोप्नेहरू छन्

के आफ्नो भन्नु आन्द्रा डढाउने रक्सी
भो भो भन्दा भन्दै पनि थप्नेहरु छन् ।

लस् एन्जेलस्

गजल


भुपेन्द्र महत

अंक न'भा जिरो
तमासेको हिरो

भोकाको बेलामा
चामलको किरो

गुलियो भुलियो
अब गड्यो पिरो

धाजा फाटे मन्मा
मुटु भित्र चिरो

तमासेको हुल
चटकेको हिरो

धेरै दुख्यो भयो
नछाड हो तिरो

कोलोराडो ,अमेरिका

सून्दर देश बनाउछौ - राष्टिय गीत

हस्त गौतम "मृदूल"

हे मात्रीभूमी, जानकीगाथ, अखण्ड बिशाल।
महिमा गाउछौं, उठाइ झन्डा जय जय नेपाल।
हे जन्मभूमी,बूद्धको ज्योति, प्रभाव अटल।
प्रर्णाम गछौं, र्सवभौमिक भै जय जय नेपाल।

अध्यारो हटाइ, बिहानी ल्यायौ, नेपाली जातीमा।
कसैलाइ अब दिदैनौं टेक्न, यो हाम्रो छातीमा।
स्वतन्त्रता, कानूनी राज्य, मानब अधिकार।
स्थापित गछौं लोकतन्त्रसंगै, गरेर प्रतिकार।

मेची र काली तराइ, पहाड, र्सवच्चो हिमाल।
बन्धना गर्र्छौ स्वतन्त्र भै जय जय नेपाल।
हे कर्मभूमी, प्रकति सून्दर, संस्कृति अटल।
प्रणाम गछौं, र्सवभौमिक भै जय जय नेपाल।

पूछेर आ"शू, मेटाइ दर्द, मूहार फेर्ने छौं।
सूख र सान्ती, समृद्धिशिल, नेपाल हेर्ने छौं।
शहिदका सपना, जनताको इक्षा साकार गर्ने छौं।
राष्टको शान अक्षूण राखी, पौरखले भर्ने छौ।

अनेकता भित्र, एक्ताको प्रतिक, जातिय कमाल।
महिमा गाउछौं अग्रगामी भै जय जय नेपाल।
हे धर्मभूमी, प्रगतीशिल, वात्सल्या आचल।
प्रणाम गछौं, र्सवभौमिक भै जय जय नेपाल।

जन्तुको राज मान्छेको देशमा


शिव प्रकाश

बबुरो बाघको जिम्मा
गोठको पहरा
सुदो स्याल गोठालो
रुङ्छ हाँस-कुखुरा
बाबै बुढो लाटोकोसेरो
पावरदारी चेस्मा
दिनभर चहार्छ
सरकारी भेषमा
हामी लाटा-काना
जनताको देशमा ।
परेवाको खोरमा
गुनी गिद्धको बास
शान्तिको सन्देश
चाटू चिलको हात
राजनीति गर्ने
इमानी कागको झुण्ड
शान्ति-सुरक्षामा
सत्य शुण्ड र मुण्ड ।
आँखा चिम्लेका
उसै तर इश्वर
न्याय दिने
असल असुर-बेसुर
उसमाथि आँखामा
इश्वरको अर्को पट्टी
न्यायको तराजु
ढल्किन्छ सधैं उल्टापटि्ट ।
जनताको दुःख
गोहीको आँसु
नेता रुदै चपाउँदै
देशको हाडमासु
ब्वाँसाको चलखेल
मान्छेको भेषमा
जन्तुको राज
मान्छेको देशमा ।

बोस्टन, अमेरिका ।

आमालाई पत्र

रत्न बहादुर घर्ती मगर

समुन्द्रको वारीबाट दण्डव बुवा र आमालाई
सबै सन्चै छ होला भन्ने आशा छ मलाई ।
आजसम्म जीवित छु भन्ने सन्देश लेख्दैछु
के भयो भनी नलिनु चिन्ता संसार देख्दैछु ।
परदेशी जीवन यस्तै नै रहेछ जिन्दगी चलाउने
सम्झेर ल्याउदा गाउघरको याद मूटूनै जलाउने ।
के गर्छ भनी नसोध्नु आमा ड्युटी छ साझमा
सुमधुर सम्बन्ध कायम राख्छौ जन्ताको माझमा ।
वार्षिक पर्व आउदामा सधै सम्झना आउदो हो
विछोडको वेदना मिलनको आशा उर्लेर ल्याउदो हो ।
नरोए आमा के भयो भनी बाचेमा फर्कौला
नबाची मरे स्वर्गमा गए स्वर्गमै पर्खौला ।

यु. के.

गीत

केदार सुनुवार "संङ्केत"

झगडालाइ छोडी अब हामी
अगाडी बड्नु छ ।
संबिधानको नियम लाई
पालना गर्नु छ ।
सबै भन्दा ठूलो काम
देशलाई साक्षर बनाउनु छ ।
अनिमात्र बिकाशको
उसा मुस्कुराउ छ ।
पुरानालाइ छोडी अब हामी
अगाडी बड्नु छ ।
संबिधानको नियम लाई
पालना गर्नु छ ।
भुल्न हुन्न कहिल्यै हामी ले
शहिदका रगतलाइ
हक र अधिकार बाड्नु पर्छ
प्रतेक नेपालीलाई ।
अतितलार्इं छोडी अब हामी
अगाडी बड्नु छ ।
संबिधानको नियमलाई
पालना गर्नु छ ।
अब हामीले रगत हैन
पसिना बगाउनु छ ।
बिदेशका नेपाली लाई
देशमा बोलाउनु छ ।
झगडालाइ छोडी अब हामी
अगाडी बड्नु छ ।
संबिधानको नियम लाई
पालना गर्नु छ ।

इराक १३।०४।०८

भू. पू. नरेश नरोद्दम सिंहानुकलाइ चिठ्ठी


दयाकृष्ण राई

भूतपूर्व महाराज सिंहानुकज्यु,
पोलपोटले खोसेको गद्दीमा फेरि आशिन भएर
इतिहासमा नयाँ अध्याय आरम्भ गरि बक्सीयो ।
त्यहि गद्दीलाई स्वेच्छाले परित्याग गरेर
फेरि अर्को किर्तिमान कायम गरि बक्सीयो ।।
राजतन्त्रप्रति महाराजमा किन यत्रो वितृष्णा -
यो त महाराजको दुरदर्शितानै हुनु पर्छ ।
सिंहानुक महाराज र मेरो
भोग चलन उस्तै-उस्तै हुने भयो क्यारे !
आफु नावालक हुदै शिरमा श्रीपेज ढल्कियो
केहि दिन पछि शिरको श्रीपेज हजुरवाकै शिर तिर फर्कियो
आधा शताब्दी पछि दाजु र भतिजाको शिर हुदै
यो अल्छिना श्रीपेज मेरै शिरमा घोप्टियो ।
जिजुवा राष्ट्र निर्माता ।
हजुरवा राष्ट्र पिता ।।
मलाई मात्रै किन यस्तो भाग्य लेखि दियौ हे विधाता ।।।
मेरो सानो दःखले अर्ज्याको मुलुक होईन,
सबैको चेतना भया ।
जिजुवाको दिव्योपदेशझैं
हामीमा पनि चेतना भयाको भए
चारजात छत्तीस वर्णको फुलबारी गोडमेल गर्ने
मौका सधैंभरि लाई पाईरहने थियौं
अवसर नपाएको पनि होइन, पाई बक्सेकै थियौं ।
सुनको गजुर भएको नारायणहिटी भित्र
ओत लागेर स्वतन्त्र आकाश बिचरण गर्ने
पंक्षीझै हेलीकप्टर सयर गरेर
पूर्व मेची देखि पश्चिम महाकाली सम्मकै
जनताहरुको पीर मर्का बुझी बक्सेकै थियौं ।
सारङ्गी जस्तै खोक्रो भोको पेट लिएर
र्घाईते आकाश मुनी ओत लागेका
नघर-नथरका सुकुम्बासी जनताहरुको
क्रन्दन चाहि हामीले सुनी बक्सेनौं ।
जनता जनार्दन भन्ने उक्तीलाई
हामीले पटकै बुझी बक्सेनौं
अहिले हामी पश्चातापको भुमरिमा परि बक्सेका छौं ।
मेरो दिब्य दृष्टिले देखेका
स्वच्छ छवि भएका नेताहरु
सवैनै कुख्यात देश बेचुवा कुलङघारहरु परे हुनन्
मलाई भीरबाट हाम फाल्न लगाएर
राम-राम मात्रै भने, काँध थाप्न सकेनन ।
जिजुवाले राष्ट्र निर्माण अभियानमा
बिसे नगर्ची, झागल गुरुङ्ग र जगतसिं राई
जस्ता वफादार पात्रहरु दिब्य दृष्टिले छानी बक्सेर
सजिलै राष्ट्र निर्माण गरि बक्सीयो ।
जिजुवाले आफनै जेठान
दिगविजय सेनको राज्य हरण गरेको पापकर्म
आफनै मीतवा रणजीत मल्लको राज्य हरण गरेको पापकर्म
किर्तिपुरमा काटिएको नाक कानको पापकर्म
सबै सत्योसराप मलाईनै लागेछ क्यारे !

दाहिने काँधमा ग्रहण लागेर खाग्रास भएको सुर्य
र बायाँ काँधमा औंसीको रातको चन्द्रमा बोकेर
संविधान सभाको परिणाम अनुरुप,
जनादेश पालना गर्न तत्पर भई बक्सेका छौं
हामीले कत्ति पनि पीर मानी बक्सेका छैनौं ।
सिंहानुक महाराज !
जस्तो पर्ला उस्तै टर्ला !!!
प्यारा देश बासीहरुमा
मेरो यहि एक शब्द अन्तिम महाबाणी हुनेछ
मरे पछि त डुमै राजा ।
बेलायत वेल्स कार्डिफ

नयाँ वर्ष अनि नयाँ सँकेत


गोपीकृष्ण प्रसाई

नयाँ वर्ष २०६५ आएछ
फेरि मनमा एउटा नयाँ तरङ्ग छाएछ
तर तरङ्ग मात्र होइन
परिवर्तनको लहर वढेपछि
जन भावनाहरु मनमा गढेपछि
अप्रतिम चाहनाहरु आज नाचिरहेछन्
बिशाल रुपरेखा मन अनि मेरा साथीहरु
नयाँ संविधानभित्र हाँसिरहेछन्
परिवर्तनसंगै बहकिने मनहरु
समयको गतिसंगै परिवर्तीत तनहरु
मन र मस्तिष्कको शुभकामना
भावना र आस्थाको शुभकामना

आज नयाँ वर्षमा देशको पनि नयाँ खबर छ
उत्साह बोकी हिड्छन् साथीहरु
हातहरु सुनौलो क्षितिज भेट्न सल्बलाईरहेछन्
मनहरु नयाँ दिशाबोधमा कल्कलाईरहेछन्
संविधान कोर्ने नयाँ नयाँ हातहरु होलान्
संविधानको वृहत भवसागरमा सबैले आफ्नो मन धोलान्
त्यसैले यो नयाँ बर्ष एउटा फरक सुरुआत
अनि बिकासको रंग वोकेर
हिमाल,तराई अनि पहाडतिर
शान्तिको बिकुल फुकेर
आएको मैले देखे
कलमहरु खुल्लैछन्
अनि खुल्ला पुस्तकहरु
बाटाभरि मैले धेरै आशाहरु भेटेँ

नयाँ बर्षमा हामी नयाँ सम्विधान खोजौँ
युद्ध अनि उतारचढावले बढी थाकेकाछौँ हामी
त्यसरी हाम्रा भावनाहरु पनि थाकेका होलान्
आकासमा शान्तिका परेवाहरु उडिरहेछन्
प्रगतिपथमा कुदेको छ विश्व
त्यही कतै उन्नतिको शिखरलाई अव खोजौँ

अव यो क्षितिजमा अनिश्चयको वादल देखिनु हुन्न
एकपल्ट लेखिए पछि
संविधान पनि वारम्वार लेखिनु हुन्न
चुनावै चुनावका श्रृँखलाहरु बोकेर
क्रान्ति नै क्रान्तिका फिलुंगाहरु देखेर
मनहरु पनि वारम्वार उद्वेलित हुनुहुन्न
बिकासको बाटो अनि स्वतन्त्रताको सम्मान गर्न सिकौँ सबैले
दाशताको जंजीर बोकेर अव कोही पनि रुनु हुन्न
त्यसैले जनमतको उभारभित्र
नेपाल आमाको मुहारभित्र
वि.सं.२०६५ हाँसेको मैले देखेँ
यो हाँसोभित्र आशाका गोरेटाहरु पनि भेटेँ
यिनै गोरेटाहरु भोलि देशका ठुला ठुला राजमार्गहरु बन्न सकुन्
यिनै गोरेटाहरुले भावी सन्ततिहरुलाई आफ्नो देशको इतिहास भन्न सकुन्

त्यसैले स्वागत छ हे नयाँ बर्ष
मनभरि बोकी उल्लास अनि हर्ष
हामी त अहिले लण्डनमा नयाँ बर्ष मनाईरहेछौँ
आफ्ना भावनाहरु चुनावी माहौलमा खन्याईरहेछौँ
नयाँ बर्षंसंगै अव नयाँ आयामहरु लेखिनुपर्छ
नयाँ आयामको परिणाम पनि तत्कालै देखिनुपर्छ
नेपाल र नेपाली राष्ट्रियताको पहिचान
सवै स्वाभिमानी नेपालीको मन
यस संविधान सभामै समेटिनु पर्छ ।

१४ अप्रिल २००८
हाल - लण्डन यू.के.

मुक्ति


डि.वी. पालुङ्वा

मैले देखेको सपना मेरो आफनै लासको मलामी होईन
र श्रदान्जलीको फूल चडाउनु अघि मेरो विहाको साईतमा
बेहुली हराउनु जो धर्ति र आकाश वीचको असमानता होईन ।
जहां जीवन र मुत्युको जटिल अबस्थामा गुज्रीरहेको तादत्म्यता भित्र
भावनाको बाटोमा बिलाप गरिरहेको एउटा यात्री
जो बिलापमा मात्रै मुक्त्तिको अनुभव गर्दछ
र सधैं त्यो बाटो अङगाल्न मन्जुर गर्दछ ।
तर त्यो अभिब्यक्ति मानव हृदयको भेलमा मात्र मिल्न सक्छ
यद्धपी
ती बिचारहरु माथि उड्नलाइ स्वतन्त्र छन्
तिनै माथि उडिरहेका असल बिचार र शब्दहरु निफनेर
एउटा छुट्टै बिनोदको दुनियांमा ओर्लेर
त्यो राग भित्र हराउन म त्यतिकै स्वतन्त्र छु
परन्तु
स्वतन्त्रताको घोडा चडेर जहां सयौ शब्दहरु लादेर
एउटा घायल आत्मको बिचारलाई मारेर
निरंकुश शब्दहरुको शाशन गर्ने
म कुनै एकादेशको महाराजा होइन ।
अनि अग्लो धरहराबाट हेर्ने मेरा यी आंखाहरु
जो कुनै जजमान्का पनि त होइनन्
तथापी मेरा हृदय भित्रका अतिरिक्त आंखाहरु
थपिएका पनि त हुन सक्छन्
त्यसैले
म आफुलाइ त्यो महान राजा ठान्दछु
जो आफैलाई अन्याय गरेर
आफै माथि निरक्ंश शाशन लाद्धछ र अरुको इच्छा मुताबिक चल्दछ
अनि आफनो राज्यको भागिदारबाट सधैं बन्चित भएर
पर लोकका पेटीका ठेकेदारहरु द्धारा आफुलाई शाशन गराउदछ
त्यो एउटा बिडम्बनाको खालपात्र जो मैलो र अमिलो गन्धको
उच्छवास बस्त्र ओडेर
उतारेर त्येही फयाक्न नसकेर
भुत र वर्तमानलाइ कुल्चेर
भबिष्यलाई स्वागतम् गर्दछ
जो आफनो उचाई भन्दा होचो इमान् टेकेर
जमान्मा घीस्रन्छ
अनि वेशरम् हिड्ने उर्जा प्राप्त गर्दछ
र उर्जाको सास निल्दै इश्वरलाई पुकार्छ
हे इश्वर तिमि धन्य छौं ।
तर
तर ति म्रो धन्यले धान्न नसकेको कारण
मेरो अमन् चयन्मा जब ज्वारभाटा आउछ
तब भावनाको महासागरमा
एउटा घाइते सिंह झै गर्जेर आक्रोश ब्यक्त गर्दछ
क्हिले एउटा गहन बिचार पेश गरेर
आफुलाई बुझिदिन आग्रह गर्दछ
कहिले एउटा शुन्दर फल झै
मनका फूलदानीहरुमा मुष्कुराउछ
र ती शुन्दर पुष्पगुच्छाहरु पाण्डुलिपिहरुमा परिणत भएर
यी शुन्दर हरपहरुमा आत्मर्समर्पण गर्दै
सम्मानपूर्वक
पत्यारोमा
बन्दी हुन रुचाउछ ।
हिउं झै चम्किलो भएर सुर्योदयमा टल्केर
एउटा गम्भीर पर्बत झै आफुलाई प्रस्तुत गर्न चाहान्छ ।
ता की यो जगतमा
आफना पाइलाका पृय छापहरु छाडेर
सदाको लागी प्रकृति पालन गर्नु भन्दा पूर्वसन्ध्यामा
जो हृदयको ज्योतीद्धारा
आफुलाई चौबाटोमा उभ्याएर
यो जगतले सधैं सम्झीरहोस् भन्ने
एउटा असल मुक्तिको बावजुद
कलमको बिश्वासमा
कुनै ठोस प्रमाण छोड्न चाहान्छ
सट्टामा
सट्टामा एउटा सिङ्गो मुक्ति फिर्ता लिएर
जस्का सुखानुभुतिमा मानौं ती रमाईलो क्षणहरुमा
आफना धारिला पखेटाहरु फिजाएर
एउटा क्षणिक दुरी तय गरेर
मानव विचारको धावन् मार्गमा
सरल ढंगले अवतरण गरुंला
परन्तु विचारहरु रगटिंदा
एउटा धुन विनाको आवाज
अनि संगीत विनाको शब्दहरुले
विरहको अथवा प्रेमको गीत गाउछ भने
र त्यहां संमवेदनाको विचरण यदी हुन्छ भने
मेरो तात्पर्यता त्येही भित्र लुकेर वसेको हुनु पर्दछ
र तात्पर्यताका यी चम्किला विचारहरु
जीवनका उकाली र ओरालीहरुमा
जपेका अर्चनाबाट प्राप्त
प्रसादको रुपमा ग्रहण गर्दछ
तर
तर यहां फूलविनाको प्रसादले
के मात्रै महत्व राख्न सक्दछ -
अतः यहां यी फ्लहरु फुलाउनु अघि
जसलाई एउटा मूर्तरुप दिनुमा
एउटा माली जो ती फ्लका
बोटहरुमा
जराहरुमा
हांगाहरुमा अनि
पातहरुमा
पटक पटक मृत्युवरण गर्दछ
र हरेका हांगा र पातका
धमनि र शिराहरुको शल्यक्रियाबाट
जो प्राण थपेर ब्युंझन्छ
र एउटा कायर आत्मलाई पछारेर
विजय उत्सवको जुलुसमा
असिम् विश्वास पालेर
एउटा खण्डकाब्य
आफ्ना आत्मिय मित्रहरुको सामु
विल्कुल निस्वार्थ विलम्ब नगरिकन
गह्रौं साङ्लीबाट एक क्षण
आफ्ना थकित खुट्टाहरुलाई मुक्त गर्दै
यस रंगीन दुनियाको मंञ्चमा
ठिंग उभिएर यस्ता बकबासहरु सुनाउन
मेरो लागी यो एउटा सुखद दुःख हुन सक्दछ
र यस सुखद तथा असिम् आनन्दमा
भावविभोर भई सुन्यतामा हराइ
नेपथ्यबाट भगवानको प्रतिनिधित्व गर्दै
मानव धर्म , जीवन , र जगतको,
सत्य कथा सुनाउंछ
हे इश्वर जीवन भन्नु त
जो सेतो लेपन्ले लिपेको
कालो पर्दा पछाडि लुकेको
अंध्यारो ओडार भित्रको
प्रेत आत्म मात्र हो ।
बिम्ब र प्रतिबिम्बको
लम्ब र बिप्रलम्बहरुको
कहाली लाग्दो युद्ध मैदान जस्तो
जहां हजारौं मायाजाल र स्वार्थको लागी
भोग विलाश र दरिद्रताको कोर्राले
चौविसै घण्टा पुच्छर निमोठेको
विवश पशु जस्तो
कतै यी अदभूत आखाहरुबाट पर....क्षितिजमा देखिने
धर्ति र आकाश विचको
भ्रमात्मक संगम् मात्रै हो ।

गजल


भुपेन्द्र महत (वाका)

कोपेर मुटु लडायौ किन माया यो ढलेछ
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ

दुई दिन्को सुख दैबले खोसी लगेछ कही
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ

तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ

आफ्नो बिरानो भएछन बैरिको भिडमा खै
रोपेर फुल भएछ भुल कडा त्यही फलेछ

निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन हासो चलेछ

गजल


बसन्त मोहन अधिकारी

मलाई हाँस्न देउ आमाको काख भरी ।
मलाई बाँच्न देउ आमाको काख भरी ।

यहाँ, रितीए आमाका सधैं काखहरु
सँच्चाई राख्न देउ आमाको काख भरी ।
मलाई बाँच्न देउ आमाको काख भरी ।

रुदैछिन् हरपल साहारा नपाएर आमा
मलाई बढ्न देउ आमाको काख भरी ।
मलाई बाँच्न देउ आमाको काख भरी ।

देखिएन दृष्य अध्यारो भो संसार
समय चल्न देउ आमाको काख भरी ।
मलाई बाँच्न देउ आमाको काख भरी ।

पार्नु छ आमाको सपनालाई र्सार्थक
सत्कर्म गर्न देउ आमाको काख भरी ।
मलाई बाँच्न देउ आमाको काख भरी ।

मन भन्छ हाटै बजार जाँउ


नरेश माङपाहाङ्ग

मन भन्छ हाटै बजार जाँउ
चाहानाको मायालाई भेटी आज आँउ
अजम्बरी माया साटी आँउ
मन भन्छ हाटै..........

विरहको गीत गाँउदै दिन कति काटु म - २
बन पाँखा घाँस दाउरा कति दिन गरु म
डाँडा पारी कँहा जाँउ म - २
मन भन्छ हाटै..........

आफनै ठाँउ छाडेर कतै बस्ती सरुकी
मििर्मरेको बिहान संगै कतै माया छरुकी
सवै छाडी कँहा जाँउ म
मन भन्छ हाटै बजार जाँउ
चाहानाको मायालाई भेटी आज आँउ
अजम्बरी माया साटी आँउ
मन भन्छ हाटै..........

पाँचथर कन्यटार,हाल-यू.के.

उनी ...


पर्शु साङपाङ

विशाल सागर झैँ मौनतामै मुसुक्क मुस्काछे
अति शान्त र सुन्दर भावमा
मनको छालसँगै सल्बलाउँछे

न्यानो अँगालोभरी
विछट्‍टै हिस्सी पर्दै फुसफुसाउँछे
हावाका तरंगसँगै लुकामारी खेल्दै
मिठोगरी सताउँछे

म पनि त्यसै त्यसै
मुसुक्क मुस्काउँछु अनि
आकाश जस्तै कति विशाल, शान्त र अनन्त छ
हाम्रो माया पनि

ढुकढुकीको आवाज गुनगुनाउँछे
कति रमाइलो छ हगि !
गर्मीको शीतल सिरसिरे बताससँगै स्पर्श गर्छे
मलाई मेरी उनी

झँसङ्ग ब्यूँझेर
फेरीपनि मदहोस भई मुस्काउँछु
अनायसै त्यही मुस्कानभित्रै विलाउछे
मेरी उनी

पाँचथर, सराङडाँडा ९ हालः दुबई