गजल


भुपेन्द्र महत (वाका)

धेरै भो आँखा जुध्या ,मनको कुरा गरे हुन्छ
प्यासी भा'छु पिउन ,बैशको प्याला भरे हुन्छ

बेली चमेली भरी ,मनै फुलाई देको छु
छेक्छ कस्ले तिम्लाई ,दिलको बाग चरे हुन्छ

पछुताई के होला,समयले नेटो काटेछी
सुकेछी झर्नै पर्छ ,तनको बास्ना छरे हुन्छ

उजाड छ पहाड ,बसाइ सर्न मन भए
मेरो दिलको गाम ,बस्ती तिर झरे हुन्छ

खोले फाडो जे मिले,सन्तोष मानी हास्ने भए
खुशी दाईजो दिन्छु 'मेरो नै भर परे हुन्छ

गजल


बसन्त मोहन अधिकारी

सन्तानको रातो रगत यो छातीमा नझरोस है ।
बिन्ति मेरा छोरा छोरी अब रुन नपरोस है ।

भोकमरी र हैंजा लागी गाउँ वस्ति धेरै जल्यो
गरिव पनि अकालमा अब कतै नमरोस है ।

सकुनिको पासाहरु यहाँ छायो पटक पटक
मान्छे मार्ने पासाहरु कसैलेनी नछरोस है ।

बेरोजगार र भ्रष्टचारको आगो सगं जल्नु पर्यो
बल, बुद्धी, धन सम्पति विदेश तिर नतरोस है ।

परिर्वतन सवको चाह ,समयको माग सगैं
ब्यक्ति स्वार्थ हेर्न यहाँ कोही पनि नलरोस है ।

जो मरेनी नेपाली हौ, बग्छ रगत यो छातीमा
बन्दुकमा बारुद, गोली कसैलेनी नभरोस है ।

बन्द ढोका र हामी


प्रकाश थाम्सुहाङ

किरात प्रदेशको याङरकबाट
चढेर चेतनाको रातो घोडा
अर्जाप्दै मस्तिष्कमा विचारको सिरूपाते खुकुरी
देश थर्काउँदै आवाजले
हो, थर्काउँदै शासकहरूको खुराफाती मुटु पनि..
लु है ! आइपुग्यौं, हामी नेपाल खाल्डोमा
अब खोज्छौं हिसाबकिताब
हाम्रा एकएक उत्सर्गहरु
विभेदको साँवा ब्याज
अरू थुप्रैथुप्रै पीडाहरूको साँवा ब्याज,

हौ, आदाङबा आदाङमा से
लुः एकमुष्ट गरौं असन्तुष्टिको मार्तोल
फोर्नुपर्छ अब
राज्यसत्ताको सुगुप ढोका !

कति बाँधिनु -
तथाकथित नियमकानुनको साँघुरो परिधिमा
कति खुम्चिनु -
एक भाषा, एक धर्म र एक देश
कोखोक्रो राष्ट्रियतामा,
कति शहीद पार्नु हाम्रो जिजीविषालाई -
बाँधेर तानाशाहको क्रुर फलामे साङ्लीझैं
यो देशको संविधानमा
निकालेर जब्बर तर्क मस्तिष्कबाट
त्यस्तो नाथे अन्तरिम संविधान
उहिल्यै जलाइदियौं माइतिघर मण्डलामा !

सधैं बाहिर
सधैं पाखा
बनाएर पराई हामीलाई
खुलेनन् ढोकाहरू,
किन खुलेनन् ढोकाहरू -
ढोका- अवसरको
ढोका- अधिकारको
ढोका- समावेशिताको
ढोका- आत्मनिर्णनयको
ढोका- राज्यनीतिको
फगत बाँचिरह्यौं
अजिन्दगी !
हरायौं आफ्नो कुरा सप्पैसप्पै
अनुहार, रङ
भाषा, धर्म
जग्गा, किपट
र भूमिपुत्र नै
भूमिहीन बाँचिरह्यौं,

ढोका अझै बन्द छ
अझै पनि ढोका बन्द छ
काङसोरे तिम्रो बलिदानको कसम
हामी चेतनाको रातो घोडा चढी
मस्तिष्कमा विचारको सिरूपाते अर्जाप्दै
बन्द ढोका फोर्न अग्रसर छौं
बन्द ढोका फोर्न कटिबद्घ छौं ।

गजल


भुपेन्द्र महत (वाका)

तिमीले गाढ्या मायाको चिनो ढलायो को आई
छुराको धार मुटुमा रेटी चलायो को आई

भर्खरै बन्या मायाको घर सजिन नपाउदै
खरानी बनाइ खुशी सबै जलायो को आई

हर्श र उल्लास टुसाको मात्र के थ्यो यात्रामा
फर्कने बाटो नभाको ठाममा छलायो को आई

तिम्रै भरोसा ओढेको थिए जनम भर लाई
आसुको भेल पठाइ जिबन गलायो को आई

अमृत सरी बाणी कती मधुर थियो तिम्रो
सुन्दर संसार बिच बिश फलायो को आई

देश र क्रसफायरिङ्ग


टंक सम्वाहाम्फे

उहिले उहिले
पेन्सन पकाएर फर्किएको
लाहुरेले
आफ्नो स्मृति कथा सुनाउदा
क्रसफायरिङ्गका कुरा गर्थे
हामी केटाकेटी
रोमाञ्चक भएर सुन्थ्यौ
र सोध्थ्यौ
क्रसफायरिङ्ग भनेको के हो ?
उसले भन्थ्यो
मलायाको जंगलमा
ड्याम्म...डुम्म...आवाजसंगै
आगाका झिल्काहरु
माथि आकासमा देखिन्थे
उसले भन्थ्यो
वोर्नियोको जंगलमा
ड्याम्म...डुम्म...आवाजसंगै
आगाका फिलुङ्गाहरु
छेउ मै आईपुग्थे
उसले भन्थ्यो
मलाया र वोर्नियोको जंगलमा
क्रसफायरिङ्गले
धेरैले यो देश देख्न पाएनन्
धेरैले यो देश र्फकन पाएनन्
त्यसवेला
आफ्नो छातीमा झुण्डिएको
मेडल छाम्दै
उसको आखामा
मोती जस्तै आसु खसेको देख्यौ
हामी केटाकेटी
उ रोएको देखेर जिस्क्याउथ्यौ
हाम्रो अवोध मस्तिष्कमा
क्रसफायरिङ्गको
अर्थ खुलेन त्यसवेला
हामीले सम्झ्यौ
जंगलमा खेलिने आगोको खेल
र सोच्यौ साह्रै मज्जा हुदो हो
क्रसफायरिङ्ग
आज ती लाहुरे छैनन्
तर क्रसफायरिङ्ग
धेरै पछि
मलायाको जंगलवाट
वोर्नियोको जंगलवाट
यो देशमा सरेकोछ
वल्ल थाहा भयो
दशवर्षसम्म चलेको
क्रसफायरिङ्गमा
कति त्रास हुदोरहेछ
कति दर्दनाक हुदोरहेछ
कति विनास हुदोरहेछ
आज हरेक नेपालीलाई
थाहा भएकोछ
क्रसफायरिङ्ग भनेको के हो ?
अव हामीले
कुनै निवृत भएको लाहुरेको कथा
सुनि रहनुपरेन
कुनै उदाहरण
पेश गरी रहनुपरेन
किनकी हामी सवै
क्रसफायरिङ्ग मुनिको
लाहुरे भएकाछौ
र हाम्रो देश
मलायाको जंगल वनेको छ
वोर्नियोको जंगल भएको छ
अहिले यहि देशको
जंगलवाट
निवृत लाहुरे भएकाछौ
हामीसंग
हाम्रो छातीमा
कुनै मेडल छैन
तर क्रसफायरिङ्गले वनाएका
युद्धका घाउहरु नै
हाम्रा लागि
कहिल्यै नमेटिने मेडल वनेकाछन्

प्रभात प्रवासको


इश्वर चाम्लीङ्ग

म प्रभात प्रवासको
म आकाश प्रवासको
म हावा, घामजून, धर्ती र सागर प्रवासको
स्वभाविकता-अस्वभाविकता
सहज-असहज
धेरै-थोरै
दुख-सुख.....
म प्रभात प्रवासको
म आकाश प्रवासको
चमचम चम्किन्दै जुनेलीरात म गुज्रन चाहान्छु।
रात छिचोलेर मिरमिरे बिहानी म उदाउन चाहान्छु।
कस्ले रोक्न चाहान्छ मलाई,
म चमक खोज्न जादैछु।
किन रोक्ने र मलाई,
म कान्ति बाड्न चाहान्छु।
म प्रभात प्रवासको
म आकाश प्रवासको।
म हावा हुँ प्रवासको, रोक्न सक्दैन्न मलाई कसैले।
म र्सवत्र छु, अविरल उडीरहन्छु।
म उड्दै-उड्दै दुनियाको कुना-कुना पुग्दछु।
साउती मार्दै हिड्दछु।
गीत गाउदै हिड्दछु
प्रवासी गीतहरु,
प्रवासी कहरहरु,
रहरहरु र सारा सपनाहरु।
सुन्ने कोशिस गरन मलाई
बुझ्ने कोशिस गरन मलाई
म प्रभात प्रवासको
म आकाश प्रवासको

र्सनक्लिफ, १८ अप्रिल ०८.

रातो कविताको लास


हाङयुग अज्ञात

मेरो बुवाको रगतले हिमाल रङ्गीएको छ रातो
मेरो आमाको रगतले तर्राई रङ्गीएको छ रातो
मेरो दाजुभाइ र दिदीबहिनीको रगतले पहाड रङ्गीएको छ रातो
मेरो छोराको रगतले सडक रङ्गीएको छ रातो
मेरो छोरीको रगतले निधार रङ्गीएको छ रातो

उनीहरूको शरीरमा लागेको रातो
उनीहरूको आफ्नै रगत होइन
त्यो कसैको बुवा, कसैको आमा
त्यो कसैको दाजुभाइ, कसैको दिदीबहिनी
त्यो कसैको छोरा, कसैको छोरी
अथवा यो देशमा
सदियौंदेखि जिन्दगी बाँच्दै आएका
ती अबोध मानिसहरूको रातो रगतले
यतिबेला उनीहरूको अनुहार रङ्गीएको छ रातो
हाम्रो अनुहारतिर पनि त्यो रातो अलिकिती उछिटि्टएको छ
त्यो रगतको थोरै अंश
हामी प्रतेक जिउँदाहरूको भागमा जरूर परेको छ
त्यो पूण्य हो भने पनि भाग लागेको छ
त्यो पाप हो भने पनि भाग लागेको छ
सायद यसकारण उनीहरूको जस्तै यतिबेला
मेरो पानी रङ्गको मस्तिष्क पनि पुरै रातो भएको छ !

ओ, मेरो अभागी बुवा
तिमीले स्कूलमा नानीहरूलाई के पढायौ -
नेपालको इतिहास भनेर वंशावली पढायौ -
कि पढायौ मार्क्स, लेलिन, स्टालिन र माओलाई -
हो, तर मलाई थाहा छ बुवा
शासकहरूले जुन पुस्तक पढाउनु भनेर दिएका थिए
शतप्रतिशत तिमीले तेही पुस्तक पढायौ
तर तिम्रा विद्यार्थीहरू टिफिनमा शितल ताप्ने
त्यो लहरे बरको रूखमा
कुनै शहीदलाई जस्तै तिमीलाई झुन्ड्याएर
उनीहरूले पर्खिबसे गिद्घहरूको घिनलाग्दो पल्टन
हो, उनीहरूले तिम्रो जिउँदो शरीरबाट छाला काढे
र आफ्नो लागि कोट सिलाए
तिम्रो नसा तानेर घाँटीबाट
उनीहरूले आफ्नो लागि पेस्तोल भिर्ने पेटी बनाए
तिम्रो खबटा खप्परको बम बनाए
तिम्रो गिलो गिदीको बारूद बनाए
तिम्रा धारिला करङहरू निकालेर तरबार बनाए
तिम्रा सुरिला नलिहाडहरू निकालेर बन्दुक बनाए
उनीहरूले अहिले जुन थाकका थाक फूलमाला
भिरिरहेका छन घाँटीमा र विजय मुस्कान छाडिरहेका छन्
हेर्नु राम्रोसित
त्यो फूलको माला होइन
मेरो बुवाको आन्द्रा हो
त्यो सयपत्रीको थुँगा होइन
मानव खप्पर हो
त्यो विजय मुस्कान होइन
मेरो बुवाले यातनामा बिगारेको
मुखको मूर्त चित्र हो
ओ, मेरो अभागी बुवा
म ति म्रो लागि सत्ता कब्जा गर्न सक्दिनँ
म फगत सक्दछु कवितामा तिम्रो पीडा बक्न
तर उनीहरूलाई यो कविता पनि मन पर्दैन
किनभने उनीहरू शासकहरू हुन्
र शासकहरूलाई हतियार मात्रै मन पर्छ
तर मेरा कविताहरू हतियार बन्नसक्दैनन् बुवा !
र म उनीहरूको छाला काढ्न सक्दिनँ बुवा
उनीहरूको छाला काढेर म
उनीहरूजस्तै शासक हुन सक्दिनँ बुवा
किनभने म कवि हूँ
कवि जसलाई शासकहरू अग्घोर घृणा गर्दछन्
हो, बुवा तिमीलाई जसले कक्षा कोठाबाट घिसारेर
सरेआम झुन्ड्यायो अन्यायको डोरीले
ऊ यतिबेला राष्ट्रपतिको जुँगा मुसार्दैछ,

हो, मेरो आमा
तिम्रो सिउँदोमा लागेको रगत
मेरो बुवाको हो, ति म्रो लोग्नेको हो
आमा, आमा, आमा अब तिमीले बहुलाउनु जरूरी छैन
हेर चारैतिर रगतैरगत छ
रगतैरगत छ मतपेटिकामा
रगतैरगत छ निर्वाचनचिन्हमा
रगतैरगत छ उम्मेदवारहरूको आँखामा
रगतैरगत छ संविधानसभा सदस्यहरूको हातमा
आमा, तिमीलाई हिजो जसले घिसारिघिसारी पिट्यो
ऊ आज न्यायको प्रतिमूर्ति भएको छ
जसले हिंसाको दर्शनलाई प्रयोग गर्‍यो सोझा मनहरूमा
आज ऊ नै अहिंसा रोल मोडेल भएको छ
आमा अब तिमी बहुलाउनु जरूरी छैन
हेर यी शासकहरूको रूप
र उनीहरूको बद्लिदैँ जाने विचारको बादल
हेर उनीहरूको बन्दुक र सैनिक
हामीले मानिस भएर बाँच्न पाउनु पर्छ
तर यी शासकहरू हामीलाई शासित बनाउन कटिबद्घ छन्
आमा अब हामीले शासित हुनु छैन
उठ्नुहोस् र आफ्नो लोग्नेको रगत लागेको
उनीहरूको बहुमतलाई खित्का छोडेर हाँसिदिनुहोस्
यी शासकहरू हाम्रो रगत बगाउँदै सत्तामा पुग्छन्
र अचानक बुद्घ भएको अभिनय गर्दछन्
आमा तिम्रो यो छोरा शासक होइन
कवि हो, कवि
जसलाई पढेर शासकहरूको मुटु हल्लिन्छ
तेसैले अब तिमीले बहुलाउनु जरूरी छैन
तिम्रो छोराले शासकविरूद्घ कविता वाचन गर्छ
तिमी उनीहरूको चित्त चर्किने गरी ताली पड्काऊ !

मेरो दाजु हलो जोत्दाजोत्दै बारीमा ढल्यो
माथि कान्लाबाट छलाङ हान्दै आए मेरा भाइहरू
मेरा भाइहरूले आफ्नै दाजुको शरीर कुल्चेर
आफ्नै बुवा, आफ्नै आमाको प्राण लुछेर
रङ्ग्याए रगतले शासकहरूको झोला र झन्डा
रङ्ग्याए मेरा भाइहरूले आफ्नै छातीको रगतले
शासकहरू निदाउने कुर्सी
शासकहरू डकार्ने टेबुल
शासकहरू सुरक्षित बस्ने सरकारी क्वार्टर
रङ्ग्याए मेरा भाइहरूले आफ्नो हेमोग्लोबिन सुकेको रगतले
शासकहरूको सत्तापथ, शासकहरूको जुलुस
विचारा मेरा भाइहरू आफू मरेर
मलाई ज्यूँदो छाडे
यी कोखमै दारा पलाएका शासकहरूको चर्तिकला हेर्न
र मलाई छाडे उनीहरूले एक अम्खोरा रगत
जसले म लेखिरहेको छु मेरा शहीद भाइहरूको नाममा
यो शासक विरोधी कविता
आफ्नै दाजुको टाउको छिनाएर भकुन्डो खेल्ने
मेरो भाइको आत्माको शान्तिको लागि
लेखिरहेको छु यो रगतैरगतले रङ्गीएको कविता
तातो कविता, रातो कविता, जाँठो कविता
लेखिरहेको छु हज्जारौं अकाल मृत्युहरूको सम्मानमा
यो दुर्गन्धित लासहरूको कविता, प्रचण्ड कविता !

हो, दिदी मलाई थाहा छ
ति म्रो बहिनीलाई ती शासकहरूका भरौटेहरूले
जबरजस्ती बन्दुक बोकाए र जङ्गलमा लगेर बलात्कार गरे
र नैतिक कारवाही गर्दै श्रम शिविरमा राखे
र प्रतेक क्षण बलात्कार गरे
दिदी, त्यो तिम्रो बहिनीको रगतले रातो भएको पहाडमा
यतिबेला उसको सम्झनामा गीत गाउने
झ्याँउकिरीहरू पनि छैनन्
ती उता शासकहरूको सवारीमा सङ्गीत भर्दैछन्
शासकहरूले प्रतेक उद्घाटनमा जो रिबन काट्दछन्
म देख्दछु उनीहरूले मेरो बहिनीको इजार काट्दैछन्
उनीहरू जो मैनबत्ती या पानस बाल्दछन् सम्मेलनमा
म देख्दछु मेरो बहिनीका आँखाहरूले बोल्ने
पीडा र विद्रोहको संयुक्त अभिव्यक्ति
हो, मेरो बहिनीलाई जसले आँखा थुनेर
यो संसार देखाउने प्रयत्न गर्‍यो
र मेरो दिदीलाई भीडन्तमा गोली ठोकेर
दुश्मनको गाली दियो शासकका बन्दुकहरूले
म यतिबेला मेरो दिदी र बहिनीको रगतले
यो सालको भाइटिका लगाउने मुडमा छु
तेसैले लेखिरहेको छु यो हिजोको बासी कविता
इतिहास बिर्सिन नसक्दा लेखिरहेको छु आजको ताजा कविता
लेखिरहेको छु शासकको मस्तिष्कमा
उसले जिउँदै जलाएका मानिसहरूको चित्कार व्यथा
लेखिरहेको छु सामान्य कविता
मेरो दिदीबहिनीहरूको रगतजस्तै सोझो कविता,

स्कूल जाँदै गर्दा मेरो छोरा पनि ढल्यो
मेरो छोरी आँगनमा खेल्दै गर्दा अपाङ्ग भयो
के उनीहरूले मेरो छोरा फर्काउन सक्छन् -
के उनीहरूले मेरो छोरीको खुट्टा फर्काउन सक्छन् -
के उनीहरूको दस लाखले दसौं हजारको जीवन फर्किन सक्छ -
के उनीहरूको बहुमतले शहीदहरूको फेहरिस्त रोकिन सक्छ -
अब शासक र राज्यलाई दिने
मसित मेरो बुवा छैन
मेरा आमा छैन, मेरो दाजुभाइ र दिदीबहिनी छैन
शासकहरूको कुर्सी दौडका लागि
सडकको आन्दोलनलाई चढाउने मसित
मेरो स्कूल जाने छोरा छैन
उनीहरूको एम्बुसका लागि मेरो दुइ बर्षे छोरी छैन
मैले देशलाई धेरै शहीदहरू दिएँ
तर अब मसित शहीदहरू सकिएका छन्
ए ! शासकहरू हो
अब मानिसहरूको बदलामा कविताहरू उभिएका छन्
के सक्छौ कविताको छाला काढ्न -
के सक्छौ कवितालाई कक्षाकोठाबाट घिसार्दै चुप्पी रोप्न -
के सक्छौ कविताको योनीमा भाला घोंच्न -
के सक्छौ कवितालाई शहीद घोषणा गर्न
र कविलाई दस लाख दिन -

यतिबेला देश रातो छ
हिमाल रातो छ/पहाड रातो छ/तराइ रातो छ
बतास रातो छ/आकास रातो छ/माटो रातो छ
आगो रातो छ/पानी रातो छ/स्वर्ग रातो छ/नर्क रातो छ
र रातो छ मेरो कविता
र रातो छ मेरो मन
र रातो छ मेरो मस्तिष्क
र रातो छ मेरो आँखा
किनभने हिजोरातभरि मलाई निन्द्रा लागेन
मैले रातभरि सोचें
मानिसहरूले किन यत्ति चाँडै बिर्से
आफ्नो रातो रगतको रातो नदी
जसलाई उनीहरूले हाम्रो हाडखोरको डुङ्गा बनाएर तरे
मानिसहरूले किन बिर्से शासकहरूको चरित्र -
किन बिर्से बन्दुकको दवास -
किन बिर्से आफैलाई -
सलाम, लाल सलाम, क्रान्तिकारी लाल सलाम !
ओ, मेरो देश ! तिमीलाई क्रान्तिकारी लाल सलाम !!
हो, सत्ते कसम !
यो रातो कवितामा सकेँ मैले सप्पै रगत
अब मसित एक थोपा रगत छैन ।

गजल

भुपेन्द्र महत (वाका)

झर्को फर्को तिम्रै ठुलो, अझै घुर्काउछौ तिमी
सानोतिनो कुरामा नि ,आशु तुर्काउछौ तिमी

मन सफा भए गंगा ,लोटामा पनि अटछ
सन्का पाली लन्का खाने, कुरा हुर्काउछौ तिमी

औशी पूर्णे लाग्छ क्यारे ,खुशी हुँदा किन फेरी
उडाएर हाबा भरी,साह्रै फुर्काउछौ तिमी

टलटुले विश्वाशको ,के भर हुदो रछ खै
अठठ्याएर किल्किलो ,डोरी सुर्काउछौ तिमी

अबोध चेहरा भित्र ,कुटिल मन रछ त
राम राम भनी भिर तिर गुर्काउछौ तिमी

अत्मा साक्षी राखेर ,कसम खाको भन्थौ त
अतित भुलेर आज ,याद खुर्काउछौ तिमी

स्वायत्त प्रदेश


राकेश कार्की

सबै नेपालीको एउटै देश
बाँडीने भो प्रदेश प्रदेश
भाषाको आधारमा स्वायत्त प्रदेश
जातीको आधारमा स्वायत्त प्रदेश

एकबाट अनेक हुँदा हामी भिन्न
समुह समुह क्षेत्र विभिन्न
भन्दा भन्दै छिमेकीलाई मित्र
सिक्किम बिलायो अर्कै देश भित्र

राष्ट्र एकीकरण गर्ने योद्धाहरु थिए
भ्रष्टाचारी देशघातीले एकतालाई पिए
हिमाल पहाड तराइमा एउटै आवाज छैन
मेरो प्रदेश मात्र भन्छन हाम्रो देश हैन

तयामा र तपस्या


टीका चाम्लिङ, खोटाङ

रैछाकुलेउ !
आः निछा !
यतिबेला सम्झिरहेछु म
हामी छुटिएको क्षण
तिमी बाटो पछ्याउँदै गयौ
म माटो सच्याउँदै बसेँ
र, बसिरहेछु अहिलेसम्म तपस्यारत
जसको साक्षी
एक्लिँदै गएका यी ठाँटी-चौतारी
र, सुक्दै गएका यी पानी-पँधेरी
मेरो सामु मौजुद छँदैछ
हरेक दिन हेर्छु अचेल भन्ज्याङमा
हामीले कोरेका
राज्य खेलका रेखाहरु
र, सम्झन्छु-
त्यो खेलमा
कहिले तिमी हाथ्र्यौ
कहिले म हार्थे
कहिले तिमी जित्थ्यौ
कहिले म जित्थेँ
हार्नु र जित्नुको कुनै खास अर्थ थिएन त्यो
वा, हामीबीच कुनै त्यस्तो स्वार्थ थिएन त्यो
थियो भने त्यो साँच्ची नै
आदिम संस्कृति थियो
हामीसँगै जन्मिएको
तर आज तिमी जानुसँगै
क्रमशः मेटिइँदै जाँदैछन्
ती खेलका रेखाहरु
जसरी त्यो क्रुर समयले मिचे
हाम्रा आदिम राज्यका सीमारेखाहरु
र, सीमान्तिकृत गरिए
किरात प्रदेशतिर हामीलाई नै
रैछाकुलेउ !
आः निछा !
यतिबेला सम्झिरहेछु म
हामी टाढिएको क्षण
तिमी सपना खोज्दै गयौँ
म विपना भोग्दै बसेँ
र, बसिरहेछु अहिलेसम्म तपस्यारत
जसको साक्षी
बिरानिँदै गएको अतीत
र, साँगुरिँदै गएको वर्तमान
मभित्र चिराइतोझैँ छँदैछ
हरेक दिन खोज्छु अचेल बारीका भित्ता-भित्तामा
हामीले खेलेका
सिन्केधुलोका निशानीहरु
र, सम्झन्छु
त्यो खेलमा
कहिले तिमी चाँडै सिन्का भेटेर खुसी हुन्थ्यौ
कहिले म चाँडै सिन्का भेटेर खुसी हुन्थेँ
कहिले तिमी सिन्का हराएर हैरान हुन्थ्यौ
कहिले म सिन्का हराएर हैरान हुन्थेँ
पाउनु र हराउनु कुनै ठूलो नासो थिएन त्यो
वा, हामीबीच कुनै तीतो गुनासो थिएन त्यो
थियो भने त्यो साँच्ची नै
आदिम-सभ्यता थियो
माटोसँगै जन्मिएको
तर आज तिमी टाढिनुसँगै
क्रमशः छोपिइँदै जाँदैछन्
ती खेलका निशानीहरु
जसरी त्यो जाली समयले लुकाए
हाम्रा साँचो इतिहासका दस्ताहरु
र, गुमनाम पारिए
आफ्नै भूमिभित्र हामीलाई नै
त्यसैले
आः निछा !
अब चाँडै फर्क त्यो दूरदेशबाट
मस्तिष्कको आर्मरीबाट झिकेर
विचारको तिक्ष्ण हतियार
र, खाँदै यही माटोको कसम
अब चाँडै आऊ त्यो परदेशबाट
किनकी
हाम्रो छातीमा टाँगिएको
पुरानो वक्र बाटो छ
हामी आफैदेखि बिरानिएको
उज्यालो आफ्नै माटो छ
र, यो छातीलाई स्वतन्त्रता दिन
त्यो पुरानो वक्र बाटो
आजैदेखि मेट्नु छ हामीले
र, यो छातीलाई समानता दिने
त्यो उज्यालो आफ्नै माटो
आजैदेखि समेट्नु छ हामीले
र, म पनि
यो लामो तपस्या भङ्ग गरेर
चेतनाको तानमा
टाङ्दै मायावी धागो
विचार, एकता र जातीय-सांस्कृतिक मोर्चामा
जुट्दैछु आजैदेखि ।

हालः काठमाडौं, नेपाल

तिलाञ्जली

मकुम राई

तिम्रा प्रहारका चोटिला ज्वारभाटाहरु
तिम्रा ज्वालामुखीयुक्त ताता लाभाहरु
आज छातीभरी कोणधारी पहाडभैइ
त्रिकोणात्मक बिश्वास बोकेकोछ
मेरा जिवनका शसत्र, अस्त्र बनेकोछ
तरवार अनि ढाल बनेकोछ
ओ! निश्ठुरी शाधुवाद योग्य छौ...

तिम्रा ती आधिबेहरी, सैयौ हण्डरहरु
हुरिबतास अनि मेघ बिजुलीहरु
आज चुरेपहाडभैइ सहज स्विकार्छ
अनि बिहानी भैई हिमश्रिंखला फेरि मुस्कुराउछ
उठ,जागको सँखघोस सँगै
नया बिहानी र स्वार्णिम कहानी लेख्दछ
ओ!निस्ठुरी तिमि सलाम योग्य छौ...

मेरो अनवरत/अविरल अश्रुधाराहरु
ति कठिन जेल, नेल,र कुटिल झेलहरु
तिम्रा अशहज भेल र खेलहरु
कतै अरुण र तमुर भै बगेकोछ
कतै पहाडि झर्ना भैई सँगीतको मिठो धुन
सुर तालको मिठो झँकार बनेकोछ
धारा प्रवाह प्रस्तुत गरेकोछ
ओ!निश्ठुरि तिमि अपार छौ...

तिमिले छाडेका तिरस्क्रित हातहरु
तिमिले फ्याँकेका घ्रुणित कठिन अपशब्दहरु
कसिँङ्गारहरुबाट केलाएर/ पन्छाएर
अमुर्तहरुबाट मुर्त पारेर वाक्यँशमा साभार भएकोछ
फ्याँकिनु र कुल्चिनुको अर्थ सभ्यताको सिमङ्कण भएकोछ
ओ! निर्दयी सौभार्दता/महान छौ...

तिम्रा रुखो अनि बिशालु पाईलाका डोबहरु
मुटुका वरिपरि जकिएका बिशालु शुलहरु
पारश्पारिक बिधन भएकोछ
निरन्तर ढुक्-ढुकिको साथ भएकोछ
हाड,कोर पछिको मिठो नरिवाल झै भएकोछ
ओ! बैगुणी धन्ने छौ
ओ!धन्य छन तिमिले दिएको चुरे पहाडहरु...

गजल


भुपेन्द्र महत (वाका)

पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो

मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो
जती होसियार भए पनि सुझाबुझ लुटी गयो

जुग्जुग टिक्ने सुमधुर ,सङगित हालेको थिए
बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो.

हिउद बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो

हाम्रो मायाको अबसानमा मलामिको खाचो थियो
मादरिको जातै यस्तो हो कि तमासामा जुटी गयो

गजल


बसन्त मोहन अधिकारी

यी नयनहरुबाट झरेकोछ पानी ।
कसरी भनौ म मेरो मेरो कहानी ।

प्रेम र विश्वासको परिभाषा भित्र
म उत्रिए हिजो जानी नजानी ।

दुइ दिनको जीवन एकपलको जन्म
गाँसेर यो मुटु दिए चोखो जवानी ।

आज, जिउँदै चितामा सुतिरहेछु
ठान्दा उनलाई आफ्नो परानी ।

स्वच्छ र पवित्र धर्तीका नानी !
नदिनु कसैलाई यो जिन्दगानी ।

निराश जिन्दगि


बि जे बान्तवा राई

जती हिडुं लक्ष्य खोज्दै
लक्ष्य भेटिएन
मरुभुमीको यात्रामेरो
कहिल्यै सकिएन
तिर्खाएर छटपटिन्छु
पानी भेटिएन दुई
आँखाको आँशुले मेरो
तिर्खा मेटिएन
जता हेर्यो पराई मात्रै
आफ्नो भेटिएन
बाँधिराखु भन्छु दुखसबै
छातीभित्र अटिएन
पोखी हिंडछु जताततै
कहिल्यै रित्तिएन
जिन्दगीलाई परित्याग गरौं त
स्वाश चल्न कहिल्यै रोकिएन ।