गजल


दिव्य गिरी

रातभर जून रोयो तिमीलाई सम्झी
दिन पनि उदास रहृयो तिमीलाई सम्झी ।

फुलेका थे मखमली, बेली-चमेली
गुलाफको फूल छोयो तिमीलाई सम्झी ।

मनभरि तिमी नै, आँखाभरि तिमी नै
सपनामा बर्बराउने को हो तिमीलाई सम्झी ।

साउनको वर्षासरि आँसु खसालेर
मनको सारा पीडा फोयो तिमीलाई सम्झी ।

मुटु दुख्दा, छाती पोल्दा, मन चस्किँदा
आँसुले नै घाउ धोयो तिमीलाई सम्झी ।

ओ ! मेरी हिमाली रानी


र्इश्वर चाम्लिङ

ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ यो मनमा
ति म्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा
माया बसे जस्तो छ हामीमा
ओ ! हिमाली रानी
माया बसे जस्तो छ हामीमा ।
सायद तिम्ले माया लायौ होला मलाई
तिम्ले माया लायौ भा'
किन माया लायौ म सुयोगवीर जस्तै मान्छेलाई
अब रुने भयो ति म्रो मन पारीजात भएर
चालै नपाई माया बसेको वा मैले माया लाको'भा
सायद यो ठूलो भुल भयो
म त चाँडै फर्कन्दैछु हिमाली रानी
फर्कनु पर्छ मैले त्यहि परदेशमा
अब रुने भयो यो मन पनि ति म्रो सम्झनामा
अब बग्ने भयो बलिन्द्र धारा आँशु तिम्रो तिर्सनामा
मेरी हिमाली रानी
तिम्ले इशारा गर्‍यौ की ?
मैले प्रेमपत्र लेखे ?
माया बसिसके छ हामीमा
माया कसरि बस्यो
माया किन बस्यो
त्यो त मैले चाल पाईन तर माया पक्का बसेछ हामीमा
नत्र, किन चिसो बतासले मलाई पछ्याइ रहन्छ
र म अनुभूत गर्छु हिमाली चुम्वनको
नत्र, किन म घरि न घरि उत्तर तिर तिमीलाई चिहाँउछु
र प्रेमिला मुस्कान साट्छु तिमीसँग
अझ भनौ,
भुतुक्क हुन्छु र मुस्कुराउँदै हेरिरहन्छु , मस्किरहन्छु
म हरेक चोटी मुस्कुराउँदा
तिमी पनि त मुस्कुराएकी हुन्छ्यौ
म हरेक चोटी मस्किन्दा
तिमी पनि त झन धेरै मस्किराखेकी हुन्छ्यौ
म त तिम्रो मायामा पागल भएको छु
विहानी किरणको बुर्इ चढिआएर चुमिदिउँ तिमीलाई
कि भुँइकुहिरोसँग काँत लाग्दै आएर गम्लङ्ग अङ्गालो हालि दिउँ तिमीलाई
ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ मनमा
तिम्रो झलकहरू नाचिरहन्छ यी आँखाका नानीहरूमा
अब रोएरै बित्ने भए ति पर्देशि दिनहरू
अब झन दुखि हुने भयो यो पर्देशि मन
ओ ! मेरी हिमाली रानी ।

२८ मार्च २०१०

म अर्थात हामी


दिव्य गिरी


अर्थात
हामी
दौडिरहेछौं सदिऔंदेखि
सपनाको पछिपछि
सपनाकै भारि बोकेर पिठयूँमा
अफसोच !
सपनाले नै लखेटिरहेछ निरन्तर
सपनाले नै डसिरहेछ युगयुगान्तर
धेरैधेरै सपनाहरू राखेर आँखामा
धेरैधेरै चाहनाहरू समेटेर मनभित्र
सपनाकै महल निर्माणमा जुटेका

अर्थात
हामी
सपना पूरा गरिदिन्छु भन्ने
तिनै ठेकेदारहरूबाट ठगिएका छौं
तिनै ठेकेदारहरूबाट लुटिएका छौं
यति बेला तिनीहरू
आफ्नै सपना पूरा गर्न उद्यत छन्
आफ्नै चाहना पूरा गर्न तल्लिन छन्
आफ्नै स्वार्थ पूरा गर्न मरिमेट्दै छ
हामी केवल हामी छौं
हामीसँग
भोको पेट छ
नाङ्गो आङ् छ
चुहिने छानो छ
र कहिले पूरा नहुने सपनाहरू !

अर्थात
हामी
कुँदिरहेछौं सदिऔंदेखि
नीरिह, अशिक्षित र सोझो मानव भएर
सधैंभरि भाग्यविधाताहरूको भरमा बाँचिरहेछौं
दुर्भाग्य !
भाग्यविधाता आफै अघाएको छैन
ऊ भोको साँढेझैं चरिरहेछ
हाम्रो सपनाको फाँटमा
ऊ भोको स्यालझैं झम्टिरहेछ
हाम्रो चाहनाको छातीमा ।

अर्थात
हामी
फगत दौडिरहेछौं सदिऔंदेखि
सपनाको पछिपछि
सपनाकै भारि बोकेर पिठयूँमा ।

टीकाथली-५, ललितपुर ।

जिबनको यात्रा


योगेन्द्र"बगर"जोगी

जीबन एउटा यात्रा हो
यो यात्रा हामीले पूरा गर्ने पर्छ
मूत्यु एक केंद्र बिन्दु हो
त्यहासम्म हामी पुग्नै पर्छ
साथीभाई इस्त्रमित्र यात्रा कटाउने
साधन हुन
यिनिहरुको उपयोग गर्ने पर्छ
श्रीमती चाही एक सहयात्री हुन
जिबनको उतर चढापमा
यिनको साथ पाउनै पर्छ
मूत्यु चाही एक असल मित्र हो
अत्यमा त्यसलाई पाउनै पर्छ

संखुवासभा

गजल


बिष्णु नन्द चाम्लिंग

नेताहरु साह्रै भुक्छन्
एकलेअर्कोलाई थुक्छन्

संविधानको स नजान्ने
सभासद भई पुग्छन्

राजनीतिको बारे सोधे
प्रतिगामी भन्दै फुक्छन्

ढुकुटीमा आँखा गाडि
मौका छोपि सारा लुट्छन्

जनताले गुहार माग्दा
कानमा तेल हाली सुत्छन्

चुनाउ शुरु भए नेता
जनता सामू फेरि झुक्छन्

http://bishnunandacham.blogspot.com
१७ एप्रील ०१०
इन्द्रेणिपोखरि ३ खोटांग
हाल - हंग कंग
८५२-६३४०७०१४

नयाँ विहानी यो


र्इन्द्रकूमार श्रेष्ठ सरित्

नयाँ यूगको नयाँ विहानीमा
विचारको आड लिएर
सपनाहरु चल्ला कोरल्न ओथारो बसेका छन्
सबै आशालू छन्
परिणाम सकारात्मक हूने नै छ
एउटा यूगपछि आएको विहानी
आशा र प्रतीक्षाका कहालीलाग्दा
अंध्यारा रातहरु काटेर
यो प्राप्ति , यो उज्यालो
यो मिथ्या हूनै हूदैन
यसैमा छ सबैको भरोशा
छ सबैको अटूट विश्वास ।
पलपल प्रतीक्षामा
कयौं अप्ठ्याराहरु
यूगको कठेार छातीलाई बलिदानले चिर्दै
बल्ल बल्ल आएको यो विहानी
यो सार्थक विहानी
भो, यसलाई बिरोधको नाममा विरोधले
व्यक्तिश्वार्थलाई समुहको नाममा बोकेर झण्डाले
यसलाई नबिटूल्याउ
यसको महत्वलाई तीखा नंग्राले
यसको महत्वलाई नधरफर्‍याउ
परिवर्तनको संघारमा उभिएर
नयाँ मूलूक बनाउने प्रतिवद्धता
अग्रगमनको चढ्दै प्रत्येक सोपान
देश तिम्रो हो, मेरो हो, हाम्रो हो
हसाएर यसको मूहार आफै हाँस्नू छ
बाँच्नू भन्दा पनि यहाँ बचाउनू छ
यूगको छातीमा लेख्नू छ
आँखाको नानीभन्दा प्यारो नेपाल
मूटूको ढूकढूकीभन्दा प्यारो नेपाल
आजको दिन
बीर बीरांगनाहरुको योगदानले ल्याएको दिन
नबिर्र्सौं कहिल्यै मातृभुमिको महत्तालाई
शहीदहरुको अवर्णनीय अवदानलाई ।
किनभने.. यूगको छातीमा लेख्नू छ
आँखाको नानीभन्दा प्यारो नेपाल
मूटूको ढूकढूकीभन्दा प्यारो नेपाल

तरहरा(सून्सरी) हालः पो.ब.न.- ५२७, काठमाडौं

हजुरआमालाई चिजबल


स्यानु पाईजा

कालो हुने गरी पारी भिरमा आगो लाग्यो
चुल्ठे खोला पलाएन भन्छन बुढापाकाहरु
मानो पाथी फल्ने बारीमा मोटर बाटो पस्दैछन
घर भित्र केवुल टिभी पसेको पहिल्यै हो
झ्यालको किल्लामा मुवाईल सुसाईड गरेको पहिल्यै हो
मुवाईल गाउँ पस्न हतार गर्छ-(टावर) सिग्नल नपस्दै
एफ एम रेडियो बनेका मुवाईल सेटहरु
कहिले क्यामरा बनेर चित्त बुझाउछन
कहिले मिडिया प्लेयर बनेर चित्त बुझाउछन
अश्सील भिडियोहरु उमेर नपुग्दै हात हातमा पुग्छ
त्यो मन जहाँ गाउँ बसेको हुन्थ्यो
अचेल शहर र नक्कल सोझै पसेको छ
एफएम रेडियोहरु नेपालीमा अंग्रेजी मिसाएका छन
नेपाली अंग्रजीमा मिसिएको छ
साँचो भनौ त न अंग्रजी मात्र बोल्नेले बुझ्छन
न नेपाली मात्र बोल्नेले बुझ्छन
अचेलको भाषा हजुरआमालाई चिजबल जस्तै लाग्छरे
त्यसै खाँदा गिजा दुख्ने चियामा भिजाउदा खानै मन नलाग्ने
यस्तो पनि जिवन ? के जिवन
लोकल भाले शहर पस्छ
बिकासे दानापानीले बाँस्न नसक्ने बोईलर बन्छ
जो समाय मै मोटाउछ र आयु छोट्याउछ
अचेल शहरियाहरु लोकल कुखुराको सुप खोज्न गाँउ पस्छन
तर बोईलर नै भेटिए पछि दिक्क हुन्छन
सुनाउनेहरु सुनाउछन-
गाँउलेले शहर गाउँ जस्तै बनाए
दोहरीलाई शहर भित्राए तर बियरमा मिसाए
शहरियाहरु ले गाउँलेलाई उत्ताउलो बनाए
मलाई कहिले त यस्तो लाग्छ
हजुरआमाले भनेको चिजबल जस्तो लाग्छ
गाउँ र शहरको आलोचनाहरु
बिचरा मान्छे अचानो बनेको छ
दुबै को प्रहार सहेको छ
मलाई दाँत झरेको गिजामा चिजबले घोचे जस्तै लागेको छ

पात्लेखेत-७, म्याग्दी

नयाँ बर्ष ०६७


सुनिता गिरी

शुभकामना नयाँ बर्षमा
स्वागत गर्दछु मुटु चहराएर दुखिरहे पनि
गाउँघर अनि आफन्तको माँझ बाट चोइटिएर,
बिरानो मुलुकमा समयको खुट्किलो उक्लिरहे पनि
अथाह आँशुको भेलहरु रोक्दै
पन्छाँउदै बाधा अड्चनका झाडीहरु
आकाशको कालो बादल पन्छाएर
हेर्न चाहन्छु शान्तिको परेवा उडिरहेको
शुभकामना नयाँबर्षमा
झोक्राएर मलिन चेहेरा,
थाकेर बिसाएका सुस्केराहरु रोक्दै
टोलाएर खोजिरहेका पाइलाहरुमा
पलेटी कसेर मन्द मुस्कानमा
शान्तिको लागि जप्दै गरेका उनै ज्ञानी मान्छे
खोजीरहेछु गौतम बुद्धलाइ शान्तिमन्त्र जपिरहेको
शुभकामना नयाँ बर्षमा

तेरोमेरोमा समय खर्चिदै,
नाराबाजीको बिगुल बिर्सेर
हामी नेपाली हाम्रो नेपाल
सगरमाथाको कसम खाँदै
ढाका टोपीमा ढलक्कै ढल्किएर
चैाबन्दी चोलीमा मसक्कै मस्किएर
स्वागत गर्दछु नयाँ बर्षको
युनलङ

गजल


दिव्य गिरी

कस्तै बलवान होस्, एक दिन गल्छ मान्छे
संसार छोडेर चीतामा हुर्हुरी बल्छ मान्छे ।

बाहिर बाहिर हाँसेको देखिन्छ ता पनि
मुढोझैँ सल्किएर भित्रभित्रै जल्छ मान्छे ।

स्वार्थी यो दुनियाँमा स्वार्थरहीत कोही छैन
मत्लव खातिर कोढीको पाउ मल्छ मान्छे ।

अवसर अवसरमा फाइदा लिन पल्केपछि
समय-समयमा आफ्नो रुप बदल्छ मान्छे ।

वैरी खोज्न टाढा जानु पर्दोरहेनछ मित्र !
आफन्तको छातीमा नै मुगी दल्छ मान्छे ।

कसैलाई गन्दैन, आफ्नो-आर्को कोहि भन्दैन
शक्तिको घमण्डले काँढा भएर फुल्छ मान्छे ।

धन, बल र शक्तिको तुजुक जब सकिन्छ
अनि पो चैतको आँधीमा रुखझैँ ढल्छ मान्छे ।

सेडा, त्रि.वि.वि., कीर्तिपुर

खरानी


प्रतीक चाम्लिङ्ग

उराठीलो गोधुली
अस्ताउनै लागेको घामको
मिहीन किरण
समुन्द्रको छाल संगै
डुब्दै र तैरन्दै
मधुरो टल्किरहेछ
मबाट फुत्केर निस्केको
चुरोटको धुवा
पर क्षितिजलाई ओझेलमा पार्दै
मेरै आंखाको सामुबाट
फुस्स फुस्स आकाशतिर उडिरहन्छ

बाच्नुका नियती
छोटिन्दै गरेको चुरोट
उडिरहेको धुवां
अस्ताई रहेको घाम ।

विहान
दिउसो
सांझ
फेरी रात
भनौ एउटा दिनको अन्त्य ।

घोरिएर आफैलाई सोध्छु
एउटा जन्म
एउटा मृत्यु
म आफैलाइै छाम्छु
मैले बांचेका जीवन
कति तीतो ?
सेकेण्ड सेकेण्ड मरेर
एउटा अहमता भित्र
भ्रम बांचिरहेछु
बाच्नु ...........
एउटा भ्रम
एउटा अहम
चुरोटबाट खरानी खस्छ
म खरानी खोस्रेर हेर्छु
जीवन र खरानीको रङ्ग
उस्तै उस्तै देख्छु ।

यो बर्ष हाम्रै हित बनेर आउनेछ


आचार्य प्रभा

बिस्म्रीतीको धुलोमा
पुरिँदै,धसिँदै
अनि कुना,कन्दरा र डाली डालीमा
लहराउँदै आयो भन्छन्
नयाँ बर्ष/
मनमष्तिस्कमा
बिझाउंदै,पोल्दै
अनि आँखा र अधरहरुमा
लोलाउँदै,मुस्काउँदै
सुसायो भन्छन्
नयाँ बर्ष /
खै त!अतितमा झै
उल्लास र उमंग
नयाँ बर्षको?
खै त!बिगतमा झै
हर्ष र खुशियाली
नव आगमनको?
हो सबै प्रश्नहरु
अनुत्तरित छन्
सबै जिज्ञासाहरु
मौन छन्
किन की हामी सबै
यसघडी मौनताको
छाँयाभित्र अल्मलिएकाछौं
त र पनि हामी
हौं,आशाबादी
यो बर्ष हाम्रै हित
बनेर आउनेछ,
यो समय हाम्रै जित
बनेर छाउनेछ।
पन्साउँ नकारात्मक
सोंचहरुलाई,
हटाउँ बैमनष्यताका
पर्खालहरुलाई,
गरौं न्वारान
आउने नयाँ शिशुको
राखौँ नाम
शान्ति र सद्भाव भनि /
पर्दैन गर्न स्वागत
फूलको हत्या गरेर
पर्दैन गाउन गीत
शुभकामना भनेर
गरौं चोखो आत्माले
भाव स्वच्छ पोखेर
मिलाउँ हातहरु
नयाँ बर्ष सुखद
होस् भनेर/
यही कामना गरौ
सबै मिलेर,
नयाँ भावना जगाउँ
नव बर्ष फलोस्,फुलोस
भनेर/

गजल


बिष्णु नन्द चाम्लिंग

मुटु बस्ने छाती मेरो उधारी दियौ किन
सजाएर राखेको थेँ बिगारी दियौ किन

तिमीलाई मुटु भरिभरिको माया दिएँ
आखिरिमा दिनु सम्म दिग्दारी दियौ किन

बिरहको ज्वाला उठ्दा आँसुले निभाउँथेँ
दिनरात रुवाई आँसु निखारी दियौ किन

मेरो गल्ति केभो भनी सोधे'थेँ तिमीलाई
बजार बीच मलाई हकारी दियौ किन

http://bishnunandacham.blogspot.com/
९ अप्रील २०१०

--
इन्द्रेणिपोखरि ३ खोटांग
हाल - हंग कंग
८५२-६३४०७०१४

नयाँ बर्षको शुभकामना- मनको जित


स्यानु पाईजा

हरेक बर्ष जस्तै नयाँ बर्ष आयो
शुभकामनाको लस्कर पनि आयो
शुभकामनाको लस्कर पनि फर्काईयो
मनले आफै सँग बिबाद गर्दछ
गतबर्षको बासलात माग्दछ
बेरुजु रोजुलशनहरु मा स्पस्टिकरण माग्छ
सबै कुरा सधै आबश्यक हुदैनन
म स्पस्टिकरण दिन्छु
म नयाँ रोजुलशन सुनाउछु
उ हाँस्छ-
शुरु गरेको घर सकेको छैन
नयाँ घर को जग खन्छ
उस्को ब्यँग्य प्रहार माथी
म तर्कहरु ले बचाउ गर्छु
झरि पर्दा खेरि हो छाता ओढ्ने
बिडो भएको बेला छाता किन ओढ्ने ?
प्रश्नहरुको ओईरो लाग्छ
जबाफ दिन सजिलो छैन
सिक्का छिराएर जुनसुकै नं मा फोन गरे जस्तै
बटन दबाएर एटिमबाट भएको पैसा निकाले जस्तै
जबाफ दिनु पनि उत्तिकै गाह्रो हुन्छ
जति एटिम मा जम्मा गरेको पैसा कमाउन
प्रश्न गर्नेलाई सजिलो हुन्छ
किन कि प्रश्न लामो हुदैनन
जवाफ प्रश्न जस्तै छोटो दिदा प्रष्ट हुदैन
प्रश्न तैयारी हुन्छन
जबाफ तैयारी हुदैनन
जति बलियो तर्कले मनलाई कम्जोर पारे पनि
कम्जोरी मेरो पनि थियो
आधा बनाईएका घर को छानो छाउनु पर्दथ्यो
अर्को नयाँ घर थाल्नु अघि
हुर्केको छोरालाई ड्ग्स बाट बचाउनु पर्दथ्यो
उस्ले ड्ग्स लिउनु अघि
तर म सोच्दथे- छोरा बिग्रियो
नयाँ छोरा जन्माउछु अनि ड्ग्स बाट जोगाउछु
यो मन सँगको बिबाद थियो
मनले जिते पनि मन म भित्र नै छ ।
मैले सोचे म भित्र को मनले जित्नु मैले जित्नु हो
यो साल पुरानो घर को छाना पुरा गर्नेछु
मेरो नयाँ साल को रोजुलशन
मनको सुन्नुस- मन सहि भन्छ
मन आफु भित्र छ र त्यहि मन भित्र
सन्सारको चित्र छ, धर्म र पाप को जड छ
समस्या र समधानको पोको छ ।
नयाँ साल सबैको सफल रहोस ।

स्वतन्त्रताको लागि आवाजहरु


टंक सम्वाहाम्फे

उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
वस्ति वस्ति,गाउँ गाउँ
गाउवस्तिवाट शहरतिर
वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु
जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर
गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि
घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि
उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि
तर आवाजहरुको स्वतन्त्र वेग लिएर
शहर पस्ने प्रतिनिधी आवाज
सपनाको मोहमा फसेर
भूलिदिन्छ गाउवस्तिका सुकोमल आवाजहरु
अनि ज्यु र हजुरीयामा
शीर निहुर्याउछ भुस्याहा कुकुरले पूच्छर तल पारे झैं
नयाँ ठाउको मादकताले गन्तव्य विर्सेर
भौतारीन्छ वटुवाले वाटो भुले झैं
र रमिते वन्छ
शहरको कुनै उद्यानमा गाडिएको निर्जीव मुर्ति झैं
यस्तै छ यहाँ भूतकालवाट वग्दै आएको
वर्तमान इतिहास
अव इतिहास कसरी भविष्यमा लेखिनेछ त्यो थाहा छैन
तर एक पेट र एक जीन्दगीको लागि
जीउदै मर्ने मान्छेहरुलार्इ
इतिहास भन्दा भोकोपेटको महत्व धेरै हुन्छ
आवाजहरु यसरी नै आवाजवाट हराउदै गए पछि
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु

हरदम यसरी नै इमान्दार आवाजहरुको विश्वास लुट्दै
भन्छन् गाउवाट शहर पस्नेहरु
अव इतिहास आवाजहरुको हातले आवाजहरु कै लेखिने छ
तर इतिहासको लेखनी सुरुआत हुदा
युध्दका सामग्रीहरु थोपरीन्छन् हाम्रा हातहरुमा
या भोक,शोक र रोगहरु
कल्पना गर्नुहोस आफै
कसरी लेख्न सक्छ यी हातहरुले साचो इतिहास ?
वाच्नुको लडाइमा समस्याले धावा वोलिसहेको वेला
इतिहास समाधान वन्दैन त्यसवेला
अलिकति सपनाको चारो छरीदिएर
अलिकति इतिहासको चर्चा गरीदिएर
त्यसको अभिमानमा
व्यर्थै फस्दै आएकाछौ युगौ देखि प्रलोभनमा
जस्ले फुकाएका छौ विस्तारै कस्सिएका मुठ्ठीहरु
र भुल्दै गएका छौ दृढ संकल्पहरु
लगाम विनाको समय घोडा हाकेर
शहर पसेका घोडचढीहरु
एकाएक भीडहरुमा विलाए पछि
फसेका छौ त्यसै त्यसै अन्योलको भुमरीमा
दिशाविहीन वनेकाछन् गतिशील हाम्रा लक्ष्यहरु
त्यसैले आफ्नो भाग्यको फैसला आफै गर्न
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु

पारि गाउँको निष्ठुरी


केवल गंगा गुरुङ

वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्‍यो यो मुटु माझ ।

उनको घरको टल्किएको टिनको छानोदेखि
उनको तिर्सना मेट्ने मेरो चाहना
उनको घर छेउको पाखुरीको बोट हेरी
उसको मायाको शीतलता आभास गर्ने
मेरा वर्षौदेखिका दिनचर्याहरु
पूरा गर्न सकिन आज ।

यो बर्खा सुरु भएपछि कति पीर
मेरो मनमा
उडी आउने वादलदेखि कति कति
डर मेरो मनमा
सम्हालु म कसरी मेरो मायालु मनलाई
सम्झाउँ म कसरी मनको कुरा
त्यो पारी गाउँको निष्ठुरीलाई ।

आजभोलि त आली खन्न पनि आउँदैन
वनमा चरा मार्दै पो हिड्छ कि ?
आँखाको भाका नबुझेर उसले
अन्जानैमा मलाई भुली पो दिन्छ कि ?

गजल


इप्सुल मगर

जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ?
निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ?

भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल
खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ?

आफ्नै रगतमा संगीन रोपे तर पाइन मैले सुख
सामन्तीको भाषा सवै बुझ्न नसकेर हो की ?

राम्रो निद्रा पनि रातमा ला'कै छैन मलाई
प्रगतिशिलहरुको खुट्टा तान्न नपाएर हो की ?

जीवन तेरो बेकार भयो भन्छन् साथी संगीनी
शायद उनीहरु जस्तै मस्तिमा लाइन नपाएर हो की ?

मुक्तक


पवित्रा गुरुङ


बाबा
शब्दसंग परिचित छु म
अर्थ मलाई थाहा छैन
परिभाषा गरुँ म कसरी
यथार्थमा चिनजानी छैन


रिमरिम अध्यारो भई घरतिर लाग्छ
दैलोमा पुग्न नपाई
बुढाबुढी भएका बाबुआमाका थोते बाली
कन्चटमा बज्रन्छ,उफ !


बाचुन्जेल पनि त्यही मेरो संसार
मरेपछि पनि त्यही मेरो संसार भनि
प्रस्थान गर्छन फेरि
त्यही आर्यघाट पशुपति

घाइते सिपाही


अप्जसे कान्छा

अरु जस्तै हिडने तिम्रो खुट्‍टा छैन
बाँकी जीवन भर्ने बुट्‍टा छैन
देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा
खुट्‍टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन

संसार हेर्ने तिम्रो दृष्टि छैन
फेरि पैला जस्तो हुने सृष्टि छैन
देशको आँखा जोगाउन लडेथ्यौ तिमी
आँखा हुनेहरुले तिमीलार्इ हेर्ने हो कि होइन

युद्धमा छुटेको अंग,आशा फर्किएको छैन
बहादुरीको तक्मा चर्कीएको छैन
देशको लागि लड्‍दा घाइते भयौ तिमी
तिम्रो तक्माले बाँकी सास चल्ने हो कि होइन
ब्रेकन,वेल्स

जालो भित्र


स्यानु पाईजा

फेस बुकमा फेस देखाउने र हेर्ने साथीहरु
मलाई उत्ताउलो कमेन्टस लेख्न बाध्य गर्छन
आधुनिकताको जालो भित्र अनौठो रिक्ततामा
त्यहि रिक्तताको पाना मा एउटा रित्तो चित्र
मोनालिसा को नक्कलमा मुस्कुराउछ
म असहज महसुस गर्छु – मेरो पुरुष अनुहार
तर मुस्कान मोनालिसा को नक्कल
म त्यही कहि कतै भेटिन्छु
रँग उडेको एउटा पुरानो माला झै
पुन: रँगाईएका टाउको बोकेर
त्यही कहि उभिरहेको हुन्छु
बोन्साई बनेका रहरहरुको बिचमा
बर्तमान र आबश्याकताको स्यान्डुईच भित्र
उनले कुनै गुनासो गरिनन
मेरो बदलाव अनुहार मा
उनि बुझ्दथिन – पुरानो कुरा
म कहि न कहि उनको यादमा उभिएको छु
असाध्य जालो भित्र पनि समिप्यमा छु
उनि भन्न सक्छिन- हाउ आर यु ?
म भन्न सक्छु – आई लभ यु
अँग्रजी बुझ्ने भएको भए हजुरआमा
उत्ताउलो-उत्ताउली हरु भन्नु हुन्थ्यो पक्कै
तर के थाहा ?
बत्ती बलेको बेला भन्नु हुन्छ रे
नाती आउने स्यानो टिभि हेरौ
यु ट्युव भिडियोमा म- बजै को सानो टिभि कम्प्युटर
नेटको जालो भित्रको झ्यालमा छिरेर
म तिम्रो छेउमा आउन सक्छु
मुस्कुराउन, रिसाउन बोल्न र जिस्कनु सक्छु
तर सक्दिन तिमीलाई सुम्सुमाउन
अँगालो भरी सन्तोषको रात निदाउन
मात्रै दोहरोरिन्छ त्यहि शब्द-आई मिस यु
मात्रै दोहरोरिन्छ त्यहि शब्द-आई लभ यु
यहि पराई देशको भाषा र पैसा ले
तिमी र मलाई मात्र होईन प्रिय
जालो जस्तै सन्सारलाई नै जेलेको छ
स्वनिर्णयको सजाय जस्तै यस्तै जिवन
तिमी र मैले मात्र होईन
यहि जालो भित्र अरुले पनि बाँचेका छन

पात्लेखेत-७, म्याग्दी

प्रेम गीत


दिव्य गिरी

मोडमा आँखा जुधेपछि
मुटुको ढुकढुकी अझ बढेपछि
मनभित्र मायाको भुल्का उठेपछि
छातीभित्र पिरतीको ज्वाला सल्केपछि
तिम्रो तस्बीर
दिन-रात सजाएकै हो आँखामा
र तिम्ले हाँसिदिँदा मात्र पनि
छातीभित्र भुर्इंचालो जाँदा
मनको शान्त तलाउमा
ज्वार-भाटा उर्लेकै हो
अनि डुब्लाडुब्लाझैँ भएकै हो
मायाको जहाज पिरतीको सागरमारमा !
कति नै टाढा थियौ र तिमी
मेरो सम्झनाको आँगनबाट
कति नै बेखवर थियौ र तिमी
मेरो मुटुको ढुकढुकीको स्पन्दनबाट
राखेकै थिएँ नजर वरिपरि
बसाएकै थिएँ मुटुको छेउछाउ
र सुम्सुम्याएकै थिएँ
गुँरासे गाला र सुन्तले ओंठ
जब तिमी मेरी भयौ प्रिय !
अनि बाँकि के नै रहृयो र प्रिय ?
हामीलाई छेक्ने पर्खाल कहाँ उभियो र ?
समागमको निम्ति लठारिएका सर्पका जोडीझैँ
कयौ रात हामी पनि अँगालिएकै थियौं
र मैले खुसुक्क ति म्रो कानमा
पिरतीका कुरा सुनाउँदा
लाजले आँखा चिम्लिएको क्षण
सरमले तिम्रा गालामा गुलाफी रङ्ग चढेको बेला
अँध्यारोभित्र तिमी झन उज्यालिएकी थियौ
मैले यो सब किन भनेको भने नि प्रिय !
बिगत सम्झँदा तिमी वर्तमानमा आयौ
बिगत नियाल्दा तिमी मनभित्रै छायौ ।
२०६६ फागुन ६

नयावर्ष आऊ तिमी


योगेन्द्र जोगी ,संघश;

नयावर्ष आऊ
तिमी हर्स , ऊल्लास र उमंग
बोकेर आऊ नयावर्ष तिमी
जोस जागर र चेतनाको लहर
बोकेर आऊ नयावर्ष तिमी
नैतिकता ,इमान्दारिता र अनुसाशनको
मार्ग निर्देशन गर्दै आऊ नयावर्ष तिमी
ज्ञान , सिप र अज्ञानतालाई हटाएर
आऊ नयावर्ष तिमी
बिकृति र विसंगति हटाएर आऊ
अनि गरिबी र अशिक्षाको दीपलाई हटाएर
शिक्षाको दिप बाल्दै आऊ नयावर्ष तिमी
बैदेसिक नक्कल लिएर होइन नयावर्ष
नेपालकै दौरासुरुवाल पैरना लगाएर
आऊ नयावर्ष तिमी
हत्या र हिम्सा लिएर होइन नयावर्ष
शान्तिको संदेश बोकेर आऊ नयावर्ष तिमी
लाखौ लाख सुभकामना छ नयावर्ष २०६७ तिमीलाई
धुपू-१ लेब्रंग
एकान्त बस्ती
संखुवासभा