खिचडी


दिव्य गिरी

भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन
ओदानमाथिको हाँडी
अलिकति परम्परा र संस्कृति
अलिकति जाति, भाषा अनि भेष
अलिकति क्षेत्रियता र सीमाना पनि
भिजाएर सहिदका रगत र आँसुले
घोलेर सबथोक यौटै हाँडीमा
बसालेर खिचडी अगेनुमा
जनताका भाग्यविधाताहरू
अहम् र अहँकार
रीस, राग र द्वेषका चिर्पटहरू बालेर
आगो सल्काइरहेछन्
विडम्बना !
अगेनु चिसिएको छ बर्षौँदेखि
जति आगो फुके पनि बल्दैन
जति अगुल्टो घोचे पनि जल्दैन
खिचडी पकाउने भान्छेहरू
आ-आफ्नै स्वार्थको अगुल्टो समातेर
चीसो अगेनुमा ठोसिरहेछन
झीलीक्क झील्का उछिट्टएिर अगेनुको डीलमा
आगोको फिलुङ्गो खस्दा
'खचडी पाक्दै छ' को भ्रममा दङ्ग पर्दै
खुसीले उफ्रीएकाहरूलाई के थाहा
वास्तवमा खिचडीको पीँधमा
आगोको रापले भेटेकै छैन
खिचडीको हाँडी तातेकै छैन
कसरी पाक्छ खिचडी ?!
जवकि खिचडी पकाउने भान्छेको
मन शान्त छैन
नियत सफा छैन
भावना निस्वार्थ छैन
उद्देश्य स्पष्ट छैन ।
यता खिचडी पकाउनेहरू
आपस-आपसमै झगडा गरिरहेछन्
एकले अर्कोलाई आरोप-प्रत्यारोप लगाइरहेछन्
एकले अर्कोमाथि दोष थोपरिरहेछन्
उता पर, रूखको कापमा बसेर
टाढैबाट खिचडीको हाँडीमा आँखा गाडेर
यौटा ढेडु बसिरहेछ
मौकाको प्रतीक्षामा ।

२०६६ पौष १६

1 comment:

Gokul Paudel said...

kavita dherai rmaro chha sir. keep it up.