मरुभुमिछेउ कतैः प्रेमापराध

पञ्च विस्मृत

छिमेकी भएर देश छिचोल्दै
समुद्र छिचाल्दै
जिन्दगीको रङ्ग खोज्दै आएँ
र जब तिम्रो समीपमा सुस्ताएँ

झुकिरह्यो मेरो शीर
नैतिकताले उच्च सगरमाथाको शीर
यदि आडम्वर हैन भने त्यो ति म्रो हो
नैतिकता-व्रताको त्यो पहिचान तिम्रो हो

र त डराइरहें अक्सर म
कदम कदममा म
बाटो छलेर हिडें
बाटो झुक्याएर हिडें
मानौं कि म निरपराध अपराधि हूँ
मानौं कि म साच्चै अघोषित अपराधि हूँ

रङ्गहीन लाग्यो कताकता जहाँ तिमी छौ
रसहीन लाग्यो जताजता तिमी हुन्छौ
कहाँ छन् लवपार्क
अथवा लवपार्क हेर्ने सिनेमा
कहाँ हुन्छन् प्रेमका कुरा
यौवनका कुरा
बरु सर्बाङ्ग ढाकेर कालो सुरक्षले
सर्बाङ्ग बारेर सामाजिक काँडेतारले
मलाई माफगरिदेउ
तिम्रो बुर्काको चेपबाट तिम्रा आँखाका नानीमा
मरुभुमिछेउ कतै
मैले प्रेमको जेड्डाह हेरिसकेको छु
मैले प्रेमको दमाम र रियाद देखिसकेको छु
प्रेमको सिङ्गो सागर छोइसकेको छु
मलाई माफ गरिदेउ
म प्रेमापराधि भइसकेको छु ।

(बुधवार २३ भदौ २०६७ ८ सेप्टेम्वर २०१० जेड्डाह साउदी अरेविया)

No comments: