सपनाको महासागर

टंक सम्वाहाम्फे

लुङा
जिवनभरी कति पौडिनु ?
सपनाको
यो महासागरमा
नपौडिउँ भन्दा पनि पौडिन मन लाग्छ
दुनियाँले पौडिएको देखेर
पौडिदै जाउ भने
पौडि नसक्नु अथाह छ
सपनाको
यो महासागर
पौडदा पौडदै थाके पनि
थाके भन्नु मिलेन
मात्र पौडिदा पौडिदा
हैरान भएको छु
तै पनि झन झन पो सपनाको
छाल छचल्किन्छ
पुग्न चाहेर पनि
खोई कहाँ पुग्न सकियो र ?
उहि परिवेश
उस्तै परिस्थिती
उस्तै बाध्यता
उस्तै विवशता
मात्र लागिरहन्छ
गन्तव्यमा पुगीएला भन्ने
तर अझै थाहा छैन
यसरी सपनाको
यो महासागरलाई
जिन्दगीको
जुनसुकै कोणवाट जसरी हेरे पनि
जुनसुकै ध्रुववाट जसरी पौडे पनि
उस्तै भेटिन्छ
उस्तै देखिन्छ
र पनि आँखामा
सपनाका तरङगहरु
छालाङ्ग मार्दै आईपुग्छन्
वेहिसावकिताव
तर खोई ?
सपनाको
यो महासागर
अझै पनि तर्न सकिएको छैन
अझै पनि नाघ्न सकिएको छैन

लुङा
सपनाको
यो महासागरमा
मात्र पौडि रहनुको अर्थ के लाग्यो र ?
जव कि सपना
जीवन भएर छाउदैन भने
सपना सपनै भएर आउदैन भने
आशै आशैमा अल्झीएर
कति हाँस्नु ?
त्रासै त्रासमा वल्झीएर
कति वाँच्नु ?
उमेरले केशराशी
सेतो पेन्टिङ गरी सक्यो
उमेरले जिउलाई
वैशबाट धकेली सक्यो
मात्र मृगतृष्णा सपना साँचेर
अव जिउँने वहाना कति रच्नु ?

लुङा
सपनाको
यो महासागरमा
कति डुव्नु कति उत्रनु ?
जिन्दगीको होडवाजीमा
कहिले अघि कहिले पछि
कति पर्नु ?
पौडिनुको नियति कति भोग्नु ?
देख्नु पर्ने संसार
देख्दै देखिएन
मात्रै नदेख्नु पर्ने संसार देखियो
भोग्नु पर्ने जिन्दगी
भोग्दै भोगिएन
मात्रै नभोग्नु पर्ने जिन्दगी भोगियो
तर पनि जिवन देखि जिवन सम्म पुग्नलाई
आफैलाई ओछ्याएर हिड्न मिलेन
जादुमन्तर लाएर हुने कुरो भएन
त्यसैले अनेकौ विकल्पहरुको सामना गर्दै
अनेकौ दुखकष्टहरु व्यहोर्दै
निरन्तर निरन्तर
मात्र पौडिरहेछु
लुङा
सपनाको
यो महासागरमा
खोइ ! कहिले तरीने हो थाहा छैन
खोइ ! कहिले पुगीने हो थाहा छैन

नोट
लुङा - लिम्बु जातिमा मामा वा फुपूको छोरा वा छोरीलाई वोलाउदा लुङा शब्द प्रयोग गरीन्छ भने अपरीचित ब्यक्ति केटा वा केटीलाई वा सार्इना नपर्ने ब्यक्तिलाई वोलाउदा पनि यो शब्द प्रयोग गरीन्छ । दाजुभाई वा दिदी वहिनीको समान्तर वोलाउने सार्इनो हो ।