नारी अन्तर्मनका अभिब्यक्ति


मुकेश राई (ईलाम)

बिछोडको तितो बाध्यता
तिमी बिनाको रित्तो शुन्यता
मैले पो भोगेको छु त,तिमी त
एकछिन् तड्पेर
बिदाइमा दुई थोपो आँशु झारेर
हाथ हल्लाएर कर्तब्यको पथ पछ्याएर्
क्षितिज भन्दा पर पर हिडिदियौ,
शुन्य रातहरुको एकांकीपना
उराठ दिनहरु,
छुट्टीएको केही बेर देखी नै
फेरी भेट हुने कल्पनाहरु सँग मितेरी गाँस्दै
पल पलको पर्खाइमा त म पो जलेको छु !

तिमी हुनुको आभाश दिएर
मेरो साथी बनेका तिम्रा तस्विर
मेरो दिलमा तिमी पुजिएर पनि
लाग्थ्यो देवी-देवता बिनाका हर मन्दिर
समाजको अगाडि जिम्मेवारीका भार
ब्रिद्ध आमा बाबुका साथ दिने आधार,
प्रत्येक् रहरहरु मन भित्र दबाएर,
हर पिरहरु छात्ती भित्र लुकाएर मुस्कान छर्दै
आफ्नै मनलाई खुशी हुनुको छल त
मैले पो गरेको छु त !

तिम्रो बाहुपासको कल्पित आभासमा
जिउनुको अस्तित्व मायाको त्यान्द्रोमा बाँधी
प्रेमको धरोहर तोतेबोलीहरुमा सँगालेर
सानो कोमल पाइलाको ताते तातेहरुमा
समयका प्रत्येक् पल गन्दै,
उसको अबोध मुस्कानहरुमा जीवनको
आभास केलाएर म यहाँ बाँची दिएको छु !

प्रत्येक् पल तिम्रो सुस्वास्थ्य र दिर्घायुको
कामना गर्दै, भगवान संग प्राथना गरेर
तिम्रो विश्वाशको लक्ष्मण रेखारुपी
परिधि भित्र जकडिएर
हरपल बिरहको आगोमा जल्दै
तिम्रो हुनुको अग्निपरिक्षा त
मैले पो दिरहेको छु त !

ए मेरो परदेशी,
कठोर् होलान तिम्रा परिस्थिती
बिछोडमा जल्दो होला मन तिम्रो पनि
तिम्रो हर दु:ख र पिरहरुलाई
म आत्मसात गरिदिँउला
बरु,
कर्तब्य पथबाट नडगमगिउन तिम्रा पाइलाहरु
विश्वाश झै अटल आँट बोकेर अघि बडिरहु
प्रत्येक् दिन शुन्यता बोकेर
आउने यि भोलीको लस्करमा
कुनै एउटा भोली त होला ?
त्यो दिन फेरी तिमी
त्यही क्षितिजको बाटो भएर
बिहानीको झुल्के घाम झै मुस्कान छर्दै
मिलनको खुशी बोकेर फर्की आँउदो हौ
मैले शुन्यता सँग मितेरी गाँसेको
यि उजाड पलहरुमा
बसन्त हाँस्दो हो,
मधुमास छाँउदो हो,
हाम्रो मायाको दिप सानो राजकुमार,
जसको मनको कौतुहलले जन्माएको
"बाबा कहिले आउनु हुन्छ" ?
भन्ने अनुत्तरित प्रश्नको जवाफ
तिम्रो न्यानो काख पाएर पूर्ण हुँदो हो
यस्तै, यस्तै कैयन सुखानुभुती साँचेर
बिबस मन बुझाउँदै म यँहा पर्खिरहेछु,
तिम्रो पत्र भरी पोखिएका
सुखद सान्तवना र मार्मिक भावनाका
त्यान्द्रो, त्यान्द्रोहरुमा बिशाल मायाको
विश्वाश समेटदै म यहाँ प्रतिक्षारत छु,
म यहाँ प्रतिक्षारत छु !!!

हाल बेलायत

No comments: