म बेचिएको चेली हुँ



चकेन्द्र राई कैदी

मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे ।

सप्तरगीं सिंगारमा सजिएर हिड्नु
नारी पर्व तिज र भाईटिकाहरुमा रमाउनु
पापै लाग्छ मलाई
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै आत्मा हुदैन रे ।

मैले त
तिर्खाएको उटहरुलाई
सागर बनि प्यास मेटाउनु पर्छ
भोकाएका हिंस्रक सिंहहरुलाई
काचो बिलो बाडी भोक मेटाउनु पर्छ
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै जिवन हुदैन रे ।

यी नै पुरुषहरु हुन
कसैले बेचि दिन्छन
कसैले किनि दिन्छन
निर्मम कुमारीत्व र अस्मीताहरु लुट्छन्
अनि आफुलाई बहादुर सम्झदै
रण्डी र बेश्याकको उपनाम दिन्छन ।
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै नाम हुदैन रे ।

हराभरा बैस भईन्जेल
सकिन्जेल लुट्छन् र चुस्छन
सुरा सुन्दरी र परि भनि भनि
जवानि सबै रित्ताई दिन्छन ।
अनि कामै नलाग्ने पत्कार ठानी फाली लिन्छन्
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै मुल्य हुदैन रे ।

यहाँ
लुटेराहरु चोखो हुन्छन
लुटिएकाहरु जुठो हुन्छन
हो हजुर म बेचिएको चेली हुँ
भन्छन् बेचिएको चेलि मान्छे बन्न सक्दैन रे ।

त्यसैले
मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन ।
हो म माइति भनाउदाहरु बाटै बेचिइको एक चेली हुँ ।


धनकुटा

समर्पण ति चेलीहरुलाई जो बेचिएर तिरस्कृत जिवन जिउन बाध्य छन् । माफ गर्नु होला बेचिएको चेलिहरु प्रति गेर्ने हाम्रो समाजको ब्याबहार र त्यसले दिने पिडालाई बिषय बनाएर लेख्ने कोसिस गरेको छु ।

1 comment:

ganesh said...

This poem touched my heart i love it .