म अर्थात हामी


दिव्य गिरी


अर्थात
हामी
यतिबेला तमासेको भीडमा
कूबेलाको लाखेनाच हेर्दै
बिर्सिरहेछौं आफैले आफैलाई
भुलिरहेछौं गन्तव्य र लक्ष्य
र, हराइरहेछौं अन्यौलको भूमरिमा
कुहिराको कागझैँ
भौंतारिरहेछौं कताकता दिशाहीन
राजनीतिका खेलाडीहरूले
क्यारमबोर्डको गोटी बनाउँदा
अनावश्यक नौटङ्कीको 'जोकर' बनाउँदा
ढुङ्गा, लाठी र जुलुसमा रुपान्तरण हुँदा

अर्थात
हामी
खेतवारिबीच उभिएको
बुख्याचा भएर
टुलुटुलु हेरिरहेछौं
आफ्नै मातुभूमिलाई पराइले लुछेको
चुपचाप हेरिरहेछौं
भत्किएका सीमा स्तम्भ
र मिचीएको सीमारेखा
सहिरहेछौं सृङ्खलाबद्ध
आक्रमण, अपहरण र अतिक्रमण

अर्थात
हामी
तमासे नेताको मीठो भाषाणमा मख्ख पर्दै
स्वार्थी नेताको झूठो आश्वासनमा दङ्ग पर्दै
उनीहरूकै पछिपछि दौडिरहेछौं
जसरी हिँड्द भोको स्याल
बुढो साँढेको पछिपछि ।
जनताको बिल्ला छातीमा टाँसेर
जनता हुनुको गर्वले छाती फुलाएर

अर्थात
हामी
अशान्ति र असुरक्षाको घेराभित्र खुम्चिएर
हेरिरहेछौं अग्लिँदै गएको दण्डहिनताको पहाड
र होचिदै गएको स्वतन्त्रताको शिखर ।
२०६६ पौष १३
टीकाथली-५ ललितपुर, काठमाडौं

No comments: