आजको अस्तित्व र स्वभिमान


टंक सम्वाहाम्फे

अ अथवा अस्तित्व
स्व अथवा स्वभिमान
हरेक देश र जनतासंग
गासीएको हुन्छ
टासिएको हुन्छ
अलङ्कार हुन् यी दुर्इ अक्षरहरु
हरेक देश र जनताको
त्यसैले देश र जनताको लागि प्रीय हुन्छ
अ र स्व
अथवा अस्व
कुनै देश
र जनताले गुमाउँन चाहदैनन्
जव अस्व गुम्छ
तव त्यो देश देश रहदैन
र जनता जनता हुदैनन्
अथवा देश र जनता भए पनि
कठपुतली वन्नु पर्छ अरु कसैको
त्यसैले त अस्वको लागि
हरेक युगमा
हरेक देशमा
हरेक मान्छेमा
युद्घ वाचीरहन्छ अनवरत
कस्लाई सह्य होला र ?
स्वभिमान खोसीएको
कस्लाई मञ्जुर होला र ?
अस्तित्व लुटिएको
त्यसैले अस्व गुमाउनु भन्दा
देश युद्घघोष गर्न तयार हुन्छ
र त्यस देशका जनताहरु देशको लागि
वलि चढ्न तयार हुन्छन्
तसर्थ हरेक देश र जनतालाई
अति प्रीयकर हुन्छ अस्व
तर विडम्वना
यहि अलङ्कारहरु युगौ देखि
कुल्चिएकाछन्
लुटिएकाछन्
खोसीएकाछन्
र त्यसको विरुद्घमा आवाजहरु घन्किएकाछन्
तर ब्यर्थ भएकाछन् ती आवाजहरु
किनभने लुटिनेहरु लुटिएकैछन्
कुल्चिएकाहरु कुल्चिएकै छन्
यहाँ त कसैको स्वभिमानलाई
कुल्चिएर उभ्नु पनि
स्वभिमानै ठान्छन् मान्छेहरु
र अरु अस्तित्वलाई अपहरण गर्नुलाई पनि
मानवता नै सोच्छन् मान्छेहरु
यो कस्तो मत्स्यन्याय हो ?
जव कि उस्तै देश र जनतामा
स्वार्थ पूर्तिको लागि
स्वभिमानको हवला दिएर
अरुको स्वभिमानलाई आफैले हडप्नु ?
र मानवताको वकालत गरेर
निर्दोष र निरीहहरु माथी हमला गर्नु
चरीत्र नै वनेकोछ आजका हिट्लरहरुको
अरुको सामु अस्वको वखान गरेर
भित्र कुनियतको योजना वुन्छन् तिनीहरु
त्यसैले वर्तमान
एउटा अप्ठ्यारो संकटमा गुज्रिरहेछ
अव कस्ले यो संकटको मोचन गर्ने ?
जव कि सवै संकटबाट मुक्त हुन खोज्छन् ।

सुनौलो बिहानी


हस्त गौतम मृदुल

पूर्णिमाको जुनले पनि दिन छाडयो शितल
सुनौलो बिहानी सुन भन्थे रैछत नी पितल

के के नै परिवर्तन हुन्छ भनी बलिदान गरे
आज तिनै महान शहिदहरु ओझेलमा परे

न त पायौ सुख शान्ती न त संकट टरयो
बोटमा लाक्यो फुल जति फल नलाइ झर्यो

देउरालीको पानी पनि हुन छाडयो शितल
सुनौलो बिहानी सुन भन्थे रैछ तनी पितल

शुरक्षित छैन जीवन यो अनी देशको माटो
गन्तब्य पनि गौण भयो छैन नी हिन्ने बाटो

बिधिको शासन चल्ने छैन अब कुनै छाँट
जस्लाइ जति बिश्वास गरयौ रैछन ति ढाँट

चौतारीको पिपलबोटले दिनै छाडयो शितल
सुनौलो बिहानी सुन भन्थे रैछ तनी पितल

गजल


इप्सुल मगर

ए मेरो हजुर ! ए मेरो प्राण प्रिय प्याला
भेट्छु त्यै भट्टीमा लिर्इ महिना भरको ज्याला

सधै गर्छु तिम्रै भक्ती तिमी नै हौ मेरो शक्ती
जसरी नी पाउछु तिम्लाई ज्यान गए जाला

रातभरी रछ्यानमा सपनी आहा ! कति मीठो
अस्थिपञ्जर यो शरिर अचम्मै भो मेरो छाला

गास,बास,कपास सबै भयौ तिमी मेरो
खल्ती रीतो भो सबै हेर्छन् मेरो विजोकको चाला

मेरो खाली सिउँदो


केवल गंगा गुरुङ
मेरा आशाका किरणहरु
डुब्न लागेको घाम जस्तै भएछन्
जलिरहेको दियो पनि
निभ्नै लागेछ
कस्तो हुरी आयो प्रिये !
तिम्रो र मेरो माया बीच
तिमी नहुँदाको खाली सिउँदोलाई
सवैले उपेक्षा गरिरहेछन्
तिमी त वादलपारीको देशमा बसेर
मेरो रमिता हेर्दै हौला
मेरो दुर्गती देख्दा तिम्रो मन
अलिकति पनि दुखेन ?
म तिम्रै पखालिएको सिँदुरका डामहरुको
रक्षाको निम्ति भीषण लडार्इ लडिरहेछु
के तिमीलाई आनन्द लाग्यो ?
मेरा रोएका दिनहरु हेर्दा...... ?

आवेग


बिमल गिरी

तिमी सङ्गको मेरो
प्रेमको उर्लदो आबेग
जिन्दगीको मिठो अनुभुती
साझ बिहान
बिभत्स रोइरहेछ
धरमराउदै अगाडि बढिरहेछ
सडकका किनारहरुमा
तोलिन्दो र धुपिका
बुट्टाहरुमा ।

किन रुन्छन
हारेकाहरु भन्थे
अनौठो पिडाले
सिथिल हुँदा
आर्तनाद सङ्ग
बलिन्द्र धारा बगाउदै
रात कति बिते बिते
कालरात्री छाए
अर्थहीन दिशा
सुन्य सापटिमा
किन? रेटिन्छौ
सुनपातीका काल्लाहरुमा ।

तिम्रा गहिराइमा
गर्बाधान गर्नेहरुले
तिमीमा डुबेर
कति बिसाए
ढाक्रे र तोक्मा ?
शक्तिमा उन्मत्त भएर
रुझ्नुको मजामा
पुरा जीबन
हृदयमा पोखिए
दुख्न बाँकी छैन अब
चिथोरिएका
छातीका
रापिला खोल्साहरुमा।

चारपाने झापा
हाल: बेल्जियम, ब्रुस्सेल्स

एउटा नयाँ यात्रा


यशोदा अधिकारी

गणतन्त्रको ओछ्यानबाट उठेर
एउटा विहानी
खाजा सामलको कुम्लो च्यापेर
असजिलो भर्‍याङ् उक्लँदैछ
आकाशमा फुलेको
गणतन्को फूल टिपेर
कपालमा सिउरिनु
विहानीको लक्ष्य ।

हतारमा देखिने
त्यो विहानीले
अपूर्ण र पुरानै झोला बोकेर
नयाँ यात्राको ढोका खोल्यो
उदाएको छैन
विहानीमा सूर्य
खुलेका छैनन् ढोकाहरु
झयालहरु र
मूल द्वारहरु ।

विहानीले उही पुरानै
झोला बोकेर यात्रा थाल्यो
झोलामा के थियो ?
विहानीले फर्केर हेर्ने
प्रयास गरेन ।

विहानीले पुरानै झोला बोकेसम्म
खस्दैनन् ताराहरु
उदाउने छैन प्रचण्ड सूर्य
रात दुखेको पीडा
विहानीमा छामेर
परेड खेल्छन् ताराहरु
खै किन फेर्दैन विहानी
त्यो पुरानो झोला ?
विसाउँदैन पनि
विहानीमा सूर्य उदाउन
अरुले थमाएदिएको
त्यो पुरानो झोला फालेर
विहानीले थाल्नुपर्छ
अर्को यात्रा
सहास र मर्यादाको यात्रा ।

मेच्छे-१ काभ्रे
हाल : काठमाडौं

बनेर अन्जान


गणेश मगर

1.बनेर अन्जान
बनेर अन्जान गरे चोखो माया
भएछ म बाट भूल
क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली
पाए धोका स्वार्थी धमिलो रैछ माया
छोडेर गईं सम्झना को फूल
रुदै छू अहिले म यहाँ
सम्झेर उनीलाई मन है मेरो बाँधी
पश्चाताप को आँसु ले पखाली ................

2. नयन भरि
नयन भरि रोदन
आँसु छ गहभरी
तिमि आफै भन
छोडी जाने निर्मोही
पोल्छ यो मेरो मन
तिम्रै यादले घरि-घरि
बिर्सी तिमीलाई हाँसु म के गरि?

3. भो अब त
भो अब त रुदिन भन्छु
रसिन्छ यी नयन हरु
उफ सम्झन्न अब त भन्छु
आउछ तिम्रै मात्र यादहरु
थाहै नपाइ चिरिन्छ यो मन जता ततै

4. नया नेपाल रे
नया नेपाल रे
खै के छ यहाँ नया ??
नया त छ केवल
उही २ सब्द न + याँ
अरु त सबै पुरानै छ
नेता नक्कली
भासण नक्कली
सबै सबै नक्कली
ओलीको बोली देखि लिएर
माकुनेको झूटो आस्वासन
सुनेको छू माइला दाइको त अझै
मर्या छैन रे कुर्सी मा बस्ने दाऊ
के यही हो त नया नेपाल?
उफ
खेल त उही पुरानै छ यहाँ
दिनेको ठेगान छैन
लिनेको फुर्सद
सबैको आ-आफ्नै दाऊ
सबै थोक मूल्य ब्रीद्दी बढेर
कहा पुगिसक्यो भाऊ
के यही हो नया नेपाल?
जहा बिस्वमा चिनिन्छ
जल श्रोत को धनि देश
नेपाल लाइ
तर खोई यहाँ अझै लोडसेडिंग घटेको?
ए गांठे
भन्छन सबै सान्तिको अबतार बुध्ध
जस्को जन्म यही
हाम्रो नेपाल मा भयो रे
सुन्दा नि हाँसो पो लाग्छ गांठे
यदि यही नै हो साचो भने
खै अझै यहाँ हिंसा, हत्या,मार,काट घटेको?
के यही हो त नया नेपाल?

त्यसैले म त भन्छु
यहाँ नया त छ केवल
जनता,जनताकै बिस्वास,भरोसा
तर खेल त उही पुरानै हो
म ठीक भन्दै छू
हो म ठीकै भन्दैछु
आखिर हाम्रा नेता भनौदालाइ
घुम्ने कुर्सी भए पुग्छ
उही कुर्सीको कारण
सोझा साझा निमुखा जनता
सधै तल थिचिन्छ भने
यस्लाई हामी के नया नेपाल भन्ने??
मैले त
सुन्छु लोकतन्त्र पो आछ रे
उफ उराठ लाग्दो सुन्दानी
यही नेपालमा क,ख,ग,घ नाजान्ने लाइ नि
कुर्सी मा पो राख्यो रे
खै त अस्ति जेस्ठ १४ मा
नया सैलिको संबिधान बनाउने भन्थ्यो
त्यही पनी माकुने र प्रचन्ड
दुबैको सहमति नमिलेर
म्याद पो थप्योरे
के यही हो त नया नेपाल?
उफ वाक्क लाग्छ
नेपालको हालत देख्दा नि
आखिर
यता गयो उस्तै छ
उता गयो त्यस्तै छ
यहाँ जता ततै बिना उदेस्य
कालो टाएर को साथ मा
आफ्नै दाजू भाई आ-आफै
गोली र बारूद को कोसेली साटी
आफ्नो सींगो निर्दोस सरीर लाइ
बीर सहीद उपनाम को
घोषित गरि रहेछ
भने के यही हो नया नेपाल???
हाहा हाहा हाहा
हाँसो पो लाग्छ गांठे
यो नेपालको हालत देख्दा नि
बिना अर्थ चूनेऊ यहाँ हामीले
१०० थरी फुल्का हामी
एउटइ माला नेपाली
रास्ट्र गानालाई यो त केवल
केवल
गानाकै रुपमा सिमित छ
जहा हामी अझै
एक लाटो कोसरे चरि झै बनी
उल्लू पना गरि रहेछौ
अर्थात यो होकी
अझै यो देश मा छुवा-छुत र जात-भात
यी दुई कुरालाई लिएर
ठुलो जातले सानालाई
धनि ले गरीब लाइ मुर्ख बनी
थिचोमिचो गरि रहेछौ भने
के यही हो नया नेपाल?
हत्तेरी एस्मा मैले के गर्ने?
हाम्रा देस का नेता भनौदा
यही दृश्य हेरी
अनबीज्ञ नाटकीय रुपमा
स्वार्थी हाँसो खीत्का छोड़ी रहेछ भने
के यही हो नया नेपाल?
त्यसैले म त भन्छु
आऊ नया पुस्ताका नया जनता
मिलाऊ हात माथि हात
बढ़ाऊ एक आपस मा
गहिरो मित्रता को एकता
बढौ सबै मिली हाम्रो देश नेपाल
पहिलेको झै हराभरा बनाउन
अनी मात्र हास्छिन हाम्री
नेपाल आमा
आफ्नो मनै खोलेर
पहीले को झै गरेर
र...........र भान्नेछिन
लगाइदेउ ति नेता देश द्रोही लाइ
जुत्ताको माला खौरिदै तिन्का
टाउको अनी...............
अनी लगाऊ कालो मोसो
रंगाऊ तिन्का गाला
गरिदेउ त्यस्तो नेतालाई
देसी निकाला चद्काउदै
रंगेको त्यों गाला
त्यसैले म पनी भन्छु
यही हो साचो -- हो यही हो साचो
अनुरोध छ मेरो सबैलाई
आछ तपाई हाम्रै पालो
बनाऊ हामी आफै मिलेर आफ्नै देश
पहिलेको झै हराभरा
सुन्दर सान्त बिसाल नेपाल.............
.किन र यत्ति नि छैन तपाई हामीमा हिम्मत?????

अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी


किराती भोगेन एक्ले

तनावमा छु
आजको अस्त
भोलिको उदय
या भनौं बिपना र सपनाको ठीक बिच
उभिएर खुब तनावमा छु

विगतको समीक्षा
आगतको सम्भाबीयताको अध्ययन
वर्तमानको हरेक क्षण
मनले मगजलाई घोची रहन्छ
यथार्थमा आदर्श गल्ने पो हो कि
खसेर भीरबाट सुन्दर कल्पनाहरू
थेचारिएर मन थलिएर
बा कुँजिने हुँ संधैलाई
खुब तनावमा छु

अग्ला घरहरूका चेपचाप
गाडिएका जराजुरी जतनले उखेलेर
छासछुस पारेर रहरका लामा हाँगाबिंगा
सानो आफ्नो आँगन अगाडिको कटेरोमा
संधैलाई बास सार्ने मेसोमा लागेको बखत
सोची रहेको छु
कतै म त्यो काराङकुरुङ त बन्दिनँ
जो संधै अनुकूल तापको खोजिमा
जीवनभर कहाँ कहाँ उडी रहन्छ
पटक पटक साइबेरिया छाडी रहन्छ
पटक पटक फेरि फर्की रहन्छ
अ हो, कल्पनाले नै रिंगटा चल्छ
भोलि त्यो भोगाईको नियति बनिदियो भने !
सोच्दा नै मात्र तनावमा छु

कहिलेदेखि यसरी कहिलेसम्म
मेरो आफ्नै माटोसंग
मलाई हिड्न सिकाउने बाटोसंग
मैले तर्सनु, तर्कनु पर्यो/पर्ने
त्यो माटोमाथि निस्फिक्री फुल्न
त्यो बाटोमाथि निर्धक्क हिड्न
केले, कसले किन रोक्यो, रोकी रहन्छ ?
त्यहैँ छ त
अजम्बरी फुलेको च्याब्जुको चिहान
ऊसले फाँडेको खोरिया
पहरा काटेर ल्याएको कुलो
तितेफापर र घैयाको बीउ पनि अझै
पुरानो मटियामा संचित नै छ त
सयौं मल्ला भेडा-बाख्राको खेवा
उधौली उभौली गर्ने लेख बेंसी
हजारौं चौंरी र भैंसी चर्ने खर्कहरू
पुस्तौं पुस्ता चोक गाडिएको निसानी
ठूलो चप्लेटी ढुंगा
सबै सबै अलगै छ त
के नपुग थियो/छ मलाई
खालि मानव बिक्री मुल्यसंगै
महत्वाकांक्षाको बढोत्तरीले
राजी खुसी बेचिने लतमा फसेर म
बहादुर बनेर
कवाडी मालमा दरिएको त छुइनँ ?
प्रश्न आफैंमाथि बर्सिन्छ कोर्राजस्तो
र चहराउँछ बेस्सरी
थुर्थुर काम्दै मैले बक्नु पर्छ
हो, हो
तर
तर म किन कसरी अम्बली बनें
कुलतमा फसें
कसले फ्याकिरहेको छ
मतिर भाङको लड्डु
कसले उकासी रहेकोछ निरन्तर
त्यो विषाक्त गुलियोमा भुल्न
र आज चेतमा आउनु खोज्दा
उम्कनु खोज्दा कुलतबाट
किन यो तनाव
खुब तनावमा छु ।

बाँडेर मान्छेलाई तासका चक्किहरूमा
जीवन थुतेर मृत्यु फ्याक्नेहरू,
सिधा दिएर घुमाई लिनेहरूको बफदारीमा
घर गोठ छाडेर बेवारिसे
महलहरूको रखवारीमै कपाल पकाउने
अर्को अनि अर्को पुस्ताको उदयमा
गर्व गर्नु नै मेरो धर्म हो ?
गाउँ बस्ति रित्याएर उजाड
सयौंतले भवनहरूको सहर बसाउने
कुल्लीहरूको लगातारको उत्पादनमा
हर्षमान्नु नै मेरो कर्म हो ?
अधिकार छिनेर काखको सन्तानको
गानिएको दुधको पीडा सहँदै
मेमको बेबीको मीठो निदरीको लागि
रुन्चे स्वरमा लोरी गाउँनुदेखि
आधा निद्रा सुतेर
आधा निद्रामा उठेर
चर्पी सोहोर्नु,.....चुलो पोत्नुसम्म
भ्याई नभ्याई नपुगेर
विवश निचोरिन्दै
सितन बनेर गिद्धे दृष्टिको
अस्मिता लुटिएपछि
असन्तुलित मस्तिष्कमा बाँचेर
रित्तिनु नै मेरो जीवन हो ?

यदि यसोहरू होइन भने
कहिलेदेखि यसरी कहिलेसम्म
मेरो आफ्नै माटोसंग
मलाई हिड्न सिकाउने बाटोसंग
मैले तर्सनु, तर्कनु पर्यो/पर्ने
त्यो माटोमाथि निस्फिक्री फुल्न
त्यो बाटोमाथि निर्धक्क हिड्न
केले, कसले किन रोक्यो, रोकी रहन्छ ?
उघारेर आँखा चेतनाले
पन्छाएर रंगीचंगी कागजका छेकाबार
अस्ताएर परदेश
झुल्कन खोज्दा आफ्नै कोठेबारीमा
किन तुवाँलो लाग्छ मनमा
किन सुनौलो देखिन्दैन बिहानी
ऊफ खुब तनाबमा छु ।

गजल


भानेन्द्र सम्बाहाम्फे "जुझारु"

धुलोजस्तै उडिजाने तिमीलाई खै के भनूँ !
तन्द्राजस्तै बिर्सिजाने तिमीलाई खै के भनूँ !

बाटो लाग्यौ स्वार्थी बनी बिर्सिएर आफैँलाई
पागल्जस्तै हाँसिजाने तिमीलाई खै के भनूँ !

रसाउँछन् आँखा मेरा फूलहरु फुलिदिँदा
यादहरु छोडिजाने तिमीलाई खै के भनूँ !

अँध्यारो भो सन्सार यो बाँचेको छु निराशामा
आशाहरु मारिजाने तिमीलाई खै के भनूँ !
काठमाडौँ
२०६७०५२२

पात्र-कुपात्र


दिव्य गिरी

मञ्चमा चहल-पहल
कतै अँध्यारो अँध्यारो
कतै उज्यालो उज्यालो
अर्थात मधुरो प्रकाशको छायाभित्र
सलबलाईरहेका मानिसहरूको आकृति
नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि
पूरै अन्धकार ओढेर
मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक
केही शसङ्कीत
तर धेरै आतङ्कीत ।

मञ्चमा निमेषभर प्रकाश फैलिँदा
पात्रहरूको हात-हातमा
बम, बन्दुक, तरवार, र लाठी देखेपछि
दर्शकहरू भित्रभित्र डराउँदै
एक-आपसमा कानेखुसी गर्छन् ?
यहाँ युद्ध हुँदैछ हो !?
यहाँ लडार्इं हुँदैछ हो !!??
यहाँ नाटक देखाउने कि काटमार !!!???

प्रश्नको जवाफ कस्ले दिने ?
सबै अनभिज्ञ दर्शकहरू
मञ्चको एकछेउदेखि अर्को छेउसम्म
पात्रहरू दौडन्छन्, उफ्रन्छन्, कराउँछन्
अनि शुरु हुन्छ हल्लैहल्ला र खल्बली
न कसैले बुझेको हुन्छ तिनीहरूको क्रियाकलाप
न कसैले सुनेको हुन्छ तिनीहरूको वार्तालाप
न कसैले चिनेको हुन्छ मुखुण्डोभित्रको अनुहार

यौटा पात्र हातमा
देशको झण्डा फर्फराउँदै आउँछ
अर्को पात्र
त्यो झण्डामा आगो लगाउन दौडन्छ
यौटा पात्र दुबै हातले
देशको नक्सा फैलाउँदै आउँछ
अर्को पात्र
त्यो नक्शा टुक्राटुक्रा पार्न झम्टिन्छ
कोही देशको झण्डा जलाउन उद्यत
कोही देशकै नक्शा च्यात्न तल्लिन
यो कस्तो नाटक ?
यो कस्तो खेल ?

दर्शक दीर्घाबाट यौटा आवाज आउँछ
पूरै नाटकघर थर्किने आवाज
बन्द गर यो नाटक !
बन्द गर यो नौटङ्की !!
तिमीहरू यो नाटकको पात्र होइन
तिमीहरु सबै कुपात्र हौ !
यो देशको
यो मातृभूमिको ।

टीकाथली-५, ललितपुर
२०६७ भाद्र १३

बैसालु मनहरुमा (तीजका कबिता)


उषा गिरी

छातीभित्रको असैह्य पिडालाई
हासो र खुशीमा बदल्दै
बितेका बर्षहरु झै
बैसालु मनहरुमा
सुमधुर मुस्कान छर्दै
के तराई के पहाड
के स्वदेश के बिदेश
रातो साडी र हरियो पोतेमा
उल्लास,आनन्द र रोमान्चक
अनुभुती साट्न
भावयुक्त सुन्दर र गहन
गीतहरु सङ्गै
आएकाछौ तीज
तिमीलाई स्वागतछ
झुप्रा र महलहरुमा।

भत्केको अतित
द्वन्दको मारले पिल्सिएको हामी
अनिष्चित भबिष्य बोकेर
डायस्पोरिक भएकाछौ
शरणार्थिक,निर्बासित वा बिस्थापित
जे भने पनि हुन्छ भन,
तीजको रमाइलो आयो बरिलै
नगर है पुरुष हेला छोरी चेलीलाई ।।

जिन्दगीका बाटाहरुमा
समयको रेखाहरु सङ्गै
उज्यालोको रङ्ग खोज्दै
घायल मनहरु
बिभिन्न रङ्गहरु
हजारौ प्रश्न र पिडाहरु
मनभरी उन्दै
भौतारिएका हामी
जे भने पनि हुन्छ भन,
दु:ख भुली नाचौ नचाउ हासौ बरिलै
हस्तछेप नगर है छोरी चेलीलाई ।।।

हृदयका थुम्काहरुमा
धुकधुकिका तरङ्गहरुमा
बैसालु खित्काहरु सँगै
सुस्केरा गुन्जाउदै
जीबनका थप उर्जाहरु भर्दै
हिउद,बर्षा,झरी र बादल नभनि
रुप र यौबनले धपक्क बलेका
अबोध मनहरुलाई
जे भने पनि हुन्छ,
दम्भको उन्मादलाई फालौ बरिलै
हेला होचा नगर है छोरी चेलीलाई ।।।।
जय तीज।

चारपाने झापा
हाल:ब्रसेल्स, बेल्जियम
u-giri@hotmail.com

अनुरोध


प्रकार अन्तर

हे अतिरन्जित चमकहरु हो !
मेरा आँखाहरुको ज्योति लैजाउ
र चम्क तिमीहरु अझ धेरै
तिम्रा प्रकाशहरुमा
विभेदको कालो जिउ
झन छर्लङ्ग भएर देखियो
ढक्क फुल्यो मेरो मुटु
त्यो किङकङ दारा उझाइरहेछ
म फिल्मको हिरो होईन
हे अतिरन्जित चमकहरु हो !
पार मेरा आँखाहरुमा
औंसीको छायाँ
र तिमीहरु जसरी नाच्न चाहन्छौ
त्यसरी नै नाच ।

लेखान्तमा


सूर्यविक्रम याक्खा

हात अठाएर धर्साहरु कोरिए ,
औलाको र्इशारामा नाच्न थाल्छन्
शब्दका फूलहरु ....,
मन सलवलाउदै कुदन थाल्छन् ,
क्षितिज पारिका गाँऊहरुमा ।
नसा-नसाहरुमा रगत वगीरहे ,
रौ-हरु ठाडा-ठाडा भै रहे ,
लेखान्तमा लेखिएका भाग्य
रेखाहरु लडिरहे ।
मुटु मिचेर ,शब्दहरु
फुटाउन खोजे ,
एक भूलले हजार चोट
सहन रोजे ।
नङ्ग तिंखारे ,मासु चिमोटन थाले ,
खित्का हाँसो संगै
आफनै गलामा ,चड्कन हान्न थाले ।
वसन्ती लेखियो ,
सम्झना ,कल्पना र सपना पनि
लेखिए ...,
'' तर ,,
लेखान्तमा मेरो ,
कविता लेखिएन ...........!!