ताजा खवर

दिव्य गिरी

भिन्न भिन्न भेषमा
कालो 'सुटकेश' बोकेर
बाहिरिंदै संसद भवनबाट
हाँस्दै-हाँस्दै हतार हतार
टेलिभिजनको क्यामरा अगाडि उभिएर
ङीच्च दाँत देखाउँदै नेता भन्न थाल्छ
हामीले जे जति गरेका छौं
त्यो सबै जनताको लागि
केवल जनताको लागि ।

यो देशको इतिहास पढ्नुस्
हामीले यो देशबाट
राणासंगै एकतन्त्र हटायौं
राजासंगै राजतन्त्र हटायौं
र सट्टामा बहुतन्त्र हटाएर
लोकतन्त्र ल्यायौं
यो भन्दा बढी के गर्न सकिन्छ ?

यता नेता छाति फुलाएर
आफ्नो पौरख सुनाइरहेथ्यो
उता सडकपेटीमा उभिएर
गाउँले यौटा सानो केटो
घोक्रो फुलाउँदै भनिरहेथ्यो
लौ आयो आजको ताजा खवर
अपहरणको खवर !
आतङ्कको खवर !
हत्याको खवर !
भ्रष्टाचारको खवर !
लोकतन्त्रको नाममा
लुटतन्त्रको खवर !
सुशासनको नाममा
गुण्डाराजको खवर !
आयो आयो आजको ताजा खवर
तीन रुपैंयामा सन्सनीपूर्ण खवर
नयाँ नेपालको नयाँ खवर ।

५ भाद्र २०६८

पेन्सनको सोच पालेकै हुँ!

किरण पौड्याल

लो. से. आ. जस्तै कठोर, परीक्षा मैले पनि दिएकै हुँ
विकासको सुइँको नदिए पनि, सपना मैले बेचेकै हुँ
सोझा, साधा, लाटा जनता, ढुङ्ग्रोमा झ्वाम्मै हालेकै हुँ
चुनावी जात्रा नजिते पनि, नियुक्ति बलियो पाएकै हुँ |

नागरिक भोकै जिय नै पनि, ५ तारे होटेल धाएकै हुँ
जनता नै सबै नांगिए पनि, आफ्नो त जोहो गरेकै हुँ
सडकमा अनाथ कापें नै पनि, महलमा रात काटेकै हुँ
शिक्षामा ताल्चा लागे नै पनि, आफ्नो त विदेश पठाकै हुँ ||

हस्ताक्षर समेत नआए पनि, तलब र भत्ता बुझेकै हुँ
चप्पलै पहिला नलाए पनि, चिल्ला कारमा चढेकै हुँ
लाज नै मर्दो दबाई किनी, शोधभर्ना पुरै पाएकै हुँ
भन्दछ अनपढ कसले मलाई, यस्तामा शास्त्री गरेकै हुँ |

शिक्षित, विद्वान, अनुभवी, माथि तान्डव नृत्य गरेकै हुँ
राणा र पंचे नभए पनि, राज्यको भोग गरेकै हुँ
लोकतन्त्र सर्वत्र लिलामी गरि, भरपुर रजाइँ गरेकै हुँ
संबिधान नदिने नियति ढाकी, हदम्याद पुरै तन्काकै हुँ ||

पांच वर्ष तान्न कसरत गर्दै, सिंगजुरो मैले खेलेकै हुँ
नाटक अनेक, चल खेल गर्दै, यहाँसम्म अलि धानेकै हुँ
निबृतिभरण, पेन्सन मिठो, मैले नि खान खोजेकै हुँ
अन्तिम ईच्छा केवल एक, पेन्सनको सोच पालेकै हुँ |

कुवेत
रचना -२३ अगस्ट २०११

नाच्ने पर्ब तीज

उषा गिरी

बर्षा ऋतुको बिदाइ र
सरद ऋतुको आगमन सङ्गै
थकाईको अनुभुतिलाई बिर्सेंर
मदमत्त भएर उर्लने सागर झै
बैसालु रहर साट्न
मादलुको घिन्ताङ्गे तालमा रमाउन
मीठामीठा लोक गीत गाउदै
खुला पहाड र कर्मशील बस्तीहरुमा
छमछमी आएकी छौ तीज ।
आँखामा असीम करुणा र प्रेम पालेर
हामी उमङ्गका पारखीहरुको माझ
बिखन्डित नभै
मन्द मुस्कान छर्दै
सुन्दर हत्केलाहरु फैलाएर
हावाको मिठो स्पर्श सङ्गै
रौनक र चमक लिएर
आएकी छौ तीज ।
मुस्कान पोतिएको ओठ
लालीले रङ्गिएका गाला
गाजलुले पोतिएका
गहिरा नयन
रातो चुरा र रातै गहुनमा
आभुषणहरुबाट बिभुषितभै
निरासाका पुराना स्मृतिहरुलाई
पन्छाउदै उल्लासमय भएर
अगरबतीको सुगन्ध भएर
आएकी छौ तीज।
ओइलिदै पलाउदै र पहेलिदै
बिभिन्न प्रलाप सहदै
तमाम दिदी बहिनीको माझ
शरीरको सारा बैस फुलाउँदै
आएकी छौ तीज।
अदम्य उत्साह बोकेर
यो बिछट्टै रङ्गीन र उर्बर समयमा
थुम्का र बस्तिका फेदीहरुमा
भावनामा छताछुल्ल पोखिदै
चकित र उल्लासित भएर
आँखा नझिम्क्याइ नौलो क्षण लिएर
असिनपसिन गर्दै मिर्मिरे बिहानी
आएकी छौ तीज ।
जिन्दगी र समयको दोसाधमा
थकाईको साईनो गास्तै
जीबनका पलहरुमा
खुशीका बेगमय पारामा
निरुत्तर कुइनेटोको ढुङ्गेनी ओरालिमा
मन भरि यौबन फक्राउदै
आएकी छौ तीज ।
तिम्रो यो आगमनलाई
यो नाच्ने गाउँने महोत्सबको शुभकामना ।

ब्रसेल्स, बेल्जियम

गीत

कृष्णकला वनेम

बधाई छ तिमीलाई ,हासी खुशी बाच ,
पिरतीको दुनियामा ,रमाई तिमी नाच ,,

देवीदेउता सङ्ग पनि ,म त यही भाक्छु ,
तिम्रो नया जिन्दगीको ,सधै खुशी माग्छु ,,
अतित भुलाई आउने दिनको ,गर्नु सामना ,
तिम्रो नया जोडीलाई ,मेरो शुभकामना ,,
कामना छ ……………………………

तिमी जहा रमाउछौ ,त्यही मेरो लाख ,
नछुटोस कहिल्यै पनि ,शुन्दर तिम्रो साथ ,,
अजम्बरी माया बनोस ,मेरो यही प्राथना ,
तिम्रो नया सन्सारलाई ,मेरो शुभकामना ,,
कामना छ ……………………………

8/21/2011,Sunday………………

धागो

स्यानु पाईजा

एक त्यान्द्रो धागो
कति महत्व बोक्थ्यो कुनै बेला
यहि धागो नबन्दै सम्म मान्छे नाङ्गै धुम्थे
बिस्तारै धागो कपडा बन्यो
मान्छे पहिरिएर ठाटिन थाले
धेरै धागो हुने ले घाँटी देखि छडके धुमाएर जनै भन्न थाले
थोरै हुने ले कम्मर मै भए पनि बाधेर कन्दानी भन्न थाले
हात मा फनफनी बेरेर रक्षा बन्धन भन्न थालियो
साँच्चै कति महत्व बोक्थ्यो धागो
धागो नबाधिएका सन्तानहरु बाउँ नखुलेको ठहरिन्थे
धागो नै नभएको मान्छेहरु सानो जात ठहरिन्थे
समायन्तर सँगै धागो को प्रयोग हरेक ठाउँ मा हुन्छ
हामी लासलाई पनि कात्रो उपहार दिने भैसक्यौ उ जमना मै
अचेल हामी यो रँग र त्यो रँगमा कपडा बनाएर
जातिय पोशाक बनाउदैछौ ति धागो का अबोध त्यान्द्रोहरुलाई
धागो तिमीलाई लाग्दैन तिम्रो कति गलत प्रयोग हुदैछ ?
आबेगमा या गरिबिमा हिजो आज कति जना
त्यहि धागो को डोरिमा झुन्डिएर आत्महत्या गर्छन
कति को हत्या आत्महत्यामा दर्ता हुन्छन
एउटा चङ्गा एकसरो धागो ले नै आकास मा नाचिरहेको हुन्छ
त्यहि केहि सरो धागो को बिस्वासमा कति सम्बन्ध बाँचिहरेको हुन्छ
यहाँ तिमीलाई धागो ले न्याय गरेको छ कि अन्याय
तिमी बाउ बन्नको लागी तिम्रो सन्तानलाई केहि सरो धागो बाध्नै पर्छ
सायद यो धागो न बन्दो हो त सन्सार अझै पनि आदिम युगमा हुदो हो।

पात्लेखेत-७, म्याग्दी

शहिद म

किरण पौड्याल

छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म |

काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म
खुँडा, भाला, कर्द गर्जन, सिंहनादै म
बाण तिखा, गोलि ताता, थाप्थें छाति म
बिछ्याई लहु भेल सरि, बढ्थें उर्ली म ||

निर्मित नेपाल लडी मैले, भएँ धुलो म
बलिदानै उपहास, भएँ पात्र म
युद्ध मेरा बिलिन कता, देख्छु आज म
पुछ्ने सिन्दुर छोरो आफ्नै, जल्छु भित्र म |

हाँसी खुशी बेच्छन आमा, भएँ बिबस म
रुन्छिन आमा कोक्याउँदै, हुन्छु पिडित म
छैनन कोहि सुन्ने उनको, तड्पिई बस्छु म
मलामी छन् खुशी सारा, भएँ अबोध म ||

कुलंघार, कलंक नै, बुझ्छु हावि म
रगत मेरो शहिदको, भएँ पानी म
इतिहासमा धमिराको, भएँ धुलो म
पन्छ्याईएको, बिर्सिएको, भएँ शहिद म |

कुवेत
रचना: २१ अगष्त २०११

गजल

बसन्त मोहन अधिकारी

छातिको दुध मेरो बागमतिको ढलमा हाल्यौ
यो स्वाभिमानी स्वाभिलम्बी प्रतिष्ठानी सबै फाल्यौ

उत्तर दक्षिण पुर्व पश्चिम तिम्रा नातागोता
जिउँदै मलाई जलाउन दागवति बाल्यौ

रगतको खोला बगाई हज्जारौं देह ढाल्यौ
रुपरंग मात्र फेर्न ब्यर्थ किन दारी पाल्यौ

समय सगर चढ्दा उल्टो तिमी तल झर्यौ
जन्मदिने आमा छाडी सासुज्यूको सेवा थाल्यौ

सविधान नारासंग सत्ताभत्ता लुछाचुडी
सत्ताभत्ता पालैपालो जन्म दिने आमा गाल्यौ

को हौ तिमी के गर्दैछौ आफ्नो जस्तो लाग्न छाड्यो
बुद्धीजिवी नेता भन्थ्यौ खाल्टोमा नेपाल हाल्यौ

गीत

कृष्णकला वनेम

जुन तिमी उदाउछौ ,अधेरीलाई चिर्दै,
मुस्कुराउछौ धरतीमा ,मधुर प्रकाश छर्दै,,

पुर्णिमाको रातमा , टहटह चम्की दिन्छौ,
औसीको रातमा ,नामो निशान हराई दिन्छौ ,,
फर्की आउछौ फेरी ,तिमी घुम्दै फिर्दै,
मुस्कुराउछौ धरतीमा ,मधुर प्रकाश छर्दै,,

जुन तिमी ………………………………

जुन तिमी एउटा ,लाखौ तारा माझमा,
कुन लोकमा छौ तिमी ,देख्छु शुन्यतामा,,
कुरा गर्छु मनमनै , कहा हौली भन्दै ,
मुस्कुराउछौ धरतीमा ,मधुर प्रकाश छर्दै,,

जुन तिमी ………………………………
6/21/2011,,Tuesday,,,,,,

गीत

कृष्णकला वनेम

सिउदोमा सिन्दुर भरेर पतिको माया खै के दियौ ?
च्यातेर गयौ यो छाती फाटेको घाउ खै के सियौ ?

बिश्वास त हुन्छ आत्मामा हुदैन खाई कसम मन्दिरमा
माया त हुन्छ मुटुमा हुदैन एक चिम्टी सिन्दुरमा
सातफेरो लिदा अग्निमा बाचा तिमीले खै के लियौ ?
च्यातेर गयौ यो छाती फाटेको घाउ खै के सियौ ?
सिउदोमा ………………………………………

सजिन्छ तस्बिर त रिदयमा हेरुन्जेल मात्रै हो आखामा
छिपिन्छ माया त मुटुमा हुदैन छिन भरको बाचामा
सबैको सामु तिम्रो भए तिमी त खै कस्को थियौ ?
च्यातेर गयौ यो छाती फाटेको घाउ खै के सियौ ?
सिउदोमा ………………………………………

8/10/2011,Wednesday……

अन्तहिन गोरेटा र दुर्इ पाईला

टंक सम्वाहाम्फे

नाप्दै अन्तहिन गोरेटो
हिड्छु प्रत्येक दिन दुर्इ पाईला
नाघ्दै समयका अनगिन्ति मोडहरु
गुड्छु सवारी साधनहरुले किचिएर सडक
कावा खेल्दै वेलाबखत
उड्छु शुन्यकासमा पखेटा
यहाँ अनेकौ विचारका चोक्टाहरु
भुटेर भकुण्डो खोपडीमा
मुछ्दै विमर्शका दाविलोले
बाड्छु सबैलाई अन्तरचक्षुका टर्चलाईटहरु
म परिधी
मेरो घर
गोरेटो
सडक
आकासले तुनिएका क्षितिजहरु
आफ्नै यथास्थितीको वनावटमा
समान पाईलाहरु माथी
पृथक पृथक गीदीहरुसंग रोपीदा
रङग रङगमा शुत्रपात भएकाछन् अस्तित्वहरु
आश्चर्य होइन त्यो आठौं
श्रृङखला हो श्रृङखला सभ्यता उधिन्ने पाइतालाको
उदाउनु देखि अस्ताउनु सम्मको
यात्रा
घरको दैलो नाघेर
जव मिसिन्छ गल्छेडा हुँदै चोकमा
तव निलिदिन्छ भीडले
उसको सम्पूर्ण परिचय
अनि नेपथ्यमा
घुम्न थाल्दछ भोगाईका रोटेपीङहरु
रङगमञ्च पछाडीका रङगमञ्चहरु
दर्शकहरुको दृष्टि भन्दा सुदुर दुनियामा
झुलुक्क देखिए पनि
चासोले छोप्दैन कसैलाई
तर त्यहाँ झन
कडा आदेश स्विकार्नु पर्छ
कडा नियम पालना गर्नुपर्छ
एकपल जीउँदो रहनको लागि
जोखीम उठाउँनु पर्छ
हैरानी मोल्नु पर्छ
यो वास्तविकताको
हरेक पाटा पाटामा
एउटा आफ्नै सानो संसार
बचाउको निम्ति
अनायासै निरीहताले
ठुलै आयतन ओगटेपछि
अभियोग विनाको सजाय भोग्नु
कति अन्याय !
तर अन्याय पनि न्याय नै हुन्छ
त्यो परिस्थितीले धकेल्दा
त्यो वाध्यताले कुल्चदा
त्यसैले
देखिन्न यहाँ साग्लो शरीर
चिनिन्न यहाँ साग्लो अनुहार
विना हुलियाको मेरो अस्तित्व
तै पनि छन् इन्द्रिय जनेन्द्रियहरु
छन् चेतना र विवेकहरु
अथवा सम्पूर्ण जीवन
तसर्थ
नखन्याए हुन्छ सहानुभूतिले
मेरो सतहमा
मेरो परिवेश
म त्यो कमसल माटो होइन
भत्केर पहिरो जाने
यो व्रमाण्डको
कुनै गोलाद्धमा
कुनै ध्रुवमा
आफ्नै तरिकाले नाप्छु अन्तहिन गोरेटो
उमेर भन्दा लामो
प्रत्येक दिन दुर्इ पाईलाले

नारायणहरु र नारायणहिटी

केशर थुलुङ

सदियौंदेखि उही किनारामा उभिएर
आफूलाई वरीयता ठान्ने
हाम्रो आस्था र अस्तित्वमाथि
झुटको खेती गर्ने
न्याय विरुद्धको
व्रि्रोहको हुँकार निकाल्ने
संस्कृतिको अस्मितामा
भयानक आँधी ल्याउने
ती नारायणहरु ढल्नु थिए
र, टुक्रा-टुक्रा भएर भत्किनु थियो नारायणहिटी

कति निर्लज्ज, कति कठोर- नारायणहरु
अधिराज हुन पाएकोमा
अधिनायक हुन पाएकोमा
कम्ति उमङ्गित थिएनन्
र त रचेर षडयन्त्र
कालो मसिको सट्टा
लेखे, निर्दोष-निमुखाहरुका
राष्ट्रलाई आहुती दिनेहरुका
रातो रगतले इतिहास
र कत्ति पनि नहिच्किचाई
उनीहरुलाई नै खर्लप्प निले
नारायणहिटीले पनि

जसले
गाउनु पर्ने थियो गाथा- वीरताको
कदर गर्नुपर्ने थियो- राष्ट्र र राष्ट्रियताको
तर आफै दक्षिणपन्थ बनेर
फैलाए हैजाको महामारी
र नङग्याए हाम्रो अखण्डतालाई

गल्ती यही नेर त गरे- नारायणहरुले
र यही नै ठूलो भूल भयो- नारायणहिटीको
आखिर ढल्नु थिए नारायणहरु, ढले
भत्किनु थियो नारायणहिटी, भत्क्यो
नत्र हामी पनि सिकार हुन्थ्यौँ
उही गोप्य मानसका
र खजाना हुन्थ्यौँ नारायणहिटीको ।

युद्ध र नयाँ नेपाल

टोप बहादुर रार्इ

गरिबीले पोरिरहेका भुप्राहरुमा
मलम बनेर हिजो एउटा यूद्ध भित्रिएछ
भोकमरीले तडि्परहेका आत्माहरु
कयौं आशा र सपनाका तरङ्गले
फेरि एक पटक जागे होलान् ।

तर, तर फेरि मर्दैरहे आज ति निरीह आत्माहरु
धेरै भाछैन जंगलबाट शहर पसेको
यूद्ध सकिए जस्तो छ यूद्ध गर्नेहरुलाई,

फेरि, फेरि आज अर्को यूद्ध छेडिए जस्तो छ
तराईमा, लिम्बुवानमा, तमुवानमा.....
यूद्ध फेरि गरिबकै झुप्रोमा सल्किए जस्तो छ
लाठा, भाला, खुकुरी र बन्दुकहरु
उहि गरिब हातहरुमा
मोर्चा अनेक छन्
सिद्धान्त फरक ढंगका
तर, तर श्वार्थ एउटै जस्तो देखिन्छ
परेड खेल्दैछन् ति योद्धाहरु
गाउँका आँगनहरुमा
लेक, बेसी र तराईका फाँटहरुमा ।

कखरा र एबीसीडीका भर्याङ्गहरु उक्लिन नपाएर
कठै आजको एकाईसौं शताब्दीमा पनि
बुढी औंठाको ल्याप्चे ठोक्न बाध्य हर्केहरु
आज कलम समाउन नपाएको झोकमा
कमरेड हिमाल बनेर
बन्दुक समाउँदै छन्
जीउने स्वतन्त्रताबाट बन्धक
चुलो र चौकोमा थेचिएकी गौंथलीहरु
कयौं सपनाहरु पाल्दै
आज कमरेड गंगा बनेर
घोक्दैछन् युद्धका पाठहरु
हिमाल, पहाड र तराईका फेराहरुमा
बगाउँदैछन् रगत र पसिना
देशका लागी भनेर ।

मुल्यहिन छन् कमरेड हिमाल
ति तिम्रा रगत र पसिनाहरु यहाँ
बेकार हुनेछन् कमरेड गंगा
ति तिम्रा बलिदान यहाँ
तिम्रो रगतमा पौडिएर तिम्रै बिचार मार्नेहरुले
कोर्ने छैनन् अब नयाँ संविधान
तिम्रो लासलाई कुल्चिएर आफ्नो श्वार्थ भर्नेहरुले
बनाउँने छैनन् अब नयाँ नेपाल ।

हङ्कङ्