नाच्ने पर्ब तीज

उषा गिरी

बर्षा ऋतुको बिदाइ र
सरद ऋतुको आगमन सङ्गै
थकाईको अनुभुतिलाई बिर्सेंर
मदमत्त भएर उर्लने सागर झै
बैसालु रहर साट्न
मादलुको घिन्ताङ्गे तालमा रमाउन
मीठामीठा लोक गीत गाउदै
खुला पहाड र कर्मशील बस्तीहरुमा
छमछमी आएकी छौ तीज ।
आँखामा असीम करुणा र प्रेम पालेर
हामी उमङ्गका पारखीहरुको माझ
बिखन्डित नभै
मन्द मुस्कान छर्दै
सुन्दर हत्केलाहरु फैलाएर
हावाको मिठो स्पर्श सङ्गै
रौनक र चमक लिएर
आएकी छौ तीज ।
मुस्कान पोतिएको ओठ
लालीले रङ्गिएका गाला
गाजलुले पोतिएका
गहिरा नयन
रातो चुरा र रातै गहुनमा
आभुषणहरुबाट बिभुषितभै
निरासाका पुराना स्मृतिहरुलाई
पन्छाउदै उल्लासमय भएर
अगरबतीको सुगन्ध भएर
आएकी छौ तीज।
ओइलिदै पलाउदै र पहेलिदै
बिभिन्न प्रलाप सहदै
तमाम दिदी बहिनीको माझ
शरीरको सारा बैस फुलाउँदै
आएकी छौ तीज।
अदम्य उत्साह बोकेर
यो बिछट्टै रङ्गीन र उर्बर समयमा
थुम्का र बस्तिका फेदीहरुमा
भावनामा छताछुल्ल पोखिदै
चकित र उल्लासित भएर
आँखा नझिम्क्याइ नौलो क्षण लिएर
असिनपसिन गर्दै मिर्मिरे बिहानी
आएकी छौ तीज ।
जिन्दगी र समयको दोसाधमा
थकाईको साईनो गास्तै
जीबनका पलहरुमा
खुशीका बेगमय पारामा
निरुत्तर कुइनेटोको ढुङ्गेनी ओरालिमा
मन भरि यौबन फक्राउदै
आएकी छौ तीज ।
तिम्रो यो आगमनलाई
यो नाच्ने गाउँने महोत्सबको शुभकामना ।

ब्रसेल्स, बेल्जियम

No comments: