अन्तहिन गोरेटा र दुर्इ पाईला

टंक सम्वाहाम्फे

नाप्दै अन्तहिन गोरेटो
हिड्छु प्रत्येक दिन दुर्इ पाईला
नाघ्दै समयका अनगिन्ति मोडहरु
गुड्छु सवारी साधनहरुले किचिएर सडक
कावा खेल्दै वेलाबखत
उड्छु शुन्यकासमा पखेटा
यहाँ अनेकौ विचारका चोक्टाहरु
भुटेर भकुण्डो खोपडीमा
मुछ्दै विमर्शका दाविलोले
बाड्छु सबैलाई अन्तरचक्षुका टर्चलाईटहरु
म परिधी
मेरो घर
गोरेटो
सडक
आकासले तुनिएका क्षितिजहरु
आफ्नै यथास्थितीको वनावटमा
समान पाईलाहरु माथी
पृथक पृथक गीदीहरुसंग रोपीदा
रङग रङगमा शुत्रपात भएकाछन् अस्तित्वहरु
आश्चर्य होइन त्यो आठौं
श्रृङखला हो श्रृङखला सभ्यता उधिन्ने पाइतालाको
उदाउनु देखि अस्ताउनु सम्मको
यात्रा
घरको दैलो नाघेर
जव मिसिन्छ गल्छेडा हुँदै चोकमा
तव निलिदिन्छ भीडले
उसको सम्पूर्ण परिचय
अनि नेपथ्यमा
घुम्न थाल्दछ भोगाईका रोटेपीङहरु
रङगमञ्च पछाडीका रङगमञ्चहरु
दर्शकहरुको दृष्टि भन्दा सुदुर दुनियामा
झुलुक्क देखिए पनि
चासोले छोप्दैन कसैलाई
तर त्यहाँ झन
कडा आदेश स्विकार्नु पर्छ
कडा नियम पालना गर्नुपर्छ
एकपल जीउँदो रहनको लागि
जोखीम उठाउँनु पर्छ
हैरानी मोल्नु पर्छ
यो वास्तविकताको
हरेक पाटा पाटामा
एउटा आफ्नै सानो संसार
बचाउको निम्ति
अनायासै निरीहताले
ठुलै आयतन ओगटेपछि
अभियोग विनाको सजाय भोग्नु
कति अन्याय !
तर अन्याय पनि न्याय नै हुन्छ
त्यो परिस्थितीले धकेल्दा
त्यो वाध्यताले कुल्चदा
त्यसैले
देखिन्न यहाँ साग्लो शरीर
चिनिन्न यहाँ साग्लो अनुहार
विना हुलियाको मेरो अस्तित्व
तै पनि छन् इन्द्रिय जनेन्द्रियहरु
छन् चेतना र विवेकहरु
अथवा सम्पूर्ण जीवन
तसर्थ
नखन्याए हुन्छ सहानुभूतिले
मेरो सतहमा
मेरो परिवेश
म त्यो कमसल माटो होइन
भत्केर पहिरो जाने
यो व्रमाण्डको
कुनै गोलाद्धमा
कुनै ध्रुवमा
आफ्नै तरिकाले नाप्छु अन्तहिन गोरेटो
उमेर भन्दा लामो
प्रत्येक दिन दुर्इ पाईलाले

No comments: