ताजा खवर

दिव्य गिरी

भिन्न भिन्न भेषमा
कालो 'सुटकेश' बोकेर
बाहिरिंदै संसद भवनबाट
हाँस्दै-हाँस्दै हतार हतार
टेलिभिजनको क्यामरा अगाडि उभिएर
ङीच्च दाँत देखाउँदै नेता भन्न थाल्छ
हामीले जे जति गरेका छौं
त्यो सबै जनताको लागि
केवल जनताको लागि ।

यो देशको इतिहास पढ्नुस्
हामीले यो देशबाट
राणासंगै एकतन्त्र हटायौं
राजासंगै राजतन्त्र हटायौं
र सट्टामा बहुतन्त्र हटाएर
लोकतन्त्र ल्यायौं
यो भन्दा बढी के गर्न सकिन्छ ?

यता नेता छाति फुलाएर
आफ्नो पौरख सुनाइरहेथ्यो
उता सडकपेटीमा उभिएर
गाउँले यौटा सानो केटो
घोक्रो फुलाउँदै भनिरहेथ्यो
लौ आयो आजको ताजा खवर
अपहरणको खवर !
आतङ्कको खवर !
हत्याको खवर !
भ्रष्टाचारको खवर !
लोकतन्त्रको नाममा
लुटतन्त्रको खवर !
सुशासनको नाममा
गुण्डाराजको खवर !
आयो आयो आजको ताजा खवर
तीन रुपैंयामा सन्सनीपूर्ण खवर
नयाँ नेपालको नयाँ खवर ।

५ भाद्र २०६८

No comments: