रातो कविताको लास


हाङयुग अज्ञात

मेरो बुवाको रगतले हिमाल रङ्गीएको छ रातो
मेरो आमाको रगतले तर्राई रङ्गीएको छ रातो
मेरो दाजुभाइ र दिदीबहिनीको रगतले पहाड रङ्गीएको छ रातो
मेरो छोराको रगतले सडक रङ्गीएको छ रातो
मेरो छोरीको रगतले निधार रङ्गीएको छ रातो

उनीहरूको शरीरमा लागेको रातो
उनीहरूको आफ्नै रगत होइन
त्यो कसैको बुवा, कसैको आमा
त्यो कसैको दाजुभाइ, कसैको दिदीबहिनी
त्यो कसैको छोरा, कसैको छोरी
अथवा यो देशमा
सदियौंदेखि जिन्दगी बाँच्दै आएका
ती अबोध मानिसहरूको रातो रगतले
यतिबेला उनीहरूको अनुहार रङ्गीएको छ रातो
हाम्रो अनुहारतिर पनि त्यो रातो अलिकिती उछिटि्टएको छ
त्यो रगतको थोरै अंश
हामी प्रतेक जिउँदाहरूको भागमा जरूर परेको छ
त्यो पूण्य हो भने पनि भाग लागेको छ
त्यो पाप हो भने पनि भाग लागेको छ
सायद यसकारण उनीहरूको जस्तै यतिबेला
मेरो पानी रङ्गको मस्तिष्क पनि पुरै रातो भएको छ !

ओ, मेरो अभागी बुवा
तिमीले स्कूलमा नानीहरूलाई के पढायौ -
नेपालको इतिहास भनेर वंशावली पढायौ -
कि पढायौ मार्क्स, लेलिन, स्टालिन र माओलाई -
हो, तर मलाई थाहा छ बुवा
शासकहरूले जुन पुस्तक पढाउनु भनेर दिएका थिए
शतप्रतिशत तिमीले तेही पुस्तक पढायौ
तर तिम्रा विद्यार्थीहरू टिफिनमा शितल ताप्ने
त्यो लहरे बरको रूखमा
कुनै शहीदलाई जस्तै तिमीलाई झुन्ड्याएर
उनीहरूले पर्खिबसे गिद्घहरूको घिनलाग्दो पल्टन
हो, उनीहरूले तिम्रो जिउँदो शरीरबाट छाला काढे
र आफ्नो लागि कोट सिलाए
तिम्रो नसा तानेर घाँटीबाट
उनीहरूले आफ्नो लागि पेस्तोल भिर्ने पेटी बनाए
तिम्रो खबटा खप्परको बम बनाए
तिम्रो गिलो गिदीको बारूद बनाए
तिम्रा धारिला करङहरू निकालेर तरबार बनाए
तिम्रा सुरिला नलिहाडहरू निकालेर बन्दुक बनाए
उनीहरूले अहिले जुन थाकका थाक फूलमाला
भिरिरहेका छन घाँटीमा र विजय मुस्कान छाडिरहेका छन्
हेर्नु राम्रोसित
त्यो फूलको माला होइन
मेरो बुवाको आन्द्रा हो
त्यो सयपत्रीको थुँगा होइन
मानव खप्पर हो
त्यो विजय मुस्कान होइन
मेरो बुवाले यातनामा बिगारेको
मुखको मूर्त चित्र हो
ओ, मेरो अभागी बुवा
म ति म्रो लागि सत्ता कब्जा गर्न सक्दिनँ
म फगत सक्दछु कवितामा तिम्रो पीडा बक्न
तर उनीहरूलाई यो कविता पनि मन पर्दैन
किनभने उनीहरू शासकहरू हुन्
र शासकहरूलाई हतियार मात्रै मन पर्छ
तर मेरा कविताहरू हतियार बन्नसक्दैनन् बुवा !
र म उनीहरूको छाला काढ्न सक्दिनँ बुवा
उनीहरूको छाला काढेर म
उनीहरूजस्तै शासक हुन सक्दिनँ बुवा
किनभने म कवि हूँ
कवि जसलाई शासकहरू अग्घोर घृणा गर्दछन्
हो, बुवा तिमीलाई जसले कक्षा कोठाबाट घिसारेर
सरेआम झुन्ड्यायो अन्यायको डोरीले
ऊ यतिबेला राष्ट्रपतिको जुँगा मुसार्दैछ,

हो, मेरो आमा
तिम्रो सिउँदोमा लागेको रगत
मेरो बुवाको हो, ति म्रो लोग्नेको हो
आमा, आमा, आमा अब तिमीले बहुलाउनु जरूरी छैन
हेर चारैतिर रगतैरगत छ
रगतैरगत छ मतपेटिकामा
रगतैरगत छ निर्वाचनचिन्हमा
रगतैरगत छ उम्मेदवारहरूको आँखामा
रगतैरगत छ संविधानसभा सदस्यहरूको हातमा
आमा, तिमीलाई हिजो जसले घिसारिघिसारी पिट्यो
ऊ आज न्यायको प्रतिमूर्ति भएको छ
जसले हिंसाको दर्शनलाई प्रयोग गर्‍यो सोझा मनहरूमा
आज ऊ नै अहिंसा रोल मोडेल भएको छ
आमा अब तिमी बहुलाउनु जरूरी छैन
हेर यी शासकहरूको रूप
र उनीहरूको बद्लिदैँ जाने विचारको बादल
हेर उनीहरूको बन्दुक र सैनिक
हामीले मानिस भएर बाँच्न पाउनु पर्छ
तर यी शासकहरू हामीलाई शासित बनाउन कटिबद्घ छन्
आमा अब हामीले शासित हुनु छैन
उठ्नुहोस् र आफ्नो लोग्नेको रगत लागेको
उनीहरूको बहुमतलाई खित्का छोडेर हाँसिदिनुहोस्
यी शासकहरू हाम्रो रगत बगाउँदै सत्तामा पुग्छन्
र अचानक बुद्घ भएको अभिनय गर्दछन्
आमा तिम्रो यो छोरा शासक होइन
कवि हो, कवि
जसलाई पढेर शासकहरूको मुटु हल्लिन्छ
तेसैले अब तिमीले बहुलाउनु जरूरी छैन
तिम्रो छोराले शासकविरूद्घ कविता वाचन गर्छ
तिमी उनीहरूको चित्त चर्किने गरी ताली पड्काऊ !

मेरो दाजु हलो जोत्दाजोत्दै बारीमा ढल्यो
माथि कान्लाबाट छलाङ हान्दै आए मेरा भाइहरू
मेरा भाइहरूले आफ्नै दाजुको शरीर कुल्चेर
आफ्नै बुवा, आफ्नै आमाको प्राण लुछेर
रङ्ग्याए रगतले शासकहरूको झोला र झन्डा
रङ्ग्याए मेरा भाइहरूले आफ्नै छातीको रगतले
शासकहरू निदाउने कुर्सी
शासकहरू डकार्ने टेबुल
शासकहरू सुरक्षित बस्ने सरकारी क्वार्टर
रङ्ग्याए मेरा भाइहरूले आफ्नो हेमोग्लोबिन सुकेको रगतले
शासकहरूको सत्तापथ, शासकहरूको जुलुस
विचारा मेरा भाइहरू आफू मरेर
मलाई ज्यूँदो छाडे
यी कोखमै दारा पलाएका शासकहरूको चर्तिकला हेर्न
र मलाई छाडे उनीहरूले एक अम्खोरा रगत
जसले म लेखिरहेको छु मेरा शहीद भाइहरूको नाममा
यो शासक विरोधी कविता
आफ्नै दाजुको टाउको छिनाएर भकुन्डो खेल्ने
मेरो भाइको आत्माको शान्तिको लागि
लेखिरहेको छु यो रगतैरगतले रङ्गीएको कविता
तातो कविता, रातो कविता, जाँठो कविता
लेखिरहेको छु हज्जारौं अकाल मृत्युहरूको सम्मानमा
यो दुर्गन्धित लासहरूको कविता, प्रचण्ड कविता !

हो, दिदी मलाई थाहा छ
ति म्रो बहिनीलाई ती शासकहरूका भरौटेहरूले
जबरजस्ती बन्दुक बोकाए र जङ्गलमा लगेर बलात्कार गरे
र नैतिक कारवाही गर्दै श्रम शिविरमा राखे
र प्रतेक क्षण बलात्कार गरे
दिदी, त्यो तिम्रो बहिनीको रगतले रातो भएको पहाडमा
यतिबेला उसको सम्झनामा गीत गाउने
झ्याँउकिरीहरू पनि छैनन्
ती उता शासकहरूको सवारीमा सङ्गीत भर्दैछन्
शासकहरूले प्रतेक उद्घाटनमा जो रिबन काट्दछन्
म देख्दछु उनीहरूले मेरो बहिनीको इजार काट्दैछन्
उनीहरू जो मैनबत्ती या पानस बाल्दछन् सम्मेलनमा
म देख्दछु मेरो बहिनीका आँखाहरूले बोल्ने
पीडा र विद्रोहको संयुक्त अभिव्यक्ति
हो, मेरो बहिनीलाई जसले आँखा थुनेर
यो संसार देखाउने प्रयत्न गर्‍यो
र मेरो दिदीलाई भीडन्तमा गोली ठोकेर
दुश्मनको गाली दियो शासकका बन्दुकहरूले
म यतिबेला मेरो दिदी र बहिनीको रगतले
यो सालको भाइटिका लगाउने मुडमा छु
तेसैले लेखिरहेको छु यो हिजोको बासी कविता
इतिहास बिर्सिन नसक्दा लेखिरहेको छु आजको ताजा कविता
लेखिरहेको छु शासकको मस्तिष्कमा
उसले जिउँदै जलाएका मानिसहरूको चित्कार व्यथा
लेखिरहेको छु सामान्य कविता
मेरो दिदीबहिनीहरूको रगतजस्तै सोझो कविता,

स्कूल जाँदै गर्दा मेरो छोरा पनि ढल्यो
मेरो छोरी आँगनमा खेल्दै गर्दा अपाङ्ग भयो
के उनीहरूले मेरो छोरा फर्काउन सक्छन् -
के उनीहरूले मेरो छोरीको खुट्टा फर्काउन सक्छन् -
के उनीहरूको दस लाखले दसौं हजारको जीवन फर्किन सक्छ -
के उनीहरूको बहुमतले शहीदहरूको फेहरिस्त रोकिन सक्छ -
अब शासक र राज्यलाई दिने
मसित मेरो बुवा छैन
मेरा आमा छैन, मेरो दाजुभाइ र दिदीबहिनी छैन
शासकहरूको कुर्सी दौडका लागि
सडकको आन्दोलनलाई चढाउने मसित
मेरो स्कूल जाने छोरा छैन
उनीहरूको एम्बुसका लागि मेरो दुइ बर्षे छोरी छैन
मैले देशलाई धेरै शहीदहरू दिएँ
तर अब मसित शहीदहरू सकिएका छन्
ए ! शासकहरू हो
अब मानिसहरूको बदलामा कविताहरू उभिएका छन्
के सक्छौ कविताको छाला काढ्न -
के सक्छौ कवितालाई कक्षाकोठाबाट घिसार्दै चुप्पी रोप्न -
के सक्छौ कविताको योनीमा भाला घोंच्न -
के सक्छौ कवितालाई शहीद घोषणा गर्न
र कविलाई दस लाख दिन -

यतिबेला देश रातो छ
हिमाल रातो छ/पहाड रातो छ/तराइ रातो छ
बतास रातो छ/आकास रातो छ/माटो रातो छ
आगो रातो छ/पानी रातो छ/स्वर्ग रातो छ/नर्क रातो छ
र रातो छ मेरो कविता
र रातो छ मेरो मन
र रातो छ मेरो मस्तिष्क
र रातो छ मेरो आँखा
किनभने हिजोरातभरि मलाई निन्द्रा लागेन
मैले रातभरि सोचें
मानिसहरूले किन यत्ति चाँडै बिर्से
आफ्नो रातो रगतको रातो नदी
जसलाई उनीहरूले हाम्रो हाडखोरको डुङ्गा बनाएर तरे
मानिसहरूले किन बिर्से शासकहरूको चरित्र -
किन बिर्से बन्दुकको दवास -
किन बिर्से आफैलाई -
सलाम, लाल सलाम, क्रान्तिकारी लाल सलाम !
ओ, मेरो देश ! तिमीलाई क्रान्तिकारी लाल सलाम !!
हो, सत्ते कसम !
यो रातो कवितामा सकेँ मैले सप्पै रगत
अब मसित एक थोपा रगत छैन ।

No comments: