धरहरा

केशर थुलुङ

सायद,
अग्लो हुनुमा गर्व गर्छ होला
शान्त रहनमा समुद्रजस्तै ठान्छ होला
स्थिरतामा अडिग पहाडजस्तै मान्छ होला
आफूलाई

कैयौँ जीवनहरु माटो बनिसके
कैयौँ सम्झनाहरु मनुवाबाटै हटिसके
कैयौँ पटक ऋतुहरु फेरिसके
कैयौँ खोज-अनुसन्धानहरु इतिहास बनिसके
मुर्छित समयको आगमनले कैयौँ विध्वंसकहरु भए
अझै जारी छ/जारीरहनेछ त्यो समयसम्म
तर १८१८ सालदेखि
त्यसरी नै चुपचाप उभिरहेको छ
यो धरहरा

हुन त इतिहास रचेको छ
नेपाल र नेपाली अखण्डताको
नेपाल र नेपाली सदभावको
नेपाल र नेपाली सभ्यताको
उदाउने निष्ठाका चन्द्र-सूर्यजस्तै
नढल्ने आस्थाका शिखरहरुजस्तै

तथापि मान्यता हो
उत्तरआधुनिकतामा
फड्को मारेका हामी
हाम्रो मार्गमा
असली मार्ग निर्देशक बनेर- डोर्याउनु
हाम्रो निर्माणमा
असली निर्माता बनेर- जुटाउनु
हाम्रो राजनीतिमा
असली राजनीतिज्ञ भएर- देश हाँक्नु
हाम्रो लेखाईमा
असली लेखक बनेर- लेख्न सिकाउनु
हाम्रो शिक्षामा
असली शिक्षाविज्ञ भएर- शिक्षा प्रदान गर्नु
यो सहकार्यले फेरि पनि
अर्को एउटा कीर्तिमान तोडिनेछ- तिम्रो
अर्को एउटा कीर्तिमान बनिनेछ- तिम्रो

No comments: