संवाद

मुकेश राई

-सुन थुप्रै ल्याउनु भो होला ? मलाई पनि दिनुहोस ल !
अहं मैले ल्याईन सुन !
-अनि परदेशमा थुप्रै फल्छ भन्छन त !
म पनि यस्तै सोच्थें तर होईन रहेछ,
बरु म त तिमीलाई एउटा विरह गीत दिन सक्छु
त्यहाँ तिमीले
आफ्नै गाउँघर र पाखापर्वतका सुगन्ध मिश्रित भावहरुमा
परदेशीहरुका पीडायुक्त कोरस र व्यथाका शोक धून पाउने छौ
मेची र कालीका सुसाईका लयहरुसंग
गुन्जिरहेका वियोगी चित्कारका मुर्छनाहरु सुन्नेछौ !

-उसो भए पैसा र नया लुगाफाटाहरु नि ?
सक्तिन मेरो भाइ त्यो पनि,
बरु म तिमीलाई एउटा कविता दिन सक्छु
त्यहाँ तिमीले परदेशीहरुले पच्छ्याईरहेका आत्माहीन सपनाहरु
अनि बेरंग रहरहरु पाउनेछौ
बाँच्नुको सार्थकता खोज्दै
ईच्छाका पहाड चढन उक्लिरहेका पाईलाहरु भेट्नेछौ
जीर्ण मुस्काउन खोजेका फूलहरुका उदास कहानी जस्तै
बिरानो भूमिमा छातीभित्र सल्किरहेको
बाध्यताका बिम्ब, प्रतिबिम्बहरु देख्नेछौ
हो, म तिमीलाई यहि कविता दिन सक्छु !

-उसो भए स्वादिलो खानेकुरा नि ?
खै तिमीलाई मन पर्ला नपर्ला
त्यसमा मैले बिरानो माटो सिंच्ने पसिनाको गन्ध
वेदनाले रसाएका आँशु हुनेछ !
यसैमा तिमीले, प्रवासीका खुशी छेक्ने काँडेतारहरु
जटिल र विषमताको हातीबारहरु देख्नेछौ
यसैले म उसै भन्न सक्दिन यसको मोहकतामा
झ्यागिएका अमरबेली झैँ दु;खका गाँस मन पर्ला नपर्ला !

बरु म तिमीलाई एउटा कापी र कलम दिन सक्छु
तिमीले त्यहाँ मुग्लानले निलेका दाजुको सम्झना लेख्न सक्छौ,
नियास्रो मन र सन्त्रास बोकेर रुँदै
सिमाना काटेकी चेलीको विलौना कोर्न सक्छौ
निराधार बोक्सी आरोपित अबलाहरुको चित्कार बयान गर्न सक्छौ
अनि वादी र छाउपडी कुप्रथाले ग्रसित समाजको चित्रण उजागर
गर्दै युगान्तकारी आव्हान गर्न सक्छौ !

म तिमीलाई कुची र रंगहरु दिन सक्छु
जसले तिमीले तिम्रो स्वच्छ मनको क्यानभासमा
स्वदेशको सिंगो तस्विर उतारेर
आफ्नै नदीनाला, झरना र छहरा पहरा कोर्न सक्छौ
त्यहाँ आफैले चाहे जस्तो रहर र देखे जस्तो सपनाको रंग भरेर
सुन्दर जीवनको मूर्त, अमूर्त तस्विरमा
माया, प्रेम र सदभावको सजीव उज्यालो छर्न सक्छौ !

तिम्रा ति आव्हान र अमुर्त तस्विरहरुले
नव पिड़ीमा ज्यूँदो अग्नि ज्वाला छर्न सकोस
ति युगिन दस्तावेज बनेर जागृतिको संदेश बोकी
नेपाली आकाशमा नयाँ रंग छर्न सकोस !
म यहि शुभकामना मात्रै दिन सक्छु !

ईलाम हाल बेलायत

गीत

कृष्णकला वनेम

अधुरो भो अपुरो भो ,जिन्दगी यो किन ?
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन ?

भाग्य खोजी हिड्दा हिड्दै ,थाकी सके अब ,
सन्सार छोडी जाउ लाग्छ ,अन्त कतै पर ,,
जहा हिड्छु बाटो मेरो ,भत्कि दिन्छ किन ?
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन ?
अधुरो भो ………………………………

अरु जस्तै सङ्घर्ष त ,गरेकैछु मैले पनि ,
असफल हुन्छु किन ,जिन्दगीमा जैले पनि ?
जहा रोप्छु सपना मेरो ,ओईली झर्छ किन ?
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन ?
अधुरो भो ………………………………

9/5/2011,Monday………

छेपाराको घर

दिव्य गिरी

छेपारो दिनभर आहाराको खोजिमा भौंतारिन्छ
जब थकाईले लखतरान हुन्छ
तब साँझपख आराम गर्न बास खोज्छ
अनि मात्र उसलाई घरको सम्झना आउँछ
तर उसको घर नहुँदा दुखित हुन्छ
चकमन्न साँझ परेपछि कराउन थालेका
झयाउँकिरीको विरत्त लाग्दो स्वर
भ्यागुताहरूको टर्र..टर्र..टर्र आवाज
र श्यालहरूको एकोहोरो क्रन्दन
सुनेर छेपारो आहत हुन्छ
अनि ऊ आफैसँग प्रण गर्छ
भोलि त घर बनाउँछु बनाउँछु
अनि आफैलाई ढाढस दिन्छ
मेरो पनि भोलि त घर हुन्छ ।

छेपारो घर बनाउने कल्पना गर्दागर्दै
दिनभरको थकाईले भुसुक्क निदाउँछ
र रातभर घर बनाएको सपना देख्छ ।

जब झलमल्ल उज्यालो हुन्छ
छेपारो फेरि आहाराको खोजीमा दौडिन्छ
र अघिल्लो साँझ गरेको प्रण भुसुक्क भुल्छ
घर बनाउने कुरा उसको मनबाट
साँझपख हराएको रुखको छायाजस्तै हुन्छ ।

हिजोआज म गाउँ-घर र शहर बजारमा
अनगिन्ति छेपाराहरू देख्छु
जो सधैं घर बनाउने कसम खान्छन् ।

छेपाराहरूको जुलुस
सधैंजसो झण्डा ठडाएर
सधैंजसो ठूलाठूला तुल बोकेर
नारा लगाउँदै
सडक, गल्ली र चोकचोकमा हिँडिरहेका हुन्छन् ।

छेपाराहरू कालो मोटरमा
कालै शिसाले छेकिएर
सिहँदरवार भित्र-वाहिर आवत-जावत गरेको भेटिन्छ
खुलामञ्चमा भाषण गरेको पनि देखिन्छ
यस प्रकार हिजोआज म
जहिँतहिँ छेपाराहरू मात्र देख्छु
कहिलेकाहीँ म स्वयम् तिनीहरूको भीडमा
च्यापिएर हिँडिरहेको हुन्छु
र तिनीहरूको भीडभित्र हराइरहेको हुन्छु ।

सत्य भन्नुपर्दा यथार्थमा
छेपारो पीडित छु म ।

हिजो साँझ हो
मैले छेपाराहरूको यौटा ठूलै झुण्डलाई
विशाल भवनको मूल ढोका अगाडि
घर बनाउने मुद्धामा झगडा गरिरहेको देखें
तर महाशय,
यो कुरा पक्का छ
छेपारोले कहिले घर बनाउँदैन
ऊ प्रत्येक साँझ
भोलि घर बनाउने किरिया मात्र खान्छ ।

टीकाथली-५, ललितपुर
भाद्र ७, २०६८

यो शहरमा

पञ्च विस्मृत

यो ठूलो शहर
जहाँ, घर जस्ता कुनै घर छैनन्
मान्छे जस्ता मान्छे छैनन्
सडक जस्ता सडक पनि छैनन्
विजुलीबत्ती केही छैनन् ।

यो ठूलो शहर
जहाँ, परिवारको एक मुट्ठी माया छैन
एक दूर्लभ रातको लागि
सखिको आकारहीन छायाँसम्म छैन
हतारको एक पल बिताउँने
सिकुवा र पिंढी केही छैनन्

यो ठूलो शहर
त्यसै मात्तिएको मैमत्ता शहर
जहाँ, म बर्षौंदेखि
सिर्फ एक जुनीलार्इ बस्ने घर खोजिहेछु
यो मन छुने मान्छे खोजिरहेछु
एक जिन्दगी हिंड्ने सडक खोजिरहेछु
हो, आफ्ना भोलि ऒझ्याउँने ल्याम्पपोस्ट खोजिरहेछु
यो शहरमा ।

दम्माम साउदी अरेबिया सेप्टेम्वर १० २०११, भदौ २४ २०६८ शनिवार

दृश्य


वैद्यनाथ उपाध्याय

अचानक
नाटकको दृश्य बदलिए जस्तै
बदलिन्छन घटनाक्रमहरू
मैले सोचेको
चाहेका धेरै सपनाहरू
आकार लिन नपाउँदै
फेरिए जम्मै उर्वर प्रदेशहरू
ठूल्ठूला आशाका
पहाडहरूले थिचिएर
विशृंखलताको पैह्रो लागेको
यो समय
जताततै अराजक शंखनाद!
रचनात्मकताको
एक मुट्ठी बिउ छरेर
सुनौलो फसलको
अपेक्षामा रित्तिएको समय
कस्तो दृश्य यो
आशंकाहरूले नजर धमिलिएको बेलामा।

आँधी बेरीमा
संक्रमणको आँधीबाट
गुज्रदैं छ समय!
ढोका खुल्दैछ
नयाँ नयाँ विश्व बजारको
अब त हामी आँफैं
किनिने र बेचिने पनि
भै सकेछौं।
तिम्रो शिप र खुबी को भाउ
तिम्रो दिमागको पनि
भाउ तोक्ने छ बजारले
सहानुभूति,दया,ममताको
उठिबास नै भै सकेछ
खै अब यो जीवन
निर्जीव यन्त्र सरह
घिस्रिंदैछ
कसैले थिच्दछ बुटाम कहीं
अनि खुल्नेछौं, दगुर्नेछौं
फेरि बन्द हुनेछौं
यो कस्को समय हो?
खै, अब त हैकिंग भै सके जस्तो छ
यो दिमाग पनि
मेरो आफ्नो भन्ने रह्यो नै
के र अब यो
आँधी बेरीमा!

रित्तो जीवन
जीवनका भोगाइहरू पनि
थुक्क-
कति दिक्क लाग्दा हुन्छन
कोई बेला त आफैंलाई
धिक्कार लागेर आँउछ
एकछिन अघिका खुसीका क्षणहरू
लगत्तै विरक्तिका भावहरूले
घेरिएका हुन्छन।
अनि हाम्रो खुसी
बिजुलीको झिल्का जस्तो
मात्रै हो त ?
सधैंभरी न पुग भएको भान
कसरी भरिएला
यो मनको घैंटो !
मैले चाहेको यो पनि हैन
त्यो पनि हैन
सूर्योदय देखि सूर्यास्त सम्मको
दौडमा भिडिएर
आज व्यर्थैमा रित्तिएजस्तो
लागेको छ
आफ्नै जीवन!

विडम्बना
दिन रात खुल्ने यी दृश्यपटहरूमा
आफ्नोपनको कहीं
केही आभाष सम्म पनि छैन।

च्वास्स च्वास्स दुखीरहेछ
कहीं भित्र भित्रै
उखेलिंदैं गरेका
आफ्ना जराहरू।

आकांक्षाका उर्लंदो
विकराल भेलहरूमाझ
मेरा थोपा थोपा इच्छाहरू
मिसएर कता बगे कता!

खै अब यो बासनाको
उर्लंदो भेललाई
अँजुलीभरी थापेर
यो मेरै चाहना हो भनेर
म कसरी भनुँ ?

मेरै जीवनका उकाली- ओरालीहरूलाई
एकाकार गरेर
भेल बगिरहेछ छताछुल्ल चारैतिर
मैले बाँचेको यो कस्को समय हो?
अगाडी खुल्दैछ भयानक दृश्यहरू
आफूसंग आफ्नै परिचयको
कुनै निसान सम्म पनि छैन
छातीका धडकनहरूलाई साक्षी राखेर
म अझै बाँचेको छु भनेर
कसरी भनुँ?

Note: -
परिचय
वैद्यनाथ उपाध्याय
जन्म: 28 सेप्टेम्बर 1967
जन्मस्थान: पाकृबाडी, उदालगुडी-784509, बीटीएडी, असम (भारत)
शिक्षा- मानविकी स्नातक, हिन्दी प्रवीण, पत्रकारिता एवं जनसंचारमा स्नातकोत्तर डिप्लोमा ।
प्रकाशित कृति : जुनेली(नेपाली काव्य संग्रह)1996,
गगन के उस पार(हिन्दी काव्य संग्रह)2010,
बिद्रोही(हिन्दी नाटकको असमिया अनुवाद)2010
सम्पादन- नौलोकोसेली(नेपाली मासिक) 1992-95, The Bodoland Voice(fortnightly)
इन्द्रेणी रच्ने हस्ताक्षरहरू(नेपाली रचना संकलन)
अनुवाद- हिन्दी, असमिया, बडो र नेपालीमा परस्पर नियमित अनुवाद।
संयोजक: कादम्बिनी क्लब, उदालगुडी, असम।
संपर्क: खांखलाबाडी, उदालगुडी-784509, बीटीएडी, असम, भारत।
email: bnuudalguri@yahoo.in, baidyanathupadhyaya06@gmail.com
mobile: 919435590014

जति सपना

कृष्णकला वनेम

जति सपना सजाउछु बालुवाको महल बन्छ ,
अग्ल्याउछु  जती माथी छाल सङ्गै ढल्छ

मुटु भरी चोट सही यहा मैले बाच्नु पर्ने
बिरहले जले पनि मैले यहा हास्नु पर्ने
खुशीहरु जहा रोप्छु टुसाएर ओईली दिन्छ
चर्किएर छाती मेरो आखा भरी आशु हुन्छ
जति सपना  ………………………………

एउटा जङ्घार तर्छु अर्को जङ्घार आउछ यहा
बाध्याताको साङ्लो सङ्ग जाउ अब मैले कहा
आशाहरु मनमा दुख्छन निरासाले छोपी दिदा
माझ धारमा पुर्याएर एक्लै मलाई  छोडी दिदा

जती सपना  …………………………………

9/6/2011,Tuesday………….

गजल

 
बसन्तमोहन अधिकारी
डीनरको स्वादलिदा लाली चढ्यो हरमा हजुर
प्रिय डिस्को डान्सतिर छोरो रोयो घरमा हजुर

तिमीले गर्दा सबै छुटे संगी फुटे मलाई नछेक
नाता हाम्रो लोग्ने स्वास्नी कायम छ दरमा हजुर

अंश लिनु अधिकार, स्वतन्त्रता महिला कानुन
अरुलाई पोसाएर नाच्छिन् मेरै थरमा हजुर

होटलमा केटाच्यापी भोलीपल्ट घरमा आउछिन्
भन्न पनि लाजमर्दो बाँच्नु कसको भरमा हजुर

नेपालको महिला कानुन बनाउने आफै जानुन
नेपालमा आजभोली रुवावासी वरमा हजुर

गजल

बसन्तमोहन अधिकारी

झुकेन मेरो शिर कहिल्यै नझुकाऊ तिमी पनि
खाँउ तिमी आफ्नै पसिना यि खेतवारी खनी खनी

नगर भेदभाव कहिल्यै, कसैलाई नहोच्याऊ
नेपाली कोखमा जन्मिएका आफ्नै सन्तान हुन् उनि

रोक्दै जाउँ भ्रष्टचारलाई यसै गरि सधैंभरी
अन्ना हजारी तिमी बन्नु नेपाली साथ छदैछनी

यहि लोग्ने मरे छोरा ढल्यो, स्वास मेरो अल्झिराछ
संविधान कुर्दै बसेकोछु रुँदै दिन गनि गनि

गाँउघरमा आँउ तिमी चन्द्र जस्तै शितल बनी
भन्छौ हामी बाबुराम ! तिमी नै हाम्रो भर भनि

चितवन

पत्रसाहित्य भाग - १

प्रिय क्रिसा
यो सुनौलो विहानीको नविन आगनबाट स्वागत छ ।
नयाँ युगको आगमनसंगै हामी जीवनको गहिराईमा डुब्ने प्रयास गरीरहेका छौ । हाम्रो जीवन यति महत्वपूर्ण रहेछ जो हिजो सम्म हामीले जीवन र जगतको कुरा बुझेका थिएनौ रहेछ । किनकी हामीले यो भावनाको,बिचारको,दर्शनको चौतारीमा बसेर मज्जाले छलफल गरेका थिएनौ रहेछ । तर आज तिम्रो बिचार,भावना र चाहनाको सामुन्ने वसेर जीवनलाई जान्न खोज्दा त्यहि कुराको आभाष भएको छ । कि जीवन यति मात्र रहेनछ भनेर । जति भोग्दै आयौ,देख्दै आयौ अनि त्यसलाई कुल्च्यौं । हामीले आफ्नै बिचारसंग सामान्यरुपले ब्याख्या,बिश्लेषण गर्दा त्यस्तो गाढा अर्थ राख्दैनथ्यो । तर वास्तविकता अर्कै रहेछ किनकी हामीले अहिले उहिलेको भन्दा जीवन वेग्लै जीउँदै रहेछौ र पछिका सन्ततीहरु अझ हामीले भन्दा अर्को जीवन जीउँनेछन् । किनभने यहि समयले आजबाटै नयाँ धुवको,नयाँ दिशाको रेखाचित्र कोरी सकेको छ । जुन समयलाई आत्मसाथ गरेर जीवनका उकाली ओरालीहरु यसरी नाघ्दै आएका थियौ र नाघ्दै जानु पर्ला भन्ने सोचेका थिएनौ । जुन वेला जसरी हिडेका थियौ त्यहि नै सम्पूर्ण यात्रा हो जस्तो लाग्थ्यो । अथवा एउटा जीवन चक्रले समेटेका पलहरु नै जीवनको अन्तिम सम्पूर्णता लाग्थ्यो । तर अहिले भोग्दा भोग्दै प्रसंग परिवर्तीत भएको छ । सोच र खोज संगै जीवन जीउँने शैलीमा आकास,पातालको भिन्नता ,परिवर्तन हुदै आएको छ वा हुँदै गएको छ । यी परिस्थितीको परिकल्पना हामीले गरेका थिएनौ । तर आज हामीले जीएर ,भोगेर हेर्दा नयाँ रङगहरु,नयाँ रुपहरु,नयाँ उमाङगहरु छाउँन थालेको छ । हाम्रो कल्पनाले नभ्याउँने परिस्थिती प्रस्तुत भएको छ । यस्तो होला र भोग्नु,देख्नु पर्ला भनेर कहिल्यै ठानेका थिएनौ । कारणवस आज त्यहि समय आईदिएको छ । र यसैको सिलसिलामा थाहै नपाई हामी पनि त्यहि मार्गमा हिड्न थाली सकेका रहेछौ । हिजो ती पलहरुले हामीलाई थिच्दा आफूलाई निक्कै पुरानिया सोच्थ्यौं । नयाँ सन्ततीहरुलाई देख्दा उनीहरु मात्रै आधुनिक जस्ता लाग्थे । तर आज अचानक हामी आफै उत्तरआधुनिक समयको फेरो समातेर हिड्न पाउँदा हाम्रा ती पुरातन सोचाईहरु वासी भैसकेका रहेछन् भन्ने लागिरहेको छ । यी सवै हाम्रा जीन्दगीका मोडहरु हुन् रहेछ किनकी हिजो त्यहि कुरा सहि थियो । आज हिजो नदेखिएका,नभोगीएका,नजानिएका विषयबस्तुहरु अनुभव गर्न पाएका छौ । हिजोका ती सारा पलहरु आजको समयले लिप्दै नयाँ ढङगले पाईला बढाउँन वाध्य भएका छौ । सायद त्यसैले होला हिजोको ध्रुवसत्य ठानिएको कुरा आज आएर असत्य सावित भैदिएको छ । हिजोका असजिला क्षणहरु आज सजिला भएका छन् । हिजो हामीले टेक्दै हिड्ने एउटा बाटोआज आएर हजार बाटा भएका छन् । हाम्रा सोचाईहरु,बिचारहरु धेरै फरक ढङगले प्रस्तुत हुन थालेका छन् ।
नबुझ्दा र नजान्दा सम्म यो फराकिलो नयाँ संसार पनि निक्कै साघुरो साथै पुरानो लाग्थ्यो । हजारौ बाटाहरु,हजारौ उपायहरु हुदा हुदै पनि यात्रा विहीन र उपाय विहीन भएर बाँचेका रहेछौ । किनकी यत्रो ठुलो फराकिलो संसारमा जीवनको महत्व ,समयको महत्व बुझ्न नसक्दा ग्लानी पैदा भएको रहेछ । तर जीवन र जगत त हामीले सोचे भन्दा कता हो कता ठुला र रङगीन पो रहेछ । तिमीसंगको भेटघाटले यहि तत्व थाहा पाए । आफुले आफैलाई कुल्चिएर बाँचेका रहेकाछौ,हाँसेका रहेछौ । आज त्यस्को रहस्य पत्ता लागि रहेको छ । हामीले जीवन पाएर पनि जीउँन नजानेका रहेछौ । समय नपाएर पनि भोग्न नसकेका रहेछौ । आज पाश्चताप लागि रहेछ क्रिसा । हामीले किन समयसंग सम्झौता गर्न सकेनौ होला । हरेक समय अत्यान्तै महत्वपूर्ण हुन्छ । त्यसो हुँदा हुँदै पनि त्यो समयको महत्वलाई किन बुझ्न चाहेनौ होला । यहि आश्चर्य लाग्दछ ।
जीवनलाई बुझ्दै नबुझेका हौ की ?वा बुझेर पनि बुझ पचाएका हौ कि ? त्यो हामीले विर्सी सक्यौं । जे भए पनि अहिले आएर जीवनको महत्व,समयको महत्व अथवा वर्तमानलाई बुझ्न थालेका छौ । यो पनि हामी र हाम्रो लागि नौलो सुरुआत हो । अव हामी पहिलाको जस्तै रनभुल्लमा पक्कै पर्नु हुँदैन । केहि न केहि बुझ्दैछौ,सिक्दैछौ,जान्दैछौ । र फरक धारमा पाईला टेक्दैछौ । यसरी अव हामीले पाईला चाल्न सकेनौ भने डाईनोसरहरुले जस्तै अस्तित्व मात्र होइन जीवनै गुमाउनु पर्ने हुन्छ । नयाँ पहिचानका साथ नयाँ समयको हातोमालोमा उनीएर गन्तब्यमा पुग्ने लक्ष्य लियौ भने निश्चय नै हाम्रो जीवन यात्रा निर्दिष्ट ठाउँमा पुगेरै छाड्नेछ । तर त्यहाँ आईपर्ने आँधीहरुको सामना गर्न तयार हुनुपर्छ । नत्र आँधीको असिमित वेगले सारा जीन्दगी नै फसाई दिन सक्छ । होसीयारी वा सावधानी अपनाउँन सकिएन भने नयाँ समयको गतिले उल्टै कुल्चने छ । तर मलाई आज हर्ष लागेको छ किनभने अलिकति जीवनलाई जीवन भनेर जान्ने अवसर मिलेको छ । कति कतिले जीवन के हो भनेर बुझ्दा नबुझ्दै जीवन गुमाई सकेका हुन्छन् । मायाँ,प्रेम ,ब्यावहार भन्ने कुरा त खाली परिवार अवतरणको लागि मात्र सोचिएको हुन्छ त्यो वेलाको समाजमा । तर ती सवै हामी र हाम्रो लागि बिशेष छन् । किनभने जीवन पुन दोस्रो पटक पुन पाईएला भन्ने कल्पना भन्दा वाहिरको कुरा हो । यो जीवन अथवा हामीले जीएको जीवन प्यारो छ महत्वपूर्ण छ जस्को वर्णन गर्न सक्दैनौ । तर कति जीवनसंग हारेकाहरु जीवनलाई महत्व दिदैन न् त्यो वास्तवमा मुर्खता रहेछ । जीवनलाई अति सुन्दर ढङगले जीउँन सक्यौ भने त्यो जीवनको सार्थकता हो । त्यो नै जीवन जीउनुको मज्जा हो । वेरसले जीवन अथवा करले,वाध्यताले,विवशताले,परिस्थितीले जीउनु भनेको कहि कतै आफैलाई गल्तिबाट सच्याउनु नसक्नु हो । वा जीवनलाई वेपर्वाह गर्नु हो । त्यहाँ जीवन पीडा र आसु बाहेक अरु केहि हुँदैन । यसरी जीवन जीउन खोज्नु गलत पनि हो । जीवन जीउनको लागि सबै भन्दा ठुलो कुरा आत्मा साहस हो । आत्मा साहसले जीवनमा गति पैदा गर्दछ । र जीउने पलहरु सहज बन्दछ । जीवनको नदि बग्दै जाँदा समयको कुइनेटोहरुमा ठोक्किदै जानु त रीत नै हो । अलिकति ठक्करको चोटलाई सुम्सुम्याएर धेरै पीडा सम्झीने हो भने समय अघि बढी सकेको हुन्छ । समयसंग दौडिनको लागि त समयलाई अङगालो हाल्न सक्नु पर्दछ । दुनियाले गर्दै आएको यो काम हामीले किन गर्न सक्दैनौ र ? विसंगतिसंग पौठेचोरी खेल्दै पाईला चाल्नु त्यति सजिलो पक्कै छैन तर कहिल्यै पनि चुनौति र समस्यासंग हार्नु हुदैन क्रिसा ।
(श्रृङखलाबद्ध प्रकाशित हुनेछ । )

तिम्रो यादमा

कृष्णकला वनेम

तिम्रो यादमा हिजो आज आफै भित्र हराउछु
तिम्रो कोमल छाती भरी जही तही लहराउछु

सयौ डाडा पारी तिमी यादमा आउछौ मनभरी
कल्पनामा भेट्न आउछु यो मनको सागरतरी
आखाको नानीमा तिम्रो तस्बिर राखी सके
मुटुको पाना भरी तिम्रै नाम लेखी सके
तिम्रो यादमा …………………………

जहा तिमी भए पनि धड्कि दिन्छौ छातीभरी
साथै तिमी नभए नि पाउछु सधै सपनाभरी
रोज्नु थियो एउटा मैले तिमीलाई रोजी सके
जुनी भरी जिउने मैले कसम खाई सके
तिम्रो यादमा …………………………

8/27/2011,Saturday……