दृश्य


वैद्यनाथ उपाध्याय

अचानक
नाटकको दृश्य बदलिए जस्तै
बदलिन्छन घटनाक्रमहरू
मैले सोचेको
चाहेका धेरै सपनाहरू
आकार लिन नपाउँदै
फेरिए जम्मै उर्वर प्रदेशहरू
ठूल्ठूला आशाका
पहाडहरूले थिचिएर
विशृंखलताको पैह्रो लागेको
यो समय
जताततै अराजक शंखनाद!
रचनात्मकताको
एक मुट्ठी बिउ छरेर
सुनौलो फसलको
अपेक्षामा रित्तिएको समय
कस्तो दृश्य यो
आशंकाहरूले नजर धमिलिएको बेलामा।

आँधी बेरीमा
संक्रमणको आँधीबाट
गुज्रदैं छ समय!
ढोका खुल्दैछ
नयाँ नयाँ विश्व बजारको
अब त हामी आँफैं
किनिने र बेचिने पनि
भै सकेछौं।
तिम्रो शिप र खुबी को भाउ
तिम्रो दिमागको पनि
भाउ तोक्ने छ बजारले
सहानुभूति,दया,ममताको
उठिबास नै भै सकेछ
खै अब यो जीवन
निर्जीव यन्त्र सरह
घिस्रिंदैछ
कसैले थिच्दछ बुटाम कहीं
अनि खुल्नेछौं, दगुर्नेछौं
फेरि बन्द हुनेछौं
यो कस्को समय हो?
खै, अब त हैकिंग भै सके जस्तो छ
यो दिमाग पनि
मेरो आफ्नो भन्ने रह्यो नै
के र अब यो
आँधी बेरीमा!

रित्तो जीवन
जीवनका भोगाइहरू पनि
थुक्क-
कति दिक्क लाग्दा हुन्छन
कोई बेला त आफैंलाई
धिक्कार लागेर आँउछ
एकछिन अघिका खुसीका क्षणहरू
लगत्तै विरक्तिका भावहरूले
घेरिएका हुन्छन।
अनि हाम्रो खुसी
बिजुलीको झिल्का जस्तो
मात्रै हो त ?
सधैंभरी न पुग भएको भान
कसरी भरिएला
यो मनको घैंटो !
मैले चाहेको यो पनि हैन
त्यो पनि हैन
सूर्योदय देखि सूर्यास्त सम्मको
दौडमा भिडिएर
आज व्यर्थैमा रित्तिएजस्तो
लागेको छ
आफ्नै जीवन!

विडम्बना
दिन रात खुल्ने यी दृश्यपटहरूमा
आफ्नोपनको कहीं
केही आभाष सम्म पनि छैन।

च्वास्स च्वास्स दुखीरहेछ
कहीं भित्र भित्रै
उखेलिंदैं गरेका
आफ्ना जराहरू।

आकांक्षाका उर्लंदो
विकराल भेलहरूमाझ
मेरा थोपा थोपा इच्छाहरू
मिसएर कता बगे कता!

खै अब यो बासनाको
उर्लंदो भेललाई
अँजुलीभरी थापेर
यो मेरै चाहना हो भनेर
म कसरी भनुँ ?

मेरै जीवनका उकाली- ओरालीहरूलाई
एकाकार गरेर
भेल बगिरहेछ छताछुल्ल चारैतिर
मैले बाँचेको यो कस्को समय हो?
अगाडी खुल्दैछ भयानक दृश्यहरू
आफूसंग आफ्नै परिचयको
कुनै निसान सम्म पनि छैन
छातीका धडकनहरूलाई साक्षी राखेर
म अझै बाँचेको छु भनेर
कसरी भनुँ?

Note: -
परिचय
वैद्यनाथ उपाध्याय
जन्म: 28 सेप्टेम्बर 1967
जन्मस्थान: पाकृबाडी, उदालगुडी-784509, बीटीएडी, असम (भारत)
शिक्षा- मानविकी स्नातक, हिन्दी प्रवीण, पत्रकारिता एवं जनसंचारमा स्नातकोत्तर डिप्लोमा ।
प्रकाशित कृति : जुनेली(नेपाली काव्य संग्रह)1996,
गगन के उस पार(हिन्दी काव्य संग्रह)2010,
बिद्रोही(हिन्दी नाटकको असमिया अनुवाद)2010
सम्पादन- नौलोकोसेली(नेपाली मासिक) 1992-95, The Bodoland Voice(fortnightly)
इन्द्रेणी रच्ने हस्ताक्षरहरू(नेपाली रचना संकलन)
अनुवाद- हिन्दी, असमिया, बडो र नेपालीमा परस्पर नियमित अनुवाद।
संयोजक: कादम्बिनी क्लब, उदालगुडी, असम।
संपर्क: खांखलाबाडी, उदालगुडी-784509, बीटीएडी, असम, भारत।
email: bnuudalguri@yahoo.in, baidyanathupadhyaya06@gmail.com
mobile: 919435590014

No comments: