संवाद

मुकेश राई

-सुन थुप्रै ल्याउनु भो होला ? मलाई पनि दिनुहोस ल !
अहं मैले ल्याईन सुन !
-अनि परदेशमा थुप्रै फल्छ भन्छन त !
म पनि यस्तै सोच्थें तर होईन रहेछ,
बरु म त तिमीलाई एउटा विरह गीत दिन सक्छु
त्यहाँ तिमीले
आफ्नै गाउँघर र पाखापर्वतका सुगन्ध मिश्रित भावहरुमा
परदेशीहरुका पीडायुक्त कोरस र व्यथाका शोक धून पाउने छौ
मेची र कालीका सुसाईका लयहरुसंग
गुन्जिरहेका वियोगी चित्कारका मुर्छनाहरु सुन्नेछौ !

-उसो भए पैसा र नया लुगाफाटाहरु नि ?
सक्तिन मेरो भाइ त्यो पनि,
बरु म तिमीलाई एउटा कविता दिन सक्छु
त्यहाँ तिमीले परदेशीहरुले पच्छ्याईरहेका आत्माहीन सपनाहरु
अनि बेरंग रहरहरु पाउनेछौ
बाँच्नुको सार्थकता खोज्दै
ईच्छाका पहाड चढन उक्लिरहेका पाईलाहरु भेट्नेछौ
जीर्ण मुस्काउन खोजेका फूलहरुका उदास कहानी जस्तै
बिरानो भूमिमा छातीभित्र सल्किरहेको
बाध्यताका बिम्ब, प्रतिबिम्बहरु देख्नेछौ
हो, म तिमीलाई यहि कविता दिन सक्छु !

-उसो भए स्वादिलो खानेकुरा नि ?
खै तिमीलाई मन पर्ला नपर्ला
त्यसमा मैले बिरानो माटो सिंच्ने पसिनाको गन्ध
वेदनाले रसाएका आँशु हुनेछ !
यसैमा तिमीले, प्रवासीका खुशी छेक्ने काँडेतारहरु
जटिल र विषमताको हातीबारहरु देख्नेछौ
यसैले म उसै भन्न सक्दिन यसको मोहकतामा
झ्यागिएका अमरबेली झैँ दु;खका गाँस मन पर्ला नपर्ला !

बरु म तिमीलाई एउटा कापी र कलम दिन सक्छु
तिमीले त्यहाँ मुग्लानले निलेका दाजुको सम्झना लेख्न सक्छौ,
नियास्रो मन र सन्त्रास बोकेर रुँदै
सिमाना काटेकी चेलीको विलौना कोर्न सक्छौ
निराधार बोक्सी आरोपित अबलाहरुको चित्कार बयान गर्न सक्छौ
अनि वादी र छाउपडी कुप्रथाले ग्रसित समाजको चित्रण उजागर
गर्दै युगान्तकारी आव्हान गर्न सक्छौ !

म तिमीलाई कुची र रंगहरु दिन सक्छु
जसले तिमीले तिम्रो स्वच्छ मनको क्यानभासमा
स्वदेशको सिंगो तस्विर उतारेर
आफ्नै नदीनाला, झरना र छहरा पहरा कोर्न सक्छौ
त्यहाँ आफैले चाहे जस्तो रहर र देखे जस्तो सपनाको रंग भरेर
सुन्दर जीवनको मूर्त, अमूर्त तस्विरमा
माया, प्रेम र सदभावको सजीव उज्यालो छर्न सक्छौ !

तिम्रा ति आव्हान र अमुर्त तस्विरहरुले
नव पिड़ीमा ज्यूँदो अग्नि ज्वाला छर्न सकोस
ति युगिन दस्तावेज बनेर जागृतिको संदेश बोकी
नेपाली आकाशमा नयाँ रंग छर्न सकोस !
म यहि शुभकामना मात्रै दिन सक्छु !

ईलाम हाल बेलायत

No comments: