पत्रसाहित्य भाग - १

प्रिय क्रिसा
यो सुनौलो विहानीको नविन आगनबाट स्वागत छ ।
नयाँ युगको आगमनसंगै हामी जीवनको गहिराईमा डुब्ने प्रयास गरीरहेका छौ । हाम्रो जीवन यति महत्वपूर्ण रहेछ जो हिजो सम्म हामीले जीवन र जगतको कुरा बुझेका थिएनौ रहेछ । किनकी हामीले यो भावनाको,बिचारको,दर्शनको चौतारीमा बसेर मज्जाले छलफल गरेका थिएनौ रहेछ । तर आज तिम्रो बिचार,भावना र चाहनाको सामुन्ने वसेर जीवनलाई जान्न खोज्दा त्यहि कुराको आभाष भएको छ । कि जीवन यति मात्र रहेनछ भनेर । जति भोग्दै आयौ,देख्दै आयौ अनि त्यसलाई कुल्च्यौं । हामीले आफ्नै बिचारसंग सामान्यरुपले ब्याख्या,बिश्लेषण गर्दा त्यस्तो गाढा अर्थ राख्दैनथ्यो । तर वास्तविकता अर्कै रहेछ किनकी हामीले अहिले उहिलेको भन्दा जीवन वेग्लै जीउँदै रहेछौ र पछिका सन्ततीहरु अझ हामीले भन्दा अर्को जीवन जीउँनेछन् । किनभने यहि समयले आजबाटै नयाँ धुवको,नयाँ दिशाको रेखाचित्र कोरी सकेको छ । जुन समयलाई आत्मसाथ गरेर जीवनका उकाली ओरालीहरु यसरी नाघ्दै आएका थियौ र नाघ्दै जानु पर्ला भन्ने सोचेका थिएनौ । जुन वेला जसरी हिडेका थियौ त्यहि नै सम्पूर्ण यात्रा हो जस्तो लाग्थ्यो । अथवा एउटा जीवन चक्रले समेटेका पलहरु नै जीवनको अन्तिम सम्पूर्णता लाग्थ्यो । तर अहिले भोग्दा भोग्दै प्रसंग परिवर्तीत भएको छ । सोच र खोज संगै जीवन जीउँने शैलीमा आकास,पातालको भिन्नता ,परिवर्तन हुदै आएको छ वा हुँदै गएको छ । यी परिस्थितीको परिकल्पना हामीले गरेका थिएनौ । तर आज हामीले जीएर ,भोगेर हेर्दा नयाँ रङगहरु,नयाँ रुपहरु,नयाँ उमाङगहरु छाउँन थालेको छ । हाम्रो कल्पनाले नभ्याउँने परिस्थिती प्रस्तुत भएको छ । यस्तो होला र भोग्नु,देख्नु पर्ला भनेर कहिल्यै ठानेका थिएनौ । कारणवस आज त्यहि समय आईदिएको छ । र यसैको सिलसिलामा थाहै नपाई हामी पनि त्यहि मार्गमा हिड्न थाली सकेका रहेछौ । हिजो ती पलहरुले हामीलाई थिच्दा आफूलाई निक्कै पुरानिया सोच्थ्यौं । नयाँ सन्ततीहरुलाई देख्दा उनीहरु मात्रै आधुनिक जस्ता लाग्थे । तर आज अचानक हामी आफै उत्तरआधुनिक समयको फेरो समातेर हिड्न पाउँदा हाम्रा ती पुरातन सोचाईहरु वासी भैसकेका रहेछन् भन्ने लागिरहेको छ । यी सवै हाम्रा जीन्दगीका मोडहरु हुन् रहेछ किनकी हिजो त्यहि कुरा सहि थियो । आज हिजो नदेखिएका,नभोगीएका,नजानिएका विषयबस्तुहरु अनुभव गर्न पाएका छौ । हिजोका ती सारा पलहरु आजको समयले लिप्दै नयाँ ढङगले पाईला बढाउँन वाध्य भएका छौ । सायद त्यसैले होला हिजोको ध्रुवसत्य ठानिएको कुरा आज आएर असत्य सावित भैदिएको छ । हिजोका असजिला क्षणहरु आज सजिला भएका छन् । हिजो हामीले टेक्दै हिड्ने एउटा बाटोआज आएर हजार बाटा भएका छन् । हाम्रा सोचाईहरु,बिचारहरु धेरै फरक ढङगले प्रस्तुत हुन थालेका छन् ।
नबुझ्दा र नजान्दा सम्म यो फराकिलो नयाँ संसार पनि निक्कै साघुरो साथै पुरानो लाग्थ्यो । हजारौ बाटाहरु,हजारौ उपायहरु हुदा हुदै पनि यात्रा विहीन र उपाय विहीन भएर बाँचेका रहेछौ । किनकी यत्रो ठुलो फराकिलो संसारमा जीवनको महत्व ,समयको महत्व बुझ्न नसक्दा ग्लानी पैदा भएको रहेछ । तर जीवन र जगत त हामीले सोचे भन्दा कता हो कता ठुला र रङगीन पो रहेछ । तिमीसंगको भेटघाटले यहि तत्व थाहा पाए । आफुले आफैलाई कुल्चिएर बाँचेका रहेकाछौ,हाँसेका रहेछौ । आज त्यस्को रहस्य पत्ता लागि रहेको छ । हामीले जीवन पाएर पनि जीउँन नजानेका रहेछौ । समय नपाएर पनि भोग्न नसकेका रहेछौ । आज पाश्चताप लागि रहेछ क्रिसा । हामीले किन समयसंग सम्झौता गर्न सकेनौ होला । हरेक समय अत्यान्तै महत्वपूर्ण हुन्छ । त्यसो हुँदा हुँदै पनि त्यो समयको महत्वलाई किन बुझ्न चाहेनौ होला । यहि आश्चर्य लाग्दछ ।
जीवनलाई बुझ्दै नबुझेका हौ की ?वा बुझेर पनि बुझ पचाएका हौ कि ? त्यो हामीले विर्सी सक्यौं । जे भए पनि अहिले आएर जीवनको महत्व,समयको महत्व अथवा वर्तमानलाई बुझ्न थालेका छौ । यो पनि हामी र हाम्रो लागि नौलो सुरुआत हो । अव हामी पहिलाको जस्तै रनभुल्लमा पक्कै पर्नु हुँदैन । केहि न केहि बुझ्दैछौ,सिक्दैछौ,जान्दैछौ । र फरक धारमा पाईला टेक्दैछौ । यसरी अव हामीले पाईला चाल्न सकेनौ भने डाईनोसरहरुले जस्तै अस्तित्व मात्र होइन जीवनै गुमाउनु पर्ने हुन्छ । नयाँ पहिचानका साथ नयाँ समयको हातोमालोमा उनीएर गन्तब्यमा पुग्ने लक्ष्य लियौ भने निश्चय नै हाम्रो जीवन यात्रा निर्दिष्ट ठाउँमा पुगेरै छाड्नेछ । तर त्यहाँ आईपर्ने आँधीहरुको सामना गर्न तयार हुनुपर्छ । नत्र आँधीको असिमित वेगले सारा जीन्दगी नै फसाई दिन सक्छ । होसीयारी वा सावधानी अपनाउँन सकिएन भने नयाँ समयको गतिले उल्टै कुल्चने छ । तर मलाई आज हर्ष लागेको छ किनभने अलिकति जीवनलाई जीवन भनेर जान्ने अवसर मिलेको छ । कति कतिले जीवन के हो भनेर बुझ्दा नबुझ्दै जीवन गुमाई सकेका हुन्छन् । मायाँ,प्रेम ,ब्यावहार भन्ने कुरा त खाली परिवार अवतरणको लागि मात्र सोचिएको हुन्छ त्यो वेलाको समाजमा । तर ती सवै हामी र हाम्रो लागि बिशेष छन् । किनभने जीवन पुन दोस्रो पटक पुन पाईएला भन्ने कल्पना भन्दा वाहिरको कुरा हो । यो जीवन अथवा हामीले जीएको जीवन प्यारो छ महत्वपूर्ण छ जस्को वर्णन गर्न सक्दैनौ । तर कति जीवनसंग हारेकाहरु जीवनलाई महत्व दिदैन न् त्यो वास्तवमा मुर्खता रहेछ । जीवनलाई अति सुन्दर ढङगले जीउँन सक्यौ भने त्यो जीवनको सार्थकता हो । त्यो नै जीवन जीउनुको मज्जा हो । वेरसले जीवन अथवा करले,वाध्यताले,विवशताले,परिस्थितीले जीउनु भनेको कहि कतै आफैलाई गल्तिबाट सच्याउनु नसक्नु हो । वा जीवनलाई वेपर्वाह गर्नु हो । त्यहाँ जीवन पीडा र आसु बाहेक अरु केहि हुँदैन । यसरी जीवन जीउन खोज्नु गलत पनि हो । जीवन जीउनको लागि सबै भन्दा ठुलो कुरा आत्मा साहस हो । आत्मा साहसले जीवनमा गति पैदा गर्दछ । र जीउने पलहरु सहज बन्दछ । जीवनको नदि बग्दै जाँदा समयको कुइनेटोहरुमा ठोक्किदै जानु त रीत नै हो । अलिकति ठक्करको चोटलाई सुम्सुम्याएर धेरै पीडा सम्झीने हो भने समय अघि बढी सकेको हुन्छ । समयसंग दौडिनको लागि त समयलाई अङगालो हाल्न सक्नु पर्दछ । दुनियाले गर्दै आएको यो काम हामीले किन गर्न सक्दैनौ र ? विसंगतिसंग पौठेचोरी खेल्दै पाईला चाल्नु त्यति सजिलो पक्कै छैन तर कहिल्यै पनि चुनौति र समस्यासंग हार्नु हुदैन क्रिसा ।
(श्रृङखलाबद्ध प्रकाशित हुनेछ । )

No comments: