आफ्नै कठघरामा घण्टाघर


प्रकार अन्तर

त्यो रात
नारायणहिटी देख्ने
घण्टाघर थियो ।
त्यता गोली चलिरह्यो-
ड्याङ, ड्याङ, ड्याङ, ड्याङ....
यता ऊ
बजिरह्यो आर्तध्वनि-
ट्याङ, ट्याङ, ट्याङ, ट्याङ....

ऊ जागा बसेर
निदाईरहेको शहर
बेखवर थियो,
त्यो रात
नारायणहिटी सुन्ने
घण्टाघर थियो ।

त्यहीँनेर
यौटा बैरागी कविले
कपाल झैँ बेखवर छाडेर
छातीमा सुईहरू
उसले इतिहासकै
ठुलो मौनधारण गर्यो ।
त्यहि दिन
हरायो झैँ लाग्छ,
घण्टाघरले सेकेण्ड सुई!

यौटा भयंकर अपशकुन !
यो सेकेण्ड सुईबिना
चलेको समय !
यौटा विभत्स दृश्य देखेको
बालक झैँ बर्बराईरहन्छ ।

घरिघरि
फनक्क घुम्छन सुई ।
अनि चुपचाप! चुपचाप!!
टोलाईरहन्छ घण्टाघर।

झरीको सन्देश


प्रकार अन्तर

अहो !
यो कस्तो लहडको लहर !
यौटा मान्छे !
घाममा पानी उचालिए झैँ,
सागरको ।

त्यती वितत छैन मान्छे ।
स्वार्थ, लिप्सा,
इच्छा र रहरहरुले
खुम्चिएको परिधीमा
कती निच बनेको छ मान्छे ।
त्यसैले मान्छे,
सगरमाथा होइन
मान्छे उ भईदिएको भए,
किन हिमाल चढिरहनु पर्थ्यो ?
माथि पुग्नु नै झर्नु-नियती बन्छ,
माथि-माथि
पहाडका टुप्पाहरुले वा
माथि-माथि
आकाशको गहिराइले
यस्तै सबक सिकाउँछन्:
तिमी झर्नैपर्छ,बादल
पानी भएर
स्विकार गर या नगर
तिमीलाई नुगाइदिने
उचाइका गहिराइहरु हुन् ।

सुन !
साउनको झरी के भन्छ:
म झर्छु तिम्रै छानाबाट
बलेसीधारा ।
म बग्छु तिम्रै धराको छातीमा
बलेसीधारा ।।

दिनमा सधैं


बिमल गिरी

दिनमा सधैं मनमा पिर रातमा सधैं आशु
जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हासु

खाटा बस्ला जस्तो छैन बेहोसिमा दुख्ने घाऊ
जीबन ढल्यो मझेरिमा अधेरिछ कहाँ जाउ
अचेल मलाई एकान्तमा बगिरहन्छ आशु
जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हासु

रातपनि कति लामो दिनझै भईदिए हुन्थ्यो
छाती भित्र छटपटाउने तनाब यो गैदिए हुन्थ्यो
मडारिदै कोल्टे फेर्छु झरी रहन्छ सधैं आशु
जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हासु

यथार्थको धरातलमा रहेर बाँच्ने रहर छ


कल्पना तुम्रोक

साइनोको नाताले नबाधिए पनि
बाधिएको थियौ वाचाहरुको बन्धन्ले

तिमी थियौ
म, थिए
र नै यो संसार थियो
जस्तो लाग्थ्यो ।

ति बन पाखा हरियाली लाग्थ्यो
गगन चुम्बि महल अग्लो थियो ।

समुद्रको छालमा लहर थियो
किनकी तिमी थियौ, र म थिए ।

लाग्थ्यो तिमी नहुदा
यो समुद्रको छालमा
लहर नै छैन
बन पाखा हरीयाली हुने छैन
महल भासीने छ
याहा केहि हुने छैन
किनकी तिमी नहुदा
म, हुने छैन ।

एक्कासी छायो सन्नाटा
चल्यो आधि हुरी
बज्रपात भयो वाचामा
खहरेको बाढीले
फालिए एकातिर बगरमा

मनको वाटोहरुमा
पाइला खोज्दै हिडे
आफैलाई खोज्दै भौतारिए
अव तिमी छैनौ
तर.....अव म छु ।

तितो भएको
ति मिठ्या सपनाहरु भुल्दैछु
वास्तबिक्तासंग
सत्यताको जिवन जिउन सिक्दैछु ।

आहा यहाँ त
हरियाली वन पाखाको
संरक्षण गर्न बाँकिनै रहेछ
महलहरु त अझ
मर्मत गर्नु पर्नेरहेछ
कोशीस गर्दैछु ।

साच्चै आज मैले सच्चा जिन्दगी पाएकोछु
किनकी आज म, यो संसारको अस्तित्व बुझ्दैछु
संसारमा म हुनुको अर्थ खोज्दैछु
त्यसैले आज वन पाखामा हरियाली छ
समुद्रको छालमा लहर छ
गगनचुम्बि महल अग्लो छ ।

किनकी ममा यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ ।

फूल हुँ म


टंक सम्वाहाम्फे

फूल हुँ म वनको नलाए तिमीले ओइली झर्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नपछ्याउन सक्छौ यी मेरा यात्राहरु
नसझाउन सक्छौ यी मेरा सपनाहरु
अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नस्विकार्न सक्छौ यी मेरा वाचाहरु
नगाउन सक्छौ यी मेरा गीतहरु
विरानो भए आफ्नो विरानै सम्वन्ध भई दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

संगीत - दिनेश सुब्बा
स्वर - सुनिता प्रधान

समर्पण


प्रकार अन्तर

शहरमा, चेतना बन्धकी छ
तिमीले देखिनौ ?
आर्यघाटमा मात्र
खरानी हुँदो रहेनछ जीवन ।
शहरमा, अनौठो छटपटी छ

म संसारको
सबैभन्दा धेरै पर्यटक हुँ
त्यहीं त हो नि -लण्डन
हिजै त हो गाडी चढेर गएको
सपनाको
विश्वास,भ्रम र त्रास हुँदै
आज समर्पण सम्म आइपुग्दा
सम्झना-बादल चुहिएको
यो मन-पहाडको
भर्खरै ज्ञात भएको
अज्ञात देउरालीको
छेउमै भेटेको छु, आत्मविश्वास-दर्शनढुंगा
र त्यहीँ आफ्ना आँखाहरुलाई
भावनाले खलबल पारेर
श्रद्दाको छिनोले तिम्रो नाम खोपिरहेछु
ट्वाक्, ट्वाक्, ट्वाक्, ट्वाक्......
यो संगीत हो- हृदयको

जानोस यो पहाडले पनि;
तिम्रो नाम
कती प्यारो छ, मेरा लागि

अन्जुलीभरी पारीजात थापेर
मध्यरातमा
बगाएदिएको छु खोलामा
समुद्रबाट टिपेर
कपालमा सिउरिनू
यो हृदयले लेखेको प्रान्जल भावलाई
स्वार्थी बजारको बकवास नसम्झनू

हो !, सपनामै त हो नि
स्वतन्त्र भएर घुम्ने
विपना त यथार्थको अटुट जन्जिरले
बाँधिएको छ ;
अपार समयको झ्यालखानामा
म, बन्धी छु बाध्यताको

म खोलाको किनारमा ।
तिमी समुद्रको किनारमा ।

२०६७-०४-०१, किर्तिपुर, काठमाडौं

सर्वोच्च प्रेम


प्रकार अन्तर

तिमी सर्वोच्च छालको
शिखरमा छौ
र यो छाल अटल !
मेरै मुटुको सागरमा उठेको छ ।
नडराउ, यहाँ हिंस्रक सामिप्य छैन
र यो दुरताबाटै मैले
तिमीलाई प्रेम गरेको छु ।
सम्झ,
यहाँ शान्त,शालिन र शुभ्र सामिप्य छ ।
तिमी दुर छौ र नै यो संभव छ
नत्र यो मनको तलाउमा
गोहिहरु चल्बलाउन थाल्थे ।

प्रेम गहिरो छ
र मैले प्रेममा
कुनै नीच उचाइ
कल्पना गरेको छैन ।
त्यहाँ लडिन्छ कि !
भन्ने डर हुन्छ ।
बाहिर र भित्र यही फरक छ
भित्र, म लड्ने संभावना शुन्य छ ।
त्यहाँ तिमी सर्वोच्च छौ ।

म तिम्रो
आधार-शिविर !
विश्वास गर,
यहिबाट हेर्नेछु तिम्रो उचाइ !
यहाँ छु भन्ने संकेत-
म दुबै हात हावामा उचाल्छु ।
सक्छौ,
केही पहिरोहरुले पुर्ने प्रयास गर ।
सक्दैनौ, थोरै हिमपातले स्पर्श गर ।
र विश्वास गर,
तिम्रो पवित्रतालाई कुल्चने, म
आरोही होइन ।

२०६७-०४-०४, कीर्तिपुर, काठमाडौं

अधेरीमै आउनु तिमी


योगेन्द्र गिरी ,संघश,

उजाड मेरो जिन्दगीमा हरियाली बसन्त
बनि आउनु तिमी

सुनौलो बिहानीमा भेट नहोला
अधेरी रातमा नै आउनु तिमि

बिपनीमा तिमीलाई भेट्न सकिन
सपनीमै आउनु तिमी

जिबनी भरी सगै बाच्ने,सगै मर्ने
बाचा कसम खायौ किन ?

सधै यहि बाचा कसमलाई सम्झनामा राखनु तिमी
यो मेरो चोखो मायालाई धोका दिएर कतै नजानु तिमी

मेरो सम्झना आउदा तस्बिर हेरी मन बुझाउनु तिमी
मेरो हरेक पाइलाहरुमा तिम्रो सफलताको खाचो छ

संगम चौतारी अनि देउरालीमा बिताएका
कुराहरुलाई फर्केर नहेर्नु तिमी

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी - नेपाल

बादल फाट्न सक्छ


उषा गिरी

समयको खाली सिउदोमा
रङ्ग भर्ने कोशीस नगर
सिमारेखा लामोछ
अन्धकार सङ्गै
बादल फाट्न सक्छ
डाढा पाखा हिजोजस्तो छैन
पूर्णबिराम र
प्रश्नबाचकहरु सँगै
जीबन धमिलिन सक्छ
पानीको फोकासरी
प्याट्ट फुट्न सक्छ
जीबनको सपना
पुरा नहुन सक्छ
अलौकिक मनमस्तिमा
गतिशिल् बेगमा
सर्बशक्तिवान हुन ब्यर्थछ
स्वार्थपूर्ण मित्रता
लामो हुन सक्तैन
जिन्दगीका जोड र घटाऊहरुमा।

हाल: चारपाने झापा,
अगष्ट ११,२०१०

गजल


सूर्यविक्रम याक्खा

मुहारमा हाँसो लिएर पनि तर्किन सक्या छैन मन ,
दुःखेसो पोख्दै रुयेको न्याउली फर्किन सक्या छैन मन ।१।

आँखीभूर्इ गाँऊमा भिर-पाँखा भत्क्यो सुस्केरा सुसाऊदै ,
अस्मिले दिएको त्यो रुमाल चिनो विर्सिन सक्या छैन मन ।२।

सिङ्गफेको खेतमा आलीको वेतमा लच्केर गयो नी ,
अकारे बाटो अरुणको सातो र्सर्किन सक्या छैन मन ।३।

गुराँसे गाँऊ तामाफोक-को ठाऊमा नौ रंगी फूले छ ,
यी आँखाहरु जुधेर गए लर्किन सक्या छैन मन ।४।

अन्तुको डाँडो झुल्किन्छ घाम सल्ला नै सल्लाको घारीमा ,
क्षितिज पारी कस्तो छ माया वर्षीन सक्या छैन मन ।५।

सन्चे दाई र मेरो मित्रता


स्यानु पाईजा

सन्चे दाई र म सेल रोटी पार्टनर
दशौ चरणको सेल रोटी पकाईसक्यौ
आफत्व सेलरोटी जोडिए जस्तै जोडिन्छ
फुर्सद नै कहाँ छ र ? अरु वेला
मुस्किलले मिलाइको बिदाको तालमेल
सेलरोटी पकाउनु मै बर्वाद गरे जस्तै लाग्छ
भबिस्य र पैसा भन्दा भन्दै बर्तमान खुम्चिए जस्तै
रोटीको फन्को धुम्दै गर्दा मुवाईल बज्छ
सन्चे दाई को काली एफएम टु्युन हुन्छ
मेरो सेलरोटी ट्रेर्निङ्ग शुरु हुन्छ
सेलरोटी सेलरोटी नै हो ढंग नपुगे रंगले हुदैन
सन्चे दाई को काली एफएममा समचार सकिउन्जेल
रोटी पुरै बिग्रिसकेको हुन्छ, टुक्रा टुक्रा सेलरोटी
पकौडा, मस्यौरा आकारमा मेरो मजाक उडाउछ
रोटी हेरेर मेरो मुड बिग्रन्छ
एफएम सुनेर सन्चे दाईको मुहार बिग्रन्छ
आलुदम ले बिग्रेको सेलरोटी सच्चाएर निल्दा
सितन बिना पनि निल्न सकिने छिमेकी पानी
बढि नै निल्यौ हामीले आलुदम सँगै
मैले सेलरोटी बिगारेर सरी दाई भने
छिमेकी पानीले असर देखाउदै गए पछि
सन्चे दाईले काली एफएफको रि-बोर्डकास्ट गर्नु भयो
बिना बिज्ञापन बज्ने काली एफएमको समचार
मिस्की बिशिष्ट श्रेणीमा पास भई
उस्को साथीहरु अमेरिका पढने अरे
बिक्की पनि पढाई बिगार्ला जस्तो छ
रातबिरात कता कता हुईकन्छ
उतै पठाउन पाए सिध्रिन्थ्यो कि
पानी तान्ने मोटर बिग्रे छ
फलानाको अल्सरको अपरेसन
फलानाको के के जाती के जाती
समचार नसकिदै रुन्चे ब्रेक लाग्छ
रुन्चे ब्रेक को बिच बिचमा समचार
रुन्चे दर्शक, श्रोता रुन्चे तालमेल मिलाउछ
सन्चे दाई र मेरो विकएण्ड यस्तैमा जान्छ
बिग्रेको सेलरोटीमा आलुदम,गम एन्ड गम
यसरी नै बग्दै छ सन्चे दाई र मेरो मित्रता
बिग्रेको सेलरोटी जस्तै जिवन आलुदमको बलमा
छिमेकी पानीमा बग्दै र ओत लाग्दै
काली एफएमको समचार उस्तै छ
टेलिभिजनको सिको गर्छ
हरेक पल प्रत्यक्ष्य प्रसारण गर्छ
थुप्रै पटकको बिग्रेको सेलरोटी पछि पनि
सेलरोटी खाने रहर र मित्रता यथावत छ।
सन्चे दाईको २५ बर्ष टक्दै गर्दा
मेरो १२ बर्ष चल्दैछ प्रदेशमा
सन्चे दाई र मेरो मित्रता

पात्लेखेत-७, म्याग्दी

यो सन्देश हामी सबैलाई


गणेश मगर

१. यो सन्देश हामी सबैलाई
उठ जाग सबै नेपाली दीदी बहिनी दाजू भाई
यो सन्देश हामी आम नेपाली जति सबैलाई
आखिर किन हामी बस्छौ सबै यँहा डराई?
आयो पालो हाम्रो देखाऊ पौरख सबैलाई

अब कतिन्जेल बस्ने एस्तो डरपोक काएर भएर ?
आछ दिन हाम्रो बढौ हामी सबै हातेमालो गरेर
बिहानी को सूर्य किरण संगै तातो राप सापट मागेर
बनाऊ हाम्रो देश हामी आफै एक जुट बनि मिलेर

यदि तिमी हामी आफु आफै बसे डराई
जान्छ हाम्रो सस्कृति आफै बिलीन भई हराई
अनी गार्हो पर्छ फेरी हाम्रो सस्कृति फरकाई ल्याऊनलाइ
आयो पालो हाम्रो अब कोही नबसौ है कोही संग डराई

जस्को हातमा कलम कपि छ ज्ञान को ज्योति लिई आऊ
जस्को मस्तिस्क मा बुद्धि छ राम्रो बिचार लाइ लिई आऊ
जस्को सरीरमा बल छ घमन्ड लाइ परै त्यागी मिल्काई आऊ
आखिर जति मनमा पीर ब्यथा भए पनी हासी हासी सान्तिको बिगुल फुकी आऊ ...

२. धोधारमा छु
खसेका तारा गन्दै
उस्लाइ नै मागेथे
चोखो छ त्यो मन भन्दै
साचोमाया साचेथे

आखिर सुन्य रैछ संसार
उस्को माया पाउन सकिन
स्वार्थी नै रैछ उस्को हेर्ने नजर
जति गरेनी उस्को साथ पाइन

कुरै नबुझी जलाए आस्थाको दियो
निस्ठुरी हावाको झोकाले निभायो
अन्जानिमा गांसे चोखो पिरतीको साइनो
निर्मोहिले मलाइ छोडी शत्रु हँसायो

मुर्ख बनि रोपेथे बैसको बगैचामा
फुल त्यो साचो पिरतीको
उस्को स्वार्थ ले भरिएको मनमा
फुल त्यो गोड्न नपाइ कोपिलामै झरिगो

एक्लै-एक्लै धोधारमा छु म आज
जोडी ढुकुर एकै साथ नहुदा
यादमा उस्को पागल घायल प्रेमी झै छु आज
उस्ले मलाइ छोडी शत्रु हंसाउदा

३. म
म त एक रातो गुलाफ को फूल हु
आखिर मेरो त अस्तित्व नै राम्रो छ
लाग्छ त्यसैले होला म त अरुको नजर मा
भाग्य मानी पो छू की केहो
म त केवल स्वच्छ मन
सुगन्ध र मिठो वास्ना लिएर
माया पिरातिको डोरों माँ बेरिएर
सधै प्रेम र प्रेमिका को निमित्त्व
माया मा बेचिएको छू मेरो त जीवनको
गोरेटो नै राम्रो छ तर तिम्रो ??
आखिर तिमी त परेऊ ..................................
तिमी त परेऊ
प्रेम को प्रतिक एक
राम्रो गुलाफ को फूल
त्यसैले होला तिम्रो त
सबै संग राम्रो सम्बन्ध छ
तर ...............................तर
म त केवल मानिश न परे
आखिर मेरो त जता गएनी
कर्मै अभागी सबैको नजर मा
गिरेको छू अनी लाग्छ मलाई
आखिर .......................आखिर
म त केवल स्वार्थी र निठुरी मन
लिएर हिडेको छू मेरो त केवल
लक्ष्य बिहीन मन पो छ की केहो
त्यसैले होला लाग्छ मलाई
आज भोली म त केवल
सबैको नजर मा एक
डरपोक अनी स्वार्थी

लक्ष्य बिहीन मानिश को रूप मा
हाम्रो नेपालको नेता झै गरि
कहिले येता त कहिले उता
सरिरहेको छू बिना लक्ष्य
पागल झै दोबाटो मा शांति को सपना
बोकी हिडिराहेको छू
अब त
मलाई नै लाग्छ की मेरो त
जिउनु को अर्थै के हो आखिर
म त केवल सबैको नजर मा
बन्दूक,पिस्टल र बारूद को साथ साथै
घुसले भरिएको पैसा मा पो बेचींएको रहेको छू .......

केही विम्बमा रत्नपार्क...


प्रकार अन्तर

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो.........

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच .........
एकोहोरो
मिल कराए झैं ।

२०६७-०४-०१, रत्नपार्क, काठमाडौं

चमेलीको चिठी


दिव्य गिरी

सधैंको जस्तै आज पनि
तिम्री दुःखी चमेलीको सादर प्रणाम
तिम्री विरही चमेलीको सदा सम्झना ।

हिजो-अस्तिका चिठीहरू
आँसुले लेखेथें
विछोडको पीडामा बगेको आँसुले कोरेथें
तर आज यो चिठी
रगतले लेखिरहेछु
हो, रगतले
तिम्रै भाइहरूको रातो रगतले
तिम्रै दाजुहरूको तातो रगतले
तिम्रै आमा-बुबा र
दिदी-बहिनीहरूको आलो रगतले ।

साँच्चै, मेरो प्रिय खसम
यतिवेला यो वर्तमान
रगतको आहालमा चुर्लुम्म डुबेको छ
यतिवेला यी बस्तीहरू
आँसुको झरीमा निथ्रुक्क रूकेका छन् ।

मेरो प्रिय परदेशी खसम,
हिजोआज,
म स्वयम् घाइते बाँचिरहेछु
म स्वयम् पीडाको पहाड अग्लिरहेछु
म स्वयम् आँसुको नदी बगिरहेछु
र, कसरी लेखुँ गाउँघरको खबर
घरहरू बलेको खबर
मनहरू जलेको खबर
रगतको आहाल जमेको खबर
आँसुको भेल बगेको खबर
अलाप-विलाप र रूवाबासिको खबर
गन्ति गर्नै नभ्याउने लाशहरूको खबर
दिनदिनै मलाम जानु परेको खबर
सम्पूर्णमा भन्नुपर्दा सिँगै देशले बरखी बारेको खबर ।

देखेर हजारौं टुहुराहरूको मुहार
देखेर हजारौं विधवाहरूको अनुहार
हरदम यो मन हजारौं टुक्रामा विभक्त हुन्छ
हरदम यो छाती चरचरि चिरिन्छ ।
खासै भन्नुपर्दा यतिबेला
चराहरूको चिरविर गुञ्जने आँगनमा
बन्दुक र बम् पड्किरहेछन्
परेवाका बथान उड्ने आकाशमा
भय र त्रासको मुस्लो उठिरहेछ
अशान्ति र अँध्यारोको आँधी चलिरहेछ
यस्तो परिवेशमा
यो सङ्कटग्रस्त देशमा
मेरो प्यारो खसम् ,
तिम्री चमेली पनि सुरक्षित छैन ।

त्यसैले यसवेला
मभित्र तिमीभन्दा पनि बढी
शान्तिको खाँचो छ
तिम्रो मायाकोभन्दा पनि बढी
शान्तिको भोक छ ।

माया र घृणा


इश्वर चाम्लिङ

माया गर्छ यो मन माया गर्नेहरूलाई
घृणा गर्छ यो मन घृणा गर्नेहरूलाई
किन घृणा गर्नु कसैलाई...
घृणा नै पाउनलाई...घृणीत हुनलाई
माया गरेर सबैलाई के घाटा हुन्छ तिमीलाई
तिरस्कार गरे कसैलाई तिरस्कारै मिल्छ तिमीलाई
माया गर्छ यो मन माया गर्नेहरूलाई
घृणा गर्छ यो मन घृणा गर्नेहरूलाई
किन घृणा गर्नु कसैलाई...
तिरस्कार पाउनलाई...तिरस्कृत हुनलाई
कस्ले गर्छ र माया नगरे माया कसैलाई
उपेक्षा मनमा राखे उपेक्षा मिल्छ तिमीलाई
माया गर्छ यो मन माया गर्नेहरूलाई
घृणा गर्छ यो मन घृणा गर्नेहरूलाई
किन उपेक्षा गर्नु कसैलाई...
उपेक्षा नै पाउनलाई...उपेक्षित हुनलाई
तिरस्कार पाउनलाई...तिरस्कृत हुनलाइ
 
ब्रुनाइ,
०१ अगस्त २०१०

नभने निस्ठुरी मलाई


रामु गैरे

तिमीलाई भुलेको कहाँ हो र प्रिय?
सधैं भरी मुटुभित्र नै बसेकी छिउ
ति अतितका क्ष्यणहरुलाई सम्झी
सपनीबाट बिउझदा पनि झसँग झस्केकी छिउ।

बाध्यता नै त्यस्तै पर्‍यो प्रिय निस्ठुरी भनी नभने
बिदेशको जिन्दगी कस्लाई के थाहा?
सालौ बिती गए भनेर मेरो बाटो हेरी
ति दुखी दिन हरुलाई कत्ती पनि नगने।

बिहे भएको दुई महिनै मै तिमीलाई एक्लै छोडि जादा
मलाई पनि त मेरो मन कस्तो कस्तो भईराछ
तिम्रो बेदना पनि थाहा छ प्रिय तिमीले नभने पनि
तिम्रो भित्री मन पनि मेरो जस्तै धुरु धुरु रोइराछ।

तिमी सँग बिदा भई बिदेश तिर लाग्दा केही समय पछी
साथीभाईहरु भन्थे लौ हेर एयरपोर्ट आयो
तर मेरो ध्यान भने कस्तो चिन्तामा थियो
तेसैले त मलाई भने फर्कौ फर्कौ झै लाग्यो ।