बाटो


केशर थुलुङ

बाटो
सानो, ठूलो
सबैको लागि
जहाँ निरन्तर हिडिरहन्छन्
कहीँ/कतै पुग्न

होला
कतै नागबेली
कतै साँघुरो/फराकिलो
कतै उकाली/ओराली
कतै सीधा परेको
सबै, आफ्नै गाथा बोकेर
आफ्नै कथा बोकेर
कैयौँ अनुभव, पोखिएका पीडा
सुख-दुःख समेटेर
अविच्छिन्न यात्रा गरिरहन्छन्
सलल बगिरहने खोलाझैँ
सरर सरिरहने समयझैँ
तीनै बाटोहरुमा

नजीक या टाढा
ठेस लागोस् या नलागोस्
ठाउँमा पुराओस् या नपुराओस्
परिचित हुन् या अपरिचित
हामीलाई बाटोले
स्वागत गरिरहेकै हुन्छ
पर्खिरहेकै हुन्छ
यात्रा जुटाइरहन्छ सधैं
जहिले पनि
नियमित एउटा क्रमझैं

No comments: