मरुभुमिछेउ कतैः मेरा दिन


पञ्च विस्मृत

जब घामले अस्ताचल रोज्यो
पूर्व भएर रात उठ्यो
घामका पाइलाहरु पछ्याउदै उठ्यो
एक दुइ ताराहरुले प्रकृतिको
त्यहीं पुनरावृत्ति हेर्न
प्रकृतिकै संविधानको एक अनुसूचिबाट
अनुहार निकाले
सहरले आफ्ना इन्द्रेणी आँखाहरु बालेर
आफ्नै उत्सव मनाउन लाग्यो
र अल्लाहको ध्वनी संगै
जब दिनको अवसान भयो

अनि सुरु भयो मेरो दिन
मेरो समय, उस्तै गरि
मरुभुमिको ह्याङ्ओभर मेट्न
फेरि अलिकति मरुभुमि पिउन
मेरा सपनाका एइरक्राफ्टहरु
उडिरहे फन्को मार्दै
मेरो योजनाको क्लिष्ट आकाशमा
मेरो योजनाको दूर्बोध्य आकाशमा

र म भने हिंड्न थालें फेरि
दिन वार गन्दै आल्हादित मनले
क्यालेण्डरका अङ्कहरुमाथि क्रमशः
दाबेर क्रस
भौतारिन थालें सडकदेखि सडकसम्म
केएफसी, पिज्जाहटदेखि म्याक्डोनाल्डसम्म
घरदेखि सुपरमार्केटसम्म
फुटपाथदेखि पसलसम्म
तर यात्रा थिएन त्यो

विवशताले ठड्याएको भीरको उकालो
विवशता रहर बनेपछि
सपना बनेपछि
रहर र सपनाले बिछ्याएको कांडे गोरेटो

जब अँध्यारोले भाग्दैगयो
र उज्यालोले छोप्दैल्यायो
अनि शुरु भयो मेरो रात
मेरो बास उस्तैगरि
सपनाको ह्याङ्ओभर मेट्न
फेरि अलिकति सपना पिउन

(बुधवार २३ भदौ २०६७ ८ सेप्टेम्वर २०१० जेड्डाह साउदी अरेविया)

No comments: