प्रिय क्रिसा
नयाँ सन्दर्भको मझेरीबाट उज्यालो आभा सहितको अभिवादन
समयले मोड्दै ल्याउँदा यो मोडमा आईपुगेर जीवन र जगतलाई बुझ्ने प्रयास गर्दैछौ । हुन त हाम्रा पूर्खाहरुले पनि यो जीवन र जगतलाई आफ्नै ढङगले नबुझेका अवश्य होइनन् तर समयको अन्तरालसंगै ती बुझाईहरु फरक हुदै गएकाछन् । किनकी तिमीले र मैले भोग्दै गरेको जीवन र जगत त्यो पहिलेको समय भन्दा निक्कै भिन्न खालको छ । सोचाईमा उस्तै लागे पनि बुझाइले र भोगाईले ती फरक हुनुका रङगहरु देखि सकेका छौ । हुन त कतिलाई यी रङगहरुको अभास नभएको हुन पनि सक्छ । किनकी जीवन केवल कामसंग मात्रै,ब्यवहारसंग मात्रै,द्रब्यसंग मात्रै वा आफुले अरुलाई सम्वन्ध सेतुको हात नबडार्इ एक्लै अथवा आफ्नै मात्र सोचेर जीवन जीउदा भोलिका आपति दिनहरु एक्लै ब्यहोर्नु पर्ने हुन्छ । त्यसवेला मात्र आफन्त विनाको जीवन जीउनु कति पीरो हुन्छ भन्ने कुराको अनुभूत हुन्छ । त्यो हामीले जीउदै गरेको जगतमा नभएको होइन तर ती कुराहरु पाठको रुपमा सिक्दै पाईला अगाडी बढाउँनु एउटा साग्लो र चेतनशील मानिसको कर्तब्य पनि हो । खाली एउटा जीवन जीउनु मात्र जीवन अवश्य होइन र त्यसले समाजमा त्यति ठुलो महत्व पनि राख्दैन । किनकी मानिसले समाजमा सामाजिक भएर बाँच्नु पर्दछ अनि बाँच्नु सक्नु पर्दछ । यदि सामाजिक भएर बाँच्न सकिएन भने मानिस हुनुको अर्थ पनि रहदैन ।
मानिस मानिसको लागि,परिवारको लागि,समाजको लागि,देशको लागि अहिले आएर अन्तर्राष्ट्रको लागि पनि बन्न पुगेको छ । यसरी हरेक कुराको परिभाषा,ब्याख्या,बिश्लेषण,अर्थमा परिवर्तनको प्रकाशले पहिलेको भन्दा बेग्लै वा नविन बन्दै ,बनाउँदै ल्याएको छ र लगेको छ । जो हामी हरेक दिन ती क्षणहरु संग,परिस्थितीहरु संग हातेमालो गर्दै आईरहेका छौ । यो नयाँ समयसंग सम्झौता गर्दै हामी ती अवस्थाहरुको सामना गर्न तत्पर हुनु पर्दछ र भैरहेकाछौ । नत्र समयको धुलोले नराम्ररी पुर्न सक्दछ ।
जीवन जीउनको लागि त कर्तब्य संग,बिचार संग,भावना संग,मानवियता संगर्,दर्शन संग,सम्भावना संग,ब्यावहार संग, आत्मियता संग अथवा जीवनले पुरा गर्नुपर्ने सबै बिषयबस्तुहरुसंग गासीनु पर्दछ । यदि यी कुराहरु हामीले हाम्रो मार्गमा उठान गर्न सकेनौ भने कामहरु अधुरा हुन्छन् अनि हामी आफै पनि अधुरो नै रहन पुग्छौ । किनकी त्यहाँ बुझ्नु पर्ने,जान्नु पर्ने,भोग्नु पर्ने,देख्नु पर्ने,अनुभव गर्नुपर्ने कुरा छुट्दछन् । यी सबै महत्वपूर्ण तत्वहरु जीवनमा छुटे भने निश्चय नै अलङकार विहीन हुन्छौ अथवा अशोभनीय जीवन मात्र बाँच्न पुग्दछौ । एक जीवन वा एक जुनीमा ती हामीले सोचेका,भनेका,देखेका कुराहरु पुरा हुने छेकछन्द हुँदाहुँदै बेपर्वाह बन्नु हाम्रो ठुलो कम्जोरी हुन पुग्दछ । उपाय खोज्न नसक्नु,उपाय भेट्न नसक्नु,उपाय देख्न नसक्नु झन कम्जोरी माथीको अर्को कम्जोरी हो । हामीले जान्दाजान्दै वा थाहा पाउदा पाउदै आफ्नै बेहासीलाई पाल्नु जीवनबाट आफैलाई बाहिर पार्नु हो । यो जगतमा,यो जीवनमा अनेकौ विकल्पहरु हुँदाहुदै जीवन यति मात्रै हो भनेर अथवा सपना पनि यति नै मात्र हुन भनेर तिमीले आफैलाई किन नियन्त्रणमा लिन खोज्यौ ?र प्रकृतिको बिरुद्धमा किन उभ्यायौ क्रिसा ?
अहिले सम्मको जीव विज्ञानले पनि कुनै जीवजन्तु वा प्राणीहरुको जीवन यति र यस्तै हो भनेर किटान गर्न नसकेको अवस्थामा तिमीले किन जीवनलाई अन्तिम रुपमा सोच्यौ होला यहि आश्चर्य लाग्दछ मलाई । जीवशास्त्री चार्ल्स डार्बीनले भनेका छन् हरेक प्राणी त्यो समयसंग अनुकुल हुन आफ्नो स्वरुप र सीलस्वभाव परिवर्तन गर्दै लैजान्छन् । यो पाठ अलिकति तिमीले अध्यायन गरेको भए निश्चय नै यो समस्याको उपस्थित हुदैन थियो होला । मानिसले जीवन र सपनालाई यति नै हो भनेर कसैले जीउन र सपना देख्न छोड्दैनन् । किन तिमीले आफ्नै बिरुद्धका सोचहरु उभ्यायौ ? मानिसहरु आफ्नो संरक्षणको लागि के के गर्न चाहन्छन् । र साच्चै भन्ने हो भने आफ्नो बिरुद्धमा कसैले पाइला चाल्न सक्दैनन् । चाल्नु पनि हुँदैन ।
तिमीले सोच्यौ होला एक बिन्दुमा पुगेपछि रहरहरु ,इच्छाहरु,आकांक्षहरु अथवा जीवनले चाहेका सबै कुराहरु अर्को बिन्दुमा र्सर्दैनन् । तर तिमी अलिकति गलत मार्गमा रहेछौ । किनकी आफुले जीएको संसार नै सारा हो । आफुले देखे,भोगेका नै अन्तिम देखाई र भोगाई हुन् । तर त्यो तिम्रो भ्रम मात्र हो अथवा तिम्रो अज्ञानता हो । किनभने कुनै कुराको अन्तिम भन्ने कुरा हुँदै हुँदैन यो संसारमा । तर हामी भने अन्तिम सत्यको खोजीमा हुन्छौ । तर कसैले पनि अन्तिम सत्य देखेका,भेटेका,जानेका हुदैनन् । सानो अन्दाज मात्र गर्ने गरीन्छ त्यहि हो कि भनेर । आज तिमीले जीएको संसार भन्दा अर्को संसारको किन कल्पना गर्दैछौ । अर्को यात्राको, बिचारको, भावनाको,चाहनाको,इच्छाको किन आकांक्षा राख्दैछौ ?त्यो वेला त्यहि र त्यति नै सारा ठानी दिँदाको परिस्थितीले आत्मग्लानीमा पक्कै परेका छौ होला ।
भ्यागुताले कुवा भित्र रहदा कुवालाई सम्पूर्ण संसार ठान्दछ तर जव कुवा भन्दा बाहिर निस्कदछ तव मात्र अर्को ठुलो,राम्रो,फराकिलो,रङगीन संसार देख्न पुग्दछ । र उसले हिजोको भोगाई र सोचाईबाट पाश्चताप महसुस गर्न पुग्दछ । हो आज त्यसरी नै जीवनलाई,संसारलाई बुझ्न नसक्नुले यो दुर्गती भोग्न विवश हुनु परिरहेको छ । तिमीले सोच्यौ होला त्यसवेला ठिक गरे तर आज त्यो कर्म बेठीक भएको छ । आजको यो गतिशील समयले एकछेउमा ठीक भएको बिषयवस्तु अर्को छेउमा पुग्दा बेठीक भैसकेको हुन्छ । हामीले आजको परिवर्तीत समयलाई आत्मसाथ गर्न सकेनौ भने अत्यान्तै ठुलो गलतको ब्लाक होलमा फस्न सक्छौ जस्ले हामीलाई सिनित्तै निली दिन्छ र हाम्रो अस्तित्वको अन्त्य भैदिन्छ । हामीले आफ्नै खुट्टामा बन्चरो हानेर घाइते बन्नु छैन । तर आज तिमी आफ्नो गलतमा प्रायश्चित गरी रहेकी छौ होला । गलत पछिको समयलाई सच्याउँन निक्कै गाह्रो हुन्छ तर केहि हदसम्म सच्याउँन नसकिने भने पक्कै होइन । अव आउँने नयाँ समयलाई हामीले र्स्पर्श गर्न नयाँ बिचारसंग,जीवनसंग अथवा नयाँले बाधेर ल्याएका सबै अन्तरबस्तुहरुसंग परिभाषीत हुन सक्नु पर्दछ । र्सार्थक जीवन जीउँनको लागि समयमा नै सोचविचार गरेनौ भने बाँच्ने ठाउँहरु आफै साँघुरीएर जान्छन् । अध्यायनसंगको अनुभवले नयाँ चेतनाको अभिवृद्धि हुन्छ । हामीलाई नयाँ चेतनाको अवश्यक पर्दछ । चेतना जीवनको मुल प्रवाह हो । चेतना जीवन यात्राको उज्यालो प्रकाश हो । जस्को उज्यालोले एउटा सुनिश्चित बाटोमा निर्धक्क पाईला बढाउँन सक्दछौ । हामीले नयाँ जीवन जीउनको लागि आफुलाई चाहिने पुराना आधारहरु लिदै नयाँ समयको यानमा चढेर अगाडी बढ्नु उचित हुन्छ । अव हामीले यहि उचित अवधारणाहरु अवलम्वन गर्दै नयाँ जीवनको खोजीमा पछि नपर्न आग्रह गर्छु क्रिसा तिमीलाई ।
No comments:
Post a Comment