बाटो


देवेन्द्र खेरेस

बाटो - उकालो
बाटो - ओरालो
बाटो - तेर्र्सो
बाटो - गाउँको वस्ती वस्ती
बाटो - शहरको गल्ली गल्ली
बाटो - समुद्रको किनारै किनार
बाटो - पहाडको कुम कुम
बाटो - जीवनको अघि अघि/पछि पछि ।

कसले हिडेन, नाक ठोकिने उकालोहरु ?
कसले हिडेन, खुट्टा काम्ने ओरालोहरु ?
कसले हिडेन, घुम्तिको तेर्र्सोहरु ?
कसले सम्झेन, छाडेको वस्तीहरु ?
कसले घुमेन, शहरको गल्लीहरु ?
कसले हेरेन, सामुद्रिक छालहरु ?
कसले चढेन, आफ्नै पहाड ?
कसले बोकेन, जीवनलाई अघि अघि/पछि पछि ?

यो बाटो
यो गन्तब्यहिन यात्रा
यै टाउकोलाई निचोरेर
यै निधारलाई खुम्च्याएर
यै ढाडलाई बङ्गाएर
यै खुट्टालाई तन्काएर
यै पाइलालाई कदम कदममा पछारेर
कुनचाँहि बाटो हिडिन होला ?

सधै त्यै ठाउँमा बाधिनु
सधै त्यै ठाउँमा थुनिनु
सधै त्यै ठाउँमा झोक्रिनुको
परतन्त्रलाई टेक्दै हिडे
यौटा नयाँ बाटो खोजेर
यौटा नयाँ बिचार रोपेर
यौटा नयाँ यात्राको सुरुगरे ।

मैले टेकेको खुट्कीलोहरुमा
पाइलाहरुको डोब छाडेर हिढे
अर्को समयको लागि
अर्को यात्रीको लागि
अर्को बाटोको लागि
जो बाटो खोजेर नथाकोस
जो बाटो बिर्सेर नआतियोस
जो बाटो हेर्दा हेर्दौ नहरावस ।

मैले हिडेको बाटो
मेरो घरमाथिको ठाडो बाटो हैन
र, घर मुनिकोओरालो पनि हैन
तर
मैले टेकेको ढुङ्गा माटोहरु
मैले भेटेको रुख बिरुवाहरु
मैले सुनेको भ्याकुरको छ्याक् छ्याके आवाज
मैले पिएको चिसो पानी
मैले देखेको दृष्यहरु
र, सिरसिरे हावा
सप्पै सप्पै
मेरै घुर्‍यानको ढुङ्गा माटो
मेरै राणिवनको रुखपात
मेरै सिकुवाको गौथली
मेरै धाराको पानी
मेरै आँगनको डिलमा चल्ने हावा
र, मेरै घर घुर्‍यानको जस्तो
तिर्सना मेट्ने दृष्यहरु
फरक मात्रै बाटो
त्यै फरक बाटोलेगर्दा
निर्वासनको गन्ध सुघ्दै हिडे
हिडिरहे......
हिडिनैरहे.........
थाहाछैन अझै कति हिड्नु पर्ने हो ?

No comments: