दोषी

बि जे बान्तवा

तिमी मलाई दोषी कहिल्यै नसम्झनु
किनकी दोष हामी दुईमानै थियो
तिम्रो गहिराइमा म डुब्न सकिन
तिमीले पनि त मेरो हृदयको दर्पन चिहाएनौ
तिम्रो सबै पलहरुमा साथ दिने कसम खाएँ
कसम निभाउने समय पनि त दिएनौ
तिम्रो गोरेटोमा कसैले हिरामोती जडित पुल बाँधिदिए
पछी यो गरीबको झुपडी धाउने गोरेटो पनि त भुलेउ
मैले तिमीलाई मेरो जिन्दगीको अमुल्य गहना सम्झे
तर तिमी अर्कैको बगैंचामा सजिन पुग्यौ
त्यसैले मलाई दोषी नसम्झनु दोष हामी दुइमानै थियो!!

नाङ्गो सभ्यता


चन्द्र गुरुङ्ग

ए सुन्दरी !
तिमी, कामको लागि
फैशन-शोहरुमा शरीरमाथिको लुगा
फाल्छौ एउटा-एउटा गर्दै,
दाम पाउनको लागि
हिंड्छौ रैम्पमा मस्त
ब्रा-पैन्टीमा 'कैट-वाक' गर्दै
र नाम कमाउनको लागि
मुस्कुर।उँछौ कातिल मुस्कान
विज्ञापनहरुमा अंग प्रदर्शन गर्दै ।
अनि भन्छौ-
यो त आधुनिकता हो ।
यो त सभ्यता हो ।

तर म भन्छु
यदि नाङ्गीनु नै सभ्यता हो भने
हाम्रा पूर्वज बढी सभ्य थिए ।
जो नाङ्गै हिंड्थे,
नाङ्गै सुत्थे
र खेल्थे नाङ्गै ।
हामी त,
सभ्यता र आधुनिकताको यो दौडमा
अगाडि होईन
धेरै पछाडि परेका छौं ।

मन लाग्छ


एस के पूर्वेली

देशलाई फर्केर हेर्दा
रुन मन लाग्छ
हिजो भन्दा आज झन
दर्दनाक झै लाग्छ
मानवरुपी शरीरहरु
एकाएक कंकालमा
परीणत हुदा
कतै मानवियता नै
छैन कि ? जस्तो लाग्छ
लहान भैरवा परासी
घट्ना सम्झदा
दोषीउपर तुरुन्त कारवाही
गर्न मन लाग्छ
गौर नरसंहार हेर्दा
आयोग गठन गरी
कारवाही गर्न मन लाग्छ
हिजो भन्दा आज झन
दर्दनाक झै लाग्छ
बाढी पीडीत देख्यो भने
राहत लिएर जान
मन लाग्छ
भोकमारी चलेको ठाउ
देख्यो भने दुइ छाक
खुवाउन मन लाग्छ
कपिलवस्तु सम्झ्यो भने
मधिशे र पहाडेको
समायोजन गर्न मन लाग्छ
तसर्थ
देशलाई जहा भए पनि
फर्केर हेर्न मन लाग्छ
हिजो भन्दा आज झन
दर्दनाक झै लाग्छ

लाहुरे फूल


टंक वनेम

तिमीले नभोगेको डेथ भ्याल्ली भोगेर
रातो पहाडको गहिरो नदीहरु
अटप्पे जङ्गलका
काँडाहरुले घोचिन्दै
उक्लि रहेछु उकालै उकालो
ओर्ली रहेछु ओरालै ओरालो
लम्बी रहेछ
जीवनको आरोहावरोह ।

भनेका थियौ
पट्टक्कै सुहाएन है
तिम्रो नाम
लाहुरे फूल
खोइ कहिले फेरिन्छ त
मेरो नाम
सूर्यमुखी र
कनक चम्पा भएर
कहिले बन्द गछौ कुन्नी ?
डायस्पोरामा बसेर
दुःख भोग्नुको पिडा
कहिले थुन्ने हौ
आमालाई संम्झेर बग्ने
आँसुको यो दोभान ।

तिमी संम्झिन्छौ
म मान्छे मात्र मार्छु
युद्ध मात्र गर्छु
तरवार मात्र उध्याउछु
बन्दुक मात्र पड्काउछु
धरोधर्म
म कहाँ
मान्छे मात्र मार्छु र
तिम्रै जस्तो एउटा
मायाको पहाड उभेको छ म भित्र
तिम्रै जस्तो इच्छाका
कुइनेटाहरु घुमेका छन फनफनी

मनका नदीहरु बग्दै गई रहेछ सलल
ति म्रो इत्छाका धागाहरुमा उनिएका
रहर लाग्दै भविश्य जस्तै त छ मेरो मन
जसरी दुख्छ
सुस्ता महेसपुर मिचिन्दा तिम्रो मन ।

युद्धभूमिमा होमिनु
मेरो रहर हो कि - वाध्यता
इतिहास बिना कहाँ
वर्तमानको निर्माण भएको हो र ?
तिमीले पनि त पढेकै छौ
सत्ता टिकाउने बादशाहहरुको इतिहास
कस्लाइ पो हुन्छर
बमको चोइटा
सुनु सुनु लाग्ने
संगीतको मूर्च्छना
कस्लाइ पो हुन्छ र ?
दुइ दिन बाँच्ने जीवनलाई
डेथ भ्याल्लीको रहर ।

सत्य त त्यहि हो
अर्काको बन्दुक बोकेर
मर्दैन देश प्रेम
डलरको खेतिमा
उभ्दैन स्वाभिमानको पहाड
स्वीकार्य छ
मेरो नाम फेरि देउ
म अब-
लाहुरे फूल हुन चाहान्न
तिमी जस्तै हुन चाहान्छु
दुरुस्त तिमी जस्तै ।

केहि हाईकू

केदार संकेत

1
सोझा नारीको
फाइदा नउठाउ
मित्रको विन्ती ।

2
मौलिक हक
श्रीमातीको प्रसंसा
अध्यारो घर ।

3
पाहूनाहरु
वरिपरिका मात्र
ज्रि्रोको स्वाद ।

4
परजिवीको
खोक्रो सूख्खा ढाडमा
झूसिले किरा ।

5
राजनितिमा
दार्शनिक भावना
घर यूकेमा ।

6
घरभरि नै
मात्र पाहूनाहरु
मासू र भात ।

7
दूइटी स्वास्नी
अघोषित कानुन
मारमा कान्छी ।

8
कान्छी साथैमा
नेपालमा एउटी
पाकेको पिलो ।

9
आडम्वनाको
राजनितिक खोकाई
चिनेको चोर ।

10
भाषणै पिच्छे
स्वतन्त्रताको कूरा
कूण्ठित मन ।

नयाँ वर्ष लागेछ


दिलिप योन्जन

मिठा सपनामा डुब्दा डुब्दै
सुख र शान्ति खोज्दा खोज्दै
कुन बाटो कता जाउँ हेर्दा हेर्दै
मन भरिको सवाल र जबाफको युद्धले
एक पना बेदना, बिरह र गीत
लेख्दा लेख्दै गन्तब्य भुलिएछ
न त हिँदेर उदेश्य भेटियो
न त खोजेर केही नै पाइयो
आफ्नै ब्यथा, कथा अनि पीडा
त्यही घर, भिता अनि फुटेको सिसा
हेर्दै बसियो, गर्न केहि सकिएन
घाम छिरेको छ, पानीले भिजेको छ
दिन दिन भन्दा भन्दै महिना बितेछ
महिना गन्दै हिजो बेलुकी लडेको
बिहान उठ्नै नपाई ओछ्यान मै
नयाँ बर्ष लगेछ।

त्यो दिन कहिले आउला भनी
मेहेनतको पसिना बगाएर
शिखर चुम्ने आसै आसमा
दिन रात, रात दिन गरी
परिबर्तन आउने बिश्वासमा
मैनवती भै अन्धकारमा बले
न त कसैले देख्यो ढुख
न त कसैले सोध्यो पीडा
उकुस मुकुस उत्साही भाबनाहरु
लह - लह फुल्न नपाउदै
मन भित्र भित्रै ओइलिएर
झर्न नपाउदै फेरि फुल्ने आसमा
नयाँ पालुवा भै फेरि पलाउन खोजे
उमेर नपुगेर दिन गन्दै बस्दा
नयाँ बर्ष लागेछ ।

चाड पर्व लाग्यो
रमाउने रमाइरहेछ
हरौने हराइ नै रहेछ
हुनेलाई छदैछ
नहुने खोज्दैछ
भएर पनि हराए जस्तो
सबै चिज छैन सस्तो
सबै फोस्रो खाली खाली जस्तो
देखिने लाज छोप्नलाई
खाली हात साहुको आस
दुईको चार, चारको आठ
जता टेके नि अभावै अभाव
यता नि भिर, उता हेरे तीर
खेत नि छैन, बारी नि बगायो
एक छक त दुख सुख
अब त त्यो पनि हरायो
जाने ठाउँ खोज्दा खोज्दै
मुल बाटो र चोर बाटो हेर्दा हेर्दै
नयाँ बर्ष लागेछ।

खेत बारीम अन्न पाक्ला
अभाबको सागरमा मुना पलाउला
एक गाँस भए पनि सँगिनीसँग हाँसेर
भत्किएको भिता टालेर
मक्किएको खम्बा फेरेर
खुल्ला आकासमा सेउला हालेर
हावा हुरी नआउन्जेल सम्ममा
नयाँ डोब र किल्ला गाडेर
पहरोमा टहरो हालुँला
फाटेको चोली च्यातिएको फरिया
त्यो नाग्गेभुन्तेलाई भोटो
खुशीले आत्मा छल्किन्छ, पोखिन्छ
पसाइसकेको धान
फलिसकेको मकै
असिना पानीले कुट्नै कुटेछ
भत्केको कर्म, हारेको भाग्य
पुरिएको डोब र भत्किएको किल्ला
च्यातिएको मन सिउदा सिउदै
नयाँ बर्ष लागेछ।

जाडोमा कक्रिन्दै रात रातभरि
गर्मीमा पाक्दै दिन दिनभरि
माघको जाडो साट्नलाई
खुल्ला अकास, त्यो पेटी
बिहानीको शितसगै बिउझेको निद्रा
रात भर छट्पटिदा देखेको सपनी
महलको सिसाहरुमा देखिने नाग्गो जबानी
साहुको आठ, बारा, बीसको काहानी
दुर्भाग्यको रेखा मेटिएला कि भनी
बुढि आमा अनि बाबुको सपना
एउटा पेटिकोट र अर्को इस्टकोट फेर्न
एकादेशको कथा झै भा छ
फाटेको छ, च्यातेको छ देख्दैछु
कति हाँस्छ खिसी गरेर
कति रुन्छ आफ्नै ढुख सम्झेर
कोही भन्छ शत्रुलाई पनि यस्तो नपरोस्
आमाको आशिर्वाद
बाबुको हाकिम हुने बरदान
सँगिनीको दुखेर भिजेको आत्मा
अभाबले पोलेको दुधे बालक
सोच्दा सोच्दै, हिड्दा हिड्दै
नयाँ बर्ष लागेछ।

AUSTIN, TEXAS, USA

गजल


बसन्त मोहन अधिकारी

कति बाँचौ संसारमा, सधै मरी मरी ।
छोड्नु पर्यो जीन्दगीलाई आज मैले हरी ।

आकसको गगनमा घुम्छु भन्ने जोडी
हान्यौ छुरी मुटु बिच किन होला चरी ?

साथै बाँच्छु भनि भनि गयौ चोट छोडी
त्यै चोटले लडेको छु यहाँ घरी घरी ।

मन्दिरको बाचा कसम गयौ तिम्ले तोडी
मन्दिरमा अब जाँदा के के माग्छौ परी ?

हाँसो दिई आशु लिए जन्म नाता तोडी
हान्यौ लाठो यो गोडामा नउँठोस झै गरी ।

नत आज हिड्न सक्छु न गगनमा उड्न
आँखै बन्द हुने गरी बष्र्यो आज झरी ।

यति मिठो माया दियौ कहाँ राख्औ गोडी
हाँसी रह्यौ संसारमा मेरो बुर्की छरी ।

वृद्धको पीडा


चन्द्र मादेन "आन्छन्"

मेरी अर्धाङ्गीनी
मेरी प्राणेश्वरी
मेरी प्यारी
मेरी मायालु
मेरी मुटु
भित्रिएकीदिन
जीवनकै सवभन्दा सुखद थियो ।

त्यसपछि
मेरा वाला,मेरा वचेरा
मेरा छुन्नु मेरा मुन्नु
मेरा सानु मेरा नानु
मेरा आखाँको नानी
सवै प्यारा प्यारी ।

वगिरह्यो,
समयकोअन्तरालसगै
नाता नातिनी झाँगियो
झन खुशीले वास गर्यो
हर्षले सिमै नाघ्यो ।

अनगिन्ति मेरा समय
अनवरत मेरा परिश्रम
अविरल मेरा कर्तव्य
अचाक्लि मेरा स्नेह
सवै मेरा परिवारलाई ।

पाले टाले हुर्काए
वढाए पढाए
शिक्षा दिलाए
आखाँ देखाए
वाटो चिनाए ।

उपलव्धि स्वरुप ,
आफु स्वंय कुप्रिए,थोत्रिए
रोग्गिए अनि एक्लिए ।

मेरा कष्टतापूर्ण त्यागले
मेरा परिवार
भए सम्पन्न र समृद्धि
उनीहरु सवै
भए तगडा र सवला
सोचेका थिए
यिनैले गर्छन मेरा पहरा
यिनै हुन् मेरा अन्तिम साहारा ।

न जानेर गर्छ
न देखेर गर्छ
न अह्राको मान्छ
न कराको सुन्छ ।

सोच मेरा विडम्वना भयो
परिकल्पना मेरा र्सवस्व भयो
वृद्धवस्ता मेरा अभिषाप भयो ।

त्यसैले आज ,
मृत्युसगँ सघर्ष गरिरहेको छु
दाउराको चिर्पट झै
भुइमा लडेको छु
मिल्किएको छु
रद्धिको टोकरीमा
फ्याक्ने कसिङ्गर भएको छु ।

आफ्नै सन्ततिहरुको
पिलो भएको छु
आफ्नै रगत वाट
पर्राई भएको छु कसैको निम्ति ऐजेरु भएको छु
कसैको लागि आखाँको
कसिङ्गर भएकोछु
सवैको लागि हाँसोको
पात्रो भएको छु ।
सवैको निम्ति वोझभएको छु ।

मेरो निम्ति
आकाश फाट्यो
धर्ति फूट्यो
समुन्द्रमा जहाज डुव्यो
मन डडेलो लाग्यो ।

आफन्तको साहारा भन्दा
पराइको दृष्टि ठूलो लाग्छ
वृद्ध भएर वाच्नु भन्दा
मृत्यु अङ्गाल्नु निको लाग्छ ।।।

गजल


मिजास तेम्बे

के छ खबर, हजूरको अचेल ।
सम्बन्ध किन, दुरदूरको अचेल ।

न राग मिल्छ न ताल मिल्छ ।
जीवनको धुन, बेसूरको अचेल ।

तिर्थालु छैनन्, श्रद्घालु, छैनन् ।
सीरको उच्च, गजूरको अचेल ।

रितो छ मन, रहर छैन ।
समय कस्तो, झुरझूरको अचेल ।

बाटो


देवेन्द्र खेरेस

बाटो - उकालो
बाटो - ओरालो
बाटो - तेर्र्सो
बाटो - गाउँको वस्ती वस्ती
बाटो - शहरको गल्ली गल्ली
बाटो - समुद्रको किनारै किनार
बाटो - पहाडको कुम कुम
बाटो - जीवनको अघि अघि/पछि पछि ।

कसले हिडेन, नाक ठोकिने उकालोहरु ?
कसले हिडेन, खुट्टा काम्ने ओरालोहरु ?
कसले हिडेन, घुम्तिको तेर्र्सोहरु ?
कसले सम्झेन, छाडेको वस्तीहरु ?
कसले घुमेन, शहरको गल्लीहरु ?
कसले हेरेन, सामुद्रिक छालहरु ?
कसले चढेन, आफ्नै पहाड ?
कसले बोकेन, जीवनलाई अघि अघि/पछि पछि ?

यो बाटो
यो गन्तब्यहिन यात्रा
यै टाउकोलाई निचोरेर
यै निधारलाई खुम्च्याएर
यै ढाडलाई बङ्गाएर
यै खुट्टालाई तन्काएर
यै पाइलालाई कदम कदममा पछारेर
कुनचाँहि बाटो हिडिन होला ?

सधै त्यै ठाउँमा बाधिनु
सधै त्यै ठाउँमा थुनिनु
सधै त्यै ठाउँमा झोक्रिनुको
परतन्त्रलाई टेक्दै हिडे
यौटा नयाँ बाटो खोजेर
यौटा नयाँ बिचार रोपेर
यौटा नयाँ यात्राको सुरुगरे ।

मैले टेकेको खुट्कीलोहरुमा
पाइलाहरुको डोब छाडेर हिढे
अर्को समयको लागि
अर्को यात्रीको लागि
अर्को बाटोको लागि
जो बाटो खोजेर नथाकोस
जो बाटो बिर्सेर नआतियोस
जो बाटो हेर्दा हेर्दौ नहरावस ।

मैले हिडेको बाटो
मेरो घरमाथिको ठाडो बाटो हैन
र, घर मुनिकोओरालो पनि हैन
तर
मैले टेकेको ढुङ्गा माटोहरु
मैले भेटेको रुख बिरुवाहरु
मैले सुनेको भ्याकुरको छ्याक् छ्याके आवाज
मैले पिएको चिसो पानी
मैले देखेको दृष्यहरु
र, सिरसिरे हावा
सप्पै सप्पै
मेरै घुर्‍यानको ढुङ्गा माटो
मेरै राणिवनको रुखपात
मेरै सिकुवाको गौथली
मेरै धाराको पानी
मेरै आँगनको डिलमा चल्ने हावा
र, मेरै घर घुर्‍यानको जस्तो
तिर्सना मेट्ने दृष्यहरु
फरक मात्रै बाटो
त्यै फरक बाटोलेगर्दा
निर्वासनको गन्ध सुघ्दै हिडे
हिडिरहे......
हिडिनैरहे.........
थाहाछैन अझै कति हिड्नु पर्ने हो ?

गजल


बसन्त मोहन अधिकारी

रोयो मन, दुख्यो तन ।
बम हान्ने कस्तो मन ?

आफ्नै घरमा बम हान्यो
घर बल्यो दन दन ।

बस्त्र यहाँ हरण हुदाँ
गयौ कृष्ण छाडी बन ।

घरमा यस्तो मानव बुद्धि
आफैलाई खाल्टो खन ।

यहाँ शान्तिको बाटो छेक्ने
अब हुन्छ तिम्रो समापन ।

आतंक र हत्याहरु
बन्द गर भन्छ जन ।

मानव हौ तिमी भने
भौ शान्तिमा समागन ।

कुकार्य र कुलतमा
पासो बन्ला कालो धन ।

जनताहरु सबै रोए
रुन्नौ किन तिमी भन ?

परदेशी


दिलिप योन्जन

सात समुन्द्र पारि
पोल्टोभरि भरि माया
आँखाभरि भरि छायाँ
रिदयभरि तस्बिर साँचेर
छोटो समयमा
लामो अतीत र बर्तमान बिर्साउन
मुटुभरि जिबनसाथीको प्यार बोकेर
पल पलको सम्झना साट्न
सुटकेसभरि मायालुलाई उपहार बोकेर
क्षत बिक्षत कल्पनामा डुबेर
बादल माथि माथि भबनामासँगै उडेर
सपरिवारको यादमा भाबबिहल्वल हुदै
बर्षौ पचिको आस र प्यास मेटाउन
इन्द्रेनीको हार उपहार बोकेर
बिछोडमा ढल्पलिएको आस्था जगाउन
कति आउँछ कति हराउँछ
सिमानाको सुरक्षा गर्दा
रोबट बनेर मेसिनसग खेल्नु पर्दा
गोली र बारुदको सुरक्षा गर्दा
अर्काको अधिकारमा कैदी भएर
कोही हात हराएर साथ माग्न आँउछ
कोही खुता हराएर बैसाखी माग्न आँउछ
कोही ज्यान गुमाएर चिहान माग्न आउछ
मस्त जवानीमा चुरा फुटाएर
अतीत र बर्तमान सगाल्दै
आउन चै आउछ पत्र फोन
छोटो समयमा
लामो अतीत र बर्तमान बिर्साउन

AUSTIN, TEXAS, USA

गजल


बसन्‍त मोहन अधिकारी

सोचेको थिए तिमी भर हो मेरो
आफैले बनाएको घर हो मेरो

प्रकृति स्‍वरूप आकर्षण हामीमा
म सितल पिपलु तिमी वर हो मेरो

नसकी चल्‍न यहाँ एक्‍ला एक्‍लै
तिमी नै शरीरको एक हर हो मेरो

पबित्र जीवनमा यो अन्‍जान स्‍वरूप
तिमी नै स्‍वरूप दिने थर हो मेरो

आजकल घरमा अनौठो परीवेष
मलाई नै विगार्ने यो नर हो मेरो

उ एउटा गीतकार

बि जे बान्तवा

उ बाँच्छ, उस्को गीत सँगै
उ जिबित रहन्छ उस्को गीत सँगै
कती मार्मिक हुन्छ उस्को गीत
जो कोहिको हृदयको गहिराइ छुने
गीत भित्र लुकेको प्रित त झनै
सँधै गाइरहुँ हुने
उ सोंच्छ गीत लेख्छ
अनि गीतमा प्राण भर्छ
उस्को गीतमा जहिले पनि
भावना लुकेको हुन्छ
गाउँबेसीको कथा लुकेको हुन्छ
उस्को भावना गाएर
धेरै -धेरै गायक
नम्बर-१ गायक बन्छन
उ एउटा गीतकार जहिले पनि
पर्दा पछी रहन्छ
उस्को गीत गायकलाई
सबैले क्या राम्रो गीत
गाउने गायक भन्छन
तर त्यो गीत लेख्नेले को हो ?
कसैलाई वास्ता समेत हुँदैन
उ एउटा दुखी गीतकार
हजारौं गीतमा प्राण भर्छ
कोही थाहा पाउदैनन
उ कहिले मर्यो
उस्को गीतहरु गल्ली गल्लिमा
घन्किरहेक हुन्छन
दुनियाँलाई नचाउछन, हसाउछन
धेरै मनोरन्जन दिन्छन
तर त्यो गीतकार को हो?
उस्लाई कहिले थाहा पाउँछन?

(यो सम्झना गीतकार स्व.श्री हरीभक्त कटुवाल ज्यु लाई)

भोजपुर

मेरी प्रियसी

हरिश कल्पित

जुन पनि उदाउँ तिमी
औसीको अध्यारो रातमा !!

फूल बनि फक्रिदेऊ तिमी
शिशिरको उराठ मौसममा !!

वादल वनि र्छाईदेऊ तिमी
शुन्यताको विशाल आकाशमा !!

सावन बनि वषिर्देऊ तिमी
उजाडीएको बाजो धर्तीमा !!

गजल


दिलिप योन्जन

तिमी गर्छौ फुलको कुरा
आफ्नो खिल निस्केको छैन!

तिमी गर्छौ जुनको कुरा
आफ्नो टेक्ने धुलो छैन!

तिमी गर्छौ चौरासी बेन्जनको कुरा
आफुलाई भोकले छाडेको छैन!

तिमी गर्छौ अमृतको कुरा
आफुले बिस बाहेक पिएको छैन!

तिमी गर्छौ मोज मस्तीको कुरा
आफ्नो बाच्ने आधार छैन!

तिमी गर्छौ हाशो खुशीको कुरा
आफुलाई दुख्न छाडेको छैन!

तिमी गर्छौ सुख शान्तिको कुरा
आफु जिउदो बाचेको छैन!

तिमी गर्छौ ताज महलको कुरा
आफ्नो लुक्ने छत छैन!

तिमी गर्छौ प्रेममा सगरको कुरा
आफुले बगर बहेक टेकेको छैन!

हिजो गर्थेउ जिउने मर्नेको कुरा
आजा तिमीलाई थाहा छैन!

AUSTIN, TEXAS, USA
hyounjon111@gmail.com

म मर्न चाहन्न


बसन्त मोहन अधिकारी

खारा पछि बारा आयो
अनेक धारा उपधारा आयो
पानि आएन ।
प्रजातन्त्र , समाजवादमा
समानताको परिचय
हज्जार युरोको झोला
भोकमरि र हैज्जा
लुकाउनै परेन ।
विकासमा अर्थ निती
प्रमाण बाँसबारी
लाउडा र चाइनास्वाउथ
उड्नै परेन ।
पुर्खाको सृजित धन
बेलायतको राजदुतावास
लोभि पापी माँझ
बाँच्न सकेन ।
केन्सिड.टन हिलर्गाडमा
नेपाली झन्डा
चन्द्र र सुर्य
खै, किन -
सह्य भएन ।
यहाँ कसैको विश्वास रहेन
भ्रष्टचारी डिजाईनरले
छाड्दै छाडेन ।
स्वदेशमा मात्र होइन
मलाई,
बिदेशमा बाँच्न दिएन ।
हे प्रदेशी मेरा सन्तान ,
हे वीर र्गोखाली,
हे बेलायतबाँसी ,
म मर्न चाहन्न ।
म मर्न चाहन्न ।