जालो भित्र


स्यानु पाईजा

फेस बुकमा फेस देखाउने र हेर्ने साथीहरु
मलाई उत्ताउलो कमेन्टस लेख्न बाध्य गर्छन
आधुनिकताको जालो भित्र अनौठो रिक्ततामा
त्यहि रिक्तताको पाना मा एउटा रित्तो चित्र
मोनालिसा को नक्कलमा मुस्कुराउछ
म असहज महसुस गर्छु – मेरो पुरुष अनुहार
तर मुस्कान मोनालिसा को नक्कल
म त्यही कहि कतै भेटिन्छु
रँग उडेको एउटा पुरानो माला झै
पुन: रँगाईएका टाउको बोकेर
त्यही कहि उभिरहेको हुन्छु
बोन्साई बनेका रहरहरुको बिचमा
बर्तमान र आबश्याकताको स्यान्डुईच भित्र
उनले कुनै गुनासो गरिनन
मेरो बदलाव अनुहार मा
उनि बुझ्दथिन – पुरानो कुरा
म कहि न कहि उनको यादमा उभिएको छु
असाध्य जालो भित्र पनि समिप्यमा छु
उनि भन्न सक्छिन- हाउ आर यु ?
म भन्न सक्छु – आई लभ यु
अँग्रजी बुझ्ने भएको भए हजुरआमा
उत्ताउलो-उत्ताउली हरु भन्नु हुन्थ्यो पक्कै
तर के थाहा ?
बत्ती बलेको बेला भन्नु हुन्छ रे
नाती आउने स्यानो टिभि हेरौ
यु ट्युव भिडियोमा म- बजै को सानो टिभि कम्प्युटर
नेटको जालो भित्रको झ्यालमा छिरेर
म तिम्रो छेउमा आउन सक्छु
मुस्कुराउन, रिसाउन बोल्न र जिस्कनु सक्छु
तर सक्दिन तिमीलाई सुम्सुमाउन
अँगालो भरी सन्तोषको रात निदाउन
मात्रै दोहरोरिन्छ त्यहि शब्द-आई मिस यु
मात्रै दोहरोरिन्छ त्यहि शब्द-आई लभ यु
यहि पराई देशको भाषा र पैसा ले
तिमी र मलाई मात्र होईन प्रिय
जालो जस्तै सन्सारलाई नै जेलेको छ
स्वनिर्णयको सजाय जस्तै यस्तै जिवन
तिमी र मैले मात्र होईन
यहि जालो भित्र अरुले पनि बाँचेका छन

पात्लेखेत-७, म्याग्दी

No comments: