हजुरआमालाई चिजबल


स्यानु पाईजा

कालो हुने गरी पारी भिरमा आगो लाग्यो
चुल्ठे खोला पलाएन भन्छन बुढापाकाहरु
मानो पाथी फल्ने बारीमा मोटर बाटो पस्दैछन
घर भित्र केवुल टिभी पसेको पहिल्यै हो
झ्यालको किल्लामा मुवाईल सुसाईड गरेको पहिल्यै हो
मुवाईल गाउँ पस्न हतार गर्छ-(टावर) सिग्नल नपस्दै
एफ एम रेडियो बनेका मुवाईल सेटहरु
कहिले क्यामरा बनेर चित्त बुझाउछन
कहिले मिडिया प्लेयर बनेर चित्त बुझाउछन
अश्सील भिडियोहरु उमेर नपुग्दै हात हातमा पुग्छ
त्यो मन जहाँ गाउँ बसेको हुन्थ्यो
अचेल शहर र नक्कल सोझै पसेको छ
एफएम रेडियोहरु नेपालीमा अंग्रेजी मिसाएका छन
नेपाली अंग्रजीमा मिसिएको छ
साँचो भनौ त न अंग्रजी मात्र बोल्नेले बुझ्छन
न नेपाली मात्र बोल्नेले बुझ्छन
अचेलको भाषा हजुरआमालाई चिजबल जस्तै लाग्छरे
त्यसै खाँदा गिजा दुख्ने चियामा भिजाउदा खानै मन नलाग्ने
यस्तो पनि जिवन ? के जिवन
लोकल भाले शहर पस्छ
बिकासे दानापानीले बाँस्न नसक्ने बोईलर बन्छ
जो समाय मै मोटाउछ र आयु छोट्याउछ
अचेल शहरियाहरु लोकल कुखुराको सुप खोज्न गाँउ पस्छन
तर बोईलर नै भेटिए पछि दिक्क हुन्छन
सुनाउनेहरु सुनाउछन-
गाँउलेले शहर गाउँ जस्तै बनाए
दोहरीलाई शहर भित्राए तर बियरमा मिसाए
शहरियाहरु ले गाउँलेलाई उत्ताउलो बनाए
मलाई कहिले त यस्तो लाग्छ
हजुरआमाले भनेको चिजबल जस्तो लाग्छ
गाउँ र शहरको आलोचनाहरु
बिचरा मान्छे अचानो बनेको छ
दुबै को प्रहार सहेको छ
मलाई दाँत झरेको गिजामा चिजबले घोचे जस्तै लागेको छ

पात्लेखेत-७, म्याग्दी

No comments: