खरानी


प्रतीक चाम्लिङ्ग

उराठीलो गोधुली
अस्ताउनै लागेको घामको
मिहीन किरण
समुन्द्रको छाल संगै
डुब्दै र तैरन्दै
मधुरो टल्किरहेछ
मबाट फुत्केर निस्केको
चुरोटको धुवा
पर क्षितिजलाई ओझेलमा पार्दै
मेरै आंखाको सामुबाट
फुस्स फुस्स आकाशतिर उडिरहन्छ

बाच्नुका नियती
छोटिन्दै गरेको चुरोट
उडिरहेको धुवां
अस्ताई रहेको घाम ।

विहान
दिउसो
सांझ
फेरी रात
भनौ एउटा दिनको अन्त्य ।

घोरिएर आफैलाई सोध्छु
एउटा जन्म
एउटा मृत्यु
म आफैलाइै छाम्छु
मैले बांचेका जीवन
कति तीतो ?
सेकेण्ड सेकेण्ड मरेर
एउटा अहमता भित्र
भ्रम बांचिरहेछु
बाच्नु ...........
एउटा भ्रम
एउटा अहम
चुरोटबाट खरानी खस्छ
म खरानी खोस्रेर हेर्छु
जीवन र खरानीको रङ्ग
उस्तै उस्तै देख्छु ।

1 comment:

Dibya Giri said...

Prateek-jee

Congratulation for nice poem.
Dibya Giri