यो बर्ष हाम्रै हित बनेर आउनेछ


आचार्य प्रभा

बिस्म्रीतीको धुलोमा
पुरिँदै,धसिँदै
अनि कुना,कन्दरा र डाली डालीमा
लहराउँदै आयो भन्छन्
नयाँ बर्ष/
मनमष्तिस्कमा
बिझाउंदै,पोल्दै
अनि आँखा र अधरहरुमा
लोलाउँदै,मुस्काउँदै
सुसायो भन्छन्
नयाँ बर्ष /
खै त!अतितमा झै
उल्लास र उमंग
नयाँ बर्षको?
खै त!बिगतमा झै
हर्ष र खुशियाली
नव आगमनको?
हो सबै प्रश्नहरु
अनुत्तरित छन्
सबै जिज्ञासाहरु
मौन छन्
किन की हामी सबै
यसघडी मौनताको
छाँयाभित्र अल्मलिएकाछौं
त र पनि हामी
हौं,आशाबादी
यो बर्ष हाम्रै हित
बनेर आउनेछ,
यो समय हाम्रै जित
बनेर छाउनेछ।
पन्साउँ नकारात्मक
सोंचहरुलाई,
हटाउँ बैमनष्यताका
पर्खालहरुलाई,
गरौं न्वारान
आउने नयाँ शिशुको
राखौँ नाम
शान्ति र सद्भाव भनि /
पर्दैन गर्न स्वागत
फूलको हत्या गरेर
पर्दैन गाउन गीत
शुभकामना भनेर
गरौं चोखो आत्माले
भाव स्वच्छ पोखेर
मिलाउँ हातहरु
नयाँ बर्ष सुखद
होस् भनेर/
यही कामना गरौ
सबै मिलेर,
नयाँ भावना जगाउँ
नव बर्ष फलोस्,फुलोस
भनेर/

No comments: