विमल गुरुङ
केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरै खाइसकेपछि खाना ।
आगो बल्दैछ
पात पतिंगरहरु जल्दैछन्
काठहरु बल्दैछन्
खसेलाहरु जल्दैछन्
आगो बल्दैछ ।
रहर छ
आगो ताप्ने मलाई पनि
यो हुस्सु परेको रातमा ।
आगो बल्दैछ
अवरोधहरुको फलामको सत्ता गल्दैछ
हामीलाई
बाटोमा
राम्ररी हिंड्न नदिने
काँडाहरु जल्दैछन्
कोइला हुँदैछन्
खरानी हुँदैछन्
आगो बल्दैछ ।
कहीं जाँदा पनि
हामीलाई शान्ति छैन
कोठा जाँदा पनि शान्ति छैन
कौसीमा
सडक, रिक्सा, साइकल, मोटर
मान्छेहरु र
काठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
सिमेन्टका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
केही गर्दा पनि शान्ति छैन
कतै जाँदा पनि शान्ति छैन
हुस्सु-हुस्सु छ चारैतिर
ठण्डा-ठण्डा छ चारै-चारैतिर ।
हुन सक्छ
यसैले केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरे खाइसकेपछि खाना ।
आगो बल्दैछ
साइकलको पुरानो टायर जल्दैछ
खुब मजाले
हवार-हवार्ती जल्दैछ
साइकलको
डेट-अफ ट्युबहरु जल्दैछन्
छेस्का छेस्कीहरु बल्दैछन्
मकैका खोयाहरु जल्दैछन्
प्लास्टिकहरु बल्दैछन्
ढुङ्गाहरु काला हुदैछन्
माटोहरु डड्दैछन्
वातावरण तापमय हुदैछन्
फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदै छन्
हुस्सु भयभित हुँदैछ
आगो बल्दैछ ! !
(२०४६-९-२०)
No comments:
Post a Comment