दिव्य गिरी
एक
फूलले चारैतिर सुवास बहाएजस्तै
बैँसालुको शिरमा गुराँस सुहाएजस्तै
कति सुकिलो र मोहक देखिएकी तिमी
भर्खरै हिमालले बर्षात्मा नुहाएजस्तै ।
दुर्इ
सिम्सिमे बर्षाले तिम्रो देह धोएर गयो
सिर्सिरे बतासले तिम्रो केश छोएर गयो
फूलका थुँगाथुँगामा खोजेकै हो उसले
तिमीलाई नपाउँदा वसन्त रोएर गयो ।
तीन
सौन्दर्यपूर्ण ति म्रो त्यो यौवन लहलह छ
मुस्कानमा जादु छ, अधरमा मह छ
मडारिइरहेछ मायाको आँधी म भित्रभित्रै
सम्हाल, झारिदेला ति म्रो फूलजस्तो देह छ ।
चार
घाइते भएको छु तिम्रो नजरको तीरले
सुक्दै गएको छु तिम्रो पिरतीको पीरले
छट्पटाएको छु पाखामा परेको माछा सरि
घोच्नु पर्दैन अब मलाई तातो झीरले ।
पाँच
हिँड्दा हिँड्दै अनायास नयन हाम्रो ठोकियो
लाग्यो, रातमा उदाउने जून दिनमै देखियो
किन हुन्छ यस्तो उकुस्मुकुस् छाती भित्रभित्रै
कि यतिबेला बहँदा बहँदैको पवन पनि रोकियो ।
No comments:
Post a Comment