अनुतरीत चित्र


प्रतीक चाम्लिङ

जिन्दगी !
एउटा खाली क्यानभास
जहा बांच्नुको अनगिन्ती चित्रहरु
केरमट केरमेट भइरहन्छ
म क्यानभासमा
कूची, रङ्ग र पेन्सिलले
आफ्नै जिन्दगी उतार्नु चाहन्छु
तर
औलाहरु लरबराउछन्
उफ !
कुन विन्दु देखी शुरु गरु ?
जिन्दगीको चित्र कोर्न
हासो देखी ?
अहं !
हाँसो त घाम छायाँ हो
यसको आकृती छैन
आंशु देखी ?
अहँ !
आँशु त पानी हो
यसको आकार छैन
मिठो आकांक्षाहरु देखी ?
अहँ !
आकांक्षाहरु त सपना हो
सपनाको रङ्ग हुदैन ।
जसो तसो
चित्र कोर्छु मधुरो जिन्दगीको
जिन्दगी भरीको वेदना उतार्छु
चित्रमा म आफ्नै जिन्दगी दुख्छु
अहो !
दुखाईको कस्तो रङ्ग पोत्ने ?
कालो, सेतो, रातो, नीलो ?
अहँ !
वेदनाको रङ्ग हुन्न
आहत् पीडाहरुलाइ म
रङ्गीन रङ्गहरुले सजाउन चाहन्न ।
सोचमग्न म
अधुरो चित्र नियालीरहन्छु
रङ्गविहीन चित्र संगै
बेस्कन म दुख्छु
क्यानभासमा अनुतरित म
मेटिदिन्छु म आफैले
क्यानभास फेरी रित्तो हुदै जान्छ
म जस्तै खाली खाली हुदै जान्छ ।

हाल - हंगकंग

No comments: