मान्छे, मान्छे जस्तो छैन


शिव प्रकाश

अभिश्राप तँलाई त्यो इश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही इश्वरको वरदान
धन्य तँ,
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो ?
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
इश्वरको अनुपम् रचना
मान्छे !
निक्रिष्ठ छ
मान्छे, मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
-
अनुदारता इश्वरको तँमाथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही इश्वरको दया तँमाथि
धन्य तँ,
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
-
विवेकहीनतार् इश्वरको तँमाथि
गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही इश्वरको अनुपम कृपा तँमाथि
धन्य तँ,
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !

No comments: