शशी लुमुम्बू
पहाड छिचोलेर उम्रिएको
मूलको कञ्चन पानी पिएर
हलक्क बढेको म
नितान्त अर्गानिक मान्छे
यो पुरातात्विक शहरमा
बोइलर भइसकेँ सायद...
उकाली सम्खियो कि
फतक्क गल्छन् हातगोडा
ओराली सम्झियो कि
थर्रर काप्छ शरीर
एकाएक चल्छ रिङ्गटा..
बिगतमा त म
डाँडैडाँडा
बतासजस्तै दगुर्थेँ
जंगलैजंगल
आँधीहुरीजस्तै सुसाउँथेँ
उफ्रिएरै नाघ्थेँ
अग्लाअग्ला पर्वतशृखलाहरु
फड्किएरै तर्थेँ
खोला/नदीहरु
पन्छाइदिन्थेँ हातैले
नदीका बेगहरु/भङ्गालाहरु
ठेलिदिन्थेँ कुमले सजिलै
अटेरी पहाडहरु...
तर आजकल...
थाहा पाउँदैछु म-
यो शहर
प्रेमपुर्वक स्लोपोइजन खुवाउँदैछ
मलाई आफूजस्तै आउटसाइडर बनाउँदै
No comments:
Post a Comment