बसन्त वर्षा


कृष्ण प्रर्साई

संयोग नै भनु,
तिमीसंगको पहिलो भेटमै-
तिमीले मलाई बसन्त हुनु भनेकी थियौं ।
बसन्तको पर्याय-
मलाई काफल र कोइली मनपरे पनि,
राताम्मे गुरासे पाखाले मन छोए पनि,
वर्षाऋतु मन पर्नुमा-
मेरै कमजोरी हुन सक्थ्यो ।
हामी वीचको अन्तर यति नै थियो -
काफल पाक्नु र वैश फुल्नु जस्तै ।
कोइली बोल्नु र बसन्त फल्नु जस्तै ।
त्यस्तै त्यस्ता सम्झनाहरुको ताँतीमा-
मलाई मनपर्ने मनसुनहरु थाती राखेर-
मलाई मन पर्ने बादलका रातहरु छोडेर,
एक दिन मैले एकाएक तिमी मै समाहित हुने गरी,
बसन्तको पर्याय तिमीसंगै सम्झौता गरे,
त्यति खेर मलाई -
मेरो मायाको पराजय भन्दा पनि-
तिम्रो सम्मोहनको विजयले तान्यो ।
बसन्त त निकै मापाको हुदोरहेछ ,
माया गर्न मान्छेहरुलाई-
बसन्त त निकै बलशाली हुदोरहेछ,
मन चोर्न मान्छेहरुलाई ।
एक दिन त उस्ले सुटुक्क भन्यो-
मेरो सृजनामा झुक्न सक्ने कवि,
एक पटक आफै बसन्त हुन सिक त !

No comments: