माया लागेर आँउछ


बसन्त मोहन अधिकारी

म फूल
यो रङ्गीन संसार
शुन्दरता र शान्तीको
अद्भुत आन्नद
अमन चयन
केवल मेरो उपहार ।

यहाँ,चुसेर रस
दिनभरी
प्यास नलागे सम्म
वाह्य स्वरुपमा
भमरा डकार्दै हिड्छ ।
सताउँदा प्यासले
लागेर तलतल
लुकी छिपी
रात विरात
ऊ धाईरहेछ .....
कठ्ठै ! उसको बाँध्यता र विवशता
यसैले मलाई
निरीह भमराको माया लागेर आँउछ ।

स्याल
निरीह कुखुरा चोरेर
खाँदै
बाघ बनेको उन्मात्तमा
पुरुस्वार्थ देखाउँन
जङ्गलको राजा झै
घमण्डै घमण्ड बिच
घुम्छ , उफ्रन्छ
फलाक्छ, कराउछ ।
जब बाघको अघि पर्छ ।
नतमस्तक
चुपचाप ज्यू ! गर्छ ।
मुस्कुराउछ
सुम्सुमाउछ
हृड्डी खुड्डी खान दिन्छ की भनेर
दिनरात
उसकै अघि पछि लाग्छ ।
यसैले स्याल कराए पनि
रोएझै लाग्छ
कठ्ठै ! निरीह जीवन
यी स्यालहरुको माया लागेर आँउछ ।

शिनु कुर्ने खानेहरु !
रातविरात धाउनेहरु !
आजकल शहरमा
कर्राईरहेछन्
केवल देखाउन
साँझ पर्दानपर्दै
हाजीरछन्
होटल, डिस्को,
क्याविन र क्यासिनोमा
यस्ता निरीह र नामर्द
जोइटिङ्गे लाक्षिहरु देखेर
मलाई माया लागेर आँउछ ।

No comments: