पत्रसाहित्य भाग - ९

प्रिय क्रिसा
विवशता र वाध्यताको दोसाँधबाट खुशी भैदिनुको अभिभादन ।
सरल जीवन जीउँने क्रममा समयले उत्तारचढाप एक्कासी ल्याईदिन्छ । र जीवनलाई थाहै नपाई वाध्यता र विवशताले छोपी दिन्छ । सायद कसैले पनि यस्तो अवस्था आउला भनेर सोचेका हुँदैनन् । जिन्दगी जीउँने क्रममा यस्ता परिस्थितिहरु अरु धेरै नआउलान् भन्न सकिन्न । तर हिड्दै जाँदा यी अवस्था,परिस्थिति र समय नै वाध्यता र विवशता वनि दिन्छ । व्रम्हाण्डको जुनसुकै ध्रुवमा जसरी जीवन सञ्चालन गरे पनि अप्रत्यक्ष वा प्रत्यक्ष रुपले यी दुइ शब्दहरुले प्रभावित गरेको हुन्छ । भोगाईहरुले उमारेका यी पलहरु कस्लाई मञ्जुर होला र ? तर त्यसलाई सहर्ष स्विकारेर हिड्नु शिवाय अरु उपायहरु हुँदैनन् । तर त्यो त्यसरी नै दोहोरीदै नियति वनेर आईदिन्छ । तव न त भाग्न सकिन्छ न त लुक्न नै । जसरी भएपनि जिन्दगीको रणभूमिमा तम्तयार भएर अगाडी बढ्नै पर्दछ । हुन त यस्ता क्षणहरु जीवनमा नआउँनु हो भने जिन्दगी जीउँनुको अर्थ पनि नलाग्न सक्छ । तपाई हामीले पनि महसुस गरेकै कुरा हो । एउटा सीधा बाटोलाई दिनभरी पछ्याएर हिड्दा कति दिक्क लाग्दछ ।
यदि उकालीओराली,डाँडाकाडा,खोलानाला,वनजंगल,देउरालीभञ्ज्याङ,पाखापखेरा,आए भने मात्र मनलाई नियास्रोपनबाट दुर गराउँदछ । अथवा ती दृश्यहरुले यात्रा गर्नुको मोहकता,मादकता भर्दछ । सायद यहि कारणले होला हिड्नुको पीडा वा थकाईलाई घटाउँदछ । त्यसैले नै होला गन्तब्यमा लम्किन केहि सजिलो भएको आभाष मिल्दछ । तर भने जस्तै सहज यात्रा कहाँ हुँदोरहेछ र जीवन जीउँनुको । कि त विवशता कि त वाध्यता हातेमालोमा गाँसीन आईपुगी हाल्दछ । र त्यसबाट छुटकारा पाउँनलाई कैयौं प्रयासहरु जारी गर्नुपर्दछ । आफ्नो ब्यक्तिगत प्रयासले नपुग्दा अरुकोसमेत शाहरा लिन तयार मात्र होइन बाध्य नै बन्नुपर्नेस्थिति आउँदछ । वास्तवमा कसैलाई पनि थाहा हुँदैन । कि त्यस्तो वाध्यता वा विवशता ब्यहोर्नु पर्दछ भनेर । जीवन हुनुले बाँचेका ती अवस्थाहरु ब्यहोर्नुमा पनि जीवनको स्वाद हुँदोरहेछ । यस्ता अनेकौं लाञ्छानाहरु,पीडाहरु केवल जीवन कै लागि बनेका हुन् । किनकी जीवन नहुनु हो भने त्यस्को अस्तित्व पनि हुँदैन ।
भन क्रिसा वाध्यता र विवशता जीन्दगीका रङगहरु हुन् त ? तिमी सायद यी शब्दहरुलाई,भोगाईहरुलाई जीवन ठान्दैनौ होला । किनभने भोगाई र महसुस आ-आफ्नै प्रकारका हुन्छन् । तिमीले र मैले जीवन भोग्नुमा फरकहरु हुन सक्छन् । सोचाईले र अनुभूतिले त्यसको महसुस प्राप्त हुने हो । जीवन उस्तै भएपनि त्यसलाई भोग्ने र ब्यहोर्ने अवस्था आफ्नै खाले हुन्छ । किनकी जीवन भोग्दा कोही ऐस आराम,मोजमज्जा,खुशीमा भोगीरहेका हुन्छन् भने त्यहि जीवनमा जीवन नै होइन झैं गरेर जीवन भोग्ने पनि यहि धरतीमा छौं । यी सम्पूर्ण कुराहरुलाई मध्यनजर गर्दा कोही अन्यायमा पर्नु र कोही नपर्नुमा भेदभाव भए जस्तो लाग्दछ । पहुँच भएका मानिसहरु आफ्नो जीवनलाई जीवन जस्तै जीएकाछन्,पीएकाछन्,हिडेकाछन् । तै पनि जीवन पाएपछि जीवन जीउन वाध्य हुनुपर्छ,विवश हुनुपर्छ । कसैले पनि वाध्यताले,विवशताले जीवन त्याग्न सक्दैनौ । हरेकलाई आफ्नो जीवनको मायाँ,मोह लाग्दछ । जतिसुकै कठोर घातका पलहरु किन नआउन । मानिसले जसरी भएपनि समयलाई निरन्तर पछ्याई रहेकै हुन्छौ । क्रिसा यसरी जीउँनु जीवन हो कि होइन ? म भन्छु त्यो पनि जीवन नै हो । आफैले चाहे जस्तै,भने जस्तै,सोचे जस्तै जीवन वास्तवमा संसारमा कसैले पाएका हुँदैनन् । सबैलाई केहि न केहि कुराले अधुरो,अपुरो वनाएको हुन्छ । धनीलाई धनको लोभले आफुलाई गरीव ठान्दछ । गरीवलाई एकछाक खान लाउनको पीरले सताउँदछ । कोही पनि मानिस यस संसारमा निश्चिन्त हुँदैन । वाध्यताले,विवशताले,समस्याले सवै ग्रसीत भएका हुन्छौ । भयग्रस्त जीवन सम्हाली रहेका हुन्छौ । यसो होला उसो होला भन्ने चिन्ताहरुको माझ हल्लिएका पेण्डुलम हामी समय नाप्न मै जीवन रीत्याई सकेका हुन्छौ । यो यस्तै हो र यस्तै हुन्छ भन्ने कुरा थाहा पाएर पनि बुझ पचाएका हुन्छौ । किनभने ती सबै क्षणहरु,अवस्थाहरु,परिस्थितिहरु रुप फेर्दै कुनै अर्को तरीकाले हामीमा आईपुग्दछ । सायद त्यसलाई विवशता भन्ने गर्छौ । विवश भएपछि त्यो आफै वाध्यता वन्न पुग्दछ । के जीवनको परीभाषा यसरी नै समेटीएको हुन्छ त क्रिसा ?

No comments: