पत्रसाहित्य भाग - १०

प्रिय क्रिसा
नयाँ युगको शिखरबाट नविन पलहरुको अभिवादन ।
हामी अहिले एक्काईसौ सताब्दिको आँगनमा पाईला टेकेर नयाँ युगलाई स्वागत गरीरहेका छौ । नयाँ युगले अनेक नयाँ प्रविधी,विचार,दर्शन,मार्ग,विषयबस्तु मात्र नभएर मानवपयोगी सवै कुराहरु हाम्रो अगाडी थुपारी दिएकोछ । हामीले पुराना ज्ञानहरु अर्जाप्दै नयाँ भन्ने सवै कुराहरुसंग परीचित हुँदै जानु पर्ने वेला आएको छ । हामीले भोग्दै,देख्दै र अनुभव गर्दै आएका समय भन्दा फरक ढंगले नयाँ समयलाई स्वागत गर्नुपर्ने अवस्था देखिएका छन् । जो हामी त्यसरी नै अभ्यस्त हुन खोजी रहेका छौ । वुद्धिमत्ता पूर्वक त्यो अभ्यासलाई निरन्तरता दिदै गयौ भने नयाँ युग,समय,परिस्थिति,यात्रा,गन्तब्य हाम्रै लागि बन्नेछ । यदि हामीले समयसापेक्ष बन्न सकेनौ भने त्यसले फाईदा भन्दा बेफाईदा तिर धकेल्दछ । यहि नयाँ युग र समयले ल्याएका मानवपयोगी बस्तुहरुले आरामदायी जीवन र शुलभका पाटाहरु खोली दिएको छ । त्यसको संगसंगै जोखीम,कठिनाई र खतराका अर्को पाटो पनि आएको छ । कुनै पनि उपयोगलाई कसरी प्रयोगमा ल्याउँने भन्ने कुरा हामी आफैले निर्णय गरेर पाईला चाल्नु पर्ने आवस्था छ । हिजो त्यहि कुरा पाउँनको लागि धेरै कष्ट,वल,वुद्धि,समय,श्रम,अर्थ प्रयोग गर्नु पर्थ्यो । तर अहिले आएर तिनै कुराहरु,बस्तुहरु क्षणभर मै थोरै लगानी र परिश्रममा सबै पाउँने भएका छौं । समयको गतिशीलता र प्रविधिको तिव्र विकासले ल्याएको अकल्पनिय परिवर्तन भोग्न,देख्न पाउँदा कहिले कहि आफैलाई समेत आश्चर्य चकित लाग्दछ । सहज र शुलभ तरीकाले जीवनयापनलाई डोर्याउँन पाउँदा लाग्दछ नयाँ युग वरदान हो । मानौ कुनै चिज पाउँनको लागि सजिलो भएको छ स्रोत र साधन भए । र क्षणभर मै आफ्नो मुठ्ठीमा पर्दछ चाहेका बस्तुहरु।
क्रिसा तिमीलाई पनि अवगत नै भएको हुनु पर्दछ । किनकी तिमी पनि यहि गतिशील समय र विकासको एक पात्रा हौ। नयाँ युगले सरल,सुविधा मात्र होइन जटिलता र जोखीम पनि उतिक्कै थपी दिएको छ । निश्चय नै आजको यो नौलो युगले अनेकौ नयाँ सपना जन्माएर खतरा मोल्न बाध्य तुल्याएको छ । यी सबै गर्नु आनन्दायी जीवनको लागि हो । वास्तवमा खतरा हामी आफैले निम्त्याएका हौं,निम्त्याई रहेकाछौं । किनभने प्रविधिव्दारा निर्मीत मानवपयोगी बस्तुहरुले अप्रत्यासीत रुपमा हानी पुर्याई रहेको हुन्छ । किनकी त्यहाँ रसायनिक पदार्थहरु समिश्रण गरीएको हुन्छ । प्रविधि वास्तवमा प्रकृतिबाटै प्राप्त गरीएका निशुल्क उपहार हुन् । तर प्रविधिले प्रकृतिको विरुद्धमा कदम चाल्दछ । हामीले चाहेका बस्तुहरु प्रकृतिलाई नष्ट गरेर मानिसको उपयोगको लागि तयार गर्दछौं । यदि हामीले प्रकृतिलाई नष्ट गरेनौ भने हामीले चाहेका अत्याधुनिक बस्तुहरु पाउँन सक्दैनौ । केहि पाउँनको लागि केहि गुमाई रहेका हुन्छौं । यहि पाउँन खोज्नुले मानव संहार निम्त्याईरहेका हुन्छौं । अनेकौं रसायन तथा प्रदुषणयुक्त कामहरुले,उत्पादनहरुले मौषमको परिवर्तनमा अनियमितता पैदा गरी दिएको छ । जसको कारण अम्लिय वर्षा हुने, खडेरी लाग्ने,बाडी पहिरो जाने,भुइचालो र सामुद्रिक सुनामी आउँने गरेको छ । जस्ले गर्दा जलवायुमा नाटकिय परीवर्तन आएर पृथ्वीका सतह तातीदै गएको छ । यहि तातोको कारणले वनस्पतिको विनास हुने र समुद्री तट बढ्दै गएको पाईएको छ । वैज्ञानिकहरुको सर्वेक्षण र अनुसन्धानले उत्तरी ध्रुवको हिमक्षेत्र हरेक दिन पग्लिदै गएको थाहा लागेको छ । हाम्रै देशका हिमशिखरहरुमा हिउँको मात्रा कमि देखिदै आएको छ । प्रदुषण र तापले हिमक्षेत्रमा पाईने जनवारहरुले आफ्नो अस्तित्व गुमाउँदै गएकाछन् । त्यति मात्र नभएर पृथ्वीको ओजन तह छियाछिया भएर प्रदुषण युक्त अम्लिय वर्षा हुन जान्छ । जसको कारणले फसलहरु नास हुन्छ । र हरीयालीलाई उजाड समेत बनाउँदछ । हरीयाली रुखपातको अभाव हुँदै गएपछि मानिसलाई हरेक दिन श्वासप्रश्वासको लागि चाहिने नौ लिटर अक्सिजन उपहार स्वरुप नपाईने सम्भावना बढ्दै गएको छ । नयाँ समयले,युगले,मानिसले नयाँ र जटिल प्रकारको अनेकौ समस्या पैदा गरी दिएको छ । आजका मानिसहरु चरम सुख र आनन्द लुट्न खोज्छन् । जस्ले यी परिस्थितिहरु सहजै निम्त्याई दिएको छ । अरु धेरै विनासका कारणहरु लाईन लागेर आएकाछन्,आउँदैछन् । एकपछि अर्को हुँदै समस्याहरु थुप्रिएर उरुङ लाग्दैछन् ।
क्रिसा के तिमी पनि चरम सुख र आनन्दको पछि लागेको छौ ? क्षणिक मोजमस्ति र आनन्दले व्रम्हाण्डलाई नै विनासतिर धकेल्दै लगेकाछन् मानिसहरुले । आफु सहित अरुलाई पनि कसरी बचाउँने भन्ने समयको उदय भएको छ । तर यो नौलो समय,युग र परिस्थितिले मानव मानव विचको अन्तर सम्वन्धलाई चिस्याउँदै गएको छ । जसको कारणले हरेक दिन विश्वको कुनै ठाउँमा एकले अर्कालाई निर्मम हत्या गरीएकोछ ,गरीदैछ,गरीनेछ । ठुला अथवा शक्तीमा बसेका ती ब्यक्तिहरुले निरीहको बाँच्न पाउँने अधिकारलाई खोशी दिएका छन् । आफ्नो फाईदा,मोजमस्ति र खुशीको लागि दोस्रोलाई आश्वासन देखाएर आफ्नो हतियार बनाएका छन् । जीवन जीउँनुको धरातल विर्सी अरुको खातिर बाँची दिने दानवहरुको जन्म युगले उत्पादन गरी दिएकोछ । आफु जस्तै मानवहरुको रगतमा होली खेलेर शासक बनेका ब्यक्तिहरु एकाएक ढल्दै,गल्दै गएको प्रत्यक्ष देख्दै,सुन्दै आएका छौ । नयाँ युगको प्रविधिले मानिसलाई संवेदनहीन वनाई दिएको छ । विश्वासघातको त्रासले उनीहरु आफु जस्तै मानिसहरुलाई विश्वास गर्दैनन् । बरु मानव निर्मीत निर्जीव औजारहरुलाई विश्वास गर्दछन् । सायद त्यसैले होला आजका अत्याधुनिक मानिसहरु आधी प्रविधि आधी मात्र मानिस भएर बाँचेका छन् । किनकी प्रविधि विना मानिसले आफुलाई अधुरो सम्झन्छ । र सम्झनु पर्ने अवस्था आएको छ । नयाँ प्रविधि र विकासको कारणले मानव जगतले ठुला छलाङ मारेको देखिएता पनि समस्याको भण्डार दिनानु दिन बढ्दै गएको छ । त्यस कारणले गर्दा क्रिसा समस्या समाधानको लागि आजैबाट मानवत्व जगाएर व्रम्हाण्डलाई बचाउँन जरुरी देख्दछु ।

1 comment:

Unknown said...

सारै मिठो लाग्यो, यहाँ केहि नया नौलो कुरा सिक्दै छु...